बागमती


काठमाडौँमा पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

हिजो बेलुका चलेको थियो प्रतिघण्टा ७० किलोमिटर गतिको हुरी
काठमाडौँमा पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार ७:२५, काठमाडौँ

देशका विभिन्न स्थानसँगै आज (मंगलबार) काठमाडौँ उपत्यकामा पनि हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।  

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार देशका अधिकांश स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ।

‘अब एकैछिनमा पानी पर्ने सम्भावना छ’, मौसमविद् कँडेलले भनिन्, ‘आज दिनभर मौसम पानी पर्ने, रोकिने, फेरि पर्ने भइरहने देखिन्छ। आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

मौसमविद्का अनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का र यसभन्दा माथि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ। 

उनका अनुसार वर्षा हुँदा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हुने भएकाले सजग रहन जरुरी छ। ‘हावाहुरी, चट्याङले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाएको राम्रो’, उनले भनिन्। 

मौसमविद् कँडेलका अनुसार सोमबार बेलुका पनि काठमाडौँ उपत्यकामा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो।

‘वर्षाचाहिँ छिटपुट मात्र भयो, हावाहुरी भने प्रतिघण्टा ७० किलोमिटर गतिको आएको थियो, यो भनेको अलि वेगकै हो, यसले टहरा उडाउने, रुखको हाँगा भाँचिने, मोटरसाइकल हुत्याउनेजस्ता समस्या सिर्जना गर्छ’, उनले भनिन्।   

मौसम बदली र वर्षा भएसँगै काठमाडौँ उपत्यकाको तापक्रममा पनि परिवर्तन आएको छ। 

मौसमविद् कँडेलका अनुुसार आज बिहान उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस देखिएको छ भने आज अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसम्म रहने अनुमान छ।

केही दिनअघि काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि चढिसकेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .