आज फेरि एयरपोर्टमा छु। आज पनि उस्तै छ यो एयरपोर्ट। दिन फेरिन्छ, हप्ता, महिना हुँदै वर्षहरू फेरिइरहन्छन्। यद्यपि यो एयरपोर्ट भने सधैँ उस्तै छ। स्थिर छ।
आजकाल कतै जानपरे समय मिलेसम्म कुनै क्याफेमा बस्ने बानी लागेको छ। यही बानीलाई निरन्तरता दिँदै आज पनि क्याफेमा पसेँ। एयरपोर्टको बोर्डिङ सेक्सनको बाटो हुँदै अलिकति अगाडि हिँडेपछि स्टारबक्स क्याफे आउँछ। त्यही क्याफेबाट अलिकति अगाडि बायाँपट्टि सिसाबाट देखिने एयरपोर्ट वरपरका चलायमान दृश्यहरू र बायाँतिर एकतमासले गुडिरहेका गाडिहरू देखिन्छन्। दायाँतिर मिनेट–मिनेटमा आवतजावत गर्ने आकासे गाडीहरूको लर्को उस्तै छ। जहाँ हजारौँ यात्रुहरू कोही कतैबाट आउँदै गरेका त कोही जाँदै गरेका।
चौबीसै घन्टा खुल्ला र व्यस्त रहन्छ हङकङको यो इन्टरनेसनल एयरपोर्ट। सबै उस्तै छ। तर खुला, फराकिलो पुरानो स्टारबक्स क्याफे सारेर डिपार्चर नजिक राखिएको छ। एकहुल एयरहोस्टेस सुन्दरीहरू नजिकैको टेबलमा कफी पिउँदै छन्। ड्रेस हेरेर चिन्न सकेँ, ती सिँगापुर एयरलाइन्सका स्टाफ हुन्। जो असाध्यै राम्रा छन्। वरपरका टेबलमा सबै आआफ्नो मोबाइल र ल्यापटप चलाइरहेका र कतै कसैसँग बात गरिरहेका देखिन्छन्।
त्यो प्रत्येक मिनेट चार डलरको हिसाबले आईडीडी कल गर्ने जमाना कहाँ छ र अहिले। आजको विश्व एक स्मार्टफोनमै अटेको छ। जहाँ पुगे पनि चिठी लेख्ने र महिना र वर्षौंसम्म एकअर्कासँग बेखबर रहनुपर्ने जमानाले नेटो काटिसक्यो।
तर कुनै समय त्यही आईडीडी कल गर्न पाउनु पनि ठूलो कुरा थियो। वर्षौं बेखबर आफन्तको खबर पाउने एउटै माध्यम चिठी झन् खास थियो। समय चक्र कति बलवान छ हगि! दिनहुँ हजारौँको संख्यामा यात्रुहरूलाई उतार्ने यो एयरपोर्ट कहिले निदाउँदैन। सधैँ जाग्राम रहन्छ। यहाँ के रात, के दिन, यात्रुहरू विश्वका विभिन्न देशबाट आउँछन् जान्छन्। हजारौँ सपनाहरूको उडान भरिदिन्छ मिनेट मिनेटमा यो एयरपोर्टले। म पनि सायद दर्जनौंपटक आएको छु। यति नै पटक आएँ भनेर कहिल्यै गनिनँ। तर कहिले आफन्त लिन त कहिले पुर्याउन आएको छु। तर आफैँ भने दुई दशक जतिको अवधिमा आधा दर्जनभन्दा ज्यादा यात्रा गरेको छैन।
खै यहाँ आउँदा अनायसै के हुन्छ। मस्तिष्क दुईधारमा बाँडिएको जस्तो लाग्छ। एउटा धार जन्मदेश र अर्को धार कर्मदेश। दुई किनारजस्तै बन्छ मन–मस्तिष्क। कहिलेकाहीँ भने बाँकी जिन्दगी बग्ने नदीजस्तो लाग्छ र म आफूलाई बीचमा पाउँछु। जो कहिले जन्मदेशको किनारातर्फ छचल्किन्छ त कहिले कर्मदेशको किनारातिर।
सुरुसुरुमा बिरानो लाग्ने यो कर्मभूमिमा अहिले भने केही आफ्नोपनको महसुस हुन्छ। त्यो महसुस तब हुन्छ, जब कर्मभूमि छोडिन्छ। त्यो पनि विशेषगरी जब कर्मभूमिमा आफूले जन्म दिएको साना छोराछोरी छोडेर काम विशेषले देश फर्कनु परेको हुन्छ। जहाँ जिन्दगीले सास पायो र जन्मियो, त्यो देशमा आधा जीवन पनि बसिएको छैन।
मेरो नजिकै एउटी १२–१३ वर्षकी राम्री नानी बसेकी छिन्, हङकङ नागरिक नै हुनुपर्छ। सायद आफ्ना अभिभावकसँग कतै जाँदैछिन् वा कतैबाट आएकी हुन्। छेउमा बसेकी महिला सायद तिनै नानीकी आमा हुन्। उनी मोबाइलमा एकोहोरो केही हेरिरहेकी थिइन्। छोरी भने घरीघरी आमालाई हेर्छिन्। एकछिनपछि एकजना मान्छे सानो बच्चा च्यापेर आएको देखियो। उनी ती नानुको बाबा रहेछन्। उनले आफ्नो छातीमा लगभग ८–९ महिनाको छोरा च्यापेको कति मायालु देखिएको थियो। यो दृश्यले मलाई बाइस वर्षअघि मेरो पहिलो पटक हङकङ झर्दाको स्मृति दिलायो।
म त्यतिखेर यी नानीभन्दा केही वर्षले जेठी थिए हुँला। र, ती नानीको बाबाको छातीमा हुने सानो बच्चा भने मेरो सानो भाइजत्तिकै उमेरको हो। जसलाई यहीँ जन्माएर आमाबाले ३ महिनाको हुँदा नेपाल लगेर जानुभएको थियो र पछि हङकङ आउँदा हामी सँगै फर्केका थियौँ। सन् १९९० पछि हङकङ जाने लस्करको लहरमा मिसिएकोमध्ये एक पात्र म पनि हुँ। जो हङकङ नै जन्मिएका आमाबाबाको पदचाप पछ्याउँदै पहिलोपटक १९९९ मा यही एयरपोर्टमा पहिलो पाइला राखेकी थिएँ। कतै सपनाको सयर गरिरहेको जस्तो महसुस गरेथेँ मैले यहाँ पहिलो पटक पाइला राख्दा।
किनभने देशबाट एकै पटकमा यति टाढा बिरानो भाषा, बिरानो माटो भएको ठाउँमा आफूलाई उभिएको पाएको थिएँ। आमाबाबासँग आएको र वहाँहरू साथै हुँदा पनि मन भने भित्रभित्रै कहालिएको थियो। त्यतिखेर म अन्जान थिएँ। मलाई के थाहा कि त्यो कहालिएको मन त मेरो आफ्नो आत्मा रहेछ। जो आफू जन्मेको माटो, ढुंगा, पाखापखेरीहरू, खोलानाला र साथै खेलेका साथीबाट अलग्गिनु पर्दा विरहले अनौठो कम्पन भैरहेको रहेछ। जुन कुरा आज बल्ल महसुस हुन्छ। जसरी कुनै दूधे बालकलाई कुनै बहानामा उसको आमाको काखबाट छुट्याइएको हुन्छ र त्यो अन्जान बालकले जसरी आफ्नो आमाको काख र छातीको खोजी गर्छ, अत्यास मानेर कहालीलाग्दो तरिकाले रुन्छ। सायद त्यतिखेर बिरानो ठाउँमा देश खोजेको थिएँ होला। आफूले बुझ्ने लवज, भाका र आफ्ना लाग्ने आँखा खोजेँ होला। यसरी मनमनै अत्यास मानेको थिएँ।
बितिसकेको जीवन र बगेको खोला उस्तैउस्तै हो। जो सम्झनामा मात्रै रहन्छ, तर फर्कन असम्भव छ। मन भावुक हुन्छ तर अति भावुकता पनि ठिक होइन। भावुकताले सधैँ चिसो नै बनाउने हो मान्छेलाई। यो कंक्रिटले लिपेको सहरमा ज्यादा भावुक हुनु भनेको कंक्रिटमा माटो हराए समान हुनु हो। लामो सुस्केरा हाल्छु र मामाहरू (बेलायती लाहुरे)हरूको समकालीन हङकङे नेपालीको श्रमले निर्माण भएको यो विशाल एयरपोर्ट भवनलाई चारैतिर आँखा फैलाएर हेर्छु। घरीघरी त यो भवन झ्यालखाना पो हो कि जस्तो पनि आभाष हुन्छ। कहिले लाग्छ, फेरि भेट्ने बाचा गर्दै छुटेर गएकाहरूसँगको पुनर्मिलन गराइदिने एक जक्सन हो यो। कहिले लाग्छ कहिले नभेटिने गरी विदाइ लिने घाटजस्तै छ यो, जो खरानीको पनि उडान भर्छ। किनकि मैले यहाँसम्म छोड्न आएका कति आफ्नाहरूलाई सधैँको लागि विदाइ गरेको छु। उनीहरू फर्केर हङकङ आएनन्। त्यो भेट नै विदाइ भेट थियो भन्ने कहाँ थाहा थियो र!
यहाँबाट कति नेपालीको खरानी मात्रै देश फर्केको छ र यही एयरपोर्टमा छुटेकाहरू कति संसारबाट बिदा भैसके। अर्कोतिर कति प्रेमकथाहरू यही एयरपोर्टबाट सुरु र अन्त्य भए। कति अधुरा रहे, कति फेरि जोडिए। कति सँगै मर्ने–बाँच्ने वाचा गरेकाहरू यो एयरपोर्टको अराइभल हलबाट बाहिर आएनन्। यस्ता कथा–व्यथा बोक्ने यो एयरपोर्ट अनेकौँ अनेक अलिखित अभिलेखहरूको साक्षी हो।
एनिवान सिटिङ हियर?
एक अरिचित युवतीको आवाजले म झसङ्ग भएँ। फेरि उही भावुकताको गहिराइमा डुबेको रहेछु म सायद। घडी हेरेँ, नेपाल एयरलाइन्सको चेकइन काउन्टर खोल्ने समय भएको रहेछ। अब भने आज नेपाल जाँदै गरेका पाहुनाहरू आइपुग्ने बेला भयो। र, उनीहरूसँगै मैले पनि मेरो मनको लगेज पठाउनु छ। जसले दुई दशकदेखि स्वदेश फिर्ने आफन्तहरूसँगसँगै एकपटक स्वदेशको सयर गर्ने गरेको छ!
Shares
प्रतिक्रिया