मकवानपुर राक्सिराङकी २६ वर्षीया कुमारी प्रजा अहिले ५ छोरी हुर्काइरहेकी छन्। नौ वर्षअघि विवाह गरेकी कुमारीले डेढ वर्षको अन्तरमा ५ छोरी जन्माइन्। अहिले २६ वर्ष लागेकी कुमारीको काखमा ६ महिनाकी सानीसहित डेढ वर्ष अन्तरका ५ छोरी छन्।
अरू हिँड्न/डुल्न सक्ने भइसके पनि सानी छोरीलाई भने हेरविचार गर्नुपर्ने हुन्छ, तर उनलाई छोरी हेरेर बस्ने फुर्सद हुँदैन। बिहान झिसमिसेमै उठेर जंगल जान्छन्– कुमारी र उनका श्रीमान् हरि प्रजा- ६ महिनादेखि ५ वर्षसम्मका ४ बहिनी जेठी छोरी ७ वर्षीया समृताको जिम्मामा छाडेर।
कुमारीले आमा बन्न सक्ने क्षमता नगुमेसम्म अझै कतिवटा बच्चा जन्मिएलान् भन्ने अनुमानसमेत गरेकी छैनन्। प्रत्येक १८ महिनाको अन्तरालमा बच्चा जन्माइरहेकी उनी परिवार नियोजनको साधनबारे अनभिज्ञ छिन्। उनी मात्रै होइन, उनका श्रीमान् हरि पनि सुन्न त सुनेको तर यसबारे त्यति थाहा नभएको बताउँछन्।
बिहान–बेलुकाको छाक टार्न धौधौ परिरहेको उनीहरूलाई अहिल्यै सातवटा पेट पाल्न सकस भइरहेको छ। कान्छी छोरी भखर्र ६ महिनाकी भइन्। अबको एक वर्षभित्र अर्को बच्चा नजन्मिएला भन्नेमा कुनै शंका छैन। पाँचवटी छोरीको जिम्मेवारी वहन गर्न कठिन परिरहेको अवस्थामा उनीहरू परिवार नियोजनका साधन प्रयोग गर्ने पक्षमा भने छैनन्।
‘हाम्रो चेपाङ जातिमा परिवार नियोजन गर्ने चलन नै हुँदैन। ईश्वरले दिएको हात थाप्नुपर्छ भन्छन् बाजेहरू। पाँचवटी छोरी छन्। अब छोरा जन्मिन्छ कि भन्ने आश पनि छ’, श्रीमतीको अनुहारमा हेरेर मुस्कुराउँदै हरिले भने। यता, कुमारी भने यस्ता विषयमा बोल्न निकै अप्ठेरो मानिरहेकी थिइन्। ‘अब नपाउने भनेको त हो’, लजाउँदै उनले भनिन्।
पाँच छोरी र दम्पतीको प्राण धान्न जंगलमा गएर दाउरा खोज्ने काम गर्छन्– हरि र कुमारी। बिहान दाउरा ल्याएर बिक्री गर्ने होटलसम्म पुर्याइदिएपछि एक भारीको १ सय ५० रुपैयाँ पाउने गरेका छन्। दुईजनाको गरेर दिनमा मुस्किलले ३ सय रुपैयाँ हुन्छ। यसैले कहिले पेट भरिन्छ त कहिले पैसा नपाएको दिन पीडाले मन।
‘आफ्नो पेट खाली हुँदा त जेनतेन सहने गरेका छौँ, तर बालबच्चा भोको नपरून् भनेर बच्चाहरूलाई छाडेर भए पनि दुवैजना जंगल जान्छौं’, हरिले भने।
आफूहरूको मात्रै होइन, जिल्लाकै विकट मानिने यहाँका अधिकतर चेपाङ दम्पतीका ४ जनाभन्दा धेरै बालबच्चा हुने गरेको हरि सुनाउँछन्। ‘हाम्रा बाउबाजेदेखि नै परिवार नियोजन गर्ने भन्ने चलन नै छैन। ईश्वरले दिएको हात थाप्नपर्छ भन्छन्’, उनले भने, ‘त्यही भएर यस्ता कुरामा ध्यान नदिएको।’
उनले थपे, ‘बच्चाहरू धेरै भएपछि पढाउन, खुवाउन पर्यो। मेलापातबाहेक अरू केही काम आम्दैन। ठूला बच्चाले अरू सानालाई हेर्न्या गरेका छन्।’
चार बहिनीको जिम्मा ७ वर्षकी दिदीलाई
समृता ५ दिदीबहिनीमध्ये सबैभन्दा जेठी हुन्। जेठी भएकै कारण कलिलो उमेरमै ४ बहिनी हेर्ने जिम्मा उनकै काँधमा छ। आमाबुवा जंगल जाँदा खाना पकाउने, खुवाउने र हेरविचार गर्ने जिम्मा उनकै हो। अरूले त जे पनि खाने गरेकाले सजिलो हुने बताउने समृतालाई सानी बहिनी हेर्न भने कठिन नै हुने गरेको छ। ‘थोरै चामल हालेर पानी र नुन हालेर जाउलो पकाएर दिन्छु। धेरै खान्छे’, समृताले सानी बहिनीलाई मुसार्दै भनिन्।
समृताभन्दा तलका ३ बहिनीले पनि उनको काममा सहयोग गर्छन्। समृताले भात पकाउँदा बहिनीहरूले नुन–खुर्सानी पिसिदिन्छन्। ‘आमाबुवा त कुन बेला आउँछन्, थाहा हुँदैन। हामी आफैँ पकाएर खान्छौँ’, समृताकी माइली बहिनीले भनिन्।
बहिनी हेर्दा स्कुल जान भ्याउँदिनन्
बिहान उठेपछि हतार–हतार घरको काम सकाएर स्कुल जान चाहन्छिन् उनी। तर अन्य सबै स्कुल जान सक्ने भए पनि सानी बहिनी हेर्नकै लागि प्रायः उनको स्कुल छुट्ने गरेको छ। आमाबुवा कामबाट आइपुगे मात्रै स्कुल जान पाउने गरेकी समृता महिनाको १० दिन पनि कक्षामा उपस्थित हुन भ्याउँदिनन्।
घर चलाउन ज्याला–मजदुरी गर्न आमाबुवा मेलापात, जंगल जाँदा कुन बेला घर फर्किन्छन् भन्ने ठेगान नहँुदा समृता विद्यालयमा नियमित उपस्थित हुन सक्दिनन्। तर स्कुल भर्ना भने भएको कुमारी बताउँछिन्।
‘हिजो त गएको थियो। आज हामी भर्खर वनबाट आ’को। बहिनी हेर्न परेर आज नजाऊ भनेका थियौ। त्यही भएर आज नगएको हो। हामी दुवैजना वन जाँदा कान्छीलाई हेर्नुपर्छ। मेलापात नगए खान पाइँदैन’, कुमारीले भनिन्।
तीनदेखि सातवटासम्म बच्चा जन्मनु सामान्य
कुमारी दम्पतीको मात्रै होइन, अन्य चेपाङ परिवारमा पनि ठूला मान्छेको तुलनामा बालबालिका धेरै भेटिन्छन्। राक्सिराङ ४ रतुवाकी ३९ वर्षीया मनमाया प्रजाका ६ छोरा छन्। १२ वर्षदेखि ९ महिनासम्मका छोराहरूको हेरविचारमा बित्छन् मनमायाका दिन। खरले छाएको एकपाखे घरमा ६ जना छोरा र मनमायाका दम्पती अटाउने गरेका छन्।
ज्याला–मजदुरी गरेर जसोतसो ज्यान पालिरहेका उनीहरूलाई फेरि अर्को सन्तान जन्मिएला भन्ने चिन्ता छैन। त्यसो त छोराहरू मात्रै आधा दर्जन जन्मिाएकी मनमाया छोरी होला कि भन्ने आशमा बच्चा जन्माइरहेकी छिन्। परिवार नियोजनका साधन प्रयोग गरेर अब बच्चा जन्माउनुहुन्न भन्ने कुरा उनलाई थाहै छैन।
यता, राक्सिराङ ४ दुम्रेटारकी पार्वती प्रजाका हातमा दुई छोरी छन् भने पिठ्यूँमा कान्छी छोरी। १८ वर्षकै उमेरमा सुमनसँग प्रेम विवाह गरेकी पार्वती २६ वर्ष लाग्दा तीन छोरीको आमा बनिसकेकी छन्। पिठ्यूँको सानी छोरी नै अबको अन्तिम बच्चा हो कि होइन? उनी आफैँलाई थाहा छैन। सन्तान कम जन्माउन के गर्ने? धेरै सन्तान जन्मिँदा पढाइलेखाइ कसरी गर्ने गराउने भन्ने कुरामा गम्भीर नबन्दा चेपाङ समुदायमा ठूला मान्छेहरूको तुलनामा बालबालिका धेरै भएका हुन्।
कम्तीमा पनि ३ देखि ७ जनासम्म बालबच्चा जन्मनुलाई सामान्य मान्ने गरिएको स्थानीय श्याम चेपाङले बताए। ‘हाम्रो चेपाङ समुदायको आफ्नै चलन छ। बालबच्चा जन्मिए भनेर हामी डराउँदैनौँ। सानाहुन्जेल हेर्न गाह्रो हुन्छ। आफ्नो खुट्टा लागेपछि कमाएर खान सकिहाल्छन्’, उनले भने।
प्रतिक्रिया