हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारीहरू हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन्। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीले आफूहरूलाई अनुचित व्यवहार गरेको भन्दै कर्मचारीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन्।
कार्यालय प्रमुख भोजराज विनाडीले कर्मचारीहरूमाथि अभद्र व्यवहार गर्ने, कार्यसम्पादनमा असहयोग गर्ने तथा कार्यमूल्याङ्कनमा बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ।
कार्यालय प्रमुखमा हुनपर्ने गुण नभएका कारण कार्यसम्पादनमा समस्या भैरहेको प्रशासन प्रमुख मनिष मिश्रले प्रमुख विनाडीमाथि आरोप लगाए।
‘कार्यालयमा रहेका कर्मचारीहरूलाई गर्ने अभद्र व्यवहार सच्याउनुपर्ने सुझाव सहित कार्यालय प्रमुख विनाडीको सरुवा हुनैपर्ने एकसुत्रीय माग सहित आफूहरु आन्दोलित हुन बाध्य भएका हौं,’ मिश्रले भने।
प्रमुख विनाडीले मानसिक यातना दिने, धम्काउने, वृत्तिविकासमा अवरोध गर्ने, कार्यस्थलमा काम गर्ने वातावरण नदिने, सेवाग्राहीलाई पनि सोही प्रकारको व्यवहार गर्ने गरेको कर्मचारीहरूको आरोप छ।
बारम्बार प्रमुखलाई व्यवहार सुधार्न अनुरोध गर्दा पनि परिवर्तन नभएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको औद्योगिक क्षेत्र व्यवस्थापन समितिका लेखा अधिकृत दीपक राज आचार्यले बताए।
‘यसअघि कार्यालयमा कर्मचारी र हाकिमबीचमा सौहार्दपूर्ण वातावरण हुन आवश्यक छ भनेर पटक पटक अनुरोध गर्दा पनि उहाँमा केही परिवर्तन पाउन सकेनौं,’ आचार्यले भने, ‘यस्तो भएपछि हामीले कुनै धेरै माग राखेका छैनौं। बस् उहाँको यहाँबाट सरुवा हुनपर्यो। यस्ता हाकिमसँग हामीले काम गर्न नसक्ने भयौं भन्ने मात्रै हाम्रो माग हो।’
गत माघ १७ गतेदेखि सुरु भएको आन्दोलनका क्रममा कार्यालय प्रमुख विनाडीले कर्मचारीहरूको माग सुन्न समेत नचाहेको उनीहरूले गुनासो गरे।
‘कार्यालय कुन बेला आउने, कुन बेला निस्कने ठेगान पनि छैन। हामीसँग छलफल, समन्वय गर्नका लागि कुनै पहलकदमी गरिएको छैन’ कार्यालय सहयोगी तेजराज थिङ बताउँछन्।
कार्यालयका सहायक निर्देशक निमेश अधिकारी कर्मचारी र प्रमुख बीचमा यस्ता दरार आउनुले औद्योगिक क्षेत्रमै प्रश्न उठेको बताउँछन्। कार्यालयभित्र जस्ता प्रकारका समस्या भएपनि वार्ता गरेर सहमतीमा आउने वातावरण केन्द्रीय कार्यालयले मिलाउन भूमिका खेल्नुपर्ने अधिकारीको भनाइ छ। तर, केन्द्रीय कार्यालयले बेवास्ता गरिरहेको उनको भनाई छ।
झुटो आरोप लगाइयो प्रमुख विनाडी
यता, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीले भने कर्मचारीहरूको आरोपको खण्डन गरे। बरु आफूमाथि हातपात गरिएको उनको गुनासो छ।
‘कार्यसम्पादनमा मैले बाधा पुर्याएँ भन्ने आरोप नै गलत छ। उहाँहरुले चाहिँ मेरो कार्यसम्पादनमा अवरोध पुर्याउनु भएको छ’ उनले भने, ‘काम नगर्दिने देखि मलाई हातपात गर्न खोज्ने सम्मका घटनाह’ भएका छन्।’
कर्मचारीहरुसँग वार्तामा बस्न आफू तयार रहेको र उनीहरुको मागमाथि छिट्टै निकास निकालिने प्रमुख विनाडीले बताए। कर्मचारीहरूसँग वार्तामा बस्न आफूलाई कुनै समस्या नरहेको उनको भनाई छ।
‘वार्तामा बस्नका लागि कुनै तिथि मिति तोक्न पर्दैन’ उनले थपे, ‘एउटै कार्यालयको कर्मचारी वार्तामा जुनैबेला पनि बस्न सक्छौं। उहाँहरुले वार्तामा बस्नका लागि मलाई भन्नु भएको छैन।’
आन्दोलित कर्मचारीहरूले कार्यालयको काम कारबाहीलाई बाधा नपर्ने गरी सांकेतिक रुपमा पहिलो चरणमा सात दिने शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन्। ७ दिनभित्र आफूहरूको माग सम्बोधन नभए दोश्रो चरणको विरोधका कार्यक्रम अगाडि बढाउने उनीहरूको भनाई छ।
Shares
प्रतिक्रिया