बागमती


काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १३:१८, काठमाडौँ

काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ।

‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १ सय ६२ पुगेको छ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रूपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ।

यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहर बनेको छ।

सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण पनि बढिरहेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका १ सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ।

डढेलोविद् सुन्दर शर्मा भन्छन्, ‘वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण बढेर काठमाडौँलगायतका मुख्य सहरका हावा अस्वस्थ बनेको छ। केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा रहेको छ।’

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन।

वातावरणविद् डा धरमराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रीन सिग्नलले चिनिन्छ।

‘५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेंलो सङ्कतले चिनिन्छ। यसैगरी एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ, जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ’, उनले भने, ‘एक सय ५१ देखि दुई सयदेखिको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रुपमा लिइन्छ र तीन सय एकदेखि चार सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ।’

बढ्दो वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जति सक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने विज्ञहरूको चेतावनी छ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ। यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .