ad ad

अटो


यी हुन् नेपालमा उपलब्ध ३१ देखि ७० लाखका ७ विद्युतीय गाडी

यी हुन् नेपालमा उपलब्ध ३१ देखि ७० लाखका ७ विद्युतीय गाडी

वसन्त अर्याल
असार २५, २०७८ शुक्रबार १३:४४,

पछिल्लो समय नेपाली अटोमोबाइल व्यवसायीले विद्युतीय गाडी भित्र्याउन बढी चासो दिइरहेका छन्। प्रायः मुख्य कार ब्राण्डहरूले विद्युतीय गाडी उत्पादन थालेसँगै यो क्षेत्रमा प्रतिस्पर्धा देखिन थालेको छ। 

सरकारले चालू आर्थिक वर्षमा विद्युतीय गाडीमा कर बढाएसँगै निराश बनेका व्यवसायी कर खारेज भएसँगै उत्साहित भएका हुन्। 

नेपालमा महिन्द्रा, हुन्डाई, किया, एमजी, बीवाईडीलगायतका चर्चित कम्पनीले विद्युतीय गाडी बिक्री गर्दै आए पनि कर घटेसँगै अन्य कम्पनी पनि विद्युतीय गाडी नेपाल भित्र्याउन लागिपरेका हुन्।   

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित ईभी ‘निशान लिफ’को भर्चुअल लञ्च बुधबारमात्रै गरेको छ। 

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको गाडी ल्याउने घोषणा गरिसकेको छ। 

चीनको ग्रेटवाल मोटर्स, रेनो लगायतका कम्पनीले पनि नेपालमा विद्युतीय गाडी भित्र्याउने योजना बनाएका छन्। 

अघिल्लो बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीमा बढाएको कर यसपाली अर्थमन्त्री विष्णु पौडेलले घटाएका छन्। कर घटेसँगै विद्युतीय गाडीको मूल्य ३० प्रतिशतसम्म घटेको छ। गत वर्ष बढाएको गाडीको मूल्य कम्पनीहरुले समायोजन गरिसकेका छन्। 

यी हुन् नेपालमा अब प्रतिस्पर्धामा रहेका विद्युतीय गाडीः 

हचब्याकमा निशान लिफ​
सन् २०१० मा जापानमा सार्वजनिक भएको निसान लिफ नेपालमा बुधबारमात्रै भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ। कम्पनीले कारको बुकिङ समेत खुल्ला गरिसकेको छ। 

जापानी इन्जिनियरिङ र प्रविधिमा निर्माण भएको निशान लिफ जापानको प्लान्टबाट सिधै आयात हुनेछ। 

निशान लिफ दोस्रो पुस्ताको गाडी हो। एरोडाइनामिक डिजाइनमा निर्मित यो गाडीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ छ।   

यो विद्युतीय गाडीले १४७ हर्स पावर र ३२० टर्क जेनेरट गर्छ। गाडीमा ४० किलोवाट लिथियम ब्याट्री छ। एकपटकको चार्जमा ३ सय ११ किलोमिटरसम्म चल्न सक्छ।   

कम्पनीले नेपालमा निशानका गाडीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ। निशानका सर्भिस सेन्टरमा चार्जिङ स्टेसन उपलब्ध हुने कम्पनीले जनाएको छ। 

टाटाको नेक्सन ईभी
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुलाउने घोषणा गरेको छ।

सन् २०२० को जनवरीबाट भारतमा बिक्रीवितरण सुरु भएको यो गाडीले छोटो अवधिमै भारतीय बजारमा आफ्नो विशिष्ट पहिचान बनाइसकेको छ। 

३०.२ केडब्लुएचको उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको छ। 

एक पटक चार्ज गरेपछि यस गाडीले २०० देखि २५० किलोमिटरको दूरी तय गर्नसक्छ। 

यदि डीसी चार्जर प्रयोग गरियो भने नेक्सन ईभीको ८० प्रतिशत ब्याट्री क्षमता ६० मिनेटमै प्राप्त गर्न सकिन्छ।

हुन्डाईको कोना र आयोनिक
दक्षिण कोरियाली कम्पनी हुन्डाईका दुई विद्युतीय मोडल नेपालमा बिक्री भइरहेका छन्। कोना मोडलकै १५० किलोवाट मोटरको मूल्य ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। 

एकपटकको चार्जमा ४८२ किलोमिटरसम्म गुड्ने गाडीको अधिकतम स्पिड १६७ किलोमिटर प्रतिघण्टा रहेको छ। 

नयाँ मूल्य सूचीअनुसार हुन्डाई १०० किलोवाट क्षमतायुक्त कोनाको मूल्य  ५६ लाख ९६ हजारमा झरेको छ। 

फास्ट चार्जिङबाट १ घण्टामै फुल चार्ज हुन्छ। 

बजारमा उपलब्ध हुन्डाईको आयोनिक ईभीको गाडी समेत नेपाली बजारमा उपलब्ध छ। १०० किलोवाट क्षमतायुक्त आयोनिकको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ छ। आयोनिक ईभीले १२० पिस र २९५ एनएम जेनेरेट गर्छ।

एमजीको एसयुभी जेडएस
पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गाडी एमजी जेडएसको बिक्री वितरण गर्दै आएको छ। ११० किलोवाट मोटर रहेको गाडीले ३५० एनएम टर्क जेनेरेट गर्छ। 

लिथियम आयन ब्याट्री रहेको एसयुभी जेडएसमा आधा घण्टामै ८० प्रतिशत चार्ज हुन्छ। 

गाडीको एकपटकको चार्जमा बढीमा ४२८ किलोमिटरसम्म कुद्न सक्छ। 

गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार वारेन्टी छ। एमजी ईजेडएसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ। 

महिन्द्रा ४ सिटे ई२ओ
भारतीय महिन्द्रा कम्पनीको विद्युतीय गाडी नेपालमा अग्नि इनर्जीले बिक्रीवितरण गर्दै आएको छ। 

अग्नि इनर्जी प्रालिले विद्युतीय ई२ओ प्लस गाडी बिक्री गर्दै आएको छ। महिन्द्रा ई२ओ गाडीको रेन्ज १४० किलोमिटर छ। 

हचब्याकसेगमेन्टको गाडीमा ४ जनासम्म बस्न सकिन्छ। १९ किलोवाट ब्याट्रीबाट ७० एनएम टर्क जेनेरेट गर्छ। महिन्द्रा ई२ओको मूल्य ३१ लाख रुपैयाँ छ।

महिन्द्राले सेडान सेगमेन्टमा ई भेरिटो विद्युतीय गाडी पनि बिक्री गर्दै आएको छ। 

ई भेरिटोमा ३०.५ किलोवाटको मोटर र ९१ एनएम टर्क जेनेरेट गर्छ। एकपटकको चार्जमा याे गाडी ११० किमिसम्म गुड्नसक्छ। यसको मूल्य ३० लाख २० हजार छ। 

एसयूभी किया निरो 
गत वर्ष कर बढाएसँगै आयात बन्द गरेको कियाले फेरि आयात सुरु गरेको छ। किया मोटर्सले निरो विद्युतीय गाडीको मूल्य ६९ लाख ९० हजार मूल्य तोकेको छ। 

किया निरो एकपटकको चार्जमा ३८० किलोमिटरभन्दा बढी गुड्ने कम्पनीले जनाएको छ। फास्ट चार्जरबाट निरो १ घण्टामै फुल चार्ज हुन्छ। 

एसयूभी सेगमेन्टमा रहेको निरोले २ सय हर्स पावर जेनेरेट गर्छ। गाडीमा ६४ किलोवाट आवर ब्याट्री क्षमता रहेको छ। 

बीवाईडी ई६ क्रसओभर एसयूभी
बीवाईडीका विद्युतीय गाडी राष्ट्रपति विद्यादेवी भण्डारीदेखि ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणलगायतका सरकारी कम्पनीले समेत खरिद गरिसकेका छन्। 

नेपालमा बीवाईडीको ई६ गाडी चर्चित रहेको छ। ई६ एकपटकको चार्जमा ४ सय किलोमिटरसम्म गुड्नसक्छ। 

९० किलोवाट मोटर क्षमता रहेको बीवाईडीको नेपालमा मूल्य ५० लाख तोकिएको छ।  बीवाईडी गाडीको ८० प्रतिशत चार्ज हुनको लागि ४५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।  

त्यस्तै विद्युतीय सवारी ब्रान्ड दिगोले दीगो ई८ विद्युतीय ह्याचब्याक गाडी बिक्री गर्दै आएको छ। 

कम्पनीले यसको मूल्य २१ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ।  

त्यसबाहेक विश्वमा चर्चित ब्रान्ड टेस्लाका विद्युतीय गाडी समेत नेपाली सडकमा गुडिरहेका छन्। 

यद्यपि टेस्लाको आधिकरिक वितरण नहुँदा सहजरुपमा टेस्लाका गाडी भित्रिनसकेका छैनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .