हङकङको सेक्युरिटी व्यवसायमा यसरी बन्यो ‘गोर्खा ब्रान्ड’

हङकङको सेक्युरिटी व्यवसायमा यसरी बन्यो ‘गोर्खा ब्रान्ड’

कमल पौड्याल
बैशाख १६, २०८० शनिबार ६:५२, हङकङ

हङकङ बसाइको तीन दशक नाघिसक्दा आर्थिक भौतिक स्वआर्जनसँगै फुर्सदमा लेखरचना लेख्ने अम्मल लागेको छ पछिल्लो समय।नेपालखबरमा मात्रै करिब ६ दर्जन लेख छापिइ सकेछन्। स्वदेश र विदेशमा मेरा लेखरचनाका पाठक, अग्रजका अमूल्य सुझाव, मिहीन विश्लेषणात्मक प्रतिक्रिया सहित उत्साह र प्रेरणा दिने दर्जनौँ भाषा साहित्यप्रेमी बौद्धिक मित्रहरूको बीचमा रहन पाउँदा लेख्ने लत र उर्जा झनै जाग्दैछ। किताबको रुपमा संग्रह आओस् भन्ने धेरै आत्मीय शुभेच्छुकहरुको सुझाव चाँडै नै पूरा गर्ने वाचा गर्दछु। 

विभिन्न विषय लेख्दै जाँदा करिब दुई दशकदेखि हङकङलाई कर्मथलो बनाएका नेपाली समुदायका उद्यमी– व्यवसायहरुको इतिहास र वर्तमानबारे एउटा लेखमा अटाउन खोजेको थिएँ। तर अटेन, अटाउन सकिएन। 

अर्थात् ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ भन्ने स्वदेशी गीतजस्तै हङकङमा नेपाली समुदाय व्यावसायिक रुपान्तरणमा द्रुतगतिले यति अगाडि बढिसकेछन् कि हरेक क्षेत्रको एउटा सिंगै लेख बन्छ। यहाँका हरेक भूगोलका कुनाकाप्चादेखि मुख्यमुख्य स्थानसम्म नेपाली उद्यमीहरुको व्यावसायिक उन्नति, उपस्थितिबारे पछिल्ला दुई वटा लेखमा लेखेको थिएँ।

बाँकी पनि क्रमशः लेख्दै जाने छु। 

यो लेखमा हङकङमा नेपालीहरुले नामदाम र इज्जत कमाएको ‘ब्रिटिस गोर्खा’ विशेष ब्रान्ड र सुरक्षाकर्मीहरु उपलब्ध गराउने नेपाली उद्यमीहरूको चर्चा गरिनेछ।

हङकङको उपनिवेशकालीन कालखण्डमा ब्रिटिस गोर्खाहरूको उपस्थितिले आर्जित एउटा छुट्टै मान, सम्मान र पहिचान अहिलेसम्म पनि जीवित छ यो सहरमा। सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात सन् १९४८ मा २६ औँ गोर्खा ब्रिगेड समूहले हङकङमा पहिलो पाइला टेकेको थियो। गोर्खा ब्रिगेडको पहिलो बासस्थान ह्वाइट फिल्ड ब्यारेक (अहिलेको काउलुन पार्क) थियो। जुन ठाउँ पछि सन् १९६७ मा सरकारलाई बुझाई ब्यारेक अन्यत्र सारिएको थियो।

त्यसबेलादेखि सन् १९९० को दशकसम्म चीनको मूलभूमिबाट अवैध आप्रवासीहरु लुकिछीपी समुद्र वा जङ्गल हुँदै हङकङ आउने लुटपाट, अपराध गर्ने अनि उतै भाग्ने हुन्थ्यो भने हङकङकाले पनि उता गएर त्यसै गर्थे। सुपुर्दगी सन्धि थिएन। त्यसैले ब्रिटिस गोर्खाहरुले ब्यारेकबाहिर मूलत अवैध आवतजावत हुने संवेदनशील समुद्र र जमिनका नाकाहरुमा पहरा दिई हङकङको सिमानाको रक्षा गर्ने गर्दथे। मूलभूमि चीनमा कम्युनिस्ट नेता माओत्सेतुङले चलाएको सांस्कृतिक क्रान्तिताक सन् १९६७ तिर हङकङमा ब्रिटिस शासन विरुद्ध ठूलो आन्दोलन भएको थियो। काउलुनका सडकहरुमा कर्फ्यु आदेश लागू गर्न ब्रिटिस गोर्खाहरुलाई पहिलो पटक सडकमा उतारिएको थियोे त्यो बेला। 

सन् १९९७ जुन ३० को मध्यरातमा तत्कालीन बेलायती राजकुमार तथा अहिलेका राजा चार्ल्स तृतीयले हङकङको सार्वभौमसत्ता चीनका तत्कालीन राष्ट्रपति चियाङ चमिनलाई बुझाए। अनि बेलायती महारानीको १३५ देशका ६०० बन्दरगाह घुमेको ऐतिहासिक रोयल ब्रिटानिया पानीजहाज चढेर हङकङबाट प्रस्थान गरे चार्ल्स। सँगै ब्रिटिस गोर्खाहरुको करिब पाँच दशक लामो हङकङ बसाइमा पूर्णविराम लाग्यो। 

तर जन्मदर्ता र सोही आधारमा आश्रित भिसामा अहिले करिब ३०/३५ हजार भूपू ब्रिटिस गोर्खा र उनीहरुका सन्ततिले हङकङलाई कर्मभूमि बनाएका छन्। सानो संख्यामा अन्य भिसामा प्रवेश गरी स्थायी परिचय पत्र लिएर र बसोबास गर्नेहरु पनि छन्। 

१५६ वर्षको इतिहास बोकेको ब्रिटिसकालीन हङकङको अन्तिम (सन् ९०) दशकको मात्र साक्षी हुन पाएँ म चाहिँ। चुस्त प्रशासन, प्रहरी सेवा, आपतकालीन उद्धार, अग्नि नियन्त्रण लगायत सबैखाले जनताका सेवामा हङकङ सधैँ नै अब्बल भए पनि भूमिगत ट्रायड ग्याङको चहलपहल त्यो बेला निकै हुन्थ्यो। अहिलेभन्दा ठुलठूला लुटपाट, चोरी, डकैतीबारे सुनिन्थ्यो। खासगरी चिमसा चुइ, नाथन रोड र मुख्य हङकङद्वीपका ज्वेलरी पसल र बैंकका अग्रभागमा बस्ने कर्मचारी निकै चनाखो हुनपर्थ्यो। 

सन् १९९२/९३ ताकको दिनदहाडै कजवे बे लोकार्ट रोडको ज्वेलरी पसल र चिमसाचुइ सिटी बैंकको लुटपाट आफ्नै आँखाले देखियो। बैंक लुटेर भाग्दै गर्दा प्रहरीको गोली लागि चिमसाचुइ क्यामरन रोडमा रगताम्य छटपटिएका एक जना चिनियाँ लुटेरा, घाइते प्रहरी जवान, एम्बुलेन्स, बुलेटप्रुफ भेस्टसहित हातमा राइफल लिएका प्रहरीको बाक्लो उपस्थिति, पत्रकार र क्यामराको ठेलमठेलको सम्झना हिजोअस्तिको जस्तो लाग्छ। 

हङकङबाट मूलभूमिमा फर्किएलगत्तै विशेषगरी यस्ता अवैध क्रियाकलाप गरेर चीन भाग्नेहरुलाई त्यहीँ नै ठाउँको ठाउँ कारबाही गरिन थालेपछि यस्ता घटना निकै कम भए।

सन् ९० को दशकमा हङकङका निकै चर्चित एक जना ग्याङस्टार र उनीसम्बन्धी घटनाले पटकपटक अखबार र टेलिभिजनमा मुख्य समाचारको स्थान पाएको थियोे। 

चुङ टेज कुङले त अपराधको दुनियाँमा तहल्कै मच्चाएका थिए त्यो समय। विस्फोटक पदार्थ, हातहतियार, लागुऔषध ओसारपसार, हत्या, डकैती र अपहरणमा मुछिएका यिनी असाध्यै विलासी जीवनशैलीको लागि सधैँ नै चर्चामा रहन्थे। जेलमा छँदा समेत च्यानल मिलाएर एकदम महंगो बर्ड नेस्ट सुप मगाएर खाने जोहो गर्थे अरे उनले। सेन्जेनको फाइफ स्टार होटलमा महिनौँ लुकेर बस्दा सबै कर्मचारीहरुलाई मनग्य टिप्स बाँडेर प्रहरीको आँखाबाट बच्न सफल भएका यी ग्याङस्टार बास्तविक नाम भन्दा ‘बिग स्पेन्डर’ भन्ने उपनामले बढी चिनिन्थे। 

कुनै समय बैंककको सडकमा स्ट्रिट पेन्टरलाई दसौँ हजार दिएका यिनलाई ‘ग्याङस्टर विद गोल्डेन हार्ट’ पनि भन्थे कतिपयले। 

२२ फेब्रुअरी १९९० मा हङकङको पुरानो काइताक विमानस्थलबाट करिब ३० मिलियन हङकङ डलर बराबरको रोलेक्स घडीको कन्साइनमेन्ट लुटेका यिनले पछि १२ जुलाई १९९१ मा बैंकको नगद ओसारपसार गर्ने सुरक्षा भ्यान कब्जा गरेर १६७ मिलियन हङकङ डलर हात पारे। तर त्यही साल सेप्टेम्बरमा पक्राउ परे र उनलाई अदालतले १८ वर्ष जेल सजाय सुनायो। 

उनले उच्च न्यायालयमा अपिल गरे। त्यो बेलाका चर्चित र महङ्गा वकिलले उनको पक्षमा बहस गरे। भनिन्छ, यी घटनामा ज्यानै जानसक्ने डरले गर्दा प्रतक्ष्यदर्शी साक्षीहरु उपस्थित भएनन्। यो दुवै घटनामा न्यायाधीशले प्रमाण नपुगेको भनेपछि जुन १९९५ मा उनी जेलबाट रिहा भए। त्यो दिन साउथ चाइना मर्निङ पोस्ट र टेलिभिजनमा तस्बिर सहित मुख्य समाचार बने उनी। यी दुवै लुटपाट र अन्य अपराधिक घटनामा ‘टिथ डग’ उपनामले चिनिने यिप काइ फुन नामक उनका मतियारलाई भने ४१ वर्ष जेलको सजाय सुनाइयो। 

जेलबाट छुटेपछि उनी र उनको अपराधिक समूहको आत्मबल अझै बढ्यो भने साथी यिप काइ फुनलाई छुटाउन पनि उनले विभिन्न तिकडम बुन्दै गए। 

२३ मे १९९६ मा हङकङका सबैभन्दा धनी ली का सिङका छोरा भिक्टर लीलाई अपहरण गरी तीन दिन उनकै घरमा बन्धक बनाएर १.०३ अर्ब हङकङ डलर असुले। 

त्यसैगरी २९ सेप्टेम्बर १९९७ मा हङकङको प्रपर्टि जायन्ट सन हुङ केका वाल्टर कोकलाई बन्धक बनाई ६०० मिलियन फिरौती पाएपछि मुक्त गरे। भनिन्छ, अपहरणको दुनियाँका यी दुवै रकम गिनिज बुक अफ वर्ल्ड रेकर्डमै दर्ज भएको थियो।

सन् १९९८ ताक मूलभूमि चीनमा भूमिगत बस्दै माथि उल्लेख गरिएका आफ्ना मतियारलाई ४१ वर्ष जेल सजायको झोँकमा तत्कालीन हङकङकी चिफ सेक्रेटेरी एन्सन चेन र अनि हप्ता असुली दिन इन्कार गरेका मकाउका क्यासिनो टाइकुन स्टेनली होको अपहरण गर्ने योजना बुन्न थाले। यसैबीच हङकङ विशेष प्रशासनिक इकाइको सरकारी भवन ध्वस्त पार्न उनको ग्याङले चीनको सेन्जेन बोर्डरनजिकै हङकङपट्टिको सङ सुइ सहरको गोदाममा राखिएको करिब ८०० किलो विस्फोटक पदार्थ हङकङ प्रहरीले समात्यो। 

उनको आपराधिक महत्वाकांक्षा बढदै जाँदा हङकङ र मूलभूमि जासुस र प्रहरीको समन्वय र सहयोगमा अगस्ट १९९८ मा उनी १७ हङकङबासी र १४ मूलभूमिबासी सदस्य रहेको गिरोह सहित ग्वाङझाउ सशस्त्र प्रहरीको घेराउमा परेपछि कहिल्यै उम्किन सकेनन्। 

१२ नोभेम्बर १९९८ मा उनी र अन्य ५ जनालाई ग्वाङझाउको अदालतले मृत्युदण्डको फैसला र अन्य करिब ३ दर्जन मतियारहरुलाई फरकफरक काराबासको सजाय सुनाइएपछि उनले पुनः अपिल गरे। 

भर्खरै सुरु भएको ‘एकदेश दुई प्रणाली’ अन्तर्गत उनलाई हङकङमै फर्काएर अदालतमा मुद्दा चलाउनु पर्ने चर्चा परिचर्चाले मिडिया र राजनीतिक माहोल निकै तात्यो। अझ चीन वा हङकङका हरेक कुरामा स्वतन्त्रता र मानवअधिकारको खोचे थाप्नेहरुले यस्तो आपराधिक केसमा पनि धेरै रोटी सेकाए। तर यी ग्याङस्टारको चीनमा पनि यस्तै खाले अपहरण, ज्यान, हप्ता असुलीका मुद्दाहरु भएकाले उनको अपिल पुनरावेदन अदालतले अस्वीकार गरी ५ डिसेम्बर १९९८ मा मृत्युदण्ड दिइयो। 

भनिन्छ, उनी र उनका मतियार धेरै नै खतरनाक भएकाले उनलाई मृत्युदण्ड दिइने खास स्थानमा समेत नलगी जेलभित्रकै स्थानमा मारिएका थियो। यद्यपि मूलभूमिको जेल प्रशासन वा अदालतले भने यसबारे कुनै औपचारिक पुष्टि गरेनन् कहिल्यै। 

यसरी चीनको ग्वाङ्सी प्रान्तमा जन्मिएर चार वर्षको उमेरमा हङकङ आएका यी ग्याङस्टारको ४३ वर्षको उमेरमा इहलीला समाप्त भएसँगै बचेखुचेका अन्य आपराधिक समूह समेत यस्ता खाले क्रियाकलापमा दुई पटक सोच्न बाध्य भए। 

भनिन्छ, तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ चमिन लगायत अन्य सबै सरकारी निकाय र राष्ट्र प्रमुखसँग अहिलेसम्म पनि विशिष्ट सम्बन्ध भएका हङकङका सबैभन्दा धनी ली का सिङसँग पौँठेजोरी खेल्नु अर्थात् उनका छोरा अपहरण गर्नु यी ग्याङस्टारको जीवनको धेरै ठूलो गल्ती थियो। 

मूलभूमि चीनमा दैवी विपत्ति पर्दा सहयोग गर्नेदेखि निजी लगानीको क्षेत्रमा पनि हङकङको पहिलो मोटो लगानीकर्ता र मनकारी सहयोगी दाता हुन् मिस्टर ली। 

नेपालकै कुरा गर्दा पनि सन् २०१५ को भूकम्पमा यिनको ली का सिङ फाउन्डेसनले तत्कालीन महावाणिज्यदूत महेशप्रसाद दाहाल मार्फत नेपाल सरकारलाई १० लाख अमेरिकी डलर पठाएको थियो।

अझै केही वर्षपहिला हङकङमा एउटा नेपाली रेस्टुरेन्टमा भएको आगलागीबाट ज्यान गुमाएका पीडित ८ नेपालीको परिवारलाई जनही ३ लाख हङकङ डलर (५० लाख नेरु) राहत सहयोग उनले गरेका थिए।

यसरी छोरा अपहरण परेपछि हङकङका सबैभन्दा धनाढ्य ली का सिङले आफू र आफ्नो परिवारलाई पूर्व ब्रिटिस गोर्खाको सुरक्षा कवचमा सुरक्षित महसुस गर्न थालेको २८ वर्ष हुँदै छ। अहिले पनि नेपालको गुल्मी भार्से जन्मथलो भएका पूर्व ब्रिटिस गोर्खाका लेफ्टिनेन्टको कमान्डमा करिब ३ दर्जन पूर्व ब्रिटिस गोर्खाहरु २४ सै घण्टा हङकङको यो खानदानी परिवारको सुरक्षामा देखिन्छन्। 

यिनी मात्र नभएर हङकङका औँलामा गनिने सम्भ्रान्त परिवारहरु स्टेनली हो, जोसेफ लाउ, कोक ब्रदर्स, डिक्सन पुन लगायत अन्य धेरै धनाढ्यहरुको निजी र पारिवारिक सुरक्षामा ब्रिटिस गोर्खा वा सैनिक पृष्ठभूमि नभए पनि ब्रिटिस गोर्खाहरुकै पछिल्लो पुस्ता पहिलो रोजाइमा छन्। 

अचम्मको कुरा चाहिँ बेलायत सरकारसँग ब्रिटिस गोर्खाहरुले समान हक, अधिकार र पेन्सनको लागि संघर्ष गरेको दशकौँ भैसक्यो। अझै निर्क्यौल निक्लेको छैन। तर यता हङकङमा भने निजी, पारिवारिक वा कार्यालय सुरक्षामा ब्रिटिस गोर्खा वा उनीहरुका नातागोता राख्न चाहनेले अन्य दक्षिण एसियाली मूलका भारतीय, पाकिस्तानी वा फिलीपिना र स्थानीय चिनियाँभन्दा करिब ५ देखि १० हजार बढी हङकङ डलर तिर्नुपर्छ। 

प्रसंग बदलौँ। विश्वमा ६ हजार ७४९ प्रति वर्गकिलोमिटर जनघनत्व भएको हङकङ सहर सिंगापुरभन्दा थोरैले मात्र पछि छ। भनिन्छ, हङकङको काउलुनमा पर्ने मङ कक जिल्ला संसारकै सबैभन्दा बढी जनघनत्व भएको स्थान हो। अझ भन्ने हो भने नेपालका दुर्गम जिल्लाभरकै जति मानिस एउटै हाउजिङ स्टेटमा बस्छन् यहाँ। 

सधैँ निकै टड्कारो समस्याको रुपमा रहेको हङकङको बसोबास समस्या समाधान गर्न पटकपटक हङकङका कार्यकारी प्रमुखहरुसँग र सार्वजनिक सम्बोधनमा समेत राष्ट्रपति सी चिनफिङले नै विशेष चासो र चिन्ता लिएपछि अहिले द्रुतगतिमा सरकारी, अर्ध सरकारी र निजी आवास भवनहरु बन्दैछन्। यी नयाँ र पुराना हरेक सामूहिक आवासहरुमा सरसफाइ, मर्मतसम्भार, व्यवस्थापन र सुरक्षा व्यवस्थाको अनिवार्यताले हङकङमा सेक्युरिटी व्यवसायको भविष्य उज्वल छ। 

सायद यही भविष्य देखेर सन् नब्बेको मध्य दशकदेखि नै क्रिस हार्डी भन्ने सिक्सजीआर गोर्खा पल्टनका रिटायर्ड मेजरले जार्डिन हङकङको लोगोमा अवकाशप्राप्त ब्रिटिस गोर्खाहरुलाई लिएर यो व्यवसाय सुरु गरे। एचके सेक्युरिटी, ब्रिङ्स, जीफोरएस, सेक्युर कोर, आईएसएस र गार्ड फोर्स लगायत यी ठूला सेक्युरिटी पब्लिक कम्पनीहरुले पनि ब्रिटिस गोर्खाकै प्रमाण पत्र सदुपयोग गरे लामो समय र गर्दैछन् अझै। 

सन् २००५ देखि नेपाली राहदानीवाहकहरुको हङकङ प्रवेश भिसामा निकै कडिकडाउ गरेको हङकङ अध्यागमन विभागको वानचाइ मुख्यालयकै मूलढोकामा खुकुरी क्रस लोगो भएकै सुरक्षाकर्मी देखिन थालेको दशकौं भएको छ। पछिल्लो समयमा भने दर्जनौं नेपाली स्वामित्वका उद्यमी व्यवसायीहरुले यो क्षेत्रमा पनि प्रवेश गरेसँगै नाम र दाम कमाएका छन्। 

नेपाली स्वामित्वको सबैभन्दा पहिलो प्यासिफिक सेक्युरिटी लिमिटेड, दोस्रो सुनकोसी गोर्खा सेक्युरिटी लगायत गोर्खा एकता, गोर्खा गार्ड सर्भिस, जीथ्रीयस गोर्खा सेक्युरिटी, लिजेन्ड गोर्खा सेक्युरिटी, कोने सेक्युरिटी, एभरेस्ट गोर्खा सेक्युरिटी, गार्डिङ हङकङ, एमटुएम गोर्खा प्रोटेक्सन र गोर्खा फोर्स लगायत लगभग धेरैले कम्पनीको नाममा गोर्खा जोड्नुले गोर्खा ब्रान्डको कति महत्त्व रहेछ भन्ने बुझ्न सकिन्छ। 

माथि उल्लेख्य कतिपय कम्पनीहरुमध्ये धेरै निर्माण व्यवसायमा पनि आबद्ध थिए र छन्। जसबारे आउने लेखहरुमा छुट्टै चर्चा गरिनेछ। 

सन् १९९५ मा खोलिएको पहिलो नेपाली प्यासिफिक सेक्युरिटी र पछिल्लो समय खोलिएको गोर्खा गार्ड सर्भिस ब्रिटिस गोर्खा पृष्ठभूमि नभएका उद्यमीहरुद्वारा स्थापित सेक्युरिटी सञ्जाल हुन्। 

प्यासिफिक सेक्युरिटीले अवकाशप्राप्त स्थानीय चिनियाँ एसपीको कमान्डमा अहिले केही सय चिनियाँ सुरक्षाकर्मी मात्रै उपलब्ध गराउँछ आफ्ना ग्राहकहरुलाई। 

हङकङमा नयाँ पुस्ताको फरकफरक रोजगारीको चाहना व्यवसायमा रुपान्तरण हुँदै गर्दा ब्रिटिस गोर्खाकै नाममा मौलाउँदै गएको यो ब्रान्डले कहिलेसम्म थेग्ला त?

सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील मानिने हङकङको कारमल भन्ने अन्तर्राष्ट्रिय यहुदी स्कुलमा दशकौंदेखि गोर्खा सुरक्षाकर्मी मात्रै तैनाथ छन्। सुरक्षा प्रबन्धकको जिम्मा सम्हालेका दुर्गा गुरुङ एन्डी यो क्षेत्रका व्यवसायीहरुबीच एकआपसमा सौहाद्र्रपूर्ण सम्बन्ध र समन्वय हुनुपर्ने बताउँछन्। भूपू ब्रिटिस गोर्खा गुरुङ प्रदायक कम्पनीहरुले गुणात्मक पक्षमा ध्यान दिए यो व्यावसाय हङकङमा कहिल्यै नसकिने खानी जस्तै मान्छन्। 

हङकङमा कतिपय नेपाली स्वामित्वका रोजगार स्थान र व्यवसायमा नेपालकै जातजाति, क्षेत्र वा राजनीतिक आस्थाको आधारमा समेत पक्षपात हुने चर्चा परिचर्चाबारे कुरा चल्छ। तर दुर्गा गुरुङ भने आफू त्यो सोचभन्दा जहिल्यै माथि रहेको र हरेक वर्ष आफूसंबद्ध संस्थाको करार नवीकरण गर्दा आफूले जहिले पनि नेपालीहरुको स्वामित्वकै नयाँनयाँ कम्पनीलाई पालैपालो मौका दिने गरेको बताउँछन्। 

गोर्खा एकता हङकङका त्रिलोक गुरुङ पनि सबै सुरक्षा प्रदायक कम्पनीहरुबीच स्वस्थ व्यावसायिक प्रतिस्पर्धा हुनुपर्ने मान्यता राख्छन्। हङकङमा दिनानुदिन बढ्दै जाने यो व्यवसायमा एकले अर्कालाई उछिन्ने नभै सबै सँगै हिँडे व्यावसायिक रुपमा सबै सफल हुने बताउँछन् उनी। जसले नवआगन्तुक व्यावसायीहरु पनि यो क्षेत्रमा बाँचेर अघि बढन मद्दत पुग्नसक्ने उनको बुझाइ छ। 

हङकङमा मात्र नभै गोर्खा एकता इन्टरनेसनलबाट मकाउका क्यासिनो होटल र निजी भीभीआईपीहरुलाई समेत उल्लेख्य संख्यामा नेपालबाट सिधै सुरक्षाकर्मी आपूर्ति गर्ने गर्दछन् उनी। तर पछिल्लो समय कोभिड सङ्क्रमणको कारणले हजारौं नेपालीहरु मकाउबाट रोजगार गुमाएर नेपाल फर्कनु परेकोमा दुःखी छन्। 

हङकङ, मकाउ र मूलभूमिका सीमा खोलिएसँगै अब व्यवसायले पुरानै गति लिनेमा भने पूर्ण आशावादी छन् त्रिलोक गुरुङ। 

यसरी हङकङमा माथि उल्लेख गरिएकै सन् १९४८ मा पहिलो र क्रमशः अन्य ब्रिटिस गोर्खा बटालियनहरुले पाइला राखेकै कारण हरेक क्षेत्रमा छोटो समयमै व्यक्तिगत, आर्थिक, भौतिक वैभवको सिँढी चढ्दैछन हङकङे नेपालीहरु। 

यस्तो गौरवको इतिहासको ब्याज खाएर बाँचिरहेको पुस्ता हुँदाहुँदै पनि हङकङको युनलुङमा रहेको गोर्खा सेमेटरीमा हरेक वर्षको अप्रिल ५ मा मनाइने पुर्खा दिवसमा हुने उपस्थिति भने पातलिँदै गएको छ पछिल्लो समय। 

सन् २००५ देखि हङकङकै स्थानीयहरुले पनि मनाउने पितृ सम्झने दिनकै छेकोमा मनाइने कार्यक्रममा संख्यात्मकभन्दा गुणात्मक उपस्थितिमा आफूहरुले ध्यान दिएको बताउँछन् यसका अभियन्ता देवराज राई। 

उनको बुझाइमा यो कार्यक्रम हङकङमा गरिने अन्य संघसंस्थाको भन्दा बिल्कुल फरक र एउटा मलामी गएजस्तो वा वर्षमा एक दिन भए पनि हङकङको माटोमा बिलाएका पुर्खाहरुलाई धन्यवाद दिने दिन हो। जसको कारणले हामी यहाँ छौं। 

‘मलामी जान औपचारिक निम्ता, को पहिला को पछि बोल्ने वा आसन, भाषणभन्दा स्वतःस्फूर्त हुनुपर्छ,’ उनी थप्छन्। 

धेरै वर्षको मेहनतपछि अहिले नयाँ पुस्ताका विद्यार्थीहरुले भविष्यमा पुर्खा दिवसलाई निरन्तरता दिन सक्षम भएकोमा खुसी छन् उनी। 

ब्रिटिस सैनिक पारिवारिक पृष्ठभूमिका देवराज हङकङमा पेसाले शिक्षक हुन्, जसले अर्का अभियन्ता शिक्षक अमोद राई र दर्शन शाक्यसँग मिलेर सन् २०१८ देखि पुर्खाहरुले उहिले हिँड्ने फानलिङ नजिकैको गोरेटो बाटोहरुमा गोर्खा ट्रेल रेस पनि सुरु गरेका छन् हङकङमा। जसमा उल्लेख्य स्थानीय र विदेशी पनि सहभागी देखिन्छन्। 

जे होस् यसरी गोर्खामय लोगो वा चिनारीले नाम, दाम र इज्जत कमाएको हङकङमा पुराना र नयाँ व्यवसायी, उद्यमीहरु तथा मेहनती, अनुशासित, इमान्दार सबै कर्मवीर समूहलाई हार्दिक बधाई तथा शुभकामना!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .