हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) बीच ‘सिटिज फर वुमनः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण’ परियोजना सहयोग सम्झौतामा भएको छ।
मंगलबार (आज) हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा नगरपालिकाको तर्फबाट मेयर मीना कुमारी लामा र यूएनओप्सको प्रतिनिधिबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार यूएनओपीएसले अधिकतम १ लाख ८४ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउनेछ भने हेटौंडा उपमहानगरपालिकाले त्यसको ३० देखि ५० प्रतिशतसम्म रकम लागत साझेदारीका रूपमा व्यहोर्ने बताइएको छ।
‘सिटिज फर वुमन’ परियोजनाको उद्देश्य तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण देखिएका समस्या समाधान गर्नका लागि महिला, युवती र संवेदनशील समुदायहरूलाई लक्षित गर्दै सार्वजनिक खुला स्थानहरू समावेशी र वातावरणमैत्री ढङ्गले योजना, डिजाइन र निर्माण गर्न सहयोग गर्नु हो।
हेटौंडालाई महिलामैत्री शहर बनाउने उदेश्यले यो परियोजना लागू गर्न लागिएको हेटौंडाकी मेयर लामाले बताइन्।
यो परियोजना युरोपेली संघ र सुओमी फिनल्यान्डको सहयोगमा, यूएनओप्स, संयुक्त राष्ट्रसंघीय बासस्थान संस्था (यूएन–ह्याबिटाट) र सिटिज एलायन्सको साझेदारीमा चार वर्षको अवधिमा सञ्चालन हुँदैछ। सम्झौता हस्ताक्षर कार्यक्रममा मेयर लामाले यो परियोजनाले हेटौंडा उपमहानगरको सहरी विकास योजनालाई अझ समावेशी, दिगो र जलवायु प्रतिरोधी बनाउन सहयोग गर्ने बताए।
उनका अनुसार परियोजनाले महिला र विपन्न समुदायलाई नगर योजना प्रक्रियामा सशक्त सहभागिता दिलाउने अवसर पनि प्रदान गर्नेछ।
Shares

प्रतिक्रिया