ad ad

बागमती


एकीकृत समाजवादीले पाउला बागमतीको मुख्यमन्त्री?

संसदीय दलको नेता छान्न अझै अलमल
एकीकृत समाजवादीले पाउला बागमतीको मुख्यमन्त्री?

सुनिता विष्ट
फागुन २२, २०७९ सोमबार १६:३८, हेटाैँडा

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ राजनीतिक दलले संसदीय दलको नेता चयन गरेको दुई महिनाभन्दा बढी समय भइसेको छ। तर, नेकपा (एकीकृत समाजवादी)ले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन।

त्यसको कारण हो, प्रदेश सरकारमा एकीकृत समाजवादीले नेतृत्व पाउने आशका कारण सो दलका नेताहरुबीच संसदीय दलको नेता बन्न चलेको हानथाप।

यही आशा र हानथापबीच संसदीय दलको नेता चुन्न अलमल गर्दागर्दै दुई महिना भन्दा लामो समय बितिसकेको छ। 

गएको पुस ११ गते प्रदेश सभाका सांसदहरुले पद तथा गोपनीयताको शपथ खाएका थिए। सांसदको शपथपछि राजनीतिक दलहरु संसदीय दलको नेता चयनको प्रक्रियामा लागे।

एमाले, माओवादी, नेमकिपा, हाम्रो नेपाली पार्टी र राप्रपाले समझदारीको आधार आ–आफ्नो दलको नेता चयन गरेका थिए भने कांग्रेसले निर्वाचन नै गरेर नेता चुनेको थियो। तर, सात सिट रहेको एकीकृत समाजवादी भने संसदीय दलको नेता चयन गर्न ढिलाइ गरिरहेको छ।

प्रदेश सरकारको पहिलो कार्यकालमा संघीय संसद विघटन र तत्कालिन नेकपाको विभाजनपछि एकीकृत समाजवादीले मुख्यमन्त्रीको जिम्मेवारी पाएको थियो। एमालेबाट फुटेर नयाँ पार्टी विस्तारकै क्रममा सत्ताको नेतृत्व गर्ने अवसर पाएको एकीकृत समाजवादीका सांसदहरु संसदीय दलको नेता बन्न हानथाप गरिरहेका छन्।

राष्ट्रपति निर्वाचनपछि सत्ताको नेतृत्वमा पुग्ने नपुग्ने थाहा हुने एकीकृत समाजवादीकी एक सांसद बताउँछिन्। यसअघि संसदीय दलको नेता रहेका राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बनेको स्मरण गर्दै उनले देशको राजनीतिक अवस्था अनुसार सरकारको नेतृत्व पाउने अवसर आउन सक्ने भएका कारण ७ जना सांसदमा पनि हानाथाप भैरहेको ती सांसदले बताइन्।

उनले भनिन्, ‘राजनीतिक माहोल हो, कुनबेला के हुन्छ थाहा हुँदैन। यसअघि मन्त्री बनिसकेकादेखि अन्य सांसदहरुले पनि संसदीय दलको नेतामा दाबी गरिरहेका छन्। केन्द्रको माहोल २५ गतेपछि थाहा हुनेछ। त्यसपछि नेता चयन हुन्छ कि जस्तो लाग्छ।’

हाल नेकपा एकीकृत समाजवादीका ललितपुरबाट निर्वाचित सांसद डा.राजेन्द्रमान श्रेष्ठ र चितवनबाट निर्वाचित कृष्ण शर्मा खनाल संसदीय दलको नेताको मुख्य दाबेदार हुन्। यसअघि काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित लक्ष्मण लम्साल पनि दलको नेता बन्ने दौडमा रहेको स्रोतको दाबी छ।

संख्यात्मक रुपमा थोरै सांसद रहेको एकीकृत समाजवादीमा पनि एकआपसमा सहमति हुन नसक्नु नै दलको नेता चयन गर्न नसक्नुको मूल कारण भएको नेताहरु बताउँछन्। केन्द्रमा नयाँ गठबन्धन ब्यूँतिएसँगै सत्ताको नेतृत्व गर्ने दाउमा रहेको एकीकृत समाजवादी राष्ट्रपति निर्वाचनकै पर्खाइमा रहेको छ। 

एकीकृत समाजवादीले पाउला नेतृत्व?
कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न एमाले–राप्रपा लगायतका दलको गठबन्धनमा मिसिन पुगेपछि पूरानो पाँचदलीय गठबन्धन भत्कियो। पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिएको एकीकृत समाजवादीले त्यो गठबन्धन टुटेका कारण सरकारमा सहभागी भएन।

तर, अब फेरि पूरानो गठबन्धन ब्यूँतिएसँगै बागमती सरकारमा एकीकृत समाजवादीले पनि ‘इन्ट्री’ पाउने कुरामा दुई मत छैन। हाल कायम रहेको गठबन्धन अन्तर्गत कांग्रेसको नेतृत्वमा मन्त्रिपरिषद् बिस्तार भएपनि अथवा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलकै नेतृत्वमा रिक्त रहेको मन्त्रिपरिषद्ले पूर्णता पाएपनि एकीकृत समाजवादी सरकारमा पुग्ने लगभग निश्चित छ। 

केन्द्रमा बनेको आठदलीय गठबन्धन अन्तर्गत बागमतीमा ३ राजनीतिक दलहरु छन्। माओवादी, कांग्रेस र एकीकृत समाजवादी मिलेर सरकार गठन हुँदा कम्तीमा पनि २ मन्त्रालय एकीकृत समाजवादीको भागमा पर्ने देखिन्छ। यद्यपि एकीकृत समाजवादी भने सरकारकै नेतृत्व पाउने दाउमा छ।

यस्तो छ अंकगणित 
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, राप्रपाको १३, माओवादीको २१, एकीकृत समाजवादीको ७, हाम्रो नेपाली पार्टीको २ र नेमकिपाको ३ प्रदेश सभा सदस्य छन्।  

बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गरी ६५ सिट हुन आउँछ। सरकार गठनका लागि यी तीन दलको गठबन्धनलाई प्रर्याप्त बहुमत पुग्छ। 

यता, एमालेको २७, राप्रपाको १३ (सभामुख सहित), मात्रै मिलेर सरकारलाई पूर्णता दिन सक्ने अवस्था छैन। जसका कारण एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने देखिन्छ। 

एक दलले मात्रै सरकार गठन गर्न गणपूरक संख्या नपुग्ने हुँदा २ वा सो भन्दा बढी राजनीतिक दलहरु मिल्नै पर्ने हुन्छ। बागमतीमा कांग्रेस र माओवादी मात्रै मिल्दा पनि बहुमतले सरकार बन्ने अवस्था छ। 

केन्द्रमा कायम रहेको गठबन्धनमा एकीकृत समाजवादी पनि रहेका कारण राष्ट्रपति निर्वाचनपछि बागमतीमा सत्ता समीकरण फेरिँदै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेस र प्रतिपक्षी भूमिकामा रहेको एकीकृत समाजवादी सत्तामा पुग्ने छन्। 

सातै प्रदेशमा हुने भागबण्डाका आधारमा यी तीन दलमध्ये एउटाले बागमती प्रदेशको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .