ad ad

बागमती


कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत देला कि आफैँ अघि सर्ला?

कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत देला कि आफैँ अघि सर्ला?

सुनिता विष्ट
चैत २, २०७९ बिहिबार १६:२९, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ गते विश्वासको मत लिने भएका छन्। सरकारमा रहेको राप्रपाले बाहिरिएर सरकारलाई गरेको समर्थन फिर्ता लिएपछि जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन्। 

एमाले, राप्रपा सहितको गठबन्धनबाट मुख्यमन्त्री बनेका जम्मकट्टेललाई सुरुवातमा प्रायः सबै दलहरुको साथ रह्यो। पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले भोलिपल्ट अर्थात २६ गते पद तथा गोपनीयताको शपथ लिए।

मुख्यमन्त्री सहित एमालेबाट अर्थमन्त्री जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापाले बिनाविभागीय मन्त्रीको शपथ खाएका थिए। केही समय भागवण्डामा रुमलिएका मुख्यमन्त्री जम्मकट्टेलले माघ ११ गते ११ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे। 

केन्द्रले लगाएको भागवण्डा अनुसार मुख्यमन्त्री सहित माओवादीको भागमा ४, उपसभामुख सहित एमालेको भागमा ४ र सभामुख सहित राप्रपाको भागमा तीन मन्त्रालय परेको थियो। लगभग १ महिनामै राप्रपाका तीन मन्त्रीहरुले राजीनामा दिएर सरकारबाट बाहिरिए।

फागुन १३ गते राप्रपाका तीन मन्त्रीहरु सरकारबाट बाहिरिँदै विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेल अल्पमतमा परेका थिए।   

सरकार अल्पमतमा परेपछि १ महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। सोही अनुसार आउँदो ८ गते मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

पाउलान् विश्वासको मत?
एमाले सहितको नयाँ गठबन्धन टुटेर पुरानै आठ दलीय गठबन्धन ब्यूँतिएपछि फेरिएको सत्ता समीकरणमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउलान्? यो आम चासोको विषय बनिरहेको छ।

हुन त, एमाले, राप्रपा र माओवादीको सत्ता साझेदारमा मुख्यमन्त्री बनेका उनलाई अन्य दलहरुले पनि साथ दिएका थिए। प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको कांग्रेसले पनि केन्द्रको सिको गर्दै विश्वासको मत दिएको थियो। 

७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा नेमकिपा बाहेक ६ दलले उनलाई विश्वासको मत दिएका थिए। ११० सदस्यीय प्रदेश सभाबाट जम्मकट्टेलले १०५ सांसदको समर्थन पाएका थिए। 

तर सत्ता समीकरण र राजनीतिक परिस्थिती फेरिएर पुरानो गठबन्धन ब्यूँतिएसँगै बागमतीको पनि सत्ता समीकरणमा उलटफेर आएको छ। जसको प्रभाव माओवादीबाट मुख्यमन्त्री बनेका जम्मकट्टेललाई नै पर्न सक्ने अनुमान गर्न सकिन्छ। कारण, कांग्रेसले अरु गठबन्धनले बनाएको मुख्यमन्त्री स्वीकार गरेर समर्थन गर्न नसक्ने बताउँदै आएको छ। 

कांग्रेसले देला विश्वासको मत?
प्रदेश सभाकै ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेसको ३७ सिट छ। ठूलो दलको हिसाबले पनि कांग्रेसकै नेतृत्वमा अबको सरकार बिस्तार हुनुपर्ने अडानबाट पछि हट्न चाहेको देखिँदैन।

यस्तो अवस्थामा मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिन्छ कि दिँदैन त? यो प्रश्नमा कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्ले नयाँ सरकार बिस्तार भएर पनि उहाँ नै मुख्यमन्त्री भएको खण्डमा मात्रै विश्वासको मत दिन सक्ने बताउँछन्।

‘उहाँलाई हामी समर्थन गर्नैपर्छ भन्ने छैन। किनकी हामीसँगको गठबन्धनमा उहाँ मुख्यमन्त्री बन्नु भएको हैन’ सचेतक काफ्लेले भने, ‘तर हामी संसदीय मान्यताबाट बाहिर रहन सक्दैनौं। केन्द्रको निर्णयमै भर पर्नु पर्ने हुन्छ। फेरि सरकार विस्तारका कुराहरु हुँदा संसदीय मूल्य र मान्यता अनुसार र ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो माग हो।’

उनका अनुसार कांग्रेस बागमतीले आफ्नो भागमा सो प्रदेशको नेतृत्व दिनुपर्ने माग गरिरहेको छ। यद्यपी, नयाँ सरकारमा पनि जम्मकट्टेलकै भाग परे स्वाभिमानका साथ विश्वासको मत दिनुपर्ने कांग्रेस बागमती सचेतक काफ्लेले बताए। 

यस्तो छ अंकगणित
११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ। माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिएका जम्मकट्टेलले १०५ सांसदको विश्वासको मत पाएका थिए। आउँदो ८ गते लिने विश्वासको मतमा पनि उनले ५६ सांसदको समर्थन पाउन जरुरी छ। यदी, ५६ मत नपुगेको अवस्थामा जम्मकट्टेलको सरकार ढल्छ र नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ।

केन्द्रको आठ दलीय गठबन्धनमा आवद्ध दलहरु मध्ये बागमती सरकारमा ३ दलको उपस्थिती छ। माओवादी सहित कांग्रेस र एकीकृत समाजवादीको अंकगणितले नै जम्मकट्टेलले विश्वासको मत पाउन सकस भने छैन। 

७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कांग्रेस सबैभन्दा ठूलो दल हो। सत्तारुढ गठबन्धनमा रहेका तीन दल कांग्रेसको ३७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी ६५ जना सांसद छन्। 

तीन दलको सांसद संख्या ६५ जना हुँदा बहुमतले सरकार गठन हुन्छ। प्रदेश सभाको सभामुख राप्रपाका भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाँई रहँदा ६५ सांसदले नै सरकारलाई समर्थन गर्न पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .