हङकङबाट उदाएकी नेपाली मोडल हारालाई जब चिनियाँले सोधे, ‘आर यु द सेम गर्ल?’

हङकङबाट उदाएकी नेपाली मोडल हारालाई जब चिनियाँले सोधे, ‘आर यु द सेम गर्ल?’

हङकङकी मोडल हारा सुवेदी भन्छिन्– मलाई यहाँ ‘सुन्दरी मोरक्कन केटी’ भन्छन् तर म उनीहरूलाई नेपाली हुँ भन्छु


कमल पौड्याल
मंसिर ११, २०८० सोमबार ७:७, हङकङ

हङकङको मूलधारकै मोडलिङ क्षेत्रमा सानै उमेरमा राम्रै उचाइ छोएकी, जम्दै गरेकी नेपाली मूलकी छोरी हारा सुवेदीबारे लेख्न मोवाइलको नोट प्याड खोल्दै गर्दा म आफ्नै विगतमा डुब्न पुगेँ केहीबेर। 

तिथिमिति ठ्याक्कै यकिन भएन, सन् २००३ ताकको कुरा हो। काउलुन चिम्साचुइ मस्जिदअगाडि हेम्फ्री एभिन्युमा रेष्टुरेन्ट त्यति व्यस्त नहुँदा म बाहिर पेटीमा उभिएको थिएँ। सडक पारिबाट जाँदै गरेका दुई चिनियाँ सुन्दरीहरू मतिर हेर्दै सोझिए। नजिकै आएर ‘हाइ’ भने। मैले सायद खाना खान रेस्टुरेन्ट खोज्दै होलान् भनेर ‘यु लाइक टु ट्राइ नेप्लिज अर इन्डियन फुड अप–स्टेयर्स?’ भन्दै सिँढी देखाएँ।

हैन आज त हामीले खाना खाइसक्यौं बरु अर्को पटकको लागि भन्दै स्ट्रिट साइनबोर्डमाथिको टेकअवे मिनु र नेम कार्ड टिपे। क्यामरा बोकेकी एउटी युवतीले मुसुक्क हाँस्दै भनिन्, ‘डु यु माइन्ड इफ आइ टेक योर पिक्चर?’

‘माइ पिक्चर? नो प्रोब्लम। बट ह्वाइ?’ मैले सोधेँ। 

उनीहरूले आफूहरू एउटा मोडलिङ एजेन्सीबाट घुम्दै आएको र एउटा विज्ञापन सुटिङको लागि ग्रिसेलीजस्ता देखिने मान्छेहरू खोज्दै हिँडेको बताए।

‘म त नेपाली हो नि,’ मैले हाँस्दै भनेँ।

‘नो प्रब्लम, बट यु लुक डिफरेन्ट’ भन्दै पोजपोजका तीनचार वटा फोटो खिचेर आफ्नो कार्ड दिएर भोलि फोन गर्छौं भन्दै बाटो लागे। 

मनमनै गमेँ, ०४६ सालमा नेपाल टेलिभिजनमा समाचार प्रस्तोताका लागि दर्खास्त दिँदा फोटो सेलेक्सनमा छानिएर अन्तर्वार्ताको लागि पर्खंदै गर्दा हङकङ आउने संयोग जुर्यो र यतै आइयो। टेलिभिजनमा देखिने इच्छा पूरा भएन, अब यो मिडियामा जाने अर्को खुड्किला भगवानले देखाएका पो हो हुन् कि?

झन् रेस्टुरेन्ट व्यवसायमा स्वरोजगारको सिँढी चढ्दै गर्दा मोडलिङले पनि साथ दियो भने अझै नाम र दाम दुवै कमाइने पो हो कि भन्दै अलि आश पनि पलायो। 

नभन्दै भोलिपल्ट एउटा नम्बरबाट महिलाको फोन आयो। 

‘गुड मर्निङ! म हिजो बेलुकी तपाईंको तस्बिर लिने केटी हुँ। तपाईंको फोटो हाम्रो एजेन्सीबाट सुटिङको लागि चयन भएको छ,’ उनले भनिन्, ‘यदि तपाईं सक्नुहुन्छ भने तपाईंसँग अनुहार मिल्ने अरु दुईजना लिएर आउनुभए राम्रो हुने थियो। यातायातको समय समेत गरेर करिब दुईदेखि तीन घण्टा समय लाग्छ। जसको लागि हामी जनही एक हजार डलर दिने छौँ। तपाईंहरू स्टेनली मार्केट आउनुपर्ने हुन्छ।’ 

जनही एक हजार डलर दुईतीन घण्टाको?

मैले सोधेँ, ‘हाउ अबाउट माइ फ्यामिली? माइ वाइफ एण्ड माइ सिक्स इयर ओल्ड सन?’ 

‘त्यो त झनै राम्रो!’ उनले भनिन्, ‘हामी बच्चाको लागि पनि बराबर शुल्क दिने छौँ।’

उतिबेला हङकङको स्थानीय चोइ हुङ ट्राभल्समा काम गर्ने बेन्जुले म पनि छु्ट्टी लिन मिल्दैन, छोराको पनि पढाइ बिगार्न हुँदैन भन्दै अड्डी लिएपछि मित्र राजेन्द्रकुमार थापा र भारतीय मूलका रेस्टुरेन्टकै कर्मचारी अनन्त पल सिंह एन्डीलाई लिएर स्टेन्ली पुगेँ म। 

स्टेन्लीको एउटा ग्रिक रेस्टुरेन्ट सुटिङको लागि पुरै बुकिङ गरिएको रहेछ। लगभग सबै टेबुल भरिभराउ बनाइएको थियो। चिज प्लाटर, सलाद, सलामी, थरीथरीका ब्रेड अनि इच्छा अनुसार रेड वा ह्वाइट वाइन पिएर बस्ने भन्दै सुटिङ थिमबारे निर्देशकले बताए। 

जसमा स्थानीय चिनियाँ मुख्य अभिनेता अभिनेत्री पर्यटकजस्तो गरी रेस्टुरेन्टमा पस्नै लाग्दा हामी सबैले उठेर हल्लाखल्ला गर्दै साइडमा राखिएको चार चार प्लेट भुइँमा जोडले खसालेर फुटाउनु पर्ने रहेछ। 

ग्रिक संस्कारमा विशेष पाहुनालाई यसरी नै स्वागत गरिँदो रहेछ भन्ने त्यही दिन थाहा हुँदा अचम्म लाग्यो। 

एक्सन! स्टार्ट! भनेपछि सोही बमोजिम सबैले गर्‍यौँ। तर मुख्य पात्रहरूको अभिनय अलि नमिलेपछि दोस्रो टेकको लागि फटाफट थप प्लेटहरू टेबल टेबुलमा राखियो। अनि उही दोहोर्‍याइयो टेक ओके भयो। 

जसमा फुटेको प्लेटको टुक्राले अभिनेत्रीको गोडामा लागेर काटेर रगत आएको जस्तो दृश्यमा अभिनेताले मलहमपट्टी गरेको जस्तो दृश्य रहेछ।  

‘हेङ सिङ’ बैंकको यो बिमा विज्ञापन सुटिङमा तपाईं विदेश जाँदा त्यहाँको संस्कार अनुसार प्लेट फुटाएर स्वागत गर्दा चोटपटक लागे पनि हाम्रो बैंकबाट ट्राभल बिमा किनेर जाँदा क्षतिपूर्ति समेत दिन्छौँ भन्ने मूल आशय रहेछ। 

ती युवतीले हामीलाई धन्यवाद भन्दै रातो खाममा एक एक हजार हङकङ डलर दिइन्। वाइन पिएर खाना खाएर आठआठ वटा प्लेट फुटाएको एक एक हजार भनेर हाँस्दै हामी बाटा लाग्यौँ। चारैतिर क्यामरा, लाइट, त्यत्रो तामझाम सहितको सुटिङमा आफू कस्तो देखिइयो होला, कहिले कहाँ हेर्न पाइन्छ भनेर तिनै युवतीलाई फोन गरेँ। 

उनले करिब तीन हप्तापछि चाइनिज टेलिभिजन च्यानलहरू र भूमिगत रेलस्टेसनका प्लाटफर्महरूको डिजीटल डिस्प्ले बोर्डहरूमा पनि आउने बताइन्। 

टीभीमा कतिबेला आउँछ भनेर कुरेर बस्ने कुरा भएन। बरु पच्चीस सेकेन्ड जतिको भिडिओ भूमिगत रेलको प्लाटफर्मअगाडि लामै समयसम्म प्ले भयो। तर मुख्य पात्रको पछाडि झल्याकझुलुक प्लेट फुटाउँदै गरेको दृश्यमा आफ्नो तस्बिर हामी आफैँले मात्र चिनिने थियोे। आवश्यक परे फेरि पनि बोलाउँछौँ भन्ने ती युवतीको फोन त्यसपछि कहिल्यै आएन। यहाँका मिडिया, मोडलिङ वा सिनेमाका कथा र परिवेशले मागे दक्षिण एसियाली र अन्य मूलकाहरूले यस्ता सानातिना भूमिका मात्रै पाउँथे र पाउँछन्।

तर दुई दशकमै केही परिवर्तन भने भैसकेको छ। न्यून संख्यामा भए पनि योग्यता भएकाहरू मजासँग जम्न थालेका छन् यो क्षेत्रमा। हङकङमा रहेको नयाँ नेपाली पुस्ताले स्थानीय मूलधारमै मोडलिङ, चलचित्रमा अभिनयदेखि क्यान्टोनिज भाषामै समाचार वाचन र पत्रकारिता गर्ने नेपाली मूलकाहरू समेत फेला पार्न सक्छन्। यो हामी सबै नेपालीको लागि खुसी र गौरवको कुरा हो। यी नेपाली मूलका अघोषित एम्बासडरहरूमध्ये यो लेखमा हङकङको मोडलिङमा उचाइ छोएकी नेपाली मूलकी एउटी छोरीबारे चर्चा गर्नेछु र बाँकी क्रमशः गर्ने छु।

हारा सुवेदी उतिबेला हामीले प्लेट फुटाउने भूमिका पाउँदा अग्रभागमा देखिएका अभिनेता–अभिनेत्रीजस्तै स्थानीयहरूलाई पछाडि लगाएर दर्जनौँ ठूला ब्रान्डका विज्ञापनमा प्रमुख भूमिकामा देखिने पहिलो र अहिलेसम्म हङकङकी एक्लो नेपाली मोडल हुन्। 

यी मोडलको चर्चाभन्दा पहिला हङकङको एउटा यो विशेष टापुको छोटो चर्चा गरौँ, जहाँको माटो, बालुवा र समुद्रमा खेल्दै यी छोरी हुर्किइन्। 

मुख्य हङकङ द्वीपको ‘आईएफसी’ टावरको गोडा मुनिबाट हङकङका अन्य द्वीपहरूमा जान साधारण र द्रुतगतिमा चल्ने पानीजहाजहरू कतै निश्चित समयसम्म र कतै चौबीसै घण्टा पाइन्छन्। जसमध्येको हङकङका युगलजोडीहरू सप्ताहन्त मनाउन र स्थानीय समुद्री परिकारको लागि निकै लोकप्रिय मानिने चेङचाउलाई भौगोलिक आकारको हिसाबले ‘डमबेल’ आइल्यान्ड पनि भनिन्छ। 

हङकङका करिब दुई सय पचास टापुहरूमध्ये आठौँ ठूलो र दुवैतिर फुकेको बीचमा सुकेको यो टापु सेन्ट्रलबाट पचास मिनेट जति पानीजहाजको यात्राबाट पुगिन्छ। 

यो टापु सन् १८९८ को दोस्रो बेइजिङ सम्झौता अनुसार हङकङका अन्य केही भुभाग र टापुहरूसँगै सय वर्षको लागि बेलायती उपनिवेश अन्तर्गत गाभियो। जो १९९७ जुलाई १ मा हङकङसँगै मूलभूमि चीनमा समाहित भयो। 

इतिहासको कुनै कालखण्मा मूलभूमिबाटै स्थानान्तरण भएर आएका ‘हाक्का’, ‘च्युचाउ’ र ‘युका’ मूलका आदिवासीहरूको बाहुल्य भएको यहाँको जनसंख्या करिब तीस हजार जति भएको अनुमान गरिन्छ। 

चेङचाउमा यतायातको लागि ससाना पिच बाटोहरूमा साइकल रिक्सा र सामान ढुवानीका लागि स–साना ट्रयाक्टरबाहेक ठूला सवारी चल्दैनन्। यहाँका एम्बुलेन्स र अग्नि नियन्त्रक वाहनहरू पनि अन्य कतै नदेखिने विशेष साना आकारका छन्। 

दुई वा तीनतले आआफ्ना घरहरू पुग्न स्थानीयहरू साइकल वा पैदलमार्ग हुँदै जान्छन्।

सडक यातायातले नछोएको यो टापुमा आपतकालीन उद्धारका लागि सरकारी हेलिकोप्टर र द्रुतगतिमा चल्ने विशेष पानीजहाजहरूको प्रयोग गरिन्छ। 

अप्रिल/मे मा पर्ने यहाँको चर्चित बन फेस्टिबलबाहेक हङकङका समाचारमा यो ठाउँले कमै चर्चा पाउँछ। 

अजङ्गको मकैको थाँक्रोजस्तो पाउरोटीको बनहरू राखिएको कुन्युमा उक्लेर कसले धेरै बन बटुल्ने भन्ने यो प्रतियोगिता हेर्ने स्थानीय र विदेशी पर्यकहरूको घुइँचो लाग्छ। 

यही आइल्यान्डमा जन्मे हुर्केकी ‘ली वाइ सान’ नाम गरेकी एउटी चिनियाँँ छोरीले हङकङको प्रतिनिधित्व गर्दै ब्रिटिसकालमै अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा थुप्रै गोल्ड र सिल्भर मेडल जितेको खबरले भने प्रमुखता पाउन थाल्यो। 

खेल जगतमा ‘सान सान’ उपनामले चर्चित यी चेलीले जब सन् १९९६ को अटलान्टा ओलम्पिक गेममा विन्ड सर्फिङमा हङकङको खेलकुद इतिहासकै पहिलो गोल्ड मेडल जितेपछि उनको र चेङचाउको चर्चा परिचर्चा निकै चुलियो। 

त्यसैले चेङचाउ, डमबेल वा हाम्रो नेपालीमा डमरू आकारको यो टापुलाई त्यसपछि ‘ली वाइ सान’ वा ‘सान सान’ आइल्यान्ड समेत भन्न थालिएको छ।

पानी जहाजबाट ओर्लिएर लामो समयान्तरपछि चेङचाउको आकास, समुद्र र सेरोफेरो हेर्दै मैले हारालाई सोधेँ– पहिला ली वाइ सानको भनिने टापु अब त नेपाली मूलकी हारा सुवेदीको पनि भनेर नाम आउने भो हैन त?

उनले हाँस्दै भनिन्– ‘हैनहैन वहाँ कहाँको ओलम्पियन गोल्ड मेडलिस्ट, कहाँको म भर्खरै मोडलिङमा बामे सर्दै गरेकी फुच्ची केटी!’

‘बरु उनको गोडाको कान्छी औँलाजति चाहिँ हो है,’ उनले थपिन्, ‘बरु मलाई त यहाँ स्थानीय लवजमा मोलोक्कन ल्याङ लोइ (सुन्दरी मोरक्कन केटी) पो भन्छन् तर म उनीहरूलाई मोरक्कन हैन, नेपाली हो भन्छु।’

यसको कारण चाहिँ उनका बाबाले यही ठाउँमा चलाएको मोरक्कन रेस्टुरेन्ट रहेछ। आजभन्दा दुई दशकअगाडि मुख्य हङकङ द्वीपबाट समुद्र पार गरेर उनका बाबाआमाले स्वरोजगारको सिलसिलामा चेङचाउको भूमि टेक्दा हारा दूधे बालिका थिइन्। 

उनी बढ्दै जाँदा स्कुलको खोजिनिती गर्नुपर्यो। 

हुन त अहिलेको नेपालीहरूमा संसारमा जहाँ बसे पनि विदेशी महँगा स्कुलका तामझाम र बच्चाहरूले गोराहरूले जस्तै अंग्रेजी बोलिदए भने बाउआमा मख्ख पर्ने र प्रचारप्रसार गर्ने चलन छ। अझ मेरा छोराछोरीले त मकै पड्केजसरी अंग्रेजी बोल्छन् भन्ने मातापिता सर्वत्र भेटिन्छन्। पढाइको ज्ञान र दक्षता श्रेणीभन्दा छोराछोरी कुन ब्रान्डको स्कुलमा पढ्छन् भन्ने विषय सामाजिक आडम्बर र प्रतिष्ठासँग जोडिएको हुन्छ।

तर उनका बाबाको त्यो बेला हङकङको महँगो ईएसएफजस्तो स्कुल पढाउने हैसियत पनि थिएन।

अझ रोजगार भिसामा हङकङ आएर स्थायी परिचय पत्र पाउँदासम्म धेरै हण्डरठक्कर खाएका उनका बाबालाई लागिसकेको थियोे कि अब हङकङमा छोरीको भविष्यका लागि गोराहरूले बोल्ने अंग्रेजी हैन, हङकङेलीहरूको जस्तो क्यानटोनिज र मूलभूमिकाहरूले जस्तो पु तोङ वा बोल्न र लेख्न सक्नुपर्छ। बरु अंग्रेजी गोरा वा अरुले बुझ्ने मात्रै भए पनि पुग्छ। 

चेङचाउकै कोक मान प्राइमरी स्कुलमा पढ्दा नै हाराले बाबाको सपना पूरा गर्ने लक्षण ल्याइसकेकी थिइन्। उनी पूरै प्राइमरी क्लासभरि क्यान्टोनिज र मन्दारिनमा समेत सयमा सय अंकसहित क्लास टप हुँदा स्थानीय शिक्षक र विद्यार्थीका परिवार समेत अचम्मित हुन्थे। बरु अंग्रेजीमा दोस्रो–तेस्रो स्थानमा हुन्थिन्।

सेकेन्डरी अध्ययनका लागि चेङचाउ गभर्मेन्ट स्कुलले उनलाई ससम्मान स्वागत गर्यो। नगरोस् पनि किन? उनले सेकेन्डरीको हरेक परीक्षामा प्राइमरीदेखिकै क्यान्टोनिजमा टप पोजिसनलाई तल झर्न दिइनन्। अंग्रेजीमा दोस्रो र पूरै क्लासमा उनी सधैँ टप रहिन्।

कहिल्यै नरिसाउने बाबा एक पटक मात्र सेकेन्डरी क्लासमा तेस्रो वरीयतामा झरेपछि रिसाएको उनी जीवनमा कहिल्यै भुल्दिनन्। 

यो टापुमा एकल नेपाली रेस्टुरेन्ट व्यवसायी परिवारको परिचयपछि हाराको प्रतिभाको कारणले अझै चिनिए उनीहरू। सेकेन्डरीपछि उनले हङकङ मेट्रोपोलिटान युनिभर्सिटीबाट ग्लोबल बिजनेस विद अनर्स र ल्याङ्ग्वेज स्टडी अबाउट बाइलिंगुअल कम्न्युकेसनमा समेतगरी डबल ब्याचलर गरिन्। 

अब ग्लोबल बिजनेसमा मास्टर्सका लागि अमेरिका र अस्ट्रेलिया दुवै ठाउँबाट अफर आए पनि कहाँ जाने भन्ने निर्णय चाहिँ गरिसकेकी छैनन्।

सबैभन्दा अचम्मको कुरा, उनका सेकेन्डरी कलेजका शिक्षकहरूले चेङचाउ आइल्यान्डमा खोलेको ट्युसन सेन्टरमा स्थानीयहरूलाई चेङ चाउ क्यान्टोनिज पढाउने सायद हारा सुवेदी पहिलो गैरचिनियाँ मूलकी शिक्षक हुन्।

अब लागौँ, यी छोरीको मोडलिङ यात्रातर्फ। प्राइमरी र सेकेन्डरी स्कुलका अतिरिक्त क्रियाकलापमा र खासगरी खेलकुदको दर्जनौं अवार्ड सर्टिफिकेट हेर्दै मैले सोधेँ, ‘यी चटक्कै छाडेर मोडलिङमा कसरी?’

‘म एकदमै स्पोर्टी गर्ल थिएँ कुनै समय,’ उनले भनिन्, ‘हुन त सबैजसो केटीहरूको डान्सर, एक्ट्रेस, मोडल बन्ने सपना हुन्छ। तर मौका पनि त पाउनुपर्यो नि।’ 

उनले सेकेन्डरी कलेज पढ्दै गर्दा नै अन्तरकलेज फेसन शोमा स्थानीय पहिरन लगाएर कलेज र आफ्नो नाम शीर्ष स्थानमा राखेकी रहिछन्।

सामाजिक सञ्जाल खासगरी टिकटक र इन्स्टाग्राममा आफ्ना चुलबुले अभिनयका फोटोहरू पोस्ट गर्दैगर्दा उनले स्थानीय फेसन म्यागेजिनमा चिमसाचुइ मीरा प्यालेसको एउटा ब्रान्डेड कपडाको पहिलो र एकल मोडलिङ गर्ने मौका पाइन्। 

त्यसपछि मुख्य हङकङ द्वीपको सुङवानमा रहेको हङकङको निकै ठूलो र चर्चित प्रिमो मोडलिङ एजेन्सीको आँखामा आइन् उनी। पहिलो पटकमै त्यो कम्पनीमा अनुबन्धित हुने अफरसहित हङकङको ओसन पार्कको क्रिसमस सिजनको विज्ञापनको लागि उनी चयन समेत भइन्। 

पहिलो गाँसमै ढुङ्गा भनेझैँ तुरुन्तै कोभिडको सुरुवात हुँदा ओसन पार्क पनि अनिश्चितकालका लागि बन्द भयो। त्यसैले त्यो विज्ञापन टेलिभिजनमा कम देखाइने भयो।

एकदिन घरमा सपरिवार खाना खाँदै गर्दा टेलिभिजनमा उनीसहितको ओसन पार्ककको विज्ञापन आएपछि उनकी आमाले भनिछन्, ‘हैन को हो, एउटी त हाम्री हाराजस्ती पो देखिन्छे।’

उनले बिस्तारै भनिछन्, ‘हो यो केटी मै हो।’

संसारभरिकै मान्छे घुम्न आउने हङकङको चर्चित ओसन पार्कको विज्ञापनमा हाम्री छोरी? हङकङमा निकै संघर्ष मेहनत गरेर बल्लतल्ल खुट्टा टेकेका उनका बाबाआमालाई विश्वास भएन। हर्षका आँसुसहित अँगालोमा बाँधिए सबैजना निकैबेर त्यो साँझ। 

पहिला पढाइ पूरा वा कम्तीमा मास्टर्स गरेपछि मात्रै जुन क्षेत्रमा लागे पनि लाग भन्ने उनका आमाबाबालाई हाराले त्यतिञ्जेल आफ्नो मोडलिङ यात्राबारे बताएकी रहिनछिन्। पढाइ पनि नबिगारी मोडलिङमा जम्दै गरेकी छोरीलाई अब त बाआमाले झन् रोक्ने कुरा भएन। बस् उनले पनि त्यही खोजेकी थिइन्। 

उनको दोस्रो ठूलो विज्ञापन म्याकडोनाल्डको बेकन बर्गरको थियो। जसमा उनी सहित हङकङकै चर्चित गायक तथा मोडल क्युङ तो, एक जना ब्राजिली र अर्का थाइ–ब्रिटिस मोडलहरूले अभिनय गरेका थिए। जुन निकै लोकप्रिय भयो।

उनी तेस्रो पटकमै हङकङको स्थानीय भाषामा पाक कोक भनिने सोया मिल्कको एकल विज्ञापनमा छाइन्। 

यसपछि संसारकै टप बैंकहरूमध्ये एक हङकङ एन्ड सांघाइ बैंकिङ कर्पोरेसन अर्थात् एचएसबीसीको क्रेडिटकार्डको विज्ञापनबाट उनले अर्को उचाइ हासिल गरिन्।

पुनः यही बैंककै एमपीएफ अर्थात् मेन्डाटरी प्रोभिडेन्ट फन्डको चौथो एकल विज्ञापनले उनलाई एकदमै चर्चित बनायो।

हुन पनि हङकङभरिका सबै भूमिगत रेलका डब्बा, स्टेसनका डिजिटल बोर्ड अझ रेल स्टेसनको बाटाभरि र हङकङमा जताततै गुड्ने दुईतले काउलुन मोटरबसभरि उनका तस्बिर छापिए। 

त्यसपछि ‘आइ मिउ’ मलेसियन मेकअप ब्रान्ड तथा स्किन केयर प्रडक्टमा उनको सोलो विज्ञापन हङकङ र संसारभरिकै वाटसन्स स्टोरहरूमा टाँसियो। 

एकदिन सेन्ट्रलको स्टारबक्स कफी सपमा स्थानीय चिनियाँहरूले उनलाई सोधे, ‘एक्स्क्युज अस, आर यु द सेम गर्ल वि स इन द पोस्टर एट बैंकक वाट्सन्स?’

उनले हो मै हो भनेर स्थानीय भाषामा जवाफ दिँदा उनीहरू हेरेको हेर्‍यै भए। 

‘यु स्पिक क्यान्टोनिज लाइक अस। बाइ द वे ह्वाट वेस्टर्न कन्ट्री आर यु फ्रम?’

उनले भनिन्, ‘आइ एम फ्रम नेपाल।’ 

‘वाउ नेपाल नेपाल नेपाल’ भन्दै उनीहरूले आफूसँग सेल्फी खिचेर हिँडेको दिन उनी कहिल्यै बिर्सन्नन्।

फेरि उनले हङकङको र संसारकै चर्चित फास्ट फुड ब्रान्ड केएफसीको सुपरचार्जर ट्विस्टर भन्ने परिकारको विज्ञापनमा सोलो अभिनय गर्ने मौका पाइन्।

चार घण्टादेखि छत्तीस घण्टासम्म समय छुट्याएर सुटिङ गरेका उनका मोडलिङमध्ये निकै राम्रै अर्थोपार्जन भने हवानाज सिङ्गापुर नामको अन्तर्राष्ट्रिय ब्रान्डको चप्पलबाट गरिन्। यद्यपि चुक्ता रकम भने खुलाइनन् उनले। 

आम्दानी र चर्चाको हिसाबले उनले मोडलिङ गरेका यी उल्लेख्य ब्रान्डहरूबाहेक अरु दर्जनौं सबैको नालीबेली लेख्दा लेख निकै लामो हुनसक्छ। 

हालसालै हङकङको एउटा नयाँ सपिङ मलको विज्ञापनको सुटिङमा व्यस्त उनी अमेरिकी आइसक्रिम ब्रान्ड ड्रायर्सका लागि हालसालै अनुबन्धित भएकी रहिछन्।

अब मौका मिले सिनेमामा पनि जाने विचार छ कि भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘अहिलेसम्म कथाले माग्दा दक्षिण एसियाली कलाकारहरूलाई मूलतः नकारात्मक भूमिका दिएको देखिन्छ। मलाई हाम्रा कलाकारको भूमिका वा सिनेमाप्रति कुनै गुनासो छैन। मनपर्ने स्क्रिप्टको अफर आए सोच्ने छु।’

सिनेमाका लागि मोडलिङभन्दा निकै ज्यादा समय र समर्पण चाहिने हुनाले त्यो मास्टर्सपछि मात्रै गर्ने उनको भनाइ छ।

अक्सर आमाबाबासँग नेपाली चाडबाड र भोजभतेरमा नेपाली पहिरनमा देखिने हाराको नेपाली मौलिक उत्पादन र भेषभुषामा पनि मोडलिङ गर्ने अनि आफ्नै ब्रान्डको पर्फ्युम लन्च गर्ने योजना पनि छ। हङकङको स्थानीय परिवेशमा हुर्किए पनि उनको नेपाली भाषा संवादमा शुद्धता र कताकता पश्चिम नेपालमा बोलिने लवज पाएँ मैले।

मोडलिङमा उनको प्रगतिसँगै चेङचाउ आइल्यान्डमा रहेको उनको बाबाआमाको मोरक्कन थाइ कुजिन रेस्टुरेन्टको चहलपहल पनि बढ्दै गएको छ। अक्सर सप्ताहन्त र बेलुकी उनी रेस्टुरेन्टमै राम्रो अंग्रेजी नबुझ्ने ग्राहकहरूसँग उनीहरूकै भाषामा अर्डर लिन्छिन्, भलाकुसारी गर्छिन्। सामाजिक सञ्जालमा रेस्टुरेन्टको प्रचारप्रसार गर्छिन्। 

इन्स्टाग्रामका फलोअर र उनको मोडलिङबारे देखेका सुनेकाहरू पनि थुप्रै रेस्टुरेन्ट आउँछन्। 

बाबासँगै बसेकी उनलाई मैले रेस्टुरेन्टमा काम सघाएबापत तलब चाहिँ लिन्छौ कि नाइँ भनेर सोधेँ।

उनले हाँसेर चटपटेको बटुको र फ्रेस लेमन सोडाको ग्लास उचालेर जवाफ दिइन्, ‘लिन्छु नि!’

अब मास्टर्सको लागि बाबाआमाबाट युनिभर्सिटी फी र पकेटमनी मात्र लिने र बाँकी बस्नेखाने खर्च आफ्नै बचतबाट गर्ने योजना पनि उनले सुनाइन्।

हङकङमा कम उमेरमै यति धेरै अफर आउनुको खास कारण के हो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘स्थानीय भाषामा मेरो यति दक्षता नभएको भए म मोडलिङमा उनीहरूको रोजाइमा सायद पर्दैनथेँ। अर्को कुरा मेरो अरुलाई आदर गर्ने बानी छ अनि पङ्चुआलिटीमा म एकदमै ध्यान दिन्छु।’ 

‘अर्को कुरा, सायद मेरो लुक्स इन्डियन वा युरोपियन पनि हैन, चाइनिज, जापानिज, कोरियनजस्तो पनि हैन,’ उनले हाँस्दै थपिन्, ‘ब्राउनी अलि फरक लुक्स, अफकोर्स नेपाली लुक्स भएर पनि होला।’

यो सफलताको श्रेय कसलाई भन्ने प्रश्नमा उनले भावुक हुँदै भनिन्, ‘मेरो आमाबाबालाई। बाबाको पढाइ कति हो थाहा छ हजुरलाई? गुल्मीको गाउँमा जन्मनुभएका बाबाले पढेको चार कक्षा मात्र अरे। बिचरा पढ्न पाउनुभएन। मलाई मात्र हैन, सबैलाई खुला भन्नुहुन्छ उहाँ। केही ढाँट्नु हुन्न आफ्नो पास्ट लाइफ। यो चेङचाउभरि मोलक्को छान्देन लौसाइ अर्थात् मोरक्कन रेस्टुरेन्ट साहु वा मालिक भन्छन् सबैले वहाँलाई। अनि लौसाइका छोराछोरी हामी बस् बाबाको जीवनयात्रा सुन्दा, हेर्दा मेरो लागि बाबा चार क्लास पास हैन अनररी पीएचडीभन्दा कता हो कता बढी हो।’

उनीसँगै बसेका बाबाको कुम समाउँदै टाँसिइन्। भावुक भए दुवैजना र म पनि। पर उभिएकी उनकी आमाको अनुहारमा एकदमै खुसी र आत्मसन्तुष्टिको भाव झल्किन्थ्यो।

मैले भावुक माहोल चिर्दै सोधेँ, ‘अनि ममी?’

‘अफकोर्स ममीको स्थान जीवनमा कसले लिन सक्छ र? बाबाले पढाइ, ममीले भाषा, संस्कार भेषभुषा। छोराछारीमा कहिल्यै फरक गर्नु भएन अनि बाबाको सुखदुःखमा सधैँ सहयोग र साथ दिनुभयो।’ 

राति ११ः३० को चेङ चाउबाट सेन्ट्रल जाने पानी जहाज छुट्न लाग्दा ग्लास जुधाउँदै मैले पनि उनको बाबाको भनाइ दोहोर्‍याएँ, ‘हो अबको हङकङमा केही विशेष काम गर्न, नाम र दाम कमाउन गोराहरूले जस्तो अंग्रेजी होइन, चिनियाँहरूले जस्तो क्यान्टोनिज र पु तोङ वा बोल्न र लेख्न सक्नुपर्छ। गुडलक हारा!’

फर्किंदा पानी जहाज र रेलमा हारा सुवेदीसँगको वार्तालाप, बाबा–आमा र छोराछोरीको आत्मीय माहौल सम्झँदै र उनका मोडलिङका भिडिओहरू हेर्दाहेर्दै तुङचुङ आइपुगिसकेछ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .