नेपालमा सुरक्षित हेलमेटको प्रयोगमा नीतिनिर्माता तहबाटै गम्भीर लापरबाही भएको पाइएको छ। सरकारले हेलमेट गुणस्तर मापदण्डको मस्यौदा मन्त्रिपरिषदबाट पारित नगर्दा मोटरसाइकल र स्कुटरमा यात्रा गर्ने नेपालीहरु विदेशकै मापदण्डमा बनेका हेलमेट प्रयोग गर्न बाध्य भएका हुन्।
आफ्नो देशको सडकको अवस्था, भूगोललगायतका विविध पक्षलाई आधार मानी हरेक देशले आफ्नै मापदण्ड बनाएर लागू गर्दै आएका छन्। तर नेपालमा भने सरकारले आफ्नै मापदण्ड बनाउन नसक्दा यसको प्रयोग गर्नेहरु पनि सुरक्षाको लागि भन्दा ट्राफिकलाई देखाउन हेलमेट प्रयोग गर्ने गरेका छन्। सोही कारण बाइक किन्नको लागि ऋण लिन सक्ने तर गुणस्तरीय हेलमेट खरिद गर्न खासै चासो नदिने प्रवृत्ति मौलाउँदै गएको छ।
आफ्नै सुरक्षा मापदण्ड नहुँदा नेपाली बजारमा भारतीय, युरोपियन, अमेरिकन गुणस्तर मापदण्डका हेलमेटहरु प्रशस्त पाइन्छन्। विदेशी मापदण्ड भन्नेबित्तिकै पर्याप्त सुरक्षित हुन्छ भन्ने छैन, थोरै गुणस्तरका र धेरै कम गुणस्तरका पनि हुनसक्छन् तर त्यसको सुरक्षा गुणस्तर मापन गर्न मापदण्ड नै नभएपछि कसले हेर्ने?
नेपाली बजारमा पाइने अधिकांश हेलमेट विदेशबाट आयात गरिन्छ। त्यसका सरसामग्री ल्याएर नगन्य मात्रामा केही उद्योगले हेलमेट तयार गरे पनि ती कुनै पनि नेपालको पूर्ण उत्पादन होइनन्। आयात गरिने हेलमेटका सामग्री पनि गुणस्तरीय हुन् कि होइनन्् कुनै लेखाजोखा गरिँदैन।
नेपाल नापतौल तथा गुणस्तर विभागले केही समयअघि मात्र हेलमेटको गुणस्तर मापदण्डको मस्यौदा तयार गरेर मन्त्रिपरिषदमा पठाएको छ। तर मन्त्रिपरिषदबाट त्यो पारित नभइसकेकाले कानुनका रुपमा आइसकेको छैन। उसै पनि नेपालमा सडक दुर्घटना बढिरहेको छ। दिनहुँ सवारीसाधन दुर्घटनाका समाचारहरु आइरहेकै हुन्छन्।
अधिकांश दुर्घटनामा मोटरसाइकल जोडिएकै हुन्छन्। ट्राफिक प्रहरीका अनुसार ०७५ साउनयता ०७६ असारसम्म ५१ महिला र १ सय ७७ जना पुरुष गरी कुल २ सय २८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन्। सो अवधिमा दुर्घटनामा परी ५ हजार ३ सय ६१ भन्दा धेरै घाइते भएका छन्। त्यसमा पनि सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको तथ्यांकले देखाएको छ। ११ महिनामा ५ हजार २७ वटा दुर्घटनामा मोटरसाइकल तथा स्कुटी परेका छन्।
सबैको सुरक्षासँग जोडिएको विषय मन्त्रिपरिषदमा अड्किनु पक्कै राम्रो होइन।
नेपाल नापतौल तथा गुणस्तर विभागका निर्देशक विश्वबाबु पुडासैनी भन्छन्, ‘विभागले मापदण्डको मस्यौदा गरी मन्त्रालयमा पठाइसकेको हो, मन्त्रिपरिषदले पास गरेर राजपत्रमा प्रकाशित गरेपछि मात्रै कानुनमा परिणत हुन्छ, त्यसपछि मापदण्ड लागू हुन्छ।’
के छ विभागको प्रस्तावित मापदण्डमा?
विभागले पठाएको मस्यौदामा हेलमेटको आकार, गुणस्तर, तौल, टे«डमार्क लगायतका मापदण्ड प्रस्ताव गरिएको छ। मस्यौदामा हेलमेटसम्बन्धी मापदण्डमा भाइजर कस्तो हुने, आई साइट, उत्पादकको नाम, टे«डमार्कर एनएस चिह्न हुनुपर्ने उल्लेख छ। त्यस्तै हेलमेट उत्पादन गर्दा के कस्ता गुणस्तर प्रयोग गर्ने, कच्चा पदार्थ कस्तो हुने, तापक्रमले कुनै असर नगर्ने, हेलमेट लगाउँदा बाहिरको आवाज प्रस्ट सुन्न सकिने हुनुपर्ने उल्लेख गरेको छ।
‘साइज कस्तो बनाउने पनि मापदण्डमा उल्लेख गरेका छौँ, बच्चाको लागि, ठूलाको लागि एउटै साइजको हेलमेट ठीक हुँदैन’, विभागका निर्देशक मनोज कुमार उपाध्याय भन्छन्, ‘कसैको टाउको ठूलो भएर हेलमेट नै लगाउन नमिल्नेजस्ता कुरा पनि छन्। मापदण्ड लागू भएपछि यस्ता समस्या पनि समाधान हुन्छन्।’
बजारमा डेढ लाखसम्मका हेलमेट
नेपाली बजारमा अत्यन्त सस्तो मूल्य पर्नेदेखि महंगा हेलमेटहरु पाइन्छन्। एजीभी ब्राण्डका हेलमेटहरु २५ हजारदेखि १ लाख७० हजारसम्म मूल्यका छन्। यही हेलमेट ब्रान्डलाई महंगो ब्रान्डका रुपमा पनि लिइन्छ। एजीभी डर्टमा एक्स ८ सोलिउना ४० हजार र एक्स अन्टार्कटिका ४५ हजारको रेन्जमा पनि उपलब्ध छ। यो ब्रान्डको हेलमेट युरोपियन स्ट्यान्डर्डको रहेको छ भने नेपालमा टर्बो मोटर्सले यसको आयात गरिरहेको छ।
सार्क ब्राण्डका हेलमेट पनि नेपालमा महंगो ब्राण्डमा परिचित छन्। सार्कका फुल फेजमा २० देखि८० हजारसम्मका हेलमेट नेपालमा उपलब्ध छन्। सार्क डर्टमा १८ हजार मूल्य भएको एसएक्स डर्ट पनि रुचाइएको हेलमेटमा पर्छ। डट स्ट्यान्डर्डका यो हेलमेट महंगो हेलमेटमै पर्छ।
मिड रेन्जको रुपमा १ हजार ८ सय रुपैयाँदेखि १० हजारसम्मका फुलफेजमा भेगा ब्राण्डका हेलमेट नेपालमा उपलब्ध छन्। हाफ फेजमा १६ सयदेखि चार हजारसम्मको रेन्जमा हेलमेट बजारमा पाइन्छन् । अटो पार्ट्स इन्टरनेशनलले नेपालमा आयात गर्ने भेगा ब्राण्ड इन्डियन स्ट्यान्डर्डका साथै डट स्ट्यान्डर्डमा पनि उपलब्ध छन्।
अटो पार्ट्स इन्टरनेशनलले एसएमके ब्राण्डका हेलमेट पनि नेपालमा बिक्रीवितरण गर्दै आएको छ।
शिवशक्ति इम्पोर्टले नेपालमा स्टिलबर्ड र सेल हेलमेटको आयात गर्दै आएको छ। स्टिलबर्डको फुल फेजमा चार हजार रेन्जका विभिन्न हेलमेट उपलब्ध छन्। हाफ फेजमा १८ सयदेखि ३ हजारसम्ममा उपलब्ध छन्। यसको डर्टमा ४ हजारदेखि ५५ सयसम्मको मूल्यका हेलमेट रहेका छन्। त्यस्तै सेल ब्राण्डको डर्ट हेलमेट ४ हजारको दरमा उपलब्ध छन्। जुन भारतीय स्ट्यान्डर्डमा उत्पादित भएका हेलमेट भएको आयातकर्ता अभिजित अग्रवालले बताउँछन्।
स्टडस् हेलमेट भारतीय स्ट्यान्डर्डको हेलमेट हो। नेपालमा पौडेल इन्टरप्राइजेजले आयात गरी बिक्रीवितरण गर्दै आएको छ। स्टडस् ब्राण्डका फुल फेजमा २५ सयदेखि ५ हजार रुपैयाँसम्मका हेलमेट नेपालमा उपलब्ध रहेका छन्। हाफ फेजमा १५ सयदेखि ३५ सय रुपैयाँसम्मका रहेका छन्।
यही ब्राण्डका डर्टमा स्टडस् मोटोकर्स ४ हजार ५ सयको रेन्जमा रहेका छन्। सस्तो मूल्यमा स्टडसका हेलमेट पाउने भएकाले नेपालमा यसको बिक्री धेरै रहेको आधिकारिक बिक्रेता पौडेल इन्टरप्राइजेजले जानकारी दिएको छ।
नेपालमा बेल, एरो, एभेक्स, विमोला, नेन्की, निट्रोलगायत ३० भन्दा बढी ब्राण्डका हेलमेट नेपालमा बिक्रीवितरण भइरहेको छ ।
कसरी छुट्याउने नक्कली र सक्कली हेलमेट ?
हेलमेट नेपालका सीईओ सजल जोशीका अनुसार हेलमेट किन्नुअघि बाइकको सिसी, हर्स पावरमा ध्यान दिनुपर्छ। सोहीअनुसारका हेलमेट प्रयोग गर्नु सबैभन्दा उपयुक्त हुने उनी बताउँछन्। बजारमा अहिले जेनुन सेफ्टी हेलमेटमा १५ सयदेखि दुई लाख रुपैयाँसम्मका हेलमेट पाइन्छन्।
उनी नेपालखबरसँग भन्छन्, ‘महंगो हेलमेट राम्रो हुन्छ, सस्तो हेलमेट नराम्रो हुन्छ भन्ने पनि भ्रम हो। धेरैले बाइक खरिद गर्दा ऋण लिन सक्छन् तर हेलमेटको महत्वबारे उनीहरु धेरै जानकार नै हुँदैनन्।’
हेलमेट लगाएर यात्रामा निस्किनु भनेको बीमा गरेजस्तै हो। ‘सबैले बाइक चलाउँदा लगाइरहेको हुन्छ। तर दुर्घटना हुँदा मात्र थाहा हुन्छ, यसको महत्व के छ’, जोशी भन्छन्।
हेलमेटमा अर्को भनेको १ देखि ५ स्टारको रेटिङ रहेको हुन्छ। १ स्टार भएको स्ट्यान्डर्ड मेन्टेन गरेको हेलमेट हो। त्यसैअनुसार राम्रो क्वालिटीको स्टार रेटिङ बढ्दै जान्छ। हेलमेटमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको ईपीएस लेयर भन्ने हुन्छ। यो भनेको हेलमेटको मुटु नै हो। इपीएस लेयर जति टाइट भयो हेलमेट उति राम्रो हुन्छ।
कपि वा राम्रो क्वालिटी नभएको ईपीएस लेयर नरम हुन्छ, हातले दबाउँदा पनि दब्छ। बाहिरको क्वालिटी पनि इबीएस र पीपी क्वालिटी गरी दुई प्रकारको हुन्छ। पीपी क्वालिटीको हेलमेट सस्तो हुन्छ तर राम्रो हुँदैन। कुनै पनि सर्टिफिकेट पाउनको लागि इबीएस क्वालिटीमा हेलमेट उत्पादन गरेको हुनुपर्छ।
इबीएसमा पनि कुन राम्रो भन्ने भित्रको ईपीएस लेयर कस्तो छ भन्नेमा भर पर्छ। टाउको जोगाउनको लागि हेलमेट कडा भएर हुँदैन। कुनै दुर्घटना हुँदा हेलमेटको लेयर जति बढी क्य्राक भयो उति राम्रो तर हेलमेट फुट्न भएन। त्यसमा कस्तो हेलमेट प्रयोग गर्ने भन्ने बाइकको पावर अनुसार हुन्छ।
बाहिरको सेल फुट्न भएन। पीपी क्वालिटीको भए फुट्छ। तर इबीएस क्वालिटीमा बनेको हेलमेट फुट्दैन क्य्राक हुन्छ र टाउकोलाई बचाउँछ।
जतिसुकै महंगो हेलमेट भए पनि एकपटक इबीएस क्य्राक भए त्यो प्रयोग गर्न सुरक्षित हुँदैन। बाहिरबाट हेर्दा सबै राम्रो देखिन्छ तर भित्रको लेयर क्य्राक भएको हुनसक्छ ।
हरेक छ महिनामा भाइजर परिवर्तन
बाइकमा मोबिल चेन्ज गरेजस्तै हेलमेटमा ६–६ महिनामा भाइजर परिवर्तन गर्नुपर्छ। इपिएर लेयर ५ वर्षपछि मक्किने समस्या हुन्छ। नेपालमा आउने हेलमेटको आयु ३ देखि ४ वर्षको हुन्छ। तर वर्षौँसम्म पनि एउटै हेलमेट प्रयोग गर्ने चलन छ। कहिले बनेको भनेर हेलमेटमा लेखेको हुन्छ।
हेलमेटको प्रमाणीकरण मिति ख्याल गरौँ
नेपाली बजारमा विदेशबाट आयातित नक्कली हेलमेट छ्यापछ्याप्ती पाइने हुँदा कुन हेलमेट कस्तो भन्ने ख्याल गर्नुपर्छ। नेपालमा हेलमेटको गुणस्तरमा कुनै मापदण्ड नभए पनि भारत, युरोप तथा अमेरिकामा भने सर्टिफिकेसनको तह निर्धारण गरिएको हुन्छ।
हेलमेट सर्टिफिकेसनमा भारतको ‘आइएस सर्टिफाइड’, अमेरीकाको डर्ट सर्टिफाइड तथा युरोपको ईसीई सर्टिफाइड हुने गर्दछन्।
Shares
प्रतिक्रिया