हङकङमा ढोका–ढोकामा उभिन्थे नेपाली, अब धमाधम बन्दैछन् मालिक

हङकङमा ढोका–ढोकामा उभिन्थे नेपाली, अब धमाधम बन्दैछन् मालिक

हङकङका पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी त्रिलोक विश्वकर्मासँग आर जमाल र कमल पौड्याल (सन् १९९४)


कमल पौड्याल
फागुन ९, २०७९ मंगलबार ८:०, हङकङ

हङकङ सरकारबाट मान्यता प्राप्त नेपाली व्यवसायीहरूको संस्था नेपाल चेम्बर अफ कमर्स (हङकङ) ले हरेक वर्ष जनवरी ७ लाई स्थापना दिवसका रूपमा बेलुकीपख जलपान समारोह आयोजना गरी मनाउने गर्थ्यो। जसमा नेपाली उद्यमी व्यवसायीदेखि विदेशी चेम्बर अफ कमर्स र महावाणिज्यदूत वा प्रतिनिधि तथा नेपालसँग सम्बन्धित स्थानीय चिनियाँ व्यवसायी, समाजसेवी, पत्रकार र अन्य गन्यमान्य आउँथे।

म उपाध्यक्ष हुँदाको कार्यकाल सन्  २०१३–१६ मा हामीले हरेक वार्षिक समारोह नेपालीहरूकै स्वामित्वमा रहेका बार, क्लब र रेस्टुरेन्टमा मनाउने गरेका थियौं। जसको मूल उद्देश्य पहिलो त ‘घिउ कहाँ पोखियो? भागमा’ भनेझैँ आफ्नै समुदायमा व्यापार हुने, दोस्रो कार्यक्रममा आउने स्थानीय र विदेशी अतिथिलाई ‘हेर है हाम्रो समुदाय/समाज पनि व्यवसायमा अग्रणी हुँदै छ’ भनेर देखाउन/बुझाउन पाइने र अर्को सम्बन्धित उद्यमीहरूलाई चेम्बरको सदस्य बनाउनेदेखि गाह्रोसाह्रोमा सहयोग माग्न जाँदा बाटो खुल्ने। 

जसअनुसार पहिलो कार्यक्रम मुख्य हङकङद्वीप सेन्ट्रलको प्रिभे क्लब, दोस्रो त्यहीँकै लेभल टु क्लब र तेस्रो चिमसाचुइ नट्सफर्ड टेरेसको चाइना बारमा मनाएका थियौँ। यी सबै नेपालीले सञ्चालन गरेका हुन्।

तीमध्ये ७ जनवरी २०१५ मा लेबल टुको कार्यक्रम सम्झिँदा निकै रमाइलो र गौरव महसुस हुन्छ मलाई। महेशप्रसाद दाहाल महावाणिज्यदूत हुनुहुन्थ्यो। मेरो छोटो स्वागत मन्तव्यमा हङकङमा नेपालीहरू ब्रिटिस गोर्खा हुँदै कामदारदेखि नयाँ व्यापारिक पुस्ता रुपान्तरणसम्मको छोटो नालीबेली र आज हामीले यो कार्यक्रम गरिरहेको यो क्लब सभाहल पनि नेपाली उद्यमीहरूकै स्वामित्वमा रहेको भन्न पाउँदा गर्व महसुस हुन्छ भनेको थिएँ।

म स्टेजबाट ओर्लेको एकैछिनमा माइकल चुङ्गानी वाइनको ग्लास लिएर थ्याङ्क्यु फर योर इन्भाइटेसन भन्दै चियर्स गर्न आइपुगे।

हङकङको टीबीभी पर्ल भनिने टेलिभिजनमा उनले होस्ट गर्ने स्ट्रेट टक भन्ने कार्यक्रम निकै चर्चित थियो। 

च्याम्बरकै सहकर्मी हरि कार्कीले चाँजोपाँजो मिलाएर उनलाई निम्त्याएका थिए।

हङकङको सबैभन्दा पुरानो र चलेको यो टेलिभिजन च्यानलमा माइकल दक्षिण एसियाली मूलका पहिलो र संभवतः एक मात्र मानिस थिए। हङकङ स्ट्यान्डर्ड नामको अंग्रेजी दैनिकमा पनि उनले लेख्ने ब्रस अप योर इङलिस भन्ने स्तम्भ चर्चित थियो। 

त्यत्तिकैमा झकिझकाउ क्लबको चारैतिर हेरेर माइकलले प्रश्न गरे, ‘हाउ मच इज द रेन्ट फर दिस प्लेस कमल?’

‘मे बी हङकङ डलर थ्री हन्ड्रेड थाउजेन्ड प्लस’, मैले भनेँ। 

‘दिस प्लेस वन बाइ नेप्लिज?’ उनले फेरि सोधे।

‘एस इज इट’, मैले भनेँ। 

उनले टेलिभिजन श‌ैलीमै फेरि प्रश्न गरे, ‘ह्वेर दे गेट मनी फ्रम?’

मैले जवाफ दिन आँ गर्दैगर्दा हाम्रो वार्तालाप सुनिरहेका इन्डियन चेम्बर अफ कमर्सका चेयरम्यानले भने, ‘माइकल नट वन्ली दिस प्लेस, नाउअडेज मेनी मेनी बार, क्लब एन्ड रेस्टुरेन्ट एराउन्ड वानचाइ, सेन्ट्रल, लाङ क्वाइ फुङ एन्ड सोहो रनिङ एन्ड वन बाइ नेप्लिज पिपुल्स।’

उनैले थपे, ‘नेप्लिज आर हार्ड वर्किङ एन्ड अनेस्ट पिपुल्स, इन्भेस्टर अल्सो ट्रस्ट देम।’

हाम्रो यो संवाद सुनिरहेका साप्ताहिक हङकङ म्यागजिनका प्रधान सम्पादक र अन्य पाहुनाले मुखामुख गरे।

त्यत्तिकैमा लेबल टुकै प्रबन्धक जोन राना पनि टुप्लुक्क आइपुगे। अनि मैले उनलाई देखाउँदै भनेँ, ‘माइकल हि इज जोन, हि अल्सो वन टु मोर प्लेसेस लाइक दिस एराउन्ड दिस एरिया। यु क्यान आस्क हिम अर क्यान इन्भाइट योर सो फर मोर क्वैसन?’ यति भन्दै हाँसेर म अन्य पाहुनातिर लागेँ। 

जोन रानासँग माइकल निकै बेर गफिए। 

कमल पौड्यालसँग अर्चन गुरुङ, माइकल चुङ्गानी, हङकङ म्यागजिनका सम्पादक र किसन राई

हङकङमा स्थानान्तरण भएको तीन दशक पुग्नै लाग्दा नेपालीहरू चौतर्फी रूपमा व्यावसायिक उपस्थिति जनाउँदै अगाडि बढेको माइकल जस्तै धेरैलाई थाहा नहुन सक्छ र छैन अझै पनि। 

ग्रोसरी किराना पसल, सैलुन, बुटिक फेसन, ज्वेलरी, गेस्ट हाउस, निर्माण र कामदार सप्लाई, सुरक्षा, रेमिट, फाइनान्स, ट्राभल टुर एजेन्सी, कन्सलटेन्सी, क्युरियो सप र रेस्टुरेन्ट/बारहरू सञ्चालनमा पुरानो तथा नयाँ पुस्ताका नेपालीको उल्लेख्य उपस्थिति छ अहिले हङकङमा।

यी सबै चर्चा गर्दा लेख लामो हुने भएकाले यहाँ फुड एन्ड बेभरेज अर्थात् रेस्टुरेन्ट/बारसम्बन्धी मात्र चर्चा गरिने छ र बाँकी क्रमश: अर्को अंकमा लेख्दै जानेछु।

सन् ८० को दशकको मध्यतिरबाट रोजगार भिसामा हङकङमा आउन थालेकाहरूले भन्दा सन् ९० को दशकको मध्यान्तरपछि जन्मदर्ताका आधारमा आएका नेपालीहरू पछिल्लो समय रेस्टुरेन्ट/बार व्यवसायमा एकछत्र रूपमा अगाडि बढेका देखिन्छन्।

पुरानो पुस्ताको चर्चा गर्दा त्यो समयमा खासगरी पश्चिम नेपालका आर्यन मूलकाहरू दिल्ली या भारतका ठूला सहरमा काम गर्न जाने चलन रहेछ। जसमध्ये केही पाकशास्त्र सिकेका वा पेसा अँगालेकाहरू विभिन्न रेस्टुरेन्टमा रोजगार भिसामा हङकङ आउन सुरु भयो। त्यो बेलामा नेपालमा राहदानी बनाउन झन्झटिलो र समय लाग्ने भएकाले यो पुस्ताले भारतीय राहदानीमै हङकङ प्रवेश गरेको देखिन्छ।

यसरी सबैभन्दा पहिला भारतीयहरूसँगै नेपाली मूलकाहरूलाई पनि हङकङ ल्याउने तत्कालीन भारतीयहरूका चर्चित इन्डियन रेस्टुरेन्टहरू मयूर, खैबर, गेलर्ड, कोहिनूर, स्वागत, तन्दुर, महाराजा आदिलाई बिर्सिंदा अन्याय हुन्छ।

तीमध्येको गेलर्ड रेस्टुरेन्ट हङकङमा भारतीय मूलकामध्ये सबैभन्दा धनी हरिलीला स्ट्राटजी ग्रुपले आफ्ना अन्य २ दर्जनभन्दा बढी अन्य मल्टी कुजिन रेस्टुरेन्ट र बार मलेसियन चाइनिज समूहलाई स्वामित्वता हस्तान्तरण गरेको दशकौं भइसकेको छ।

सायद हङकङको पहिलो र अन्तिम पनि फाइभ स्टार इन्डियन रेस्टुरेन्ट तन्दुर र यसका मालिक अत्तु भनिने पुरुषोत्तम दास आत्माराम बलानी दुवै अस्तित्वमा छैनन् अहिले। ब्रिटिसकालीन हङकङको सेन्ट्रलमा रहेको निकै महँगो यो रेस्टुरेन्टमा हङकङ र विदेशका कूटनीतिज्ञ र व्यापारिक घरानाका खास समूहले भरिभराउ हुन्थ्यो सन् ९० ताका।

धेरै नेपालीलाई रोजगार भिसामा ल्याउनेमध्ये कोहिनुर रेस्टुरेन्ट कुनै समयमा ताइ कु सिनदेखि सातिनसम्म यौटै नाममा करिब आधा दर्जन थिए। अहिले बाँकी एकमात्र यसको उद्गम स्थल चिमसाचुइको मोदीरोडको पहिलो तल्लामा सञ्चालक बब मेहता भेटिन्छन् अझै। बाँकी सबै उल्लेख्य रेस्टुरेन्ट छैनन् अहिले।

नेपाली रेस्टुरेन्ट व्यवसायीको कुरा गर्दा यो व्यवसायमा दुईवटा धार देखिन्छन्। पहिलो– रोजगार भिसामा आएका र त्यस्तै खाले रेस्टुरेन्ट खोलेका। दोस्रो– जन्मदर्ताका आधारमा बार वा वेस्टर्न रेस्टुरेन्टमा काम गर्दै पछि त्यही प्रकृतिका बार/रेस्टुरेन्ट खोलेका।

चर्चा गरौँ– पहिलो पुस्ताबाट।

ब्रिटिस सेनामा सुवेदार रहेका बाबाका जेठा छोरा त्रिल‍ोक विश्वकर्मा हङकङको पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी मात्रै नभएर सुपर मार्केट र गेस्ट हाउस व्यवसायमा पनि पहिलो हुन्।

हङकङमै होटल व्यवस्थापन पढेर रेस्टुरेन्ट म्यानेजर हुँदै चुङकिङ मेन्सनको पहिलो तलामा बब मेहतासँगको साझेदारीमा स्वागत रेस्टुरेन्टमा लामो समय नअटाएपछि नम्बर ४८ मोदीरोडको भूमिगत तलामा सूर्य रेस्टुरेन्ट खोले उनले सन् १९८८ तिर। 

सन् नब्बेको मध्य दशकसम्म पुग्दा युनलुङदेखि कजवे बे र सेन्ट्रलसम्म पाँचवटा रेस्टुरेन्ट, तीनवटा गेस्ट हाउस र दुईवटा सुपर मार्केट थिए उनका।

हङकङ आउँदा पूर्व प्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वसभामुख बेनीबहादुर कार्की, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पूर्व मुख्यसचिव विमल कोइरालालगायत अन्य धेरैले मानमनितो र खानपिनको अनुभव गरेको विश्वकर्माको सूर्य रेस्टुरेन्ट अहिले अस्तित्वमा छैन।

त्रिलोक विश्वकर्मा

अझ दर्जनौँ नेपाली र भारतीयलाई समेत म्यानेजर, सेफ, गायक, संगितकार भिसामा हङकङ झिकाउने पहिलो नेपाली त्रिलोक विश्वकर्माको सबैभन्दा माथिको संख्यात्मक अभिलेखलाई अरू कसैले तोडेका छैनन् अहिलेसम्म।

उनीपछि यो क्षेत्रमा लागेका अशोक श्रेष्ठ बेलायत स्थानान्तरण भए भने कुनै समय रेस्टुरेन्टदेखि गेस्ट हाउससम्म नाम र दाम कमाएका काशिराम गौतम अचेल कहीँ कतै देखिन्नन्। त्यही समयको सेरोफेरोमामा लगानीकर्ताहरू जुराएर सोहोमा फरक किसिमका रेस्टुरेन्ट र बार खोलेर जमेका शिवबहादुर केसीको हङकङमा सानो उपस्थिति मात्रै छ अहिले। गोर्खा क्लब हाइफुङ रोड चिमसाचुइदेखि स्पाइस आइल्यन्ड सेन्ट्रलसम्म यो व्यवसायमा अन एन्ड अफ भएका प्रकाश पुन हालसालै खोलिएको जोर्डनको हिमालयन क्याफे ८८८८ मा भने जमेका देखिन्छन् पछिल्लो समय।

सन् ९० को दशकतिर रोजगार भिसामा हङकङ आएका र ७ वर्षपछि स्थायी परिचयपत्र बनेर स्वरोजगारमा लागेका नेपालीहरूद्वारा सञ्चालित सोहोको नेपाल रेस्टुरेन्ट र गुरु, सुङवानको बास्मती, सेन्ट्रल इन्डिया, वानचाइको हिमालय, नर्थ प्वाइन्टको क्ले पट, अशोका साउकिवान, चिमसाचुइ हार्ट एभिन्युको इन्डिया रेस्टुरेन्ट, काउलुन सिटीको टेस्ट अफ इन्डिया, युनलुङको शृंखला, चुनमुन करी हाउस, सामछेङको मिनी मुग्लिन, साइकुङको भिलेज, याउमा तेइको सलाम नमस्तेलगायत हङकङका अरू टापुहरू मुइ ओ चाङचाउमा समेत नेपाली स्वामित्वका रेस्टुरेन्टहरू यत्रो कोभिड महामारीपछि पनि बाँचेका छन्।

हङकङको चर्चित बार/रेस्टुरेन्ट एरिया सोहोमै नेपाल रेस्टुरेन्टको झन्डामुनि करिब दुई दशकअगाडि खोलिएका अरू २/२ वटा बार र वेस्टर्न रेस्टुरेन्ट कोभिडका कारण अन्य धेरै छिमेकीले दैलो लाउँदा पनि ढोका खोलेरै बसेका छन् अझै। 

मूलत: यसको कारणमा हङकङ सरकारको उल्लेख्य आर्थिक सहयोग, ल्यान्डलर्डसहरूसँगको पुरानो सम्बन्धले गर्दा भाडामा दिइएको लचकता, सप्लायर्सहरूद्वारा दिइएको छुट र सीमित कर्मचारी, बेतलवी बिदा आदि रहेको बताउँछन्, सञ्चालक भीमप्रसाद काफ्ले। हङकङ सरकारले कोरोनासम्बन्धी नियम सहजीकरण गरेसँगै व्यावसायिक भविष्यप्रति पूर्ण आशावादी पनि छन् उनी।

हङकङमा रोजगारी भिसाबाट प्रवेश गरेर प्रगति गर्दै रेस्टुरेन्ट सञ्चालक बनेका प्रेम थापाको सुङवान र सामचेङमा गरी दुईवटा रेस्टुरेन्टलगायत प्रपर्टी र वित्तीय क्षेत्रमा समेत उल्लेख्य लगानी छ। अहिले पहिला–पहिलाजस्तो मुनाफा आए/नआए पनि धेरै कर्मचारीको रोजीरोटी चलेको र आफूलाई पनि समय बिताउन, सोसिलाइजेसन हुन यो व्यवसाय राखिराख्ने सोचाइ छ उनको।

आफूले काम गरेकै रेस्टुरेन्ट र खाना वा पुर्ख्यौली विरासत बोकेका पुरानो पुस्ताभन्दा यो व्यवसायमा नयाँ पुस्ता भने जोखिम मोलेरै एकपछि अर्को नयाँ नयाँ कन्सेप्टका बार/रेस्टुरेन्टमा आक्रामक रूपले अघि बढेको देखिन्छ।

जहिले पनि स्थानीय र पर्यटकको घुइँचो लाग्ने ठाउँ स्टेनलीमा सन् ९० को दशकमा मेन स्ट्रिटका रेस्टुरेन्ट/बारमा अस्ट्रेलियन र ब्रिटिसहरूको एकछत्र आधिपत्य थियो। जहाँ नेपालीहरूले काम गर्थे। अझ फोस्टर बियर कम्पनीका लगानीकर्ताहरूकै स्वामित्वको सिंगो दसतले आवास भवनसहित आधा दर्जन बार/रेस्टुरेन्ट थिए। तर पछिल्लो दुई दशकमा यो पुर्ख्यौली विरासतको क्रमभंग भएको छ।

स्टेनली मेन स्ट्रिटकै कुनाको दुईतले ऐतिहासिक भवनमा नेपाली युवाहरूको लगानीको रेस्टुरेन्ट यसरी जम्छ भन्ने दुई दशकअगाडि कल्पनासम्म थिएन।

हङकङको रात्रिकालीन जीवनको रानी मानिने वानचाइको यौटा भूगोलमा उभिएर देखिने एम्बेस्सी, एमाजोनिया, जो बनाना, ताबु, स्टेसनजस्ता बार/रेस्टुरेन्ट नेपाली उद्यमीहरूको नयाँ परिचय भएका छन्। लाङक्वाइ फुङ र सोहोको उकालोदेखि केनेडी टाउन, नट्सफर्ड टेरेसजस्ता लोकेसनमा नेपाली स्वामित्वका बार/रेस्टुरेन्टले अड्डा जमाएको दशकौं भइसक्यो। 

कतिपय यी उद्यमी समूहका आउटलेट दर्जनसम्म पुगेका छन्। हङकङ डलर १५/२० मिलियनको लगानी र ५/१० लाख भाडा जोहो गर्न सक्ने नेपाली युवा व्यवसायी कुनाकुनामा भेटिन्छन् अचेल।

तुङचुङ सेराटनको फङ्की मङ्की, मुइ ओको ला पिजारिया, डियर हर्न, चाङ चाउ आइल्यान्डको मोरक्कन, फ्रेन्च, स्टेनलीक‍ो बिजीबे सइकुङको बिस्ट्रोकना, युनलुङको लङपिङ बिस्ट्रो र चुङक्वानओसम्म गरी हङकङका हरेक भूगोलमा नेपाली उद्यमीको उपस्थिति देखिन्छ, त्यो पनि अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड र परिकारका साथमा। 

हङकङमा नेपालीहरूको राजधानी भनिने जोर्डनकै कुरा गर्दा परम्परागत नेपाली इन्डियन खानाका रेस्टुरेन्ट वा पार्टी प्यालेसहरू भन्दा फरक कन्सेप्टमा खोलिएका नेस्ट, डिम्पल फ्युजन, फङ्की मङ्की, केटिम ग्रिल, डे एन्ड नाइट, स्पाइसी सल्ट, पिजा म्याक्स, सिजन, जी फिप्टीलगायत दर्जनौँ छन्। जोर्डनमै अहिले नेपालीले ब्लु ओसन रेस्टुरेन्ट पार्टी प्यालेससहित सञ्चालन गरेका छन्। 

जोर्डनमै आफ्नै प्रपर्टी स्वामित्वको ठाउँबाट सञ्चालित मनकामना पहिलो नेपाली रेस्टुरेन्ट हो भन्ने धेरैलाई थाहा नहुन सक्छ।

उल्लिखित पुरानो र नयाँ पुस्ताका रेस्टुरेन्ट तथा बार उद्यमीहरू नेपाली व्यापारीहरूको प्रतिनिधिमूलक संस्थाहरू भनिने नेपाल चेम्बर अफ कमर्स हङकङ र हङकङ नेप्लिज बिजिनेस एसोसिएसनमा भने किन हो अटाएका देखिँदैनन्। 

जे होस्, हिजोका दिनमा यिनै चर्चित रेस्टुरेन्ट/बार रहेका हङकङभरिका व्यावसायिक हबहरूमा नेपालीहरू किचनमा, हलमा र सुरक्षाका लागि बाउन्सरका रुपमा ढोकामा उभिन्थे भने अहिले आएर मालिक वा लगानीकर्ताका रूपमा देख्न पाइन्छ जताततै। नेपालीहरू कामदार पुस्ताबाट मालिक पुस्तामा रुपान्तरण हुनु र हङकङमा व्यावसायिक वर्चस्व बढ्दै जानु हङकङमा बस्ने हामी सबै नेपालीका लागि खुसी र गर्वको कुरा हो।

अन्त्यमा, यी सबै रेस्टुरेन्ट/बारका पुराना र नवोदित व्यवसायी, उद्यमी प्रतिभाहरूलाई व्यावसायिक निरन्तरता र अझै उन्नति/प्रगतिका लागि हार्दिक शुभकामना!! 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .