मैले हङकङको भूमिमा ५ मार्च १९९६ का दिन पाइला टेकेको थिएँ। हङकङमा मानिसको जिन्दगी निकै व्यस्ततामा बित्दो रहेछ। सुरुमा हङकङ अउँदा म फ्याल्टमा बस्ने साथीहरूको दगुरादगुर देखेर चकित हुन्थेँ।
नेपालमा झैँ चोकको कुनै चिया पसलमा चिया पिउँदै राजनीतिक पार्टी र सत्ता उलटपलटबारेका बहस नहुने रहेछन्। बिहानै काममा जाने र बेलुकी सिधै कोठामा आई चापचुप खाना खाएर भोलिका लागि तयार हुँदा रहेछन्। हङकङमा तीव्र गतिमा विकास हुनुको मुख्य कारण दिन र रात चौबिसै घण्टा काम हुँदोरहेछ।
म नेपालमा छँदा कोर्सका बाहेक नयाँ-नयाँ पुस्तक पढिरहन्थेँ। सुत्ने बेलामा पुस्तक नपढे मलाई निन्द्रा नै नलाग्ने भइसकेको थियो। हङकङ आएपछि पनि नेपालबाट ल्याएका केही पुस्तक बेलुकी सुत्ने बेलामा पढेर निद बोलाएँ। तर ती सीमित पुस्तक पढेर सकेपछि चाहिँ हङकङको सुताइ र बसाइ साह्रै पट्यारलाग्दो र खल्लो भयो। एक किसिमले भन्नुपर्दा निदाउन निकै गाह्रो हुन थाल्यो।
नेपालबाट ल्याएका तिनै सीमित पुस्तकलाई पटक-पटक दोहोर्याएर पढाइको तृष्णा मेट्ने कोसिस गरिरहेँ। तर, चिनी धेरै खाए तीतो हुन्छ भने झैँ हुन थाल्यो। चिनजानका साथीहरूसँग भेटघाट गर्न आइतबारको बिदा नै पर्खनु पर्दथ्यो। साथीहरूसँग पुस्तक, पत्रपत्रिका छन् कि भनी सोधपुछ गरेँ तर पाउन सफल भइनँ।
त्यो समय हङकङमा नेपालीको पसल थिएन। अहिले जस्तो सुलभ रूपमा सञ्चारको विकास पनि भइसकेको थिएन। ल्यान्डलाइन फोनका अलावा पेजर म्यासेन्जरको भर्खरै सुरुआत भएको थियो।
नेपाल फोन गर्न हङकङ टेलिकमको एक सय डलरको कार्ड वा बाटोमा राखिएका टेलिफोन बुथमा क्वाइन छिराउँदै बोल्दा मुस्किलले चौध मिनेट बोल्न सकिथ्यो।
नेपालबाट केही पुस्तक मगाउने कोसिस गरेँ। तर ल्याइदिने मानिसको अभावले चाहना पूरा हुन सकेन। मेरो हङकङ बसाइको लागि आईडी पनि बनिसकेको थिएन। फ्याल्टका साथीहरू बिहानै काममा जाने भएकाले कोठामा एक्लै धुमधुम्ती बसिरहनु भन्दा केही लेख्ने कार्य गर्न थालेँ।
केही महिनापछि हङकङ बसाइका लागि अनुमति प्राप्त गरेँ। म पनि छ्याप्प पैसा कमाउनकै लागि हङकङ आएकोले बिस्तारै हङकङको व्यस्त सागरमा हेलिन थालेँ। पुस्तक पढाइको हुटहुटीलाई पनि बिस्तारै दिमागबाट हटाउन बाध्य भएँ। अनि, हङकङको जीवनशैलीमा समाहित हुँदै दगुरादगुरमा अभ्यस्त हुन थालेँ। बिहानै काममा दौडिनुपर्ने, कोठामा बेलुकी हस्याङफस्याङ हुँदै आइपुगिने भएकाले पढाइलेखाइमा समय दिन गाह्रो हुन थाल्यो। जिन्दगीको गति मेसिनझैँ चल्न थाल्यो।
कामका अलावा विस्तारै सामाजिक कार्यक्रमतिर पनि घुलमिल हुन थालेँ। पहिलोपटक १३ डिसेम्बर १९९८ का दिन किरात याक्थुम चुम्लुङ, हङकङले आयोजना गरेको कविता वाचन प्रतियोगितामा लाप्पा खेल्न पुगेँ।
म सँगै काम गर्नुहुने मित्र जीवन मयाङ्बोको अति नै करकापबाट हौसिएर लाप्पा नखेलूँ भन्दाभन्दै रिङभित्र पुगेँ। त्यो कविता प्रतियोगितामा सान्त्वना पुरस्कारसहित प्रमाणपत्र पाएको थिएँ। त्यो नै जिन्दगीको पहिलो र अन्तिम कविता वाचन प्रतिस्पर्धा थियो।
उक्त पुरस्कारलाई अहिलेसम्म बचाउन त सकिनँ तर प्रमाणपत्र भने अझै सुरक्षित राखेको छु। त्यो कविता प्रतियोगिताको निर्णायक मण्डलमा रहेका साहित्यकार साथीहरूलाई अहिले पनि झलझली सम्झन्छु। बिस्तारै हङकङमा कलम चलाउने साहित्यकार, लेखक तथा कविहरूसँग परिचय गर्ने मौका पाएँ।
पत्रकार तथा लेखक क्रान्ति सुब्बाजीसँग कार्यक्षेत्रमा जाँदा-आउँदा प्रायः भेट हुन्थ्यो। उहाँ नेपालदेखिकै चिनजानको मित्र हुनुहुन्थ्यो।
उहाँले एकदिन हङकङबाट नेपाली साहित्यिक पत्रिका प्रकाशन गर्ने कुरा गर्नु भयो। यो साँच्चै नै राम्रो कुरा थियो। अब बिस्तारै हङकङमावासी नेपाली लेखकले गुम्सिएका भावनालाई पत्रिकामार्फत अभिव्यक्त गर्न पाउने भए भन्ने कुराले खुसी भएँ।
उहाँले प्रकाशन गर्न लाग्नुभएको नेपाली साहित्यिक पत्रिकाको नाम ‘अबिराम’ थियो। मलाई पनि केही लेखिदिनका लागि अनुरोध गर्नु भएकाले ‘लान्ताओमा एकछिन’ शीर्षकको संस्मरण दिएको थिएँ।
‘अबिराम’ त्रैमासिकको रूपमा हङकङबाट नियमित प्रकाशन हुन थाल्यो। मैले यस पत्रिकाका प्रत्येक अंकमा लेख छुटाइनँ। त्यसपछि पूर्व क्षितिज, एभरेष्ट दैनिक (साप्ताहिक हुँदै मासिक), किराया हङकङको मुखपत्र यलम्बर (वार्षिक) आदि पनि धमाधम प्रकाशन हुन थाले। मैले हङकङबाट प्रकाशित प्राय: सबै छापा माध्यममा लेख, कविता लेख्ने अवसर प्राप्त गरेँ।
केही वर्षसम्म निरन्तर प्रकाशन भइरहेका अबिराम, पूर्व क्षितिज पत्रिकाको प्रकाशन बन्द हुँदा निकै खल्लो महसुस भएको थियो। यी पत्रिका बन्द हुनुको मुख्य कारण हङकङको व्यस्त जीवन र आर्थिक अभाव थियो। यी दुई पत्रिका बन्द भए पनि किसन राईले प्रकाशन गर्नुभएको एभरेष्ट पत्रिकामा मेरा लेख-रचना समय-समयमा प्रकाशन भइरहेका थिए।
यसैबीच ‘आकाश खोज्दै जाँदा’ नामको आफ्नो पहिलो कृति पनि प्रकाशन गरेँ। यो हङकङका विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका रचनाको सँगालो हो। सबैले देखेको आकाश एउटै भए पनि फरक देश र परिवेशलाई त्यसमा चित्रित गरेको थिएँ। यो कृतिका लागि खोटाङ समाज हङकङबाट नेपाली साहित्यमा एउटा इँटा थपिएको भन्दै सम्मान पनि पाएको थिएँ।
किसन राईले एभरेष्ट पत्रिकालाई हङकङमा विभिन्न बाधा, अड्चनहरूसँग जुध्दै प्रकाशन गरिरहनु भएको थियो। मेरो लेखनको प्रेरणा स्रोतमध्ये एभरेष्ट पनि एक थियो। म संस्मरण लेख्न र पढ्न बढी रुचाउने भए पनि समय-समयमा कविता लेखेर एभरेष्टमा छपाएको थिएँ।
उहाँको अकल्पनीय स्वर्गयात्राअघि एभरेष्टका लागि एउटा लेख दिएको थिएँ। किसनजीले धमाधम सम्पादन हुँदैछ है, अब चाँडै बजारमा आइपुग्छ भन्नुभएको अहिले पनि झलझली सम्झिरहेको छु। आखिर मानिसको जिन्दगी यस्तै त रहेछ!
दोस्रो कृतिको रूपमा ‘समुद्रमाथिको सहर’लाई प्रकाशन गरेँ। मैले यस कृतिमा हङकङमा रहँदा, यात्रा गर्दा देखेका, भोगेका अविस्मरणीय क्षणलाई समेटेको थिएँ। यो कृतिका लागि नेपाली साहित्य प्रतिष्ठान, हङकङले कदरपत्र सहित सम्मान गरेको थियो।
कुनै साहित्यिक कार्यक्रममा जाँदा कविता वाचन गर्नुपर्ने भएकाले कविता पनि लेखेँ। यसैको सङ्कलन ‘मनोबिम्ब’ कविता संग्रह प्रकाशन गरेँ। त्यसपछि ‘नसकिने बाटो’ संस्मरण प्रकाशित भयो। यो कृतिका निम्ति हङकङ साहित्यिक साझा शृङ्खलाले सम्मान गरेको थियो।
पछिल्लो समय सञ्चार र प्रविधिको द्रुत विकासले पढाइलेखाइमा झन् सहजीकरण गरिदियो। अहिले कम्प्युटर तथा स्मार्ट मोबाइल प्रविधिको प्रयोगले अनलाइन पत्रिकाको युग सुरु भयो। म प्रविधिमा आलु भए पनि साह्रै थोरै मात्रामा किन नहोस् नयाँ युगलाई उपभोग गर्ने मौका पाएको छु।
अहिले छापा माध्यमको प्रकाशन कम हुँदै गइरहेको र अनलाइन पत्रिकाहरू बढी नै चलिरहेकाले आफ्ना लेख-रचनालाई अनलाइन पत्रिकाहरूमा पनि प्रकाशन गर्न थालेको छु। नेपालखबर डटकम, हङकङखबर डटकम, बगैंचा डटकम जस्ता अनलाइन पत्रिकामा कहिलेकाहीँ लेख्न भ्याएको छु। पत्रिकाका सम्पादकहरूले लेखिरहन प्रेरित गर्दा झनै ऊर्जा मिलेको महसुस हुन्छ।
हङकङमा स्थापना भएका धेरै साहित्यिक संस्थाहरू केही वर्ष बेजोडले क्रियाशील भएर पुनः बिस्तारै हराउँदै गए पनि साहित्य लेख्नेको लागि राम्रो प्लेटफर्म दिएर बिलाए। यी संस्थाहरू बन्द हुनुको कारण पनि हङकङको व्यस्त जीवनशैलीकै परिणाम हो।
यद्यपि, ‘हङकङ साहित्यिक साझा शृङ्खला’ भने हङकङको साहित्यिक आकासमा अहिले पनि चम्किरहेको छ। यो संस्थाले स्थापनाको १२ वर्ष पार गरिसकेको छ। प्रत्येक महिनाको अन्तिम आइतबार साहित्यिक कार्यक्रमको आयोजना गरिरहेको छ। व्यस्तताका कारण नियमित कार्यक्रममा उपस्थित हुन नसके पनि कहिलेकाहीँ समय मिलाएर सहभागिता जनाउने गरेको छु।
म लेखेका सामग्रीलाई पेन ड्राइभ र कम्प्युटरमा मात्र थन्काएर राख्दिनँ। ‘मनोबिम्ब’ कविता सङ्ग्रहमा नअटाएका र नयाँ लेखिएका कविता समेटेर ‘मनका नदीहरू’ कविता सङ्ग्रहलाई पाचौँ कृतिको रूपमा प्रकाशन गरेँ। यस कृतिलाई हङकङ साहित्यिक साझा शृङ्खलाले भव्य विमोचन गरिदिएको थियो। संस्थाप्रति आभारी छु । यस सङ्ग्रहमा मैले मनभित्रका तरङ्गित भावनालाई नदीको रूपमा बगाइदिएको छु।
लेखनका अलावा समाजसेवामा पनि आफूलाई उभ्याउने प्रयास गर्ने गरेको छु। यसै प्रयासस्वरुप किरात राई यायोक्खा, हङकङमा आबद्ध छु। सन् १९९८ मा स्थापना भएको संस्थाको इतिहास ‘किरात राई यायोक्खा हङकङ : विगतदेखि वर्तमानसम्म (१९१८-२०२१)’ नामक अनुसन्धानात्मक दस्तावेज तयार पारेँ।
यो किरात प्रज्ञा प्रतिष्ठान, हङकङ मार्फत प्रकाशित भएको थियो। यो कृति किराया, हङकङबारे जान्न, बुझ्न र खोज अनुसन्धान गर्न चाहने विद्यार्थीका लागि सन्दर्भ सामाग्री हुनेमा विश्वस्त छु।
कलम युग र प्रविधि युगसँग लुकामारी खेल्दै र सिक्दै ६ दशक पार गरिसकेको छु। दिमाग, आँखा र हात चलुन्जेल लेख्ने प्रयास जारी राख्ने छु।
५ मार्च २०२४
तु क्वा वान, हङकङ
Shares
प्रतिक्रिया