बागमती


धरहरामा निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोशः यो पत्र ओलीलाई पठाउनू

धरहरामा निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोशः यो पत्र ओलीलाई पठाउनू

नेपालखबर
माघ २२, २०८० सोमबार १०:२९, काठमाडौँ

धरहरामा निःशुल्क पार्किङ बन्द गर्न भन्दै सरकारी निकायबाट पत्र आएपछि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह आक्रोशित भएका छन्। 

केही दिनअघि मात्र सर्वसाधारणका लागि धरहरामा निःशुल्क पार्किङ सुविधा खुला गरिएपछि धरहरा निर्माण पूरा नभएको भन्दै मेयर शाहलाई सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट पार्किङ बन्द गराउन भनी पत्र आएको हो। 

यसप्रति आपत्ति जनाउँदै मेयर शाहले यस्तो पत्र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मालाई पठाउन भनेका हुन्।  

‘सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ, पार्किङ बन्द गर्नु’, मेयर शाहले सोमबार बिहानै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्, ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो ‘नबनेको भए म बीसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’

यस्तो छ मेयर बालेनलाई पठाइएको पत्र-

यस्तो छ बालेनको जवाफ-

२०७८ वैशाख ११ शनिबार अर्थात् आजभन्दा २ वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट "सेतो टावर" उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाण्डौँका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नुभएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे"। 

तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, 'धरहरा निर्माण हुँदै छ। पार्किङ बन्द गर्नाू।'

उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो 'नबनेको भए म बीसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ। 

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुनेजस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ। संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरुरी छ। निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गरौँ। 

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगरौँ। 

अन्त्यमा, सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन। महानगरको पहलमा अहिलेको लागि निसुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौँ। अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ। हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .