छोरी हेर्नका लागि आँखा बन्छन्
फेर्नका लागि सास बन्छन्
बरु परीक्षा नै फेल हुन्छ
उनीहरू पास बन्छन्!!
छोरी घाममा चौतारो बन्छन्
झरीमा छाता बन्छन्
भाँडोमा भात सकियो भने
आज मलाई खान मन छैन भन्छन् !!
तर पनि छोरी अझै
जन्मेको घरमा बस्न पाँउदैनन्
लालपुर्जामा पस्न पाँउदैनन्
मेरो परिवारमा यति जना भन्नुहुन्छ बाआमाले
तर छोरी किन गन्तीमै आउँदैनन्?
प्रस्तुत कवितांश सधैँ राजनीतिक विकृति, सामाजिक विभेद र असमानतािवरुद्ध कटाक्ष गर्न खप्पिस कवि अर्जुन पराजुलीको फेसबुक वालबाट साभार गरिएको हो। उनले सायद एक वर्षअगाडि प्रज्ञा भवनको स्टेजमा उभिएर यो कविता वाचन गर्दा तत्कालीन राष्ट्रपति विद्या भण्डारीलगायत सभा हलमा उपस्थित सबै भावुक देखिन्थे।
कविता निकै लामो, मार्मिक, भावुक र यथार्थपरक छ। पूरै कविता सुन्न मन भए तपाईं युट्युबमा अर्जुन पराजुलीको ‘छोरी! बाआमा मलाई जन्मन देऊ’ शीर्षकको कविता सर्च गर्न सक्नुहुन्छ।
यो हाम्रो समाजको तीतो यथार्थ भए पनि समय परिवर्तन हुँदै छ। छोरीहरू पनि जन्मघरमै बस्दै छन्, लालपुर्जामा पस्दैछन् मात्र हैन, आफ्नै मिहिनेतमा जग्गा जोड्दै छन्- खासगरी हङकङमा।
जहाँ जन्मेका नेपाली मूलका छोराछोरीले आफ्ना बुवाआमाका परिश्रम, लगानी र मार्गदर्शनमा नेपाल र नेपालीकै नाम उँचो बनाउँदै छन्।
छोरीको अधिकारबारे चासो र चिन्ता गर्दै यति मार्मिक कविता रच्ने कवि मनलाई नमन गर्दै म यो लेखमा हङकङका त्यस्ता ३ नेपाली छोरीबारे चर्चा गर्दै छु। र, क्रमशः आगामी लेखमा अन्य नेपाली युवाका विषयमा बताउने वाचा पनि गर्छु।
पत्रपत्रिका वा मिडियामा चासो राख्नेहरूका लागि हङकङको साउथ चाइना मर्निङ पोस्ट हङकङल मात्रै होइन, विश्वकै चर्चित मिडियामध्ये एक हो। स्वर्ण जयन्ती मनाइसकेको यो मिडिया ब्रिटिस शासनकाल (६ नोभेम्बर, १९०३) मै सुरु भएको थियो।
कुनै समय यस्तो थियो- जतिबेला स्वदेशको समाचार यो पत्रिकामा आउँदा ए! नेपालको पनि समाचार आएछ भन्दै हामी पत्रपत्रिकाका अम्मली चर्चा गर्थ्यौं। २०४६ सालको राजनीतिक परिवर्तन र दरबार हत्याकाण्ड, गणतन्त्र घोषणा, २०७२ को महाभूकम्प आदिमा नेपाल पहिलो पेजको शीर्षकमै थियो।
दुई दशकमै समय परिवर्तन भएको छ। अहिलेजस्तो डिजिटल मिडियाको विकास भइसकेको थिएन। त्यसैले विज्ञापनका लागि यो पत्रिका सबैभन्दा महँगो थियो। त्यसो त अहिले पनि महँगै छ।
सन् नब्बेको दशकमा त अरु पत्रिकामा हप्ताभरि दिएको विज्ञापनभन्दा ‘साउथ चाइना मर्निङ पोस्ट’ को यौटै विज्ञापन र तत्सम्बन्धी सानो लेख आउँदा निकै लामो समयसम्म रेस्टुरेन्टमा ग्राहकको घुइँचो लाग्थ्यो।
हङकङको यही चर्चित जेठो र अनवरत छापा र डिजिटल मिडियामा पूर्णकालीन पत्रकार मात्र नभई लेखकीय उपस्थितिसमेत जनाइसकेकी नेपाली मूलकी सुम्निमा रानी कन्दङ्वाबारे हङकङकै धेरै नेपाली अनभिज्ञ हुनसक्छन्।
हङकङमा जन्मिएकी सुम्निमाले याउमातेइ क्वाइफुङ सरकारी स्कुलबाट प्राथमिक शिक्षाको सुरुवात गरिन्। त्यो बेलामा जागिरे जीवनबाट स्वरोजगार हुन संघर्षरत आफ्ना बाबाआमाले हङकङको महँगो स्कुल हाल्न नसकेकामा सुम्निमाको पटक्कै गुनासो छैन्।
प्राथमिक तहपछि माध्यमिक शिक्षाका लागि सेन्टमार्गरेट गर्ल्स कलेजमा छनोट हुँदै उनले अब्बल छोरी बन्ने छाँटकाँट ल्याइसकेकी थिइन्। त्यसपछि उनले हङकङस्थित बाप्टिस्ट विश्वविद्यालयबाट पत्रकारितामा ब्याचलर गरिन्। यसपश्चात् उनले चेकोस्लभाकियाको प्रागमा समेत अध्ययन गर्ने मौका पाइन्।
विश्वविद्यालयकै इन्टनसिपमा साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) मा प्रशिक्षार्थी पत्रकार बनेकी सुम्निमालाई उक्त मिडिया हाउसले जागिरकै लागि अफर गर्यो। हुन त वंशाणुगत गुण वा जिनका कारण साहित्य र पछि राजनीति, अर्थशास्त्र वा कानुन विषयमा चाख लागे पनि अहिले लेख्दै गरेको विषयमा सन्तुष्टि र भविष्य समेत उज्ज्वल देख्छिन् सुम्निमा।
साउथ चाइना मर्निङ पोस्टको लक्जरी फेसन, ट्राभल र सेलिब्रेटीमा उनले कलम चलाउन थालेको एक वर्ष नाघेको छ। एससीएमपीमा सुम्निमा कन्दङ्वाका रिपोर्टहरू यो लिङ्कमा गएर हेर्न सकिन्छ।
जसमध्ये हङकङमा आयोजित म्युजिक फेस्टिबलमा प्रस्तुति दिन आएका चर्चित कोरियन र्यापर किम हान बिनुसँग फोर सिजन हङकङ होटलमा अन्तर्वार्ता लिन पाउनु आफ्नो क्यारियरकै महत्त्वपूर्ण खुट्किलो ठान्छिन उनी। जसलाई सुन्न, भेट्न र तस्बिर खिच्न हजारौँ युवा ललायित हुन्छन्।
यसैगरी फ्रान्सको ऐतिहासिक पुरातात्त्विक दरबार ‘भर्सालिज प्यालेस’की प्रेसिडेन्ट क्याथरिन पिगारे उक्त दरबारको डिजिटल भर्सनको उद्घाटन र प्रदर्शनी गर्न मकाउ आएकी थिइन्। जो वर्तमान फ्रान्सेली राष्ट्रपति इमान्युल माक्रोनका सल्लाहकार पनि हुन्।
धैर जना पत्रकार कार्यरत एससीएमपीले मकाउको होटल ग्रान्ड लिस्बोंमा गएर यी चर्चित फ्रान्सेली महिलाको अन्तर्वार्ता लिन सुम्निमालाई नै खटाउनुले छोटो समयमै उनको विषयगत दक्षता र लगनशीलता स्पष्ट हुन्छ।
हङकङका संसारकै प्रभावशाली गायक, गायिका, अभिनेता, व्यवसायी, करियोग्राफर, मोडल, फेसन, गरगहना, सिनेमा, लक्जरियस जीवनशैलीका लागि चर्चित एलिट वर्ग मात्र होइन, हलिउड, बलिउड र नेट्फिल्क्सका चर्चित सिरिज र सेलिब्रेटीबारे उनको कलम चलिसकेको छ।
उनले चर्चा/परिचर्चा गरिसकेकी टेलर स्विफ्ट, साकिरा, डोजा क्याट, निकी मनाज, गेभेन कासालिनो, लोडा तुङ, मिमी कङ, आसली लिन, लुइस वाङ, रिहाना, क्यान्डो जोना, सलिन गोमज र स्क्विड गेमका पात्रदेखि हालसालै भारतीय राष्ट्रपतिबाट सर्वाेत्कृष्ट अभिनेत्रीको सम्मान पाएकी आलिया भाटसम्म सबै जोड्ने हो भने सुम्निमाको व्यवसायिक दक्षता झल्किन्छ।
हालसालै मात्रै संसारकै महँगा र विलासी याटधनीमध्ये हङकङका अभिनेता ज्याकी चेन, लुइस को, भारतका मुकेश अम्बानी, नीता अम्बानी, लक्ष्मी मित्तल, ओम्मानका सुल्तान अल सायिद र मलेसियन ताइकुन रबर्ट कुकसम्मको लक्जरियस याटको खोजमूलक नालिबेली पढ्दा उनको विषयगत लेखन शैली र दक्षता यो क्षेत्रमा लाग्न चाहने वा चासो राख्नेहरूका लागि पठनीय र अनुकरणीय छ।
यसरी हङकङमा उन्नति/प्रगति गर्दै जम्दै गरेकी सुम्निमालाई मैले कुन भाषामा कुरा गरौँ- नेपाली वा अंग्रेजी भन्दा मुसुक्क हाँसेर जुन भए पनि हुन्छ भनिन्। अझ थपिन्- नेपाली पनि पढनसक्छु तर बिस्तारै।
कहिल्यै आफ्नो पुर्ख्यौली थातथलो तेह्रथुम नटेकेकी उनले बाप्टिस्ट युनिभर्सिटीमै लिम्बू भाषाको अडिओ प्रोजेक्ट पडकास्ट गरेकी रहिछन्।
हङकङमै सभा-समारोहमा चासोक तङनाम, धान नाच, हाक्पारे पालाम र फेदाङमा देखेकी/सुनेकी सुम्निमालाई आम नेपाली गरगहनाभन्दा फरक देखिने लिम्बूनीहरूको गरगहनाबारे कौतुहल भएकाले पनि यौटा स्टोरी गर्ने रहर समय अभाव र अपर्याप्त डिजिटल सूचनाले पूरा हुन पाएको छैन।
कोरोना कहरका बीच सुम्निमा हङकङको बाप्टिस्ट विश्वविद्यालयमा पत्रकारिता पढ्दै थिइन्। जतिबेला उनीसँग मेरो पहिलोपटक साक्षात्कार भएको थियो।
हङकङमा सार्स महामारी हुँदा सरकारले कसरी व्यवसायीलाई मद्दत गरेको थियो? सार्सजस्तै कोभिडपछि हङकङे व्यवसायीले कसरी पहिलाजस्तै व्यापारिक निरन्तरता दिन सक्लान्? तपाईं मलाई भन्नहुन्छ- कोभिड महामारीले तपाईंको व्यवसायमा कति प्रतिशत नोक्सान भयो?
२४ सेप्टेम्बर २०२० मा यिनै विषयमा आफ्नो प्रोजेक्टअन्तर्गत कंगन रेस्टुन्टमा मसँग लामो वार्तालाप गरेपछि उनले लेखेको मेरो तस्बिरसहितको ‘वन रेस्टुरेन्ट टु डिकेड एन्ड टु एपडेमिक’ लेख मलाई सेयर गरेकी थिइन्।
उनै सुम्निमा रानी कन्दङवासँग तीन वर्षपछि भने करिब १ घण्टाको वार्तालाप गर्न मैले दिन मिलाएर समय नै माग्न, लिन पर्दा खुसी र गर्व दुवै लाग्यो मलाई।
अब लागौँ- अर्को विषयतर्फ।
संसारकै महत्त्वपूर्ण वित्तीय सहरमध्ये एक हङकङमा बितेका दुई दशकमै पहिलो पुस्ता विभिन्न व्यवसायमा जमे पनि फाइनान्स क्षेत्रमा भने कम उपस्थिति छ।
खासगरी गाउँ, जिल्ला, क्षेत्र वा जातका आधारमा गरिने सामूहिक लगानीलाई कोभिडपछि खस्कँदो अर्थतन्त्रले निकै असर पारेको छ।
यो वर्षमात्रै अमेरिकी फिडरल रिजर्भले चारपटक ब्याजदर बढाएसँगै हङकङमा पनि उच्च ब्याजदर र घट्दै गएको प्रपर्टी मूल्यले यो क्षेत्रका निजी र सामूहिक नेपाली लगानीकर्ता चिन्तित देखिन्छन्।
सानाठूला गरी दर्ता भएका दर्जनौँ नेपाली फाइनान्स कम्पनीमध्ये एक/दुईवटाले मात्रै सार्वजनिक रूपमै वार्षिक साधारण सभा गरेर सेयर होल्डरहरूलाई लाभांशसमेत बाँडेको देखिन्छ।
पछिल्लो समय यस्ता वित्तीय संस्थाका कारोबारप्रति कडा निगरानी गर्दै हङकङ सरकारले दर्ता नवीकरणका लागि अनिवार्य रूपमा केही नयाँ सर्त र परीक्षासमेत उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेसँगै यो क्षेत्र अझ खुम्चिने देखिन्छ।
कोभिडले थला पारेको विश्व अर्थतन्त्रमा झन् युक्रेन-रसियापछि हमास-इजरायल युद्धका कारण यो क्षेत्रका लागि राम्रो समय आउन निकै कुर्नुपर्ने छ।
मूलभूमि चीनमै यौटा निकै ठूलो प्रपर्टी डेभलपरको कम्पनी धरासायी भएपछि यसको परकम्पले हङकङ अछुतो रहन नसक्ने चिन्ता गर्छन्- अर्थशास्त्रका विश्लेषक।
विश्व अर्थतन्त्रको निकै कठिन परिस्थितिमा फाइनान्स क्षेत्रको पत्र पत्र खोल्न र अध्ययन गर्न रुचाउने स्वेना ढकाल मलाई जानकारी भएअनुसार यो क्षेत्रमा सानै उमेरमा निकै ज्ञान र उचाइ छोएकी सम्भवत: पहिली नेपाली छोरी हुन्।
हङकङमा जन्मे/हुर्केकी स्वेना मेफु डेल्या स्कुलबाट प्राइमरी पूरा गरी वाईएमसीए कलेज तुङचुङमा सेकेन्डरीका लागि छनोट भइन्।
क्लास टप भएकीले छात्रवृत्ति पाएकी र अनुशासनमा समेत रोल मोडल स्वेना उक्त कलेजको पढाइभर कलेज गर्ल्स प्रिफेक्टमा छानिइन्। अहिले पनि यो कलेजमा भर्ना हुन चाहनेले उनको रिफ्रेन्स लिन चाहन्छन्।
त्यसपछि हङकङको सिटी युनिभर्सिटीबाट ग्लोबल फाइनान्समा ब्याचलर र नेसनल युनिभर्सिटी अफ सिंगापुरबाट मास्टर्स अफ साइन्स इन फाइनान्समा मास्टर्स गरिन्। यी अध्ययनको बीचबीचमा स्वदेशको लक्ष्मी बैंक र लक्ष्मी क्यापिटल र सांघाइको एसेट मेनेजमेन्टमा इन्टर्नसिपको अनुभव बटुलिन्।
फुर्सदमा समाज सेवा र स्वदेश जान रुचाउने स्वेनाले सिंगापुर युनिभर्सिटीका सहपाठी र प्रोफेसरसहितको टोली लिएर सगरमाथा बेसक्याम्पसम्म च्यारिटी पदयात्राको अगुवाइ गरिन्।
खासगरी मानसिक कमजोरी भएकाहरूलाई आत्महत्या गर्नबाट जोगाउन सूचना बाँड्न गरिएको यो च्यारिटी पदयात्राबारे सिंगापुरको प्रमुख अंग्रेजी दैनिक पत्रिकाले समेत समाचार छापेको थियो।
त्यतिबेलैको सेरोफेरोमा कान्तिपुर मिडियाअन्तर्गतको एम एन्ड एस अर्थात् मुभर्स एन्ड सेकर्समा इडिटर इन्टनसिपसमेत गरिन्।
मेन्डरिन भाषामा समेत राम्रो दक्खल भएकी स्वेनाले सांघाइको निकै ठूलो बिमा कम्पनी चुङ आन इन्स्योरेन्स कम्पनीमा इन्टनसिप गरेकाले उनको फाइनान्ससम्बन्धी नलेजको दायरा फराकिलो हुँदै गयो।
यसरी सानै उमेरमा यति धेरै विषयगत दक्षताले उनको भाग्यको गोरेटो तय भयो।
सुरुमा लक्जमबर्ग र अहिले हङकङ बेस अनि कोरिया, जापान र सिंगापुरमा समेत शाखा भएको फिनेक्स हङकङ लिमिटेडमा सिनियर भाइस प्रेसिडेन्ट हुँदै भर्खरै प्राइभेट इक्युटी फन्डको डाइरेक्टरमा पदोन्नति भएकी छन्- स्वेना ढकाल।
नेपालखबर डटकममा फ्रिल्यान्स राइटर, भाइस प्रेसिडेन्ट ज्वाइन्ट युनिभर्सिटी नेप्लिज सोसाइटी हङकङ (२०१८/१९), पडकास्ट होस्ट रेडियो/टेलिभिजन हङकङ (२०१६/१७) समेतको अनुभवी स्वेना हङकङको नेपाली समाज र दक्षिण एसियामा खासगरी नेपाल र बंगलादेशमा फाइनान्सियल लिट्रेसीमा सहयोग गर्न मन भएको बताउँछिन्। फाइनान्सजस्तो महत्त्वपूर्ण क्षेत्रमा अबको समयमा दक्ष युथ इन्भल्भमेन्ट हुनैपर्ने उनको बुझाइ छ।
स्वेना ढकाल भन्छिन्, ‘डिजिटल करेन्सी र लगानीमा समेत पछिल्लो समय निकै उतारचढाव आयो। संसारकै क्रिप्टो किङ वा मुगलको उपनाम पाएका युवा बिलिनियर साम ब्यांकमा फ्रिडको एफटीएक्स कोल्याप्स हुँदा नेपाललगायत संसारका साना/मझौलादेखि ठूला र अति ठूलासम्म लगानीकर्ता नराम्ररी डुबे।’
हालसालै हङकङमै दुबई बेस क्रिप्टो कम्पनी जेपेक्समा १.५ बिलियन हङकङ डलर (१९२ मि. यूएस) डुबेपछि २५ सयभन्दा बढी लगानीकर्ता अदालतको ढोका ढकढक्याउन पुगेका छन्। लाइसेन्स बिनै सञ्चालन गरेको पत्ता लागेपछि यो कम्पनीका हङकङ र मकाउका धेरै योजनाकार र कर्मचारी पक्राउ गरी धेरैका बैंक अकाउन्ट र कम्पनीको बाँकी एसेट फ्रिज गर्दै वित्तीय अपराध अनुसन्धान कार्यालयले कारबाही अगाडि बढाएको छ। जान अन्जानमा यो क्रिप्टो फार्मको प्रचारप्रसारमा मोडलिङ गरेका हङकङका सेलिब्रेटीसमेत कारबाहीको दायरामा तानिएका छन्।
स्वेनाको बुझाइमा यो क्षेत्रमा महत्वाकांक्षी बन्नु राम्रो हो तर सोचाइ, बुझाइ र विषयगत ज्ञान लगानीका लागि अति जरुरी हुन्छ।
हङकङमा व्यापार/व्यवसायसँग सम्बन्धित नेपाली समुदायका तीन संस्था क्रमशः नेपाल चेम्बर अफ कमर्स, हङकङ नेप्लिज बिजिनेस एसोसिएसन र पछिल्लो समय खोलिएको फिने अर्थात् फेडरेसन अफ इन्टरनेसनल नेप्लिज युथ इन्टरपेनर्स छन्। जसमध्ये यौटा संस्थाको वार्षिक कार्यक्रममा त्यो पनि उदघोषिकाका रूपमा बाहेक कहीँ कतै स्वेनाको उपस्थिति देखिँदैन।
नेपाली संस्थाले वित्तीय क्षेत्रमा चासो राख्ने नेपाली समुदायलाई स्वेना ढकालको यो योग्यता, दक्षता र अनुभव बुझाउने, बाँड्ने चाँजोपाँजो मिलादिए राम्रै हुने थियो।
लेखन–पत्रकारिता र फाइनान्सका यी अनुकरणीय प्रतिभाको नालीबेलीपछि अब लागौँ- चिकित्सा क्षेत्रतर्फ।
हङकङमा पहिलो नेपाली डक्टर स्व. उपेन्द्र देवकोटाबारे मैले पुराना लेखमा चर्चा गरेको थिएँ। सन् १९९०/९१ ताका सातिनको प्रिन्स अफ वेल्स अस्पतालमा करिब २ वर्षको अनुभव बटुलेपछि देवकोटा नेपाल नै फर्किएका थिए। पछि सन् २००७/८ तिर पनि न्युरोमा एमबीबीएस गर्ने विद्यार्थीको परीक्षकका रूपमा हङकङ विश्वविद्यालयले १ हप्ताका लागि स:शुल्क उनलाइ निम्त्याएको थियो।
ब्रिटिसकालीन हङकङमा अस्पताल, बाटाघाटा, भूमिगत रेल स्टेसन आदिको नामकरण अक्सर बेलायती राजारानी तथा राजपरिवार वा इसाइ धर्मका पात्रका नामअनुसार गरिन्थे। जुन चलन अहिले पनि छ।
हङकङ मूलभूमि चीनमा हस्तान्तरणपछि बनेका ठूला संरचनाको नामकरण भने व्यक्तिगतभन्दा स्थानीय भूगोलका आधारमा गरेको पाइन्छ।
खासगरी हङकङका लगभग सबै पुराना अस्पताल क्विन एलिजावेथ, क्विन मेरी, प्रिन्सेस मार्गरेट, प्रिन्स अफ वेल्स, सेन्ट टेरेसा, सेन्ट पल, युनाइटेड क्रिस्चियन आदि नामका छन्।
अन्य केही अस्पताल धनसहित मन पनि भएका स्थानीय चिनियाँ व्यावसायिक घरानाले पनि आफ्नै वा लगानी समूहको नाममा खोलिएका पनि छन्। जसमध्येको कोङ ह्वा अस्पताल आजभन्दा करिब एक शताब्दीअगाडि मूल भूमिबाट स्थानान्तरण भएर हङकङ आएका हान जातिका चिनीयाँ उद्यमीको समूहले सुरुवात गरेको थियो।
काउलुन वाटरलु रोडमा रहेको साढे ११ सय शय्याको यो अस्पताल अहिले भने हङकङ सरकारको हस्पिटल अथ्योरिटीअन्तर्गत छ। यही ऐतिहासिक अस्पतालमा जीवन-मरणको दोसाँधमा रहेका कैयौँ मानिसको रेखदेखमा दैनिक खटिने डा. सुप्रभा महराबारे हङकङका कमै नेपाली जानकार छन्।
आईसीयू अर्थात् इन्टेन्सिभ केयर युनिटमा झन्डै ४ वर्षदेखि कार्यरत डा. सुप्रभा हङकङमा यो स्तरमा पुग्ने सम्भवत: पहिलो नेपाली मूलकी चिकित्सक हुन्।
हुन त हालसालै नेपालमा बिरामीको मृत्यु भयो कि चिकित्सक वा स्वास्थ्यकर्मीलाई कुटपिट गरिएका समाचार सार्वजनिक भए। तर हङकङमा यस्ता विषयमा परिवारलाई शंका लागे वा चित्त नबुझे हस्पिटल अथ्योरिटीमा कानुनी उपचार वा अनुसन्धानका लागि जान सकिन्छ।
अलि पहिलेकै कुरा हो- हङकङको यौटा अस्पतालमा एउटी महिलाको करिब ४ महिनाको गर्भपतन भयो। गल्तीले सरसफाइ गर्ने कर्मचारीले त्यसलाई फोहोर सम्झेर फालिदिएपछि सम्बन्धित परिवारले पत्रकार सम्मेलन गरे।
आफूहरू क्याथ्योलिक भएकाले आफ्नै रीतीरिवाजअनुसार मृतक बच्चा आकृतिको अन्त्येष्टि गर्न पाउनुपर्नेमा अडान लिए। हप्तादिननै ८/१० जनाको स्वास्थ्यकर्मी टोली ल्यान्डफिल साइटमा गएर हेर्दा खोस्रिँदाको समाचार हेडलाइन बन्यो। तर पत्ता लागेन। अन्त्यमा अस्पतालका चिफ र हस्पिटल अथ्योरिटी प्रमुखले सार्वजनिक रूपमा माफी मागेर क्षतिपूर्ति दिएपछि यो विषय साम्य भयो।
जसमा सम्बन्धित स्वास्थ्यकर्मीलाई सचेत गराउनेदेखि निलम्बनसम्मका कारबाही गरिन्छ। अन्जान, भूलवश तथा मानवीय गल्तीले हुने यस्ता घटना छिटपुट रुपमा जहाँ पनि हुन्छन्।
यति धेरै कडा नियम भएको हङकङको स्वास्थ्य सेवामा डक्टर त्यो पनि आईसीयूमा डर लाग्दैन भन्ने प्रश्नमा डा. सुप्रभा भन्छिन्, ‘डक्टरले कडिकडाउ भए पनि, नभए पनि आफ्नो जिम्मेवारी वहन गर्नैपर्छ। यो सबै चुनौती आउँछ भनेर थाहा हुँदाहुँदै यो क्षेत्र रोजिएको हो।’
राति १२ देखि १५ जनासम्म र दिउँसो ८ देखि १० जनासम्म सिकिस्त बिरामीको उनले रेखदेख गर्नुपर्छ। जसमा सहयोगका लागि अन्य स्वास्थ्य्यकर्मी पनि हुन्छन् नै।
अझ बेलाबेला एक्सिडेन्ट एन्ड इमर्जेन्सी र अन्य कक्षबाट समेत उनलाई बोलाइन्छ। उनले गएर पेसेन्टको रिपोर्ट र सबै गतिविधिको एसेस्मेन्ट गरेपछि आवश्यक भएमा मात्र आईसीयूमा पठाइन्छ।
डा. सुप्रभा भन्छिन्, ‘जुन देशको मूलको भए पनि यौटा चिकित्सकका लागि सबै बराबर हुन्छन्। आफ्नो मातहतका कुनै पनि बिरामी निको हुँदै जाँदा यौटा मिहिनेती किसान बाली सप्रिँदा खुसी भएजत्तिकै लाग्छ। सबै जना बाँचेर जाउन्, परिवारसँग अझै हाँसिखुसी धेरै बाँचुन् भने पनि सबै मेरो हातमा हुँदैन।’
पछिल्लो समय हङकङको रेस्टुरेन्ट आगलागीमा बाँचेका एकजना पुरुष र किड्नीको समस्या भएकी नेपाली आमा निकै लामो समय आईसीयूमा उनकै रेखदेखमा उपचार गराई निको भएर फर्केछन्।
अचेल बिस्तारै उनी त्यहाँ डक्टर छिन् भन्ने थाहा भएर धेरै नेपालीको फोन आउन थालेको डा. सुप्रभा बताउँछिन्। आफ्नो विभागमा भएकाहरूको स्वास्थ स्थितिबारे सम्बन्धित परिवारलाई बताइन्छ नै। तर अन्य विभाग वा डक्टरको मातहतका बिरामीको अवस्थाबारे सोधिखोजी गर्न/बताउन कानुनले दिँदैन। हरेक बिरामीको गोपनीयताको ख्याल गर्नुपर्छ।
चिनियाँ भाषामा पोख्त डा. सुप्रभा चिनियाँ बिरामीका परिवारलाई फोन गरेर स्वास्थ्य स्थितिबारे जानकारी गराउँछिन्। आवश्यक परे उनी टिमका सहयोगीको मद्दत लिन्छिन्।
नेपाल वा विदेशबाट डाक्टर विषय पढेर हङकङ आएका स्थायी परिचयपत्र भएकाहरूले समेत यहाँ प्राक्टिस गर्न पाएका छैनन्। केही बेलायत स्थानान्तरण भए भने केही यहीँ स्वास्थ्य क्षेत्रमै छन्, तर डाक्टरका रूपमा हैन।
अझ एकजना त चिकित्सक, सुरक्षाकर्मी हुँदै अहिले होटलमा सेफ बनेका छन्। यहाँ छाला वा पासपोर्ट हेरिन्छ, विभेद भयो भन्नेहरू पनि छन् भन्ने भनाइप्रति डा. सुप्रभा विमति राख्छिन्।
उनको बुझाइमा हरेक देशमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सक बन्न आआफ्नै नियम/कानुन हुन्छन्। पहिलो कुरा त आफू योग्य र सक्षम हुनपर्यो। डाक्टरले कम्तीमा बिरामीको भाषा प्रस्टसँग बुझ्नुपर्छ।
पछिल्लो कोराना महामारीमा हङकङमा मद्दत गर्न आएका मूलभूमि चीनका डाक्टरहरूसमेत सहयोगीको भूमिकामा मात्र रहे।
लामो समय बेलायती उपनिवेश रहेको हङकङको उपचार पद्धति पश्चिमासँग मिल्ने भएकाले उनीहरूलाई केही सरल र सुविधा स्वाभाविक मान्छिन् उनी।
समय सीमामा दिनुपर्ने परीक्षामा आधा समय उल्था गर्नै लाग्ने भएपनि दोभासेको सहयोग नलिई आँट गरेर दिएको र उत्तीर्ण पनि भएको स्मरण गर्छिन् डा. सुप्रभा।हालै क्विन एलिजावेथ र चुनमुन हस्पिटलमा नेपाली मूलका आफ्नो समकालीन डाक्टरले सेवा दिन सुरु गरिसकेको उनले सुनाइन्।
कोरोना महामारी र अन्य कतिपय समयमा पनि यौटै सिफ्टमा निरन्तर ३६ घण्टासम्म काम गर्नुपर्दा कहिलेकाहीँ निराश गराए पनि भविष्यप्रति भने आशावादी छिन्- डा. सुप्रभा।
कोरोना महामारीजस्तो आमासँग पनि मास्क लगाएर कुरा गर्नुपर्ने, टाढा टाढा बसेर खाना खानुपर्ने र त्यति धेरै अकाल मृत्युको दिन नआवोस् भनेर प्रार्थना गर्छिन् उनी।
यसरी हङकङको अस्पतालमा स:शुल्क स्वास्थ्य सेवा दिइरहेकी डाक्टर सुप्रभाको यो क्षेत्रको टाकुरामा पुग्नुको आफ्नै कथा छ।
सानैदेखि पढाइमा अब्बल सुप्रभाले काठमाडौँ कलंकीको एलआर आईमा सेकेन्डरी पढेपछि भारतको उटी कलेजबाट साइन्समा ब्याचलर गरिन्। त्यसपछि चीनको करिब शताब्दी पुरानो छोङछिङ विश्वविद्यालयबाट जनरल मेडिसिन आईसीयूमा एमबीबीएस गरेपछि स्वदेश फर्किएर पाटन अस्पतालमा दुई वर्ष र अन्य निजी अस्पताल र क्लिनीकमा समेत काम गरिन्।
करिब ५ वर्षअगाडि अमेरिकको न्युजर्सीमा दुई वर्ष बस्दा प्राक्टिस गर्न पाउने स्वास्थ्य सेवा विभागको परीक्षा पास गरिन् र सोही समयमा हङकङमा पनि क्रिटिकल केयर विशेषमा अझै डिग्री थपिन्।
अमेरिकाका ५० राज्य जहाँ पनि जानुपर्ने तर हङकङमा तुरुन्तै जबको राम्रो अफर आएपछि बीसौँ वर्ष हङकङ बसेकी, स्थानीय भाषा खरर बोल्ने, आमा र बाबाको मायाले पनि उनलाई हङकङले तान्यो।
अहिले डा. सुप्रभाले हङकङमा आफ्नै पेसाको आर्जनले काउलुनको वाटर लु रोडमा अपार्टमेन्टसमेत जोडिसकेकी छन्।
सुप्रभासँग वार्तालापका लागि समय मिलाउन मलाई मुस्किल पर्यो, झण्डै तीन हप्ता लाग्यो।
अन्त्यमा, छोराछोरीलाई चाहिएजति पकेट खर्च वा महँगा स्कुलमा भर्ना मात्र हैन अर्थात् क्वान्टिटी हैन, क्वालिटी समय दिऊँ। बाबा-आमा हैन, साथी बनौँ।आफ्ना कुरा भनौँ, उनीहरूका कुरा पनि सुनौँ।
यी तीन छोरीहरूलाई हङकङमा यति गर्विलो उचाइ र प्रतिष्ठामा पुर्याउन भूमिका खेल्ने बाबा-आमालाई हार्दिक बधाई तथा शुभकामना र नमन!
Shares
प्रतिक्रिया