ad ad

बागमती


राष्ट्रपति निर्वाचनपछि बागमती सरकार आफ्नो नेतृत्वमा ल्याउने दाउमा कांग्रेस

लामा मुख्यमन्त्री बन्लान् कि जम्मकट्टेलले नै निरन्तरता पाउलान्?
राष्ट्रपति निर्वाचनपछि बागमती सरकार आफ्नो नेतृत्वमा ल्याउने दाउमा कांग्रेस

सुनिता विष्ट
फागुन २४, २०७९ बुधबार ९:५२, हेटाैँडा

राष्ट्रपति निर्वाचनपछि बागमती प्रदेशमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दाबी गरेको छ। नयाँ राष्ट्रपति चयनका लागि भोलि (फागुन २५ गते) निर्वाचन हुँदै छ। 

हालका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल एमाले–राप्रपासँगको गठबन्धनबाट मुख्यमन्त्री बनेको र पुरानो गठबन्धन ब्यूँतिएकाले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गरिनुपर्नेमा कांग्रेस नेताहरूको जोड छ।

बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा एमाले र राप्रपा सरकारमा सहभागी भएका थिए। १४ मन्त्रालयबाट आर्थिक भार कम गर्ने निर्णय गर्दै ११ मन्त्रालयमा समायोजन गर्दा एमालेको भागमा ४ मन्त्रालय र उपसभामुख, राप्रपाको भागमा ३ मन्त्रालय र सभामुख परेका थिए भने माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित ४ मन्त्रालय परेका छन्। 

पुस १४ गते सांसदहरूले पद तथा गोपनीयताको शपथ खाएपछि पुस २५ गते माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्रीमा बनेका हुन्। मुख्यमन्त्री पदका अर्का दाबेदार एमालेका नेता जगन्नाथ थपलिया अर्थमन्त्री बने भने राप्रपाका नेता उद्धव थापाले बिनाविभागीय मन्त्रीमा चित्त बुझाएका थिए।

लामो समयसम्म भागबन्डामै अल्झिएका मुख्यमन्त्री जम्मकट्टेलले माघ ११ गते मन्त्रिपरिषद्लाई पूर्णता दिए। करिब २ महिनाको अवधिमा सबै तारताम्य मिलाइसकेका मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको मन्त्रिपरिषद्‌मा त्यतिबेला पहिरो गयो, जब केन्द्रमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो। 

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्ड नेतृत्वको सरकार छाडेको घोषणा गर्नेबित्तिकै प्रदेशमा पनि यसको परकम्प गयो। केन्द्र सरकारबाट बाहिरिएकै दिन बागमतीमा राप्रपाका ३ मन्त्रीले मुख्यमन्त्री जम्मकट्टेलसमक्ष राजीनामा बुझाए। यसरी मन्त्रिपरिद्ले पूर्णता पाएको ४९ दिनमै बागमती प्रदेश सरकार अल्पमतमा पर्‍यो। 

तर नयाँ गठबन्धन भत्किए पनि पुरानो गठबन्धन ब्यूँतिएका कारण प्रदेश सरकार नढल्ने मुख्यमन्त्री जम्मकट्टेलको विश्वास छ। तर यसमा कांग्रेस तगारो बनेको छ। आफ्नै नेतृत्वमा सरकारलाई पूर्णता दिने उनको प्रयासमा कांग्रेसले चुनाैती दिएको छ।

कांग्रेस बागमती प्रदेशका मुख्य सचेतक कुन्दनराज काफ्ले जम्मकट्टेललाई नै समर्थन गर्नुपर्ने कुनै कारण नरहेको बताउँछन्। हालको आठदलीय गठबन्धन यथास्थितिमा रहे कांग्रेसकै नेतृत्वमा मन्त्रिपरिषद् गठन हुने उनको दाबी छ। 

‘एमाले र राप्रपाले बनाएको मुख्यमन्त्रीलाई नै हामीले समर्थन गर्नुपर्ने कुनै ठाउँ छैन। हामी प्रदेशसभाको सबैभन्दा ठूलो दल हौं’, उनले भने, ‘यसैले मुख्यमन्त्रीको भाग कांग्रेसले नै पाउनुपर्ने हुन्छ। अहिलेकै मुख्यमन्त्रीलाई कांग्रेसले कुनै पनि हालमा समर्थन गर्दैन।’ 

जम्मकट्टेल नेतृत्वको सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो नि त भन्ने प्रश्नमा उनले भने, ‘त्यतिबेला दिएको मत र अब दिने मतमा धेरै भिन्नता छ। विश्वासको मत दिए पनि हामी प्रमुख प्रतिपक्षी दलकै भूमिका बसेका छौं।’

११० प्रदेशसभा सदस्य रहेको बागमतीमा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ सिट छ। यस्तै माओवादी केन्द्रको २१ सिट छ भने एकीकृत समाजवादीको ७ सिट छ। बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा एमालेका २७, राप्रपाका १३, हाम्रो नेपाली पार्टीका २ र नेमकिपाका ३ सांसद छन्। 

केन्द्रको भागबन्डाअनुसार बागमतीकाे नेतृत्व कांग्रेसले लिने अवस्था आए कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन्। तर बागमती प्रदेश माओवादी केन्द्रकै भागमा परेमा भने वर्तमान मुख्यमन्त्री जम्मकट्टेलले नै निरन्तरता पाउने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .