ad ad

बागमती


राष्ट्रपति निर्वाचनको परिणाम आएलगत्तै एमालेले छाड्न सक्छ बागमती सरकार

राष्ट्रपति निर्वाचनको परिणाम आएलगत्तै एमालेले छाड्न सक्छ बागमती सरकार

सुनिता विष्ट
फागुन २५, २०७९ बिहिबार १५:१२, हेटाैँडा

आज देशले नयाँ राष्ट्रपति पाउने दिन। राष्ट्रपति चयनको लागि मतदानसमेत सम्पन्न भइ परिणाम आउने तयारीमा छ। एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धामा रहेका आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बन्ने निश्चित जस्तै छ।

एमालेसँगको सहकार्यमा सातदलीय गठबन्धन बनाएर प्रधामन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै गठबन्धन टुटाएर पुरानै गठबन्धन ब्यूताउँदा मुलुकको राजनीति समीकरण नै उलटफेर हुने भएको छ। पाँचदलीय गठबन्धनविरुद्ध चुनावमा होमिएको एमाले एकाएक सत्तामा पुगेपनि समीकरण परिवर्तन हुँदा फेरि प्रतिपक्षी बेन्चमा पुगेको छ।

यद्यपी केन्द्रमा एमाले सरकारबाट बाहिरिसकेको अवस्थामा प्रदेशमा भने राष्ट्रपति निर्वाचनसम्म ‘पर्ख र हेर’को अवस्थामा छ। राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङ अन्य पार्टीको भोट क्रस भएर निर्वाचित होलान् कि भन्ने झिनो विश्वासमा एमाले प्रदेश सरकारमा कायमै छ।

राष्ट्रपतिको पद पौडेलको पोल्टामा परे एमाले सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षी दलको भूमिका रहनुको विकल्प देखिँदैन। 

आजको राष्ट्रपति निर्वाचनले बागमतीमा एमालेका चार मन्त्रीको भविष्य निर्धारण गर्नेछ। राप्रपा, एमाले र माओवादी तीन दल मिलेर सरकार गठन हुँदा एमालेको भागमा चार मन्त्रालय र एक उपसभामुखको भाग परेको थियो।

एमालेकी अप्सरा चापागाईँ उपसभामुखको जिम्मेवारीमा छिन्। यस्तै, एमालेका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषी पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री छन्।

केन्द्र सरकारबाट फागुन १५ गते नै राजीनामा दिए पनि प्रदेशको हकमा भने राष्ट्रपति निर्वाचनसम्म कुर्न निर्देशन आएकोले रोकिएका एमालेका मन्त्रीहरुले निरन्तरता पाउलान् कि सरकारबाट बाहिरिएलान्? त्यो भने राष्ट्रपति निर्वाचनको नतिजाले तय गर्ने छ। 

आठ दलीय गठबन्धन ब्यूँतिएको अवस्थामा एमाले सरकारमा टिकिरहला भन्ने अवस्था भने छैन। गठबन्धन टुटेसँगै एक्लिएको एमाले बागमती प्रदेश सरकारमा अटाउन मुस्किल देखिन्छ। 

एमाले बाहिरिएको खण्डमा यस्तो छ नयाँ अंकगणित
यता, बागमती सरकारबाट राप्रपा बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसो त, एमाले पनि बाहिरिएको खण्डमा मुख्यमन्त्री नै परिवर्तन हुनुपर्ने माग राख्दै आएको नेपाली कांग्रेस चुप बस्ने स्थितीमा छैन।

बागमतीमा नयाँ सरकार गठन गर्नुपरेको अवस्थामा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार बन्छ। सबैभन्दा ठूलो दल रहेको कांग्रेसको ३७ र माओवादीको २१ सिटले ५८ हुन आउँछ। यहाँ सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। आठ दलीय गठबन्धनमा नै रहेको नेकपा एकीकृत समाजवादीको समेत बागमती प्रदेश सभामा उपस्थिती छ। एकीकृत समाजवादीको ७ सिट पनि मिल्दा ६५ हुन आउँछ। 

११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७ सिट रहेको छ। यस्तै, राप्रपाको १३ (सभामुख सहित), नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .