हङकङ घुमेका, नघुमेका तर टेलिभिजन वा कुनै श्रव्यदृश्य च्यानलबाट हेर्नेहरुलाई यो ठाउँ सम्झँदा एउटा खास आकृति आँखाअगाडि आउँछ।
मुख्य हङकङ द्वीपको भिक्टोरिया पिकदेखि सिउ साइ वानसम्मको पर्वतीय श्रृङ्खलासम्मको सेरोफेरो, तल फेदीमा लमतन्न फैलिएको भिक्टोरिया समुद्र र हङकङ द्वीपको किनारा र लायन रक पहाडमुनिको काउलुनको सेरोफेरोमा अनगिन्ती गगनचुम्बी भवनहरु भएको झलझलाकार दृश्य अक्सर समाचारका प्रसङ्गहरुमा हङकङ भनेर देखाइन्छ।
सन् १९८० को दशकमा वानचाइस्थित ६४ तले होपवेल सेन्टर हङकङको सबैभन्दा अग्लो भवन थियो। त्यो बेलादेखि पछिसम्म हङकङ घुम्ने हरेक पर्यटकले घुम्नै पर्ने स्थानमध्य यो भवनको ६२ औँ तलामा रहेको रिभल्भिङ रेस्टुरेन्टबारे धेरै चर्चा हुने गर्थ्यो। सन् १९९० को दशकमा बनेको ७२ तले हङकङको ल्यान्डमार्क बैङ्क अफ चाइना टावरले यो भवनलाई दोस्रो अग्लो भवन बनाइदियो। सन् १८४६ मा निर्माण सम्पन्न हङकङको ऐतिहासिक ब्रिटिसकालीन मुरी हाउसलाई हटाएर सोही स्थानमा बनेको बाक्ला निलो सिसैसिसाका प्यानल टाँसिएको बैंक अफ चाइना भवन त्रिभुजाकार छ। जसको धुरीमाथि रेडियोको ठूलो एरियलजस्तो संरचना देख्न सकिन्छ।
मजस्ता इतिहासमा चाख भएकाहरुले भने मुरी हाउसलाई फरक भूगोलमा अर्थात् स्टेन्ली मेन स्ट्रिटमा पुरानै प्रारुपमा देख्न र घुम्न सक्दछन् अहिले पनि। तर यो बैंक अफ चाइनालाई पनि छोटो समयमै बनेको वान्चाइको ७८ तले सेन्ट्रल प्लाजा हङकङले पछाडि पारिदियो। अक्सर त्यो बेला अध्यागमन विभाग आउजाउ गर्दा सेन्ट्रल प्लाजाको जगपूजादेखि बुइँगलको धुरी मार्दासम्म साक्षी हुन पाएँ म। समुद्र पुरेर सन् १९९८ मा निर्माण सम्पन्न सेन्ट्रलको अर्को ८८ तले आईएफसी अर्थात् अन्तर्राष्ट्रिय वित्तीय केन्द्रले उचाइमा सबैलाई उछिन्यो। त्यसपछि पुनः समुद्र पुरेरै सन् २०१० मा निर्माणसम्पन्न पश्चिम काउलुनको १०८ तले आईसीसी अर्थात् अन्तर्राष्ट्रिय वाणिज्य केन्द्र हङकङको अहिलेसम्मकै सबैभन्दा अग्लो र संसारको तेह्रौँ अग्लो भवनमा पर्छ।
यस्ताखाले भवन संरचनाबाहेक हङकङभरका समुद्र र जमिनमुनि फैलिएका अनगिन्ती रेल र मोटर चल्ने सुरुङमार्ग, समुद्रमाथिका पुल र टनेलहरु इन्जिनियरिङ प्रविधिमा चाख राख्ने र बुझेकाहरुलाई एउटा ठूलो अध्ययनकेन्द्र वा विश्वविद्यालय हुन्। यी संरचना मानवसभ्यताको पछिल्लो पुस्ताको अद्भूत इन्जिनियरिङ सिर्जनाका कोसेली हुन् आउने पुस्ताका लागि।
अझ पछिल्लो समय हङकङको तुङचुङ बसाइँ सरेपछि बासस्थानको ५१ तलाको आखिझ्यालबाट हेर्दाहेर्दै समुद्र पुरेरै बनाइएका फोरपोइन्ट सेराटन होटलदेखि भिजनरी, सेन्चुरी लिंक र युङ नाङ कोर्ट आवास भवनको जन्मदेखि वयष्क हुँदासम्मको साक्षी भएको छु म फेरि।
यु नाङ कोर्ट आवासीय भवनमा करिब १०० भन्दा बढी हङकङे नेपालीहरु किरायादारबाट घरमालिकमा रुपान्तरण भएका छन् हालसालै। अरु धेरै रुपान्तरणको प्रक्रियामा छन्। हङकङमा नेपाली मूलका घरधनी र घरभेटीहरुबारे एउटा छुट्टै लेख लेख्ने छु, पछि।
-
हङकङको सेक्युरिटी व्यवसायमा यसरी बन्यो ‘गोर्खा ब्रान्ड’
-
हङकङमा आसन र भाषणबाट परै रहेर व्यवसायमा रम्दै जम्दै यी नेपाली
-
हङकङमा ढोका–ढोकामा उभिन्थे नेपाली, अब धमाधम बन्दैछन् मालिक
सन् १९९० को दशकपछि हङकङमा बनेका माथि उल्लेख्य संरचना र पछिका भूमिगत रेलका लाइन विस्तार, मकाउ–जुहाइ–हङकङ जोडने ५५ किलोमिटर लामो समुद्री पुल, ग्वाङझाउ पश्चिम–काउलुन द्रूत रेलमार्ग, चुङ क्वानओ पुल र टनेल, विमानस्थलदेखि चुनमुनसम्मको ५ किमि लामो ४ लेनको समुद्रमुनिको सुरुङमार्ग, समुद्रमाथि बनेका चिङ्मा र तिन्काउ पुल, चेप लाप कोक पहिलो र दोस्रो पछि हाल निर्माणाधीन तेस्रो धावनमार्ग, चाइना लाइट एन्ड पावर, हङकङ इलेक्ट्रिक, निर्माणाधीन सयौं आवास वा कार्यालय भवन लगायत अन्य अनगिन्ती संरचनामा हङकङे नेपालीहरुको सशुल्क श्रम र पसिना सिञ्चिएको छ।
दुःखको साथ भन्नुपर्दा यी निर्माण परियोजनाहरुमा स्थानीयसँगै दर्जनौँ नेपाली दाजुभाइले ज्यान गुमाउनुका साथै अंगभंग भएको पीडा पनि छ। यद्यपि, हङकङमा यस्ता घटनामा यहाँको लेबर डिपार्टमेन्ट र सरकारी चासो रोहबरमै यथेष्ट क्षतिपूर्ति भने दिलाइन्छ। भाग्यवश बाँचेकाहरुले पनि जीवनभर पुग्ने क्षतिपूर्ति रकम पाउँछन्।
हङकङमा अन्य क्षेत्रजस्तै यो निर्माण क्षेत्रमा पनि अनुभव बटुल्दै एउटा पुस्ताले कामदार वा प्राविधिक जागिरदारबाट निर्माण वा कामदार प्रदायक व्यवसायीमा रुपान्तरण हुन थालेको दुई दशक नाघिसकेको छ।
हङकङमा नेपाली मूलका उद्यमी–व्यवसायीहरुले निर्माण म्यानपावर क्षेत्रमा छोटो समयमै गरेको उल्लेखनीय व्यापार, आर्थिक उन्नति, हजारौँहज्जार रोजगारीको सिर्जना गर्व गर्नलायक छ। हङकङ सरकारलाई बर्षेनि मिलियन डलर कर तिर्ने दर्जनौँ नेपाली स्वामित्वका यी व्यावसायिक सञ्जालबारे यो क्षेत्रमा लागेका वा चासो राख्नेहरुलाई मात्रै थाहा छ।
अहिलेको यो पुस्ता अगावै यो क्षेत्रमा हङकङका ससाना बाटाघाटा, ब्यारेक, स्कुल आदि र आपतकालीन दैवी विपत्तिमा पर्दा स्वदेशमा समेत ब्रिटिस गोर्खाको इन्जिनियरिङ टिमले हङकङबाट गएर सहयोग गरेको इतिहासमा पढ्न पाइन्छ।
‘द एटी वान ट्रुप्र्स फ्रम द क्विन्स गोर्खाज् इन्जिनियर्स आर वर्किङ अन द रोड लिडिङ साउथ फ्रम द क्यापिटल काठमान्डु टु दि इन्डियन बोर्डर, ह्विच इज वन अफ द मेन सप्लाइ रुट्स।’
यो माथिको वाक्यांश १० अगस्ट १९९३ मा साउथ चाइना मर्निङ पोस्टको समाचारको एउटा अंश हो। जतिबेला नेपालमा निकै ठूलो बाढीपहिरो आएको थियो। तत्कालीन ब्रिटिस वा हङकङ सरकारबाट सहयोग स्वरूप संसारको सबैभन्दा ठूलो रुसी मालवाहक हवाईजहाज अन्तोनोव एन–१२४ भाडामा लिइयो। जसले बेलिब्रिज लगायत अन्य उपकरणहरु बोकेर पुरानो काइ ताक विमानस्थलबाट ब्रिटिस गोर्खा इन्जिनियरको समूहले हङकङको भुइँ छोडेको थियोे।
त्यति धेरै हुबहु सम्झना नभए पनि पृथ्वी राजमार्गका सपिङ खोला, महादेवबेसी, मलेखु र अन्य धेरै ठाउँमा भत्किएका पुल र बाटोमा अस्थायी पुल र बाटो निर्माण गरी यातायात खुलाएर उनीहरु हङकङ फर्किएका थिए।
सैनिक जीवनबाट सेवानिवृत्त भैसकेपछि सयौँ ब्रिटिस गोर्खा ईन्जिनियर्सले सशुल्क आफ्नो प्रतिभा देखाएको र श्रम गरेको संसारकै दोस्रो लामो सस्पेन्सन चिङ्मा ब्रिज थियो। माथिबाट मोटर बस र तलबाट रेल अनि ठूलो हावाहुरीमा गाडीहरु समेत चल्ने यो अजङ्गको पुल अहिले भने विश्वको सोर्हौं स्थानमा झरेको छ।
यो पुल बनेपछि मात्रै हङकङको सबैभन्दा ठूलो टापु लान्ताउ काउलुन र हङकङ द्वीप सडकमार्गबाट पहिलो पटक जोडियो। तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र हङकङका अन्तिम ब्रिटिस गभर्नर क्रिस प्याटन चढेको रोल्सरोय कारले रिबन चुँडालेर उद्घाटन गर्दै अघि बढेको थियो। जसको प्रत्यक्ष प्रशारण टेलिभिजनमा भएको थियोे। यी लगायत तत्कालीन गभर्मेन्ट फ्लाइङ सर्भिसका हेलिकोप्टरहरुले पुलमाथि बेलायती झण्डा फहराउँदै उडेको, ड्रागन नाच र रात्रिकालीन आतिसबाजी अझै पनि युट्युबमा हेर्न सकिन्छ। आआफ्नो छोटो छोटो मन्तव्यमा मिसेस थ्याचर र क्रिस प्याटनले बेलायतले हङकङलाई शासन मात्रै गरेको नभई विकास र समृद्धि पनि दिएको छ है भन्ने आशयका भनाइ राखेका थिए। हङकङका तत्कालीन मुख्यसचिव एन्सन चेन र अर्थसचिव डोनाल्ड चाङले दुवै प्रमुख अतिथिलाई सभास्थलमा स्वागत गरे पनि दुई महिनापछि हुनेवाला हङकङका पहिलो कार्यकारी प्रमुख तोङ ची वा भने समारोहमा उपस्थित थिएनन्।
यति महत्त्वपूर्ण इतिहास बोकेको यो पुलमा कामदार आपूर्तिदेखि रंगरोगनसम्मको ठेक्का पाउने नेपाली स्वामित्वको पहिलो प्यासिफिक क्राउन इन्जिनियरिङ कम्पनी थियोे। यही कम्पनीले नै माथि उल्लिखित हङकङको दोस्रो अग्लो सेन्ट्रलको ८८ तले आईएफसी टावरमा पनि कामदार आपूर्तिसँगै सिसाका प्यानल लगाउने प्रोजेक्ट सफलतापूर्वक सम्पन्न गरेको थियोे।
यही सेरोफेरो हङकङमा नेपाली उद्यमीहरुले पनि यो क्षेत्रमा प्रवेश गरेको पाइन्छ। यसरी सबैभन्दा पुरानो प्यासिफिक क्राउनदेखि सुरु भएर नाम चलेका दर्जनौँ ठूला र नयाँपुराना नेपाली कन्स्ट्रक्सन म्यानपावर कम्पनीहरुमा गोर्खाज्, सुनकोसी, पारामाउन्ट, लिङ्मा, गोर्खा एकता, सम्मान, जी–क्ल्याड्स, कोने, जी–क्ल्याड्स इन्टरनेसनल, सिटी, युनाइटेड, एसएलआर, बीएम, एभरेस्ट आदि छन्।
यी कम्पनीहरुमध्ये कतिपय सुरक्षाकर्मी प्रदायक पनि हुन् भनेर मैले यसअघिको लेखमै उल्लेख गरेको थिएँ।
दुःखको साथ भन्नुपर्दा निकै संघर्षपूर्ण हङकङको जीवनयात्रा पार गरेर यो क्षेत्रको उद्यमशीलतामा एउटा ठूलो उचाइ लिएका लिङ्मा कन्स्ट्रक्सनका कृष्णबहादुर लिंखा र युनाइटेडका ज्याक महर्जनको अल्पायुमै निधन भयो।
सन् २०१४ डिसेम्बरमा निधन भएका सरल मृदुभाषी कृष्ण लिंखाको अन्तिम विदाईमा हुङहामको फ्युनरल हाउसमा शोकाकुल मानव सागर उर्लिएको देखेर त्यहाँको व्यवस्थापन समेत अचम्मित भएको थियो।
सन् २०१९ जनवरीमा निधन भएका अर्का मेरा आत्मीय मित्र ज्याक महर्जनको सम्झनामा मैले ‘मेरो आँखाअगाडि उभिएका ज्याक’ भन्ने संस्मरण लेखेको थिएँ नेपालखबरमै।
यी दुवै उद्यमीका उल्लेख्य कम्पनीहरु उनीहरुका पारिवारिक उत्तराधिकारी र साझेदारहरुले सफलतापूर्वक अगाडि बढाएका छन्। इन्जिनियर पेसाबाट हङकङमा करिअर सुरुवात गरेका पारामाउन्टका प्रबन्धक सुरेन्द्रप्रसाद ढकाल हङकङमा जापानी र कोरियाली कम्पनीहरुको दबदबा कम हुँदै मूलभूमिका चिनियाँ कम्पनीहरु बढ्दै गएकोले यो क्षेत्रमा अब निकै पेचिलो प्रतिस्पर्धाका लागि नेपाली उद्यमीहरु तयार हुनपर्ने बताउँछन्। मूलतः नेपाली नयाँ पुस्ता निर्माण क्षेत्रमा भन्दा बार, रेस्टुरेन्ट र अन्य क्षेत्रमा बढी आकर्षित भएकाले अहिले आफूले चिनियाँ कामदारहरुबाटै व्यावसाय धानेको उनको भनाइ छ। मूलभूमि चीनमै इन्जिनियरिङ अध्ययन गरेका ढकाल पुतुङवा बोल्न र पढ्न–लेख्न पनि दक्ष छन्।
जी–क्ल्याड्सका मेखदेव गुरुङ यो व्यवसायमा पछिल्लो समय माग धेरै र आपूर्ति कम भएको बताउँछन्। हरेक व्यवसायमा प्रतिस्पर्धा स्वाभाविक हो। तर नेपाली उद्यमीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भयो भने हामीलाई नै असर गर्ने कुरामा समयमै सचेत रहनु पर्ने उनको बुझाइ छ।
हङकङको यो त्रिदेव कन्स्ट्रक्सन म्यानपावर कम्पनी उपनाम पएको जी–क्ल्याड्सका मेखदेव गुरुङ, गिरिराज गुरुङ र बलप्रसाद गुरुङ व्यावसायिक सफलताको उचाइसँगै समाजसेवामा पनि निकै अग्रणी छन्।
यो पंक्तिकार राहत संयोजक भएको सन् २०१५ को स्वदेशको महाभूकम्पमा जी–क्ल्याड्सले हङकङका सहयोगदाता मध्येबाट सबैभन्दा धेरै रकम ३ लाख हङकङ डलरको एउटै चेक दिँदै ‘कमल दाइ, माथि नाम चाहिँ आफैँ लेख्नुस् है’ भनेको सम्झना ताजै छ मलाई।
बीएम कम्पनीका अर्का युवा उद्यमी अभिषेक खड्का हङकङको बढदो जनसंख्याको आवास व्यवस्थापन, सरकारको हरेक वर्ष एकपछि अर्को नयाँ नयाँ आधारभूत संरचना योजना र आउँदै गरेको लान्ताउ भिजन टुमरोजस्ता मेगा प्रोजेक्टहरुले आगामी २०/३० वर्ष यो क्षेत्रका उद्यमीहरुले पछाडि फर्किनुपर्ने अवस्था नआउने बताउँछन्।
स्मरणीय छ, हङकङको निकै टड्कारो समस्याको रुपमा रहेको बसोबासको समस्या हल गर्न सन् २०१८ मा तत्कालीन कार्यकारी प्रमुख क्यारी लामले आफ्नो सरकारको नीति तथा कार्यक्रम सम्बोधनमा लान्ताउ भिजन टुमरो भन्ने महत्त्वाकांक्षी योजना अघि सारेकी थिइन्। जसलाई पछिल्ला सरकारले निरन्तरता दिएका छन्।
यो योजना अन्तर्गत पूर्वी लान्ताउ द्वीपको काउ यी चुउ र हे लिङ चुउ भन्ने ससाना टापु वरिपरि १७ हजार हेक्टर समुद्री भाग अधिग्रहण गरी पुरिनेछ। जहाँ करिब ५८० अर्ब हङकङ डलरको अनुमानित बजेटमा १ लाख पचास हजारदेखि २ लाख साठी हजारसम्मका हाउजिङ युनिट बन्नेछन्। यो महत्वाकांक्षी आवास योजनामा पहिलो र दोस्रो चरणमा गरी करिब ४ देखि ७ लाख मानिसलाई बसोबास गराइने छ। करिब दुई लाख मानिसले प्रत्यक्ष रोजगार पाउने परियोजना आगामी दुई दशकमा सम्पन्न हुँदा यो संसारकै ठूलो मानवनिर्मित टापुमा बनेको बसोबास स्थल हुनेछ। जसलाई तुङचुङ हुँदै मुइ ओ भएर भूमिगत रेल तथा सडक मार्गले जोड्ने छ भने मुख्य हङकङद्वीपको पश्चिमी क्षेत्रबाट समुद्रमाथि पुल पनि बन्नेछ।
यसरी यो क्षेत्रमा एकपछि अर्को सुरक्षित व्यावसायिक भविष्य देखेर अरु धेरै नेपालीहरु पनि निर्माण क्षेत्रमा आउने सुरसार गर्दैछन्। त्यसमध्येका ओसन कन्स्ट्रक्सनका झम गुरुङ मनग्य आम्दानी भएको काम छोडेर यो क्षेत्रमा लाग्ने कान्छा व्यवसायी हुन्। टीबीएम अर्थात टनेल बोरिङ मेसिनको दक्ष अपरेटर झम गुरुङले हङकङ मात्र नभई इजिप्ट र अल्जेरियामा पृथ्वीका गर्भ खोतल्दै साइट म्यानेजरसम्मको अनुभव बटुलेका छन्।
हङकङमा यी सबै उल्लेख्य निर्माण कम्पनीमा रोजगार खोज्नेहरुले सरकारको नियम अनुसार अनिवार्य रुपमा सम्बन्धित विषयमा आवश्यक प्रशिक्षणको प्रमाण पत्र लिनुपर्ने हुन्छ। जसका लागि अधिकांश नेपालीहरुले स्थानीय चिनियाँ प्रशिक्षण केन्द्रहरुमा मात्रै भर पर्नुपर्ने बाध्यताको अन्त्य गराइदिएको छ, नेपालीहरुको स्वामित्वको एसिया भेन्चर प्रशिक्षण केन्द्रले। सन् २०१७ मा खोलिएको यो तालिम केन्द्रले निर्माण कामदारपछि सुरक्षाकर्मीहरुको आधारभूत प्रशिक्षणको लागि पनि हङकङ सरकारको सम्बन्धित निकायबाट अनुमति पाएको छ हालसालै। अहिलेसम्म नेपालीहरु मात्र नभई स्थानीय चिनियाँ, फिलिपिना, भारतीय र पाकिस्तानी मूलका समेत गरी करिब २५ हजारले प्रशिक्षण लिइसकेको बताउँछन् प्रशिक्षक तथा साझेदार प्रबन्धक मनोज गौतम।
अल्पसंख्यक समुदायबाट हङकङ सरकारको निर्माण तथा उद्योग प्रशिक्षण बोर्डमा समेत प्रतिनिधित्व गर्ने सदस्य मनोज गौतम यी सबैखाले प्रमाणपत्रहरुको हरेक तीन वर्षमा अनिवार्य नवीकरण गर्नुपर्ने बताउँछन्। एकपछि अर्को मेगा परियोजनाले यो क्षेत्रको व्यावसायिक भविष्य एकनास र सुरक्षित हुनेमा उनी विश्वस्त छन्।
यसरी हङकङमा निर्माण म्यानपावर क्षेत्रका उल्लेख्य उद्यमी व्यवसायीहरुमध्ये कसैले पनि स्वदेशबाट लगानी ल्याएर हङकङमा व्यवसाय सुरु गरेका हैनन्। ३००, ५००, १००० वा १५०० अमेरिकी डलरको ट्राभल चेक, पासपोर्ट र झोला बोकेर हङकङ टेक्दै सम्बन्धित क्षेत्रमा परिश्रम र अनुभवपछि हङकङ जस्तो अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक उचाइ छोएका सबै उद्यमीहरू बधाईका पात्र हुन्।
यस्ता हङकङे इमानदार उद्यमीहरूका बारेमा लेखिरहँदा मैले सयौँ पटक लेख्न छाडेर स्वदेशका समाचारका हेडलाइन कोट्याइरहेँ। देशमा अब त केही राम्रो होला कि भन्ने आशा गर्दैगर्दा स्वदेशमा शासक वर्गको सामूहिक मिलेमतोमा एकपछि अर्को नयाँनयाँ तरिका र उपायका भ्रष्टाचारका बिर्कोहरु खोलिँदै जाँदा झनै आश्चर्यमा घोत्लिएँ निकैबेर।
कुनै देशको राज्यले नै नागरिकलाई अनागरिक बनाएर भ्रष्टाचार र मानव बेचबिखन गरेको जघन्य अपराधको समाचार अन्तर्राष्ट्रियकरण भयो पछिल्लो पटक। यो भन्दा ठूलो लाजको पसारो के हुन सक्छ? जसले संसारभर रहेका नेपालीहरुको शिर निहुरिएको छ।
कसरी सम्भव भयो त यसपालि यति ठूलो हलचल? जे होस् लहरो तान्दा पहरो गर्जियो। तर यो हलचल पहिलापहिला जस्तै लहरामै सीमित हुन्छ या पहरोमै पुग्ला, सरकारले खुट्टा टेकिरहला वा कमाउला, देखिन बाँकी नै छ।
Shares
प्रतिक्रिया