‘कहिल्यै नसुत्ने सहर’ हङकङको अर्को पाटो, जसले सम्झाउँछ ओशो वचन

‘कहिल्यै नसुत्ने सहर’ हङकङको अर्को पाटो, जसले सम्झाउँछ ओशो वचन

कमल पौड्याल
पुस १४, २०८० शनिबार ८:४०, हङकङ

भनिन्छ, हङकङका सबै मानिसहरु एकैपटक घरबाट बाहिर निस्कने हो भने यहाँका सडक पेटीमै अटाउन्न्। अधिकांश सामूहिक बसोबासको अवधारणा भएको यो सहरमा कतिपय हाउजिङ स्टेटहरुको जनसंख्या हाम्रो देशको दुर्गम जिल्लाको जति नै हुन्छ। निजी दुईतीन तले घरहरू कि त धनाढ्य, या कुनाकाप्चाका क्षेत्रमा मात्र हुन्छन्। 

हङकङको करिब ७५ लाख जनसंख्यामध्ये आधाभन्दा बढी साप्ताहिक र सार्वजनिक बिदाका दिनबाहेक पालैपालो भूमिगत हुन्छन्। अर्थात् बिहान ६ बजेदेखि राति एकडेढ बजेसम्म पिक र नन पिक आवर गरी हरेक दुईदेखि दसबाह्र मिनेटको समयान्तरमा चल्ने भूमिगत रेल सेवाका डिब्बाहरु अटेसमटेस हुन्छन् सधैँ। 

चौबीसै घण्टा व्यस्त हुने सडकमा सार्वजनिक र निजी सवारीसाधनको लावालस्कर राति अबेर केही कम भए पनि चलायमान नै हुन्छन्। त्यसैले हङकङलाई कहिल्यै नसुत्ने सहर पनि भनिन्छ।

तर यही व्यस्त सहर कोभिडको समयमा भने सुनसान भएर लामो समयान्तरमा यी यातायातका साधन चलाउँदा पनि खालीखाली हुन्थे। दैनिक हजारौँ केस र सयौँको मृत्युुले आत्तिएका मानिसहरु वन–जङ्गल चाहर्थे त्यो बेला। हङकङभरिका अनगिन्ती पदमार्गमा जताततै जन्ती हिँडे जसरी मानव साङ्लोका ताँती देखिन्थ्यो। वन–जङ्गलमा पुगेर मास्क खोलेर लामो सास लिनु पनि कानुनसम्मत थिएन त्यो बेला। 

भौतिक सुखसयल र धनसम्पत्ति नै जीवनको ठूलो लक्ष्य र उपलब्धि भन्दै यसैमा तल्लीन पृथ्वी ग्रहबासीहरुलाई लामो समयसम्म एउटा अदृश्य शत्रुले त्राहीमाम् बनायो। कयौँको ज्यान लियो। जीवनमा प्रकृति र पर्यावरणको कति महत्त्व हुने रहेछ भन्ने अबुझहरुले पनि बुझे त्यसपछि। 

इच्छा हुँदाहुँदै पनि तीन दशकको हङकङ बसाइमा कहिल्यै नभ्याएको, नपाएको मैले पनि कोभिडको कहरभरि हङकङका लगभग सबै डाँडापाखा, वनजङ्गल, खोलानाला चाहरेर सिध्याएँ।

हालसालै मात्र सामाजिक सञ्जालमा सक्रिय प्रकृतिप्रेमी मित्र किराँती सानोकाजीले उत्तरपश्चिम लान्ताउ द्वीपको एउटा अर्गानिक जंगलभित्रको पदयात्रा मार्गको भिडिओ सेयर गरे। जसको क्याप्सनमा उनले लेखेका थिए, ‘हङकङलाई कसैले कङ्क्रिटको सहर मात्र भन्छ भने ऊ पक्कै घरकुडे हो या त उसले हङकङ बुझेकै छैन।’

हो, वास्तवमै हङकङ समाचार वा अन्य प्रसङ्गमा देखाइने तस्बिरजस्तै झलझलाकार गगनचुम्बी कङ्क्रिटको जङ्गलमात्र होइन। त्यसैले यो लेखमा र पछि क्रमशः धेरैले नसोचेको र कल्पना नगरेको हङकङको अर्को पाटोबारे सविस्तार वर्णन गर्ने कोसिस गर्ने छु। 

हङकङ विमानस्थल नजिकैको तुङचुङ सहरबाट सान्ताउ, सालोवान, सान सेक चुन र साम वात वान भनिने पुराना गाउँहरु पार गर्दै ‘ताइ ओ’ भनिने ऐतिहासिक माझी गाउँसम्म पुग्न सकिन्छ। जहाँबाट पुनः उही बाटो हिँडेर वा बसमा तुङचुङ फर्किन सकिन्छ। यो पदमार्ग प्रकृतिप्रेमीहरुका लागि मनमोहक र रमणीय छ। 

लगभग सबै बाटोबाट हङकङ विमानस्थल, मकाउ–जुहाइ–हङकङ जोडेको ५५ किमि लामो समुद्री पुलको हङकङपट्टिको भाग र सफा मौसममा मकाउ र मूलभूमिको जुहाइ सहरसम्म पनि देखिन्छ।

‘तुङ ओ एन्सियन्ट ट्रेल’ भनिने करिब १५ किमि लामो यो पैदलमार्ग पार गर्न हिँडाइ अनुसार तीनदेखि पाँच घण्टासम्मको समय लाग्छ। अहिलेजस्तो द्रुतगतिमा चल्ने डुङ्गा वा सडक र वाहन सुविधा नहुँदा उहिलेका मान्छेहरु यही बाटो हुँदै आआफ्ना साथीभाइ इष्टमित्र भेट्न आवतजावत गर्ने गर्थे अरे। 

यो पदमार्गका तीनचार वटा कुराले मलाई जहिल्यै आकर्षित गर्छ। पहिलो त ताइ ओनजिकै गोरेटोबाटो माथिपट्टि सिजनमा फल्ने असाध्यै मिठो रातो अम्बा बोटबाटै टिपेर खाँदा धादिङ केवलपुरकै स्कुले जीवनको याद आउँछ। दोस्रो, ‘साम वात वान’ गाउँबाट ताइ ओ वा बिग बुद्धतिर जाने दोबाटोमा अक्सर झप्री–माल्भोग केरा, गोलभेडा र ताजा इमली पाँच, दस या बीस डलरको मूल्य सूचिसहित राखिएको हुन्छ। तर पसले भने हुँदैनन्। बटुवाहरु इच्छा अनुसार लिएर खुत्रुकेमा पैसा हालिदिएर बाटा लाग्छन्। 

अर्को यहीँ नजिकै खाजा पसल चलाएर बसेकी करिब साठी हिउँद पार गरेकी दुई वटि छोरीहरुले पालनपोषण गरेका एकानब्बे वर्षीय बुढा बा। 

राम्रै अंग्रेजी बोल्ने उनकी जेठी छोरीले फुर्सद हुँदा भाषानुवाद गरिदिएपछि म गफिन्थे यी बासँग। यी बुढा बा बिहान भाले बासेपछि उठेर डुङ्गा लिएर सारा समुद्र चाहर्थे अरे। अनि समुद्रका माछा र अन्य खाद्य जीवहरु बेचेरै दुईवटी छोरीहरुको पढाइ र आफ्नो लागि जोडेको दुईवटा बाटोमाथिको पक्की घर देखाउँथे गर्वसाथ। करिब सातआठ वर्षदेखि सहर नगएका र कोभिड माहामारीमा पनि कोभिड नलागेका यी बाको हालसालै निधन भएको कुरा पछिल्लो पदयात्रामा मात्र थाहा पाएँ।

यी चिनियाँ बाकी जेठी छोरीले उनको यो खाजा पसललाई निरन्तरता दिएकी छन्। बाबाको निधनपछि अलि दुखी देखिने यी दिदी फुर्सदिली देखे यसो गफिन्छु यो बाटो हिँड्दा सधैँ नै। एकदिनको एउटा घटनाले मेरो यी दिदीप्रतिको सम्मान धेरै उँचो भएको थियो र छँदैछ। 

कोभिडको कहर चरमोत्कर्षमा थियो। लकडाउनले गर्दा हङकङमा रहने चिनजानका प्रकृतिप्रेमी साथीभाइहरु निकै फुर्सदिला भएका थियौँ। 

फुर्सद भयो कि इच्छा राख्नेहरु लट्ठी, पानी र झोला बोकेर हिँडिहाल्थ्यौँ। 

जसमध्ये एकदिन पाल्पा कुसुमखोला अनि काठमाडौँ न्युरोडमा जन्मिएर हङकङलाई कर्मथलो बनाएका व्यवसायीद्वय सुरेन्द्रप्रसाद ढकाल, प्रितम श्रेष्ठ र म थियौँ। 

दुई जना वा सोभन्दा बढी व्यक्ति, समूह सार्वजनिक स्थानमा सँगै भेटघाट गर्न नपाइने र भोजनालयहरुका सबै सेवाहरु सीमित समय मात्र बसेर खाने अनि टेकअवे मात्र थियो। अझ कतिपयले ६ बजे नै बन्द गर्थे। 

सहरभन्दा टाढा जङ्गलको मुनि समुद्रको छेउको सानो टहरोमा खानपिन गरेर मात्रै बाटा लाग्ने निधो गर्दै यिनै चिनियाँ दिदीको भोजनालयमा बस्यौँ हामी त्यो दिन। 

हुन त हामी तीनैजना खानपिनका सौखिन भए पनि प्रितमजीको आँखाअगाडि भने खानाले टेबुल भरिनुपर्थ्यो र पर्छ जहिल्यै। प्राकृतिक वातावरणमा चिसो बियरसहित स्थानीय परिकारहरु हागाउ, सिउ माइ, पिरो फिस बल, होइसिन, छाउमिनदेखि वेस्टर अमलेटको बिस्कुन लगाएर ग्लास जुधाउँदै हामी निकैबेर गफियौँ त्यो दिन।

हामीले तेस्रो पटक ‘थ्री मोर बियर प्लीज’ भन्दा यी दिदी नजिकै आइन् र ताइओको समुद्रको क्षितिजतिर डुब्न लागेको सूर्यतिर औँलाले देखाउँदै भनिन्, ‘डु यु गाइज नो ह्वाट टाइम इट इज?’ 

‘एस, वि नो,’ हामीले भन्यौँ। 

उनले फेरि सोधिन्, ‘तिमीहरू ताइ ओ फर्केर बसमा घर जाने कि हिँडेरै तुङचुङ जाने?’

‘हिँडेरै तुङचुङ जाने,’ हामीले भन्यौँ। 

‘अझै अढाई/तीन घण्टाको बाटो छ। ठाउँठाउँमा बत्ती पनि छैन। अब पुग्यो,’ उनले आदेशात्मक शैलीमा भनिन्, ‘बरु उहीँ पुगेर खानू पिउनू।’

‘कुरा सही हो। धन्यवाद’ भन्दै हामी बिल तिरेर बाटा लाग्यौँ। 

नभन्दै करिब तीन घण्टापछि मोबाइलको टर्च बाल्दै करिब आठ बजे तुङचुङ आइपुगियो फेरि केही खानपिनपछि हामी आ–आफ्ना घरको बाटो लाग्यौँ त्यो दिन। 

हामी जति धेरै बस्थ्यौँ, खान्थ्यौँ, उनको रेस्टुरेन्टको बिल त्यति बढ्थ्यो, उनलाई फाइदा हुन्थ्यो। सायद उनको आमाबा वा शिक्षकको जस्तै अभिभावकीय व्यवहारले यहाँका अन्य भोजनालयभन्दा उनकोमा धेरै पदयात्रीको भीड देखिन्छ सधैँ। कतिपयले आफ्नो अर्थोपार्जनको खातिर अरुको जीवनलाई नै खतरामा पारिदिने जमानाकी एक नितान्त फरक अब्बल इमानदार नारी हुन् यी दिदी। 

अर्को ‘सान सेक चुन’ भन्ने गाउँमा करिब छयासी वर्षीया आमा गर्मी महिनामा बरफको भाँडोमाथि प्लास्टिकको बोतलमा इमली, सक्खर र कागतीको सर्वत अनि सिजन अनुसार झप्री–माल्भोग केरा, हलुवावेद, रायोको डुकु, गोलभेडा, आकासे खुर्सानी र रुखकटहर समेत पाँच, दस, बीस डलरको मूल्य सूचीसहित राखेर बाटाका छेउमा फिजाउँछिन्। कहिले करेसाबारी र कहिले नजिकैको घरभित्र काम गर्दै गरेकी यी आमालाई यी चिजबिज चाहनेले ठूलो स्वरले मा! मा! भन्दै बोलाएपछि ‘जे चाहिन्छ लैजानू र पैसा खुत्रुकेमा हाल्दिनू’ भन्छिन् टाढैबाट। 

खुद्रा छैन भनेपछि मात्रै बिस्तारै थैली लिएर आँउछिन्।

त्यसपछि तुङचुङ नजिकैको ‘सान्ताउ’ भनिने गाउँमा स्वदेशमा पाइने चम्सुरको सागबाहेक मौसम अनुसार थरीथरीका तरकारी गाउँले बाआमाहरुको करेसाबारीमै पुगेर किन्न सकिन्छ। 

यही गाउँको पैदल बाटोको छेवैमा रहेको खबटाले छाएको दुईवटा निकै पुरानो भुइँतले घरहरू रङ्गरोगन, मर्मतसम्भार हुँदै रहेछ। एकदिनको पदयात्रामा घरको आँगनमा अंग्रेजी नामसहित ढिकी, जाँतो राखेको देखेपछि म टक्क अडिएँ। 

‘क्यान आइ टेक अ पिक्चर प्लिज!’ भन्दै कुराको पन्तुरो खोल्ने बहाना बनाएँ मैले। 

‘एस, एस स्योर’ भन्दै एकजना भलाद्मी नजिकै आए। 

मैले आफ्नो परिचय दिँदै ‘आइ वाज ग्रोन अप इन दिस काइन्ड अफ इन्भायरमेन्ट’ भनेँ। 

उनले पनि आफू हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको प्रोफेसर डक्टर भएको बताउँदै नयाँ पुस्तालाई हङकङमा पुरानो खेतीपातीको औजार र इतिहासबारे बुझाउन विश्वविद्यालयकै परियोजना अन्तर्गत यो गाउँमा पुरातात्विक कृषि औजार संग्रहालय सुरुआत गरिएको बताए। 

करिब तीनचार सय वर्षअगाडि मूलभूमि चीनबाट खेतीयोग्य जमिन र माछा धेरै पाइने समुद्री खोँच र तटहरु खोज्दै ‘हाक्का’ भनिने कृषक समुदाय यतातिर बसाइँ सरेको रहेछ।

‘वङ’ थरका यी प्राध्यापकले भित्र अझै धेरै छ भन्दै जान इसारा गरे मलाई। अझ भित्र त कुटो, कोदालो, चाँदे, हँसिया, खन्ती, घुम, नाङ्लो, ढुकुटी, खाट, पेटारो, डालो, थुन्से र काठको ठूलो कन्तुर कुनै हाम्रैजस्ता र कुनै परिमार्जित रहेछन्। त्यो बेलामा पनि चुल्हो भने हाम्रोभन्दा धुवाँमुक्त र विकसित रहेछ। 

सायद पशुपालन नभएर वा बलौटे माटोको कारणले हलो भने हलुङो र सानो आकारको मान्छेले तान्ने खालको रहेछ। 

वैशाख–जेठमा दर्के पानी परेर मकै वा धान माटोले टालिएर उम्रन नसकेपछि लगाइने फलामको कोरेसो र डल्ला फुटाउन प्रयोग गरिने काठको लिँडुल्को हेर्दा धादिङ केवलपुरमै पुगेँ म केहीबेर। 

डल्ला फोर्न प्रयोग हुने जोडी गोरुले तान्ने काठको लिडुल्कोमा बस्न स्कुलबाट दौडँदै घर आएर झोला फालेर ठूलो बारीको पाटोमा पुग्थेँ म। अनि हली दाइ मलाई लिँडुल्कोमा बसाएर आफ्ना दुई घुँडाले मेरो कुममा च्यापेर जोबाने र तारे नामका गोरुलाई होरी आ भन्दै धपाउँदा म चाहिँ टीँटीँ मेरो मोटर आयो भन्दै रमाउँथे। 

माछा राख्ने फुर्लुङदेखि माछा मार्न प्रयोग गरिने प्राचीन उपकरणहरु रहेछन्। अहिले पनि पटकपटक यो पदयात्रा मार्ग हिँड्दा खुला देखेमा सधैँ यो घर चाहर्दै आफ्नै अतीतमा हराउँछु म। 

सायद हङकङमा बर्खे ठाडा खोलाहरु मात्र भएर होला, पानी घट्ट र पशुपालन वा दूध, दही, घिउसँग सम्बन्धित ठेकी, मदानीका अवशेष भने भेटिनन्न् कहीँ पनि।

मेरै उमेर र समूहका नेपाली पैदलयात्री मित्रहरुबीच पनि यो संग्रहालयबारे चर्चा हुन्छ आजकल। धेरै साथीहरू आजभोलि यो बाटो हिँड्दा ढिकीजाँतो र अन्य ऐतिहासिक उपकरणहरु मुसार्छन् र अतीतमा हराउँछन्। तर, हङकङमा जन्मेहुर्केका स्थानीय वा नेपाली मूलका नयाँ पुस्तालाई यसबारे बुझाउन त्यति सजिलो भने छैन। अन्न, दूध, दही, घिउ, मोही, माछामासु कहाँबाट आउँछ त भन्दा सुपर मार्केट वा अनलाइन डेलिभरीबाट भने पनि अन्यथा लिनु पर्दैन। 

अब लागौँ हङकङको अर्को भूगोलतर्फ। हङकङको सबैभन्दा अग्लो पहाडी थुम्को ‘मा वान सान’ को वरिपरि अनगिन्ती पदयात्रा मार्गहरु छन्। कादुरी कृषि फार्मनजिकैको ओसिलो सदाबहार जंगलको ठाडे खोलाको किनारैकिनारको उकालो, हरियो चउर र खुल्ला डाँडोहरु, सल्लाघारीको बीचैबीच वा पिचैपिच अलगअलग पदमार्गका अनुभव लिन सकिन्छ। तीमध्ये चुनवान सहरको डिस्कभरी पार्क भनिने आवासीय कोलोनीदेखि करिब डेढ घण्टाको उकालोपछि आइपुगिने चुन लुङ ऐतिहासिक हाक्का बस्तीदेखि सिङ मुन जल भण्डारसम्म ‘लुङ मुन कन्ट्री ट्रेल’ भनिने करिब २२ किमि पदयात्रा मार्ग प्रकृतिप्रेमीहरुको प्रमुख रोजाइमा पर्छ। 

दर्जनौँ ठूलासाना ठाडे खोल्साहरु हुँदै, माटो र पत्करको बास्ना सुँघ्दै, लहलह घाँस, निङालो, सल्लाघारी र सदाबहार जङ्गलको बीचबाट यो मध्य पहाडी गोरेटोमार्ग हिँडदा हङकङमै हिँड्दैछु भन्ने नै बिर्सिइन्छ पटकपटक।

तीन चौथाई बाटो पूरा गरिसकेपछि बायाँ लागे म्याक्लेहोस ट्रेलको आठौँ खण्ड हुँदै ताइ पो वा ताइ मो सानको थुम्को पनि पुग्न सकिन्छ। 

अझ चाखलाग्दो कुरा त सार्वजनिक बिदाका दिनहरूमा चुन लुङ गाउँको दुई तले घरका आँगन, पिँढी, छत र बार्दलीमा समेत बसेर स्थानीय क्यान्टोनिज भोजनका परिकार खानेहरुको लाइन लाग्छ। चाइनिज चियाको पट, कप, थाल, कचौरा, खाना खाने कप्टेरा र खाना भान्सादेखि आफैँले ल्याउनु पर्छ।

अझ अर्को विशेषतामा सधैँ एकजना आमा ठूलो ताउलोमा अर्गानिक खोलेसाग पकाएर बाँड्न अति नै व्यस्त देखिन्छन्। मनपर्नेहरुले प्लेट लिएर अलिबेर कुर्नै पर्छ। यो गाउँको बारीभरि बाह्रै महिना यही सागको मात्र खेती गरिन्छ।

हाक्का आदिवासीहरुको पुस्तैनी यी भोजनालयहरुमा क्यासियर र भौचरको चलन छैन। खाइसकेपछि कर्मचारीहरुले टेबलका भाँडाकुँडा हेरेर कुल मूल्य मुखैले भन्छन्, लिन्छन् र झोलाबाटै फिर्ता दिन्छन्। 

अब लागौँ, प्रकृतिसँगै इतिहासमा समेत चाख मान्नेहरुको लागि हङकङको अर्को विशेष पूर्वी भागतर्फ। दक्षिण चीन तटीय क्षेत्रबाट आजभन्दा करिब तीनचार सय वर्षपहिला उर्बर खेतीयोग्य जमिन खोज्दै हङकङको साइकुङ र ताइपोको सेरोफेरोमा आदिवासी ‘हाक्का’ कृषक समुदाय आइपुगेका रहेछन्। जसका अवशेषहरू अझै प्रशस्तै भेटिन्छन् यो क्षेत्रको पदयात्रामा। जसमध्येको लाई ची ओ ऐतिहासिक गाउँ विश्व सम्पदा सूचीमा सूचीकृत छ। ताइपोको प्लबर कोभ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने ताइ मेइ तुक नजिकैको जङ्गलको बाटो हुँदै करिब दुई घण्टामा यहाँ पुग्न सकिन्छ। अधिकांश नयाँ पुस्ता विदेश र केही हङकङकै सहरतिर बसाइँ सरेपछि निकै कम मान्छेको चहलपहल देखिन्छ आजकल। 

मूलभूमिसँगको साताउ कोक बोर्डर नजिकै रहेको यो गाउँ इतिहासको कुनै कालखण्डमा करिब ५/६ सय जनसंख्या भएको निकै समृद्ध थियोे अरे। उन्नाइसौँ शताब्दीको सुरुवातमा भने यो गाउँ आर्थिक रूपमा निकै ओरालो लागेछ। त्यसपछि सबै गाउँले मिलेर चिनियाँ फेङ सुइ मास्टर (ज्योतिषाचार्य) कहाँ राय माग्न पुगेछन्। ती मास्टरले गाउँलेहरूलाई केही दुष्ट अदृश्य आत्माका तत्वहरूले यो गराएकोले गाउँको वरिपरि तीन पत्रे पर्खाल लगाउन सुझाएछन्। गाउँलेहरूले त्यसै गरेपछि पुनः आर्थिक अवस्थामा सुधार आएको बुढापाकाहरू बताउँछन्। त्यसैले यसलाई ‘वाल्ड भिलेज’ अर्थात् पर्खालले घेरिएको गाउँ पनि भनिन्छ। 

जे होस् सहरभन्दा टाढा प्रकृतिको काखमा भुइँ वा एकतले खबटाले छाएका घर, नाङ्लो र मान्द्रो सुकाएका खाद्य परिकार, दाउराका खलियो अनि नम्र र बोलाइला गाउँले अनुहार हेर्दा स्वदेशकै अनुभूति गर्न सकिन्छ थोरबेर भए पनि।

क्यान्टोनिज र पुतुङ्वा भन्दा अलग भाषा लिपि भएका हाक्काहरूको खानपान र रीतिरिवाज भने हङकङबासी स्थानीयहरूसँग मिल्दोजुल्दो छ। 

अब अन्त्यमा, सन् नब्बेको दशक अगाडिसम्म हङकङको तुङ चुङबारे धेरै हङकङबासी नै अनभिज्ञ थिए भने विदेशीको त कुरै छाडौँ। विमानस्थलको निर्माणलगत्तै यो ठाउँको कायापलट भयो। तुङचुङको अंग्रेजी अर्थ ‘इस्टर्न स्ट्रिम’ जसको नेपाली शाब्दिक अर्थ हुन्छ, ‘पूर्वको नदी।’

लान्ताउ द्वीपको उत्तरपश्चिम तटमा रहेको यो ठाउँ मूलभूमि चीनको मिङ र चिङ साम्राज्य अन्तर्गत रहँदा समुद्री डाँकु र विदेशी शक्तिविरुद्धको बलियो प्रतिरक्षा किल्ला मानिन्थ्यो। तुङ्चुङ बे पनि भनिने यो ऐतिहासिक माझी गाउँ खेतीपाती लगायत माछा र गङ्गटाको उर्वर खानी मानिन्थ्यो अरे परापूर्व कालमा।

अहिले पनि वर्ल्ड क्लास सपिङ आर्केड, ब्रान्डेड तारे होटल छोडेर आधा घण्टाको पैदल यात्रामा मूलको चिसो पानीको धारोमा पानी पिउने र ल्याउनेहरुको ताँती देख्न सकिन्छ। 

अझ सेराटनको छतमा रहेको सनसेट ग्रिल, लान्ताउ रुमको चौरासी व्यञ्जन बफे लन्च–डिनर, सिटी गेट आउटलेट र स्काइ सिटीका अन्तर्राष्ट्रिय ब्रान्डेड रेस्टुरेन्टको दसपन्ध्र मिनेटको दुरीमै यहाँका पुस्तौनी आदिवासीहरुद्वारा सञ्चालित ठेट स्थानीय परिकार पस्कने रेस्टुरेन्टहरुमा सूर्यास्त हेर्दै खानपिनको आनन्दको बयान गरिसाध्य छैन। 

क्यान्टोनिज परिकारका ‘वा दाउ’, ‘तुङ सिङ लाउ’ र सिचुवान परिकारको ‘चिङ के’ रेस्टुरेन्टहरुमा खानपिनका पारखीहरुको निकै भीड हुन्छ बेलुकी पख। 

सिचुवान खानामा अक्सर ट्वाक्क पिरो, अमिलो अनि टिमुरको प्रयोगले हामी नेपाली प्रकृतिप्रेमी पदयात्रीहरुको पनि पहिलो रोजाइ भएको छ आजकाल। 

तुङचुङ सहरको यही ऐतिहासिक पुरानो बस्तीमा रहेको चिङ्के सिचुवान रेस्टुरेन्ट जाँदा एकजना चिनियाँ काका भेटिन्छन् सधैँ। लिचीको बगैँचा छेवैको खुला आकासमुनि गिनिज र ब्लुगर्ल बियर अनि रेड वाइनसँगै चुरोटको धुवाँमा रमाएको देखिन्छन् उनी। काँचो बदामको थुप्रोसँगै टेबलमा विभिन्न परिकार फिँजाइएका हुन्छन्। अक्सर उनीसँगै सहभोज गर्नेहरु उनलाई छोडेर बाटो लागे पनि रेस्टुरेन्ट बन्द हुनेबेलासम्म उनी स्मार्ट फोनमा एक्लै रमाएका देखिन्छन्। 

मेरा लागि निकै चाखलाग्दा पात्र यी काकालाई एकदिन टुटेफुटेको चिनियाँ भाषामा मैले सोध्दा ७८ वर्ष पुगेको बताए उनले। 

मैले मद्यपान वा धुम्रपानको विज्ञापन ठीक छ भन्न खोजेको पटक्कै हैन। तर एउटा कुरा चाहिँ पक्कै हो, जो जीवनमा खुसी रहन्छ, अन्तर्मनमा रमाउँछ, ऊ जे गरे पनि स्वस्थ र दीर्घजिवी हुन्छ। 

सधैँ हँसिलो र खुसी मुडमा देखिने यी चिनियाँ काकालाई देख्दा एउटा ओशो वचन याद आयो मलाई चाहिँ। 

‘आपका जीवन कितना लम्बा है, यह मायने नही रखता। मायने यह रखता है कि आप कैसे जिते हैँ। उदासी और चिन्ता के साथ या आनन्द और खुसी के साथ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .