यस वर्ष दशैँअगाडि हुन नसकेको नाडा अटो शो आगामी माघ–फागुनमा आयोजना गर्ने गरी अटो व्यवसायीहरुले छलफल थालेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमिति बैठकमा सवारीसाधन प्रदर्शनी तथा व्यावसायिक मेला आगामी माघ फागुनतिर गर्ने गरी बिहीबार छलफल भएको हो।
उक्त छलफलमा सहभागी सदस्यहरुले ३ वटा विकल्प अघि सार्दै माघ वा फागुनमा गर्न सकिने बताएका थिए। त्यसका लागि उनीहरुले कुन स्वरुपमा गर्ने भनेर छलफल गरेको नाडाका महासचिव सुरेन्द्र प्रधानले जानकारी दिए।
सके गत वर्षजस्तै गर्ने, भएन भने हाइब्रिड अर्थात् अनलाइनबाट र अर्को भीडभाड नहुने गरी अघिल्ला दुवै माध्यमबाट गर्ने तीनवटा प्रस्तावमा छलफल भएको थियो।
फोरह्विलर, टु ह्विलरको समितिमा यसबारे छलफल हुनेछ। उनीहरुले दिने निष्कर्षको आधारमा अघि बढ्ने प्रधानले बताए।
नाडा अटो शोको हालका संयोजक तथा सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठलाई उक्त तीन विकल्पबारे मातहतका समिति तथा व्यवसायीसँग समन्वय गर्न र प्रस्ताव पेस गर्न भनिएको छ।
यसैबीच, नाडा कार्यसमितिले विद्युतीय गाडीको नयाँ बजेट तथा आर्थिक ऐनमार्फत बढाइएको नयाँ कर मन्त्रिपरिषद बैठकले घटाउने निर्णय गरेको भन्दै त्यसको स्वागत गरेको छ।
Shares
प्रतिक्रिया