महामारीको कारणले साइकल र मोटरसाइकलको आयात ह्वात्तै बढेको छ।
कोभिड महामारीले सार्वजनिक यातायातभन्दा निजी सवारीसाधनमा धेरैको रुचिका कारण दुई पांग्रे सवारीसाधनको आयात बढेको हो।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा चालू आवको जेठसम्म मोटरसाइकल मात्रै १ लाख बढी आयात भएका छन्।
चालू आर्थिक वर्षको ११ महिनामा २५० सीसीसम्मका ३ लाख १५ हजार आयात भएको छ।
गत वर्षको यही अवधिमा १ लाख ९८ हजार मात्रै मोटरसाइकल तथा स्कुटर आयात भएका थिए।
महामारीअघिको सामान्य अवस्थामा आव २०७५÷०७६ मा २५० सीसीसम्मका मोटरसाइकल २ लाख ४४ हजारमात्रै आयात भएका थिए।
विभागका अनुसार २५० सीसीदेखि ४०० सीसीसम्मका ८ हजार १६३ वटा मोटरसाइकल आयात भएका छन्। गत वर्ष ३ हजार ८ सय बाइक आयात भएका थिए।
त्यस्तै विद्युतीय दुईपांग्रे १८ सय ७३ वटा आयात भएका छन्। गत वर्ष १२ सय ६२ मात्रै आयात भएका थिए।
गत वर्ष २ लाख ६८ हजार साइकल आयात भएका हुँदा चालू आर्थिक वर्षमा ५ लाख २७ हजार साइकल नेपाल भित्रिएका छन्।
आव ०७५÷०७६ मा ३ लाख ८३ हजार साइकल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
महामारीको बीचमा समग्र सवारीसाधनको आयात नै बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा चालू आर्थिक वर्षमा ८८ अर्ब ५८ करोड रुपैयाँको सवारीसाधन आयात भएको छ।
गत वर्षको यही अवधिमा ६१ अर्ब ८५ करोड रुपैयाँको आयात भएको थियो।
कोभिडअघि सामान्य भएको अवस्थामा पनि आर्थिक वर्षको ११ अर्थात् जेठ मसान्तसम्म ८४ अर्ब ४२ करोड रुपैयाँको आयात भएको थियो।
प्रतिक्रिया