ad ad

अटो


भाटभटेनीले बनायो ११ तले नेपालकै पहिलो ‘कम्बो टावर पार्किङ’ (भिडिओ)

भाटभटेनीले बनायो ११ तले नेपालकै पहिलो ‘कम्बो टावर पार्किङ’ (भिडिओ)

भाटभटेनीकाे टावर पार्किङ। फाेटाे/भिडियाेः सुजन श्रेष्ठ


वसन्त अर्याल
असार २७, २०७८ आइतबार ११:४२,

भाटभटेनीको मुख्य कार्यालय नक्सालमा ‘कम्बो टावर पार्किङ’ निर्माण भएको छ। 

भाटभटेनीले आफ्नो सेवा लिन आउने ग्राहकलाई लक्षित गरी ‘टावर पार्किङ सिस्टम’ सुरु गरेको हो। 

नक्सालको टावर पार्किङमा ४४ वटासम्म गाडी पार्किङ गर्न सकिनेछ। टावर पार्किङको उचाइ कम राखिएकाले ठूला गाडी भने पार्किङ गर्न नमिल्ने इन्जिनियरले बताएका छन्।

टावरमा मुख्यगरी साना कार र सेडान सेगमेन्टका सबै गाडी पार्किङ गर्न सकिनेछ। हाइड्रोलिक प्रविधिमा आधारित टावर पार्किङको परीक्षण शुक्रबार गरिएको छ। 

कम्बो टावर पार्किङमा लगानी भाटभटेनीले गरेको भए पनि त्यसको निर्माण भारतीय इन्जिनियरिङ कम्पनी ओमेगा इन्जिनियरिङले गरिरहेको छ। पार्किङको लागत ३ देखि ४ करोडको बीचमा रहेको बताइएको छ। 

भाटभटेनीले गत वर्ष नै टावर पार्किङको निर्माण सुरु गर्ने गरी सामग्री ल्याएको भए पनि लकडाउनको कारण काम सुरु भएको थिएन। गत चैतमा काम सुरु गरिएको आयोजना अब १ हप्ताभित्रै सकिने कार्यरत इन्जिनियरले बताए। 

‘टावर पार्किङलाई म्यानुअल र अटोमेटिक दुवै तरिकाबाट सञ्चालन गर्न सकिन्छ’, निर्माणाधीन टावर पार्किङका अपरेसन हेड पार्थ भट्टाचार्यले भने, ‘टेस्टिङको समयमा म्यानुअल तरिकाबाट सञ्चालन गरे पनि पछि अटोमेटिक रुपमा चल्छ।’

भारतीय कम्पनी ओमेगा इन्जिनियरिङले मुम्बईलगायत धेरै ठाउँमा यस्तो पार्किङ बनाएको भट्टाचार्यले बताए।

‘भारतमा ओमेगा इन्जिनियरिङले १५ वर्षदेखि काम गरिरहेको छ। मुख्य सहरमा कम्बो टाइप टावर पार्किङ निर्माण गरिएको छ’, भट्टाचार्यले भने, ‘टावर पार्किङमा गाडी पार्क गर्दा सुरक्षाको कुनै खतरा हुँदैन।’

टावर पार्किङमा राखेको गाडीमा स्क्रयाच हुने, अर्को गाडीले छोइदिनेलगायतको समस्या हुँदैन। उनका अनुसार गाडीलाई भुइँतल्लामा भएको ‘स्लाब’मा राखेपछि जुन ठाउँमा पार्किङ खाली छ, त्यहाँ पार्किङ हुनेछ। पार्किङमा १६ सय एमएम उचाइसम्मका गाडी टावर पार्किङमा राख्न सकिन्छ। 

भारतमा एसयूभीलगायत ठूला गाडी पनि पाकिङ गर्नमिल्ने गरी टावरहरु निर्माण गरिएको हुन्छ। तर नेपालमा साना गाडीलाई लक्षित गरी डिजाइन गरिएकाले ठूला गाडी टावरमा पार्किङ गर्न सकिँदैन।

११x११ गरी चारवटा लाइनमा ४४ वटा गाडी अट्नेछन्।  टावर पार्किङको हाइड्रोलिक काम लगभग पूरा भए पनि केही विद्युतीय काम अझै बाँकी छ। 

टावर पार्किङ निर्माणको लागि फलामको प्रयोग गरिएको छ।  गाडीलाई माथि लैजानको लागि चेन र बेरिङको प्रयोग हुन्छ।

पार्किङमा प्रवेश गर्नेबित्तिकै गाडी लिफ्टमा बस्छ, त्यसपछि लिफ्टले जहाँ पार्किङ गर्ने हो त्यही तलामा पु¥याउँछ। 

पछि गाडी निकाल्ने बेलामा लिफ्टले गाडी भुइँतलामा ल्याएर ढोकामा घुमाएर राखिदिन्छ। त्यसपछि गाडीधनीले आफ्नो गाडी लैजान सक्छन्।  

आफूले चाहेको बेला गाडी पार्किङ गर्न र झिक्न सकिने इन्जिनियर भट्टाचार्यले बताए। 

भिडिओः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .