ad ad

बागमती


मकवानपुरे विद्यार्थी : कापी-कलम बोकेर माटोसँग रमाउँदै, पढ्दै कमाउँदै

मकवानपुरे विद्यार्थी : कापी-कलम बोकेर माटोसँग रमाउँदै, पढ्दै कमाउँदै

सुनिता विष्ट
बैशाख ३०, २०८० शनिबार १४:५५, हेटाैँडा

कक्षाकोठामा बसेर घोकेर लिइने शिक्षाभन्दा व्यवहारिक शिक्षाले विद्यार्थीको जीवनमा ठूलो महत्व राख्दछ। यसैलाई मध्यनजर गरेर विद्यालयहरू प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेका छन्। विद्यार्थीहरूको पनि यसतर्फ आकर्षण बढिरहेको छ।

गत आर्थिक वर्षदेखि सुरु भएको ‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’ अन्तर्गत विद्यार्थीहरु खेतिपातीमा रमाउँदै पढ्न थालेका छन्।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ मा रहेको श्री कालिका माविका विद्यार्थीहरू आजभोलि कक्षाकोठामा जति समय बिताउँछन्, त्यति नै समय खेतबारीमा बिताउने गरेका छन्। कलम, कापी समाउने हातले कुटो कोदालो समाउन र माटो खेलाउन विद्यार्थीहरु खुसी देखिन्छन्।

प्राविधिक शिक्षा अन्तर्गत कृषि तथा बाली विज्ञान पढ्दै गरेका विद्यार्थीहरुलाई काम सिक्ने मौका मात्रै होइन, कमाइ पनि हुने गरेको छ। कापी कलम किन्ने खर्च र पकेट खर्च यसले नै पुग्ने गरेको भन्दै विद्यार्थीहरु पनि दंग छन्।

कक्षा १२ मा कृषि तथा बाली विज्ञान संकाय पढ्दै गरेकी रश्मी रुम्बा खेतिपाती गर्दै व्यवहारिक ज्ञानले पढाईमा थप रमाइलो हुने गरेको बताउँछिन्।

‘काम गरे जस्तो पनि हुने, सिकाई पनि हुने। रमाइलो भैरहेको छ’ उनले भनिन्, ‘यहाँ सिकेको सिप र ज्ञान हामीले घरमा पनि गर्न पाएका छौं’ उनले भनिन्।

सो विद्यालयले अध्ययनसँगै श्रम र सीप विस्तार गर्नेगरी सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सक्रियतामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको छ। च्याउको टडेँला देखि हरितगृह निर्माण गरेर बेमौसमी तरकारीहरु उत्पादन गर्ने गरिएको छ। अहिल तरकारी लगाउने चटारो सुरु भएको शिक्षकहरु बताउँछन्।

विद्यालयले उत्पादन गरेको कृषि उपज बिक्री गरेर भएको नाफा मध्ये ३४ प्रतिशत विद्यालयले राख्ने गरेको छ। ६६ प्रतिशत नाफा काममा संलग्न विद्यार्थी र प्रशिक्षकलाई वितरण गरिँदै आएको शिक्षक कृतिम श्रेष्ठ बताउँछन्।

यता, विद्यार्थीहरुले विद्यालयमा सिकेका सिप आफ्ना घरमा समेत उपयोग गर्ने भएकोले अभिभावक समेत खुसी हुने गरेको शिक्षकहरु सुनाउँछन्।

पछिल्लो समय घरमा गरिएको खेतिको औषधि उपचार र रोगको प्रकार समेत छोराछोरीले पत्ता लगाइदिन थालेपछि यो कार्यक्रमको प्रभावकारिता बढेको विद्यालयका प्रधानाध्यापक मानबहादुर स्याङ्तान बताउँछन्।

तरकारी मात्रै उत्पादन गर्ने भन्दा पनि विभिन्न जोन छुट्याएर विविध प्रकारको फलफूलदेखि तरकारी र आम्दानी मुलक क्षेत्रमा बजेट खर्च गरे अझ प्रभावकारी हुने इन्द्रसरोवर गाउँपालिका ४ नम्बर वडाका वडाध्यक्ष चन्द्र बलले बताए।

संघीय सरकारले गत आर्थिक वर्षदेखि सुरुवात गरेको ‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’ का लागि छनौट भएर यस विद्यालयले गत वर्ष १० लाख रुपैयाँ बजेट प्राप्त गरेको थियो। यस्तै, प्रदेश सरकारबाट ६ लाख प्राप्त भएको थियो।

यसरी जम्मा भएको १६ लाख रुपैयाँबाट सुरुवात गरेको यो कार्यक्रमबाट गत वर्ष ९ लाख रुपैयाँ नाफा भएको थियो। विद्यालयले नै दशकौं देखि भोगचलन गर्दै आएको २ सय ७६ रोपनी जग्गामध्ये केहीमा गरिएको खेतीले विद्यार्थीहरुमा कृषि तथा बाली विज्ञान पढ्ने जोस बढेको देखिन्छ।

विद्यालयमा हुने नियमित अध्ययनसँगै अतिरिक्त समय बारीमा गई कृषिसम्बन्धी प्रयोगात्मक ज्ञान लिने र उत्पादित तरकारी बिक्रीबाट आम्दानीसमेत लिँदै आइएकाले पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .