ad ad

बागमती


११ वर्ष लागुऔषधको लतमा फसेका सौजन, अहिले अरूलाई सुधार्छन्

भन्छन्– संसारमा हरेक कुरा सम्भव हुँदोरहेछ!
११ वर्ष लागुऔषधको लतमा फसेका सौजन, अहिले अरूलाई सुधार्छन्

सौजन डीसी र उनले सञ्चालन गरेको सियान पुनर्स्थापना केन्द्र


सुनिता विष्ट
फागुन १८, २०७९ बिहिबार ९:४८, हेटौँडा

लागुऔषध दुर्व्यसनीमा फसेका व्यक्ति पनि सम्हाल्ने र कुरा बुझिदिने परिवार पाए असल बाटो पहिल्याउन सक्छन् भन्ने बलियो उदाहरण हुन्– हेटौंडा निवासी सौजन डीसी। १३/१४  वर्षको कलिलो उमेर, हातमा कक्षा ५ को किताब, तर स्कुल ड्रेसको पाइन्टको खल्तीमा चुरोट र गाँजा! पैसा भए अथवा साथीले दिए लागुऔषध पनि! 

विद्यालयमै संगीतको कक्षामा सिकेको गितार र अन्य बाजाले रक स्टार नै बनेका सौजन लागुऔषधको लतमा फसे। लगभग २० वर्षअघि उमेर १३/१४ वर्ष मात्रै हुँदा हातमा गितार बोकेर हेटौँडाको चोकचोकमा कन्सर्ट गर्ने ग्याङका रूपमा परिचित थियो– सौजनको टोली। संगीतकै कारण लागुऔषधमा फसेका उनी यी दुई चिजबाट उम्किनै सकेनन्। कक्षादेखि सुरु भएको उनको आगुऔषध खाने क्रम निरन्तर ११ वर्षसम्म चलिरह्यो। 

अल्लारे उमेरमा एक्लो भइयो अथवा स्वतन्त्र भइयो भने दुर्व्यसनीमा फसिँदोरहेछ भन्ने कुरा आफूले अनुभूति गरेको उनी सुनाउँछन्। ‘म घरको कान्छो छोरो थिएँ। दाइ र दिदी हुनुहुन्थ्यो, उहाँहरू पढ्नका लागि काठमाडौँ जानुभयो’, विगतका दिन सम्झिँदै उनले भने, ‘सानो कक्षामा पढ्दै गरेका कारण म हेटौँडामै बसेँ। विद्यालयमा दाइ, दिदी हुँदा पो डर हुन्थ्यो र नराम्रो काममा मन जाँदैन थियो होला। उहाँहरू काठमाडौँ लाग्नु भएपछि म साथीभाइको संगतमा लाग्न पुगेछु।’

किनबेचमा पनि संलग्न
किशोर अवस्थामा गाँजा, चुरोटदेखि ‘ड्रग्स’सम्म प्रयोग गर्न थोरै खर्चले पुग्ने अवस्था थिएन। घरबाट पैसादेखि गरगहनासम्म चोरेर भए पनि नशा लिन पल्किएका उनलाई सधैँ चोरेकै खर्चले पुग्ने अवस्था भएन। नशाबिना बाँच्न नसक्ने भइसकेका उनले विकल्पका रूपमा किनबेचको काम पनि थाले। 

ती दिन सम्झिँदै उनी भन्छन्, ‘दिनमा १ लाखसम्मको कारोबार गर्थेँ। तर त्यो पैसा मैले घरमा १ रुपैयाँ पनि देखाउँथिनँ। पैसा टन्न कमाएका बेला साथीहरूलाई पनि खुवाउँथेँ। त्यतिबेला कमाउनका लागि नभएर नशा प्रयोगकै लागि किनबेच गर्ने मलाई पैसा, परिवारभन्दा प्यारो नशा नै थियो।’ लागुऔषध खानकै लागि आफैँले कानमा लगाएको मुन्द्रा २ पटकसम्म बेचेको उनी सुनाउँछन्।

सौजन डीसी

लागुऔषध छुटाउन धामी!
घरको कान्छो छोरो लागुऔषधमा फसेपछि कसरी बाहिर ल्याउन सकिन्छ भन्ने चिन्ताले उनका परिवारलाई सताउन थाल्यो। आजभन्दा भोलि, भोलिभन्दा पर्सि गर्दै गाँजा, चरेस, हेरोइन लगायतको नशामा डुबिसकेका उनलाई यसबाट मुक्त गराउन उनकी आमा मनुले धेरैजना धामीझाँक्रीकहाँ लगिन्। धेरैवटा मन्दिर चहारिन्। भाकल गरिन्। तर सौजनलाई सुधार्न सकिनन्। 

दुर्व्यसनीमा फसेकै बेला विवाह
समय बित्दै गयो। कक्षा २ देखि नै सौजन र उनकी हितैषीको माया झाँगिदै गयो। माया के हो भन्ने नबुझ्दै प्रेममा परेका उनीहरूको प्रेम–विवाह भयो। ‘उमेर त्यस्तै २०/२२ वर्षको थियो। म ड्रग्स युजर हुँ भन्ने कुरा उनलाई थाहा थिएन’, सौजनले सुनाए। 

उनकी पत्नीकाे नाम हो– तान्या अग्रवाल। कक्षा १२ मा पढ्दै गर्दा सौजनसँग विवाह बन्धनमा बाँधिएकी उनलाई आफ्ना श्रीमान्‌ले लागुऔषध खान्छन् भन्ने थाहा थिएन। दिनहरू बित्दै जाँदा उनले थाहा पाइन्- पति लागुऔषध खाँदा रहेछन्। तर पनि उनले आफ्ना पतिलाई सही दिशामा ल्याउन पहल गरिरहिन्। ‘आफूले पाएको नयाँ जिन्दगीको देन नै श्रीमती र परिवार रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘म अहिलेजस्तो अवस्थामा छु। यसमा मेरा श्रीमती र परिवारको महत्त्वपूर्ण हात छ।’

जब पहिलो सन्तान गुम्यो
विवाह गरेको केही वर्षपछि उनकी श्रीमती जब गर्भवती भइन्। त्यतिबेला उनी झन् जतिबेला पनि नशा चाहिने भइसकेका थिए। रातदिन कुनै पनि बेला घरमा नबस्ने उनी जता साथीभाइसँग भेटघाट हुन्छ, उतै समय बिताइदिन्थे। न घर फर्कने समयको ठेगान, न त बाहिर निस्कनेको ठेगान। जुन बेला नशाले छाड्छ, त्यतिबेला नै चोकचोकमा साथी खोज्न जाने उनको यो व्यवहारमा परिवर्तन आउनै सकेन।

उनकी श्रीमतीको कोखमा बच्चा हुर्किरहेको थियो। तर यस्तो बेला श्रीमतीको ख्याल गर्नुपर्छ भन्नेसम्म सोच्न सकेनन् उनले। रातदिन नै श्रीमान् कोठामा नबस्ने भएपछि तान्याले उनलाई कोठामै बसेर खान भनिन्। उनको सल्लाहअनुसार सौजनले धेरै समय कोठामै त बिताए। तर तान्याले सोचेजस्तो हुँदै भएन। लागुऔषध नखाउन्जेलसम्म माया गर्ने उनले लागुऔषध खाएपछि गर्भवती श्रीमतीलाई कुटपिट गर्न थाले।

तान्या भन्छिन्, ‘गर्भवती भएको ९ महिनामा मैले १५ पटक भिडिओ एक्सरे गर्नुपर्‍यो। पिटाइ खान कुनै कारण नै चाहिँदैन थियो। पीडा त कति पाएँ पाएँ!’ ती दुःखका दिन अहिले पनि आफ्ना आँखामा झल्झली नाचिरहेको उनी सुनाउँछिन्। 

दिनहरू बित्दै गए। २०७२ सालमा उनीहरूको छोरा जन्मियो। छोराको नाम सियान राखिदिए। जन्मिँदा स्वस्थ जन्मिएको सियान २ महिनापछि धेरै बिरामी भए। त्यतिबेला सौजन लागुऔषधबाट मुक्त हुन सुधारकेन्द्रमा पुगेका थिए। हेटौँडाबाट तान्याले काठमाडौँमा रहेका उनलाई फोन गरेर छोरा बिरामी भएको कुरा सुनाइन्। त्यो रात यसै भयो।

उनले भने, ‘भोलिपल्ट बिहान बाबु ल्याएर उनी आइन्, म बल्खु गएँ। त्यहाँ पुगेर छोरा बोक्दा छोरामा श्वास नै थिएन। हतारहतार गर्दै नजिकै रहेको अस्पताल लग्यौँ। त्यहाँ उपचार हुन नसकेपछि कान्ति अस्पताल लग्यौँ। कान्ति अस्पतालमा पनि २–४ घण्टा उपचारको प्रयास भयो, तर सफल हुन सकेन। पहिलो सन्तानलाई गुमाउनुपर्‍यो।’ 

उनले थपे, ‘जिउँदोमा छोरालाई एक मिनेट पनि नबोकेको मैले मृत अवस्थाको सियानलाई काठमाडौँबाट हेटौँडासम्म आउँदा ४ घण्टा काखमा बोकेर ल्याएँ।’

अनि सुध्रिन मन लाग्यो    
जब उनले सियान छोरा गुमाएँ, तब अब म यो दुर्व्यसनीबाट मुक्त हुनुपर्छ भन्ने लाग्न थाल्यो। परिवारको करमा पुनःस्थापना केन्द्र गएको उनलाई अब म सुध्रिन्छु भन्ने भित्र मनदेखि नै आयो। १५ दिन जति एकदमै गाह्रो भए तापनि बिस्तारै बानी पर्दै गएपछि ३ महिनामा पूर्ण रूपमा लागुऔषध मुक्त भए उनी।

जब मनमा गहिरो चोट पर्‍यो, अनि मात्रै अब जसरी पनि परिवर्तन हुनुपर्छ भन्ने भावना आयो। उनले भने, ‘११ वर्ष पूर्ण रूपमा लागुऔषध सेवनकर्ता भएको म ९० दिनमा छुट्कारा पाउन सक्छु भन्ने आफैँलाई पनि लागेको थिएन। तर संसारमा हरेक कुरा सम्भव हुँदो रहेछ भन्ने लाग्छ अहिले।’

सुध्रिएपछि आयो सुधार्ने सोच
तीन महिना सुधारकेन्द्रमा बस्दा उनको दिमागमा सुधारकेन्द्र खोलेर आफूजस्ता कुलतमा फसेका युवाको जीवन रक्षाका निम्ति केही गर्ने अठोट लिएर फर्किए। घर आएपछि उनले आफ्नो यो इच्छा श्रीमतीलाई सुनाए। त्यसपछि परिवारकै सहमतिमा उनले २२ मंसिर २०७३ मा स्वर्गीय छोरा सियानको नाममा ‘सियान पुनर्स्थापना केन्द्र’ स्थापना गरे। 

अहिले उमेरले ३० वर्ष लागेका उनको उक्त पुनर्स्थापना केन्द्रमा ९३ जना युवा छन्। हालसम्म लागुऔषध दुर्व्यसनीमा लाग्दै गरेका ४ हजार ५ सय ८६ जनालाई उनले पुनर्स्थापना केन्द्रमार्फत सुधार गरिसकेका छन्। हाल १ छोरा र १ छोरी भए तापनि पहिलो सन्तानकै सम्झनास्वरूप सियानकै नामबाट चलेको संस्थाले लागुऔषध दुर्व्यसनीहरूको उपचारबाहेक टोल, समाज र विद्यालयमा  जनचेतना अभिवृद्धिका कार्यक्रम गर्ने गरेको छ।

लागुऔषध दुर्व्यसनीमा फसेर २४सै घण्टा नशामा डुब्ने बानी परेका सौजन अहिले यस्तै नशामा डुबेका युवाहरूको उद्धारमा खटिएका छन्। 

त्यसो त आफ्नो सुधारकेन्द्रमा महिलालाई राख्ने सुविधा नभएका कारण यहाँबाट काठमाडौँ रिफर गर्नुपरेको बताउँछन्। लागुपदार्थ दुर्व्यसनीमा फसेका र फस्न सक्ने युवा पुस्ताको जमात ठूलो भए तापनि यसतर्फ स्थानीय, प्रदेश र केन्द्रीय सरकार गम्भीर भएर नलागेकोप्रति भने उनको गुनासो छ। प्रतिव्यक्ति १५ हजार रुपैयाँ मासिक लिएर उपचार गरिरहेको सियान पुनर्स्थापना केन्द्रले आर्थिक स्थिति कमजोर भएकाहरूलाई निःशुल्क समेत राख्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .