‘मम्मी, आज स्कुलमा ह्वाट ईज प्युबर्टी (के हो तरुण अवस्था) भन्ने बारे पढाई भयो।’
कक्षा ५ मा पढ्ने छोरीले स्कुलको झोला बिसाउँदै हठात मलाई सुनाई।
त्यसो त छोरी र सानो छोरा अल्लि अघि कक्षा ३ पढ्दै आफ्नो गोप्य अंगहरु के के हुन् भन्नेबारे केही जानकार नै थिए। केटी र केटा मान्छेका गोप्य अंगहरु कुन कुन हुन्? चिनेको मान्छेले जानाजानी गोप्य अंग छुन खोज्दा के गर्ने? नचिनेका मान्छे अनाहकमा नजिकिन खोज्दा के गर्ने जस्ता प्रश्नमा उनीहरू छलफल गर्थे।
यस्ता गहन विषयबारे उनीहरू एक–आपसमा छलफल गरिरहेको सुन्न पाउँदा मात्र पनि स्कुलको शिक्षा प्रणालीप्रति आभारी भएको थिएँ।
आभारी यसकारण कि हामी अभिभावकले सिकाउनु भन्दा अगाडि नै आफ्नो पाठ्यपुस्तक मार्फत उनीहरुले ज्ञान लिइसकेका हुने रहेछन्।
स्कुलमा किशोर वा तरुण अवस्थाबारे पढाई हुन्छ भनेर हामी अभिभावकहरु ढुक्क भएर बस्ने कुरो पनि आएन। हुर्कंदै गरेका छोराछोरीले दिनदिनै तरुण अवस्थामा परिवर्तन भइरहेको कुराहरू टपक्क टिपेर घरमा ल्याएर सुनाउँदा धेरै समयसम्म असजिलो लागिरह्यो।
तरुण अवस्थामा ‘डे ड्रीमिङ’ हुनु, कसैप्रति ‘फर्स्ट क्रस’, ‘ईन्फ्याचुएसन’ हुनु जस्ता कुराहरु बुझाउन सजिलो भए तापनि छोरीलाई रजस्वलाबारे कसरी बयान गर्ने?
छोरालाई स्वप्न दोष, हस्त मैथुनबारे कसरी बुझाउने?
यस्ता प्रश्नहरुको उत्तर सहज तरिकाले कसरी बुझाउने होला भनेर उल्झन बढिरह्यो। सजिलो उपाय खोज्ने क्रममा एकदिन एउटा किताब फेला पर्यो– ‘पेट्रास फर्स्ट पिरियड’। यो किताबको हरेक पानामा अभिभावकले भन्नै पर्ने तरुण अवस्थामा परिवर्तन हुँदै गरेका अनेकन कुराहरु सबै लेखिएको रहेछ।
फुरुङ्ग पर्दै केटा र केटी दुबैको तरुण अवस्थाबारे गूगलबाट किताब खोजें मात्र हैन, चाहिने चाहिने शीर्षक खोतलेर प्रीन्ट गरेर तयार पारें।
छोरीको दिनहुँ जस्तो पढिने फेरी टेल्स स्टोरीज बुक्सको बद्लामा उक्त प्रीन्ट गरी निकालिएको ‘पेट्राज फर्स्ट पीरियड’ किताब रिप्लेस गरिदिएँ।
त्यसैगरी छोराको ‘स्टार वार’, ‘साईन्स फिक्सन’ बुक्सको चाङ हटाएर ‘प्युबर्टी बोई’ किताब रिप्लेस गरिदिएँ।
समय यतिछिटो बित्ने रहेछ कि सँगै औंला दिएर हिंड्न सिकाएका नानीहरु एउटा एउटा औंला छोड्दै छोड्दै एक्लै हिंड्न थालेको पत्तै नपाइने रहेछ। हो हामी आजकल ‘प्युबर्टी’ किताबबारे घरमा खुब चर्चा गर्छौं। छोरा होस् या छोरी, तरुण अवस्था दुबैमा ढिलो छिटो लागु हुन्छ र दुबैलाई कसरी परिवर्तन हुन्छ भन्ने कुरा थाहा हुन एकदमै जरुरी छ।
केही हप्ताअघि मात्र हामी सँगै सुपरमार्केट गएर छोरीको रोजाईमा ‘स्यानीटरी प्याड’ किनेर ल्यायौं। घरमा आएपछि यदि पहिलो पटक रजस्वला भएमा कसरी प्याड लगाउने भनेर ‘रियल डेमो’ गरेर देखाइयो।
यदि स्कुलमा रजस्वला भएमा ‘स्ट्यान्डबाई प्याड’ आफैं कसरी लगाउने वा सहयोग चाहिएमा आफ्नो क्लास टिचरलाई भन्न नहिच्किचाउने भन्ने कुरा सिकाइयो।
यसरी सिकाइरहेको बेला सानो छोराले उत्सुक हुँदै सोध्यो, ‘मम्मी, नाईट फल हुँदा मैले नि स्यानिटरी प्याड लगाउने हो? अब मेरो वीलीमा पनि पापाको जस्तै कपाल पलाउँछ हो?’
छोराले आफ्ना गोप्य अंगबारे यस्ता प्रश्न सोधिरहँदा ठूली छोरीले हाँस्दै भन्न लागिन्, ‘ब्रो, स्यानिटरी प्याड इज अन्ली फर गर्ल्स। येस्, आवर आर्म पिट्स एन्ड प्युबिक एरियाज विल ग्रो हेयर भेरी सुन।’
छोरा र छोरीको अन्तरक्रिया सुनेर यस्तो लाग्यो– सिधै बुझाउने कोशिश गर्नुको बद्ला किताब नै पढ्न दिएर ठिक गरेछु।
प्रतिक्रिया