ad ad

बागमती


काठमाडौँमा मनसुन प्रवेशको औपचारिक घोषणा गर्ने तयारी

काठमाडौँमा मनसुन प्रवेशको औपचारिक घोषणा गर्ने तयारी

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ४, २०८१ मंगलबार १०:४७, काठमाडौँ

काठमाडौँ उपत्यकामा मनसुनको प्रभाव सुरु भइसकेको छ। तर मौसम पूर्वानुमान महाशाखाले  यसको औपचारिक घोषणा गरिसकेको छैन।

अब निकट भविष्यमै यसको औपचारिक घोषणा गर्ने तयारी भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘काठमाडौँमा जारी वर्षामा स्थानीय वायुका साथै मनसुनको पनि प्रभाव मिसिएको छ’, उनले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘मनसुन भित्रियो भन्नाका लागि यसको क्राइट एरिया फुलफिल हुनुपर्छ, हामी अध्ययन गरिरहेका छौँ, त्यो क्राइट एरिया पुग्न लागेको छ, सम्भवतः आज भोलि नै हामी काठमाडौँमा मनसुन प्रवेशको औपचारिक घोषणा गर्ने छौँ।’

गत जेठ २५ गते अर्थात् जुन १० तारिख कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन अहिलेसम्म अन्य प्रदेशमा फैलिएको औपचारिक घोषणा मौसम महाशाखाले गरेको छैन। तर अनौपचारिक कुराकानीमा महाशाखाका मौसमविद्ले मनसुन कोसी प्रदेशको पूरै क्षेत्रमा फैलिसकेको तथा मधेस र बागमती प्रदेशमा समेत यसको धेरथोर प्रभाव सुरु भइसकेको बताइरहेका छन्। 

तर मनसुनका प्रवेश भयो भनेर भन्नाका लागि यसका विभिन्न मापदण्ड पूरा हुनुपर्ने मौसमविद्को भनाइ छ। तर अब चाँडै काठमाडौँसम्म मनसुन आएको औपचारिक घोषणा गर्ने तयारी भइरहेको मौसमविद् मानन्धरले बताएकी छन्। 

काठमाडौँबाट देशको पश्चिमी क्षेत्रमा मनसुन पुग्न भने अझै ५ देखि ७ दिनसम्म लाग्ने अनुमान गरिएको उनले बताइन्। 

‘पहिला त मनसुन काठमाडौँ आइपुग्नपर्‍यो, त्यसपछि बल्ल पश्चिमतिर फैलिन्छ’, मौसमविद् मानन्धरले भनिन्, ‘काठमाडौँबाट देशको पश्चिमी क्षेत्रसम्म मनसुन पुग्न अझै ५ देखि ७ दिन लाग्ने अनुमान छ।’

मनसुन नेपाल प्रवेश गरेको आज (असार ४ गते) ९ दिन लागिसकेको छ। तर यो पूर्वी क्षेत्रबाट अन्य स्थानमा फैलिन ढिलाइ भइरहेको छ। 

मौसमविद् मानन्धर भने गत वर्ष पनि मनसुन देशको पश्चिमसम्म पुग्न तीन साता लागेको बताउँछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .