ad ad

बागमती


काठमाडौँ उपत्यकामा आज हिउँदकै सबैभन्दा बढी तापक्रम

काठमाडौँ उपत्यकामा आज हिउँदकै सबैभन्दा बढी तापक्रम

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
फागुन १७, २०८० बिहिबार १८:५३, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (फागुन १७ गते) यस हिउँदयामकै सबैभन्दा बढी अधिकतम तापक्रम देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज (बिहीबार) उपत्यकाको अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियसमा उक्लिएको हो।

‘यो अधिकतम तापक्रम उपत्यकाका लागि यस हिउँदकै बढी हो’, उनले भने, ‘यसअघि यही फेब्रुअरी २८ तारिखका दिन २३.२ डिग्री सेल्सियसम्म पुगेको थियो, त्यो नै काठमाडौँ उपत्यकाका लागि यसअघिको सबैभन्दा बढी अधिकतम थियो।’

उनका अनुसार त्यसभन्दा अघि हिउँदभर उपत्यकाको अधिकतम तापक्रम यति माथि थिएन। 

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने ६.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो न्यूनतम तापक्रम भने उपत्यकाका लागि यस हिउँदकै बढी होइन। यसअघि ७ डिग्री सेल्सियसभन्दा पनि माथि मापन भइसकेको छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

 मौसमविद्का अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनाको अवधिलाई विन्टर अर्थात् हिउँदयाम मानिन्छ।

त्यसअन्तर्गत आज हिउँदयामको अन्तिम दिन (फेब्रुअरी २९) हो। भोलि मार्च १ बाट मौसम औपचारिक रूपमा प्रिमनसुनमा प्रवेश गर्ने मौसमविद् प्रधानांगले बताए। 

मौसमविद्का अनुसार अब देशभर नै तापक्रम बिस्तारै बढ्दै जान्छ भने मेघगर्जन/चट्याङ र हावाहुरी सुरु हुन थाल्छ। 

प्रिमनसुनमा बिहान मौसम सफा रहने, दिउँसो बादल बन्ने र साँझपख मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ।

‘तर यस्तो आजभोलिबाटै सुरु हुँदैन’, मौसमविद् प्रधानांगले भने, ‘मौसम बिस्तारै त्यसतर्फ अघि बढ्छ।’

मौसमविद्का अनुसार प्रिमनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्म प्रिमनसुन रहन्छ।

नेपालमा मनसुन (वर्षायाम) भित्रिने औसत मिति जुन १३ तारिख हो। त्यसअघिसम्मलाई प्रिमनसुन नै मानिन्छ।

मौसमविद्अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो, त्यसअघिसम्म मनसुन रहन्छ भने त्यसपछि पोस्ट मनसुन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ। त्यसपछि फेरि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ। जुन याम यही फेब्रुअरी महिनासम्म रहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .