हङकङको आकाशमुनि बसेर स्वदेश र कर्मदेशका विभिन्न विषयमा नियात्रा संस्मरण, लेख–निबन्ध, विचार–विश्लेषण र हङकङका अनुकरणीय नेपाली मूलका पात्रहरूबारे लेख्दै गर्दा यसपालि भने मेरो अन्तरमनलाई बिल्कुलै फरक विषयले तान्यो।
हङकङ सहर देखे–भोगेका र नभोगेका वा मात्र सुनेकाहरूले नसोचेको, कल्पनै नगरेको बिल्कुलै हँसिली, रसिली, फूर्तिली, परोपकारी ७२ वर्षीया एकजना चिनियाँ आमाको चाखलाग्दो जीवन कथा।
लेखको डोरी बाट्दै गर्दा स्वदेशकै ‘हेर्ने कथा’का शृङ्खलाहरू सम्झन पुगेँ म। यी आमाको कथा पनि ‘हेर्ने कथा’जस्तै श्रव्यदृश्य माध्यममा तयार गर्न पाए कति राम्रो बन्थ्यो होला!
विद्या चापागाईं र कमल कुमारको ‘हेर्ने कथा’ स्वदेश तथा विदेशमा बस्ने धेरै नेपालीहरूको अत्यधिक रोजाइमा पर्छ। विद्या चापागाईंको कथा भन्ने सरल र मीठो शैली यो कार्यक्रमको मुटु हो। अनगिन्ती विषयवस्तुमा प्रस्तुत हेर्ने कथाका हरेक शृङ्खलाहरू जीवन्त पात्रहरूले अभिनय गरेको सत्य घटनामा आधारित आर्ट मुभीजस्तै अब्बल लाग्छन्।
‘सर्पको दुलोबाट मुसा भ्यागुता निकाले’ जसरी कमल कुमार र विद्या चापागाईंले निकै खतरापूर्ण पदयात्रा समेत गरेर अकल्पनीय वा कहिल्यै थाहै नभएका विषयवस्तु पस्केर अचम्मित बनाउँछन् दर्शकहरूलाई। जसबाट विदेशमा जन्मेहुर्केको नयाँ पुस्ताले समेत सजिलै पितृदेशलाई सम्झन बुझ्न र अनुभूति गर्न सक्छ।
हाल हेर्ने कथा बनाउन बेलायतमा रहेका यी निर्माता प्रस्तोता जोडीलाई यो लेखजस्तै हङकङको बारेमा नसोचेको अर्को पाटो अनि यहाँ रहेका नेपालीबारे विशेष शृङ्खला बनाउन यही लेख मार्फत अनुरोध गर्दछु।
हङकङमा छोटो समयमै प्रगति र उन्नतिको उचाइ छोएका इमानदार, लगनशील र मेहनती नेपाली गरिखानेका कथा एउटा ठूलो कपासको पहाडजत्रै छ यहाँ। जसबाट कहिल्यै नसकिने ‘हेर्ने कथा’का अनगिन्ती बत्तीका मुठा कात्न सकिन्छ।
लेखमार्फत भने मैले समयले भ्याएसम्म लेखिरहेको छु। बाँकी क्रमशः गर्दै जाने छु।
अब प्रसङ्ग फेरि हङकङकै। यहाँको पदयात्रामा धेरै भेटिने जीवजन्तुहरूमध्ये गाई, भैँसी, मृग, बँदेल, बाँदर, सर्प अजिङ्गर, कालिज, तित्रा, खरायो, दुम्सी र लोखर्के आदि पर्छन्। यहाँका जङ्गलमा बाघ–भालु भने छैनन्। हङकङमा अन्तिम बाघ सन् १९६७ ताक ताइपोको जङ्गलमा देखिएको थियो रे। हङकङको लान्ताउ द्वीपको दक्षिणपूर्वी समुद्री तटको सिमसार क्षेत्र, सबैभन्दा अग्लो ताइमोसन पहाडको सेरोफेरो, पूर्वी भेगको साइकुङ, ताइपो, र ताप मुन अर्थात ग्रास आइल्यान्ड भनिने समुद्री टापु क्षेत्रमा ठूलो संख्यामा गाईगोरु, बाच्छाबाच्छी, राँगाभैँसी र पाडापाडीको बथान देख्न सकिन्छ।
यी घरपालुवा जन्तु मासु, दूध, दही, घ्यु, मोही वा प्राङ्गारिक मलका लागि पालिएका हैनन्। हङकङको कृषि तथा मत्स्य मन्त्रालयको रोहवरमा रहेका यी जीवजन्तुलाई कुटपिट गरे वा मारे कानुन लाग्छ। धार्मिक कारण भने हैन। मुख्य हङकङ द्वीपको केही स्थानमा जङ्गली बँदेलले स्थानीय सहरी इलाकामा पसेर स्थानीय र प्रहरीहरूलाई समेत निकै दुःख दिएर घाइते बनाएपछि सरकारले नियन्त्रणका नयाँ उपायहरू अपनाएको छ। आम नागरिकले यस्ता सबैखाले जङ्गली जनावरहरूलाई खानेकुरा नख्वाउन अनुरोध गरिनुको साथै यदि ख्वाएको देखिएमा अझै कडा कानुन लागू गरिएको छ।
बाँदरहरू धेरै बस्ने भएकोले काउलुन र सातिन सहरबीचको पहाडी थुम्कोलाई मङ्की हिल अर्थात् स्थानीय भाषामा ‘मा लौ सान’ भनिन्छ। जहाँ सप्ताहन्त र सार्वजनिक बिदामा धेरै नेपाली सङ्घसंस्थाहरूको वनभोज कार्यक्रम आयोजना गरिन्छ।
नेपालमा जन्मे हुर्केर हङकङ बसाइँ सरेको पुस्ताका मानिसहरू पदयात्रामा गोबर, गहुँतको गन्ध, चर्याप चर्याप घाँस चरिरहेका गाईभैँसी सुम्सुसुम्याउँदै फोटो खिच्दै नोस्टाल्जिक हुन्छन्। अझ गाई, साँढे वा राँगोको सिङ नै समाएर फोटो खिच्ने रहर पनि राख्छन् साथीहरू।
‘हङकङको पदयात्रामा साँढेले/राँगोले हानेर नेपाली पैदल यात्रीको मृत्यु’ भन्ने समाचार पनि बन्नसक्छ है साथी हो होसियार भनेर हाँसो गर्ने गर्छु म।
यी जीवजन्तुको दूध, दही, घिउ, मोही वा मासु खाएर हुर्केका वा स्वाद पाएका हङकङे नेपालीहरूबीच हाँसोठट्टा पनि चल्छ पदयात्रा र सामाजिक सञ्जालमा। खासगरी जङ्गली बँदेल देखेर धेरैले मुख मिठ्याउँछन्। जातीय संस्कार, संस्कृति, खानपान परिकार अनुसार छोइला, कचिला, भुटन, मःम, सुकुटी, करी, टी बोन वा फिले स्टेक सम्झँदै आहा! यस्तो अर्गानिक पाए त भन्दै भैँसीको डडाल्नुदेखि साँढेको जुरोसम्म छाम्दै गफिन्छन् प्रकृतिप्रेमी नेपाली पैदलयात्री मित्रहरू।
तर संसारमा एउटा नयाँ पुस्ता वा विचार पनि निकै फैलँदै छ पछिल्लो समय। धार्मिक आस्था वा खास जातजातिको कुल वा वंशमा जन्मेको र अन्य कारणले मान्छे शाकाहारी त छँदैछन् खासगरी भारतमा। स्वतःस्फूर्त भेगन अर्थात् माछामासुको त कुरै छाडौँ जनावरको छालाबाट बनेका पोसाकदेखि दूग्धजन्य पदार्थबाट बनेका दही, मक्खन, चिज, घिउलगायत खाद्य पदार्थ नखानेहरूको जमात बढ्दैछ संसारमा। जसको बारेमा मेरो एउटा लेख नेपालखबरमै केही वर्षअगाडि लेखेको थिएँ।
सट्टामा वनस्पतिबाट बनेका खाद्य पदार्थ प्रयोग गर्ने र स्पेशल भेगन मेन्युका परिकारहरू पनि रेस्टुरेन्टहरूले पस्किन थालेका छन् आजकल।
पृथ्वी ग्रहमा हामी मानवजत्तिकै बाँच्न पाउने अधिकार सबै प्राणीहरूको पनि छ भन्दै पशुपंक्षी अधिकार अनि जनावरप्रतिको निर्दयताविरुद्ध संगठित समेत हुँदै बहस चर्काउन थालिएको छ। हाम्रै देशको गढीमाईको मेलामा अन्धाधुन्ध काटिने जनावरहरूको बारेमा विदेशी सरोकारवाला र मिडियाहरूमा समेत चासो बढेको छ।
परम्परागत बोलकबोलमा जापानमा निकै महँगो मूल्यमा बेचबिखन हुने ‘ब्लुफिन टुना’ माछा मार्न खोज्ने जापानी माझीहरूलाई पशु अधिकारकर्मी तथा पर्यावरणकर्मीहरूले झण्डा हल्लाउँदै समुद्री बाटो छेक्छन् र विरोध गर्छन् आजकाल।
सन् १८२४ मा स्वतःस्फूर्त स्वयंसेवकहरूको पहलमा बेलायतमा ‘रोयल सोसाइटी फर प्रिभेन्सन अफ क्रुअल्टी टु एनिमल्स’ भन्ने संस्था खुलेको थियो। जसका शाखाहरू विभिन्न देशमा विश्वव्यापी रुपमा छन् अहिले। हङकङमा पनि यसलाई एसपीसीए अर्थात् ‘सोसाइटी फर प्रिभेन्सन अफ क्रुअल्टी टु एनिमल्स’ भनेर चिनिन्छ।
हङकङ काउलुनको गल्लीमा माउसँग छुटेको भर्खरै जन्मिएको मुठीभरिको बिरालोको छाउरो अनि तुङचुङनजिकै पदयात्रामा मसँग झ्याम्मिन आएको छिरबिरे खरायोलाई यही एसपीसीएको हटलाईनमा फोन गरेर बताएपछि यी जनावरहरूको ज्यान बचाएकोमा धन्यवाद भन्दै एम्बुलेन्स लिएर गएको याद ताजै छ म स्वयंलाई।
यी संस्थाहरूभन्दा पनि धेरैमाथि अर्थात् स्वयं यी जनावरहरूको रेखदेख र हेरचाहमा एकल रुपमा खटिएकी र बाँचुन्जेल लाग्ने प्रण गरेकी एकजना चिनियाँ आमा जिन ल्योङको बारेमा मैले हङकङमा धेरै सुने पनि भेटको संयोग भने जुरेको थिएन। हङकङको स्थानीय टेलिभिजनदेखि विभिन्न पत्रिकामा छाएकी यी आमालाई भेटेर गफिने धोको निकै पहिलेदेखि नै थियो।
एक वर्षअगाडि सप्ताहन्त मनाउन सपरिवार लान्ताउ द्वीपको दक्षिणपूर्वी पुइ ओ भन्ने तटमा पुगेका थियौँ। चिमावान पहाडमुनि लमतन्न फैलिएको यो समुद्री तट, पछाडिपट्टि ठडिएको लान्ताउ पिक र यसको पर्वतीय शृङ्खला, आँखाले नभ्याउने दक्षिण चीन सागरका पानीका छालहरू अनि छेउमा रहेको यो ऐतिहासिक सानो गाउँ मलाई असाध्यै रमाइलो लाग्छ। अनि यहीँको सिमसार क्षेत्रमा पुच्छर हल्लाउँदै चरिरहेको गाईभैँसीको बथान, चराचुरुङ्गीको आवाज अनि थरीथरीका पुतली र उड्ने गाइने किराको बाक्लो चहलपहलले स्वदेशको जन्म गाउँ धादिङ केवलपुर पुर्याउँछ मलाई जहिल्यै।
त्यो दिन हाफप्यान्ट र चप्पलमा एकजना पश्चिमा मूलका व्यक्ति ठूलो प्लास्टिकको बाल्टीभरिको सामान बिसाएर बालुवामा उग्राएर बसिरहेका दुईवटा राँगाका चोट लागेको आँखा, निधार र घाँटी वरिपरि औषधि लगाउन थाले। अलि पर एक हुल गाईबाच्छा उग्राइरहेका थिए।
मैले उनीसँग कुरा गर्ने बहाना खोज्दै सोधेँ, ‘वाउ! ग्रेट जब यु डुइङ, आर यु द भेटेरीनरी डक्टर?’
‘नट रियल्ली। आइ एम अ स्कुल टिचर, जस्ट मुभ्ड टु हङकङ फ्रम सांघाई, एन्ड ट्राइङ टु हेल्प जिन।’
‘हु इज जिन?’ मैले सोधेँ
‘देयर मम’ भन्दै उनले पालैपालो दुवै राँगाको निधार मुसारे।
‘रियल्ली?’ मैले हाँस्दै सोधेँ।
उनले थपे, यी मात्रै होइनन् करिब सवासयको हाराहारीमा यो क्षेत्रमा रहेका सबै गाईभैँसीहरूको सेवा र हेरचाहमा खटिन्छिन् उनी। हरेकलाई अलगअलग नाम पनि दिएकी छिन् उनले। हरेकलाई नाम अनुसार चिन्छिन् र बोलाउँछिन्। मलगायत अन्य गाउँबासीहरू चाहिँ फुर्सदमा सहयोग गर्छौं। अलि पर अरु घाइते गाईभैँसीहरूलाई पनि मलहम पट्टी लाउनु छ भन्दै उनी बाटा लागे। यी आमाको फोन नम्बर भने माग्न बिर्सेछु।
त्यसको केही हप्तापछि तुङचुङबाट पैदल पाक मङ गाउँ हुँदै मुइओको झरनाभन्दा अलि अगाडि पुगेका थियौँ सहयात्री कृष्ण पाण्डे र म। बिस्तारै बिस्तारै चल्दै गरेको पुरानो मोडलको टोयोटा जिपलाई एउटा राँगोले पछ्याइरहेको देखेँ।
अझ नजिकै पुग्दा त ड्राइभिङ सिटमा बसेकी एक महिला उसको टाउको मुसार्दै थिइन्। राँगो लुटपुटिइरहेको थियो।
‘हेलो! आर यु जिन?’ मैले सोधेँ।
‘एस, आइ एम। हाउ डु यु नो?’ उनले सोधिन्।
‘आइ हर्ड अबाउट यु, सो जस्ट गेस्ड।’ मैले आफू ‘फ्रिलान्स राइटर’ भएको र उनको बारेमा स्टोरी गर्न चाहेको बताएँ।
उनी गाडीबाट ओर्लिइन् र राँगोलाई मुसार्दै भन्न थालिन्, ‘यो पुइ ओको बथानबाट बाटो बिराएर यहाँ आएछ आज, मैले यसलाई उहीँ पुर्याउनु छ, नत्र गाउँलेहरूले उजुरी गर्छन्। फोन गर्नुस्।’
आफ्नो कार्ड दिएर उनी बिनादाम्लोको राँगो डोर्याएर बाटा लागिन्।
व्यस्तताले उनीसँग गफिने रहर अलि पर सर्यो। जब फुर्सद निकालेँ, उनको कार्ड हराएछ। चिनाजानीका उनका छिमेकी वसन्त आङ्बुहाङ भाइलाई सम्झेँ र फोन घुमाएँ।
‘ए पुइ ओकी चिनियाँ भैँसी आमा?’ उनले चिनिहाले। हङकङका डाँडाकाँडामा नेपालको झण्डा बोकेर ट्रेल दौडमा सक्रिय वसन्त भाइले नम्बर पनि पठाइहाले तुरुन्तै। फोन गरेँ, उठेन। अनि मेसेज गरेँ।
आमाको जवाफ आयो, आइतबार भेट्ने निधोसहित।
आइतबार बिहानै उही चिरपरिचित, मेरो प्रिय पुइ ओ समुद्री तटमा ओर्लिएँ।
उही पुरानो टोयोटा चलाउँदै आमा आइपुगिन्। गाडीबाट ओर्लिएकी मात्र थिइन्, नजिकै चरिरहेको एउटा भैँसी लचकलचक हिँड्दै आएर उनलाई सुँघ्न थाल्यो। उनले टाउको मुसारिन्।
मैले सोधेँ, ‘तपाईं यहाँ आएको यसले कसरी थाहा पायो?’
‘यसको नाम ल्योङ ल्योङ। अरुभन्दा अलि लोभी पनि छ। मेरो गाडीको आवाजले नै थाहा पाउँछ यसले,’ उनले सुनाइन्।
एकछिन है भन्दै गाडीबाट एक प्याकेट सुकेको घाँस निकालेर अलि पर रुखको फेदमा हालिदिइन्। भैँसी पुच्छर हल्लाउँदै खान थाल्यो। मैले झलक्क बाल्यकालकै स्वदेशको गोठ र भैँसी सम्झिएँ।
‘लेट्स च्याट ओभर अ कप अफ कफी’ भन्दै नजिकै समुन्द्र किनारको भुइँतले कफी सपमा छिर्यौँ हामी।
कफीको चुस्कीसँगै म उनलाई प्रश्नमाथि प्रश्न वर्षाउन थालेँ।
‘कतिवटा गाईभैँसीको हेरचाह गर्नुहुन्छ तपाईं?’
उनी औँला भाँचेर गन्न थालिन्, ‘मुइ ओ, पुइ ओ, सापलोङ र ल ओक गाउँ समेत सबै मिलाएर ११८ वटा जति।’
‘अनि गाई गोरु त?’
‘२०/२२ वटा मात्रै।’
‘ल हेर, यति धेरै गाईभैँसी हाम्रो देशमा भए त तपाईं धेरै धनी हो नि आमा!’ मैले विद्या चापागाईं शैलीमा भनेँ, अंग्रेजीमा।
आमाले भनिन्, ‘हङकङमा पनि म धनी छु त। जीवनभर आफूलाई र यी जनावरहरूलाई खान–लाउन र औषधि उपचार गर्न पुग्ने छँदैछ, बढी भएको धन मर्दा सँगै लिएर जाने होइन त।’
‘एकदम सही’ मैले भनेँ, ‘अनि खर्चबर्च कहाँबाट आउँछ?’
‘मेरो जीवनभरको कमाइको बचत, मनकारी जनावरप्रेमी दाताहरूको सहयोग। खासमा मौसमले साथ दिए, समयमा पानी परे घाँस प्रशस्तै हुन्छ। रुखको डाले घाँस पनि छ, तर काट्न गाह्रो हुन्छ। फेरि छिमेकी गाउँलेहरू रुखको हाँगा चाहिँ नकाटिदिए हुन्थ्यो, पर्यावरण बिग्रिन्छ भन्छन्। सबैको मन राख्नै पर्यो।’
‘अनि त्यो गाडीमा राखेको घाँस किन्नु भएको?’
‘हो। यति धेरै चौर र सिमसार क्षेत्र भए पनि वार्षिक तीनचार लाख हङकङ डलर बराबरको सुकेको घाँस चाहिँ किन्न पर्छ। सिधै आयात गर्न मेसो पाउँदिनँ धेरै भण्डार गर्ने ठाउँ पनि छैन। हङकङ जकी क्लबको चुनमुनमा रहेको हर्स ट्रेनिङ स्कुलबाट खटाइखटाइ अर्डर गर्छु। यहीँ ल्याइदिन्छन्।’
उनी भन्दै गइन्– ‘अरु औषधि उपचारमा खर्च हुन्छ। गाउँले स्वयंसेवकहरूले सहयोग गर्छन्। साधारण उपचार म आफैँ गर्छु। एकजना फिलीपिनो मूलका छिमेकी भेटेरीनरी डाक्टर पनि छन्। कहिले निःशुल्क वा न्यूनतम शुल्कमा उपचार गरिदिन्थे। तर अहिले उनी पनि निकै वृद्ध भए।
‘एकदमै जरुरी परे आपतकालीन नम्बरमा फोन गर्छु। हङकङ सरकार र एसपीसीएको क्याटल टिमले सहयोग गर्छन्। सबैभन्दा पहिला त हङकङ फायर डिपार्टमेन्ट र छिमेकी प्रहरी ‘आउ मा’ अर्थात् ‘भैँसीकी आमा’ भन्दै बोलाएको ठाउँमा छिटछिटो आइपुग्छन्। गम्भीर बिरामी जनावरहरूलाई ट्रकमा हालेर न्युटेरोटरीको जनावर उपचार केन्द्रमा लैजान्छन् र निको भएपछि ल्याएर छाडिदिन्छन्।’
‘म पनि सानो बेलामा भैँसी चराएरै दूध, दही, घिउ, मोही खाएर हुर्केको हुँ’ भन्दै मैले सामाजिक सञ्जालबाट लिइएको भैँसी दुहेको, कुँडेमा दूध तताएको, मोही पारेको तस्बिर देखाएँ।
‘हामीले यसो गरे उनीहरूको बच्चाले के खान्छन्? अन्याय भएन र?’ आमाले प्रश्न गरिन्।
‘हो तर सुरुमा थुन पगार्न थोरै दूध अनि खोले र कलिला घाँस दिइन्छ,’ मैले भनेँ।
‘आआफ्नो ठाउँको चलन हुन्छ। मलाई पनि यहाँ किन बेकारको दुःख गर्छेस्। दूध दोएर, दही जमाएर बटर बनाऊ अनि बेच न भनेर भन्छन् कतिले। तर मनले मान्दैन। दूध खाँदै गरेको पाडाबाच्छा अनि सञ्चो मानिरहेकी उनीहरूको आमाको मातृस्नेह देख्दा जीवनको सबैभन्दा आनन्द लाग्छ मलाई,’ उनले भनिन्।
‘तपाईं के कारणले जनावरप्रेमी बन्नुभो?’
उनले विस्तारमा सुनाइन्–
‘खासमा म सानैदेखि जनावरप्रेमी थिएँ। करिब अढाई दशकअगाडि घर बनाएर यहीँ नजिकै साप लोङ भन्ने गाउँमा बस्न थाल्दा मसँग दुःख पाएका ८/१० वटा कुकुर थिए। २०/२२ वटा कुखुरा पनि पालेको थिएँ। तर मासु खानलाई हैन।
एकदिन म करेसाबारीमा काम गरिरहेको थिएँ। एउटा भैँसीले मेरो घरको पर्खालमाथि मुन्टो अड्याएर मलाई हेरिरह्यो। मैले एउटा स्याउ लगेर दिएँ, केरा दिएँ, खाएन। म फर्किएर काममा लागेँ। पछि हेर्छु त अझै मलाई नै हेरिरहेका थियो।
मेन गेट खोलेर बाहिर निक्लिएर हेर्छु त उसको गोडामा नराम्रो चोट लागेको रहेछ। भलभली रगत आइरहेको थियो।
भाग्यवश छुट्टीको दिन परेकाले छिमेकी फिलिपिनो भेटेरीनरी डक्टर जोलाई फोन घुमाएँ। उनी घरै रहेछन्। तुरुन्तै आएर सहयोग गरे। करिब तीन महिनापछि उसको घाउ निको भयो। त्यसपछि भैँसीले भोक लाग्यो भने मेरो घरको पर्खालमा टाउको अड्याएर त्यसरी नै हेर्न थाल्यो।
पछि त अरु पनि आउन थाले। जनावरहरूमा पनि गज्जबको सेन्स हुन्छ। अनि यिनीहरूकै सेवामा लाग्ने प्रण गरेँ। त्यो निरन्तर चलिरहेको छ।’
‘अनि तपाईंले सबैको नाम पनि राख्नुभएको छ रे,’ मैले सोधेँ, ‘सबैलाई चिनेर नाम अनुसार बोलाउनुहुन्छ रे, कसरी? म त सबैलाई उस्तै देख्छु।’
आमाले भनिन्–
‘चिनिन्छ। साइडबाट हेर्दा उस्तै देखे पनि ठीक अगाडिबाट हेर्दा सबै फरक अनुहार र सिङको बनोट फरक हुन्छन्, हामी मानिस जस्तै।
‘हरेकलाई जन्मेपछि म नाम दिन्छु र कानमा गएर ठूलो स्वरले नाम भन्छु। दिनदिनै पाँचदस पटक त्यसरी बोलाएपछि त त्यही नामले बोलाउँदा उनीहरू लुरुलुरु अगाडि आउँछन्।
‘अझ बथानभित्रको बिरामी भैँसीहरूको उपचार गर्न बीचमा छिर्न गाह्रो हुन्छ। म ठूलो स्वरले २/३ पटक जब नाम बोलाउँछु, तब बथानबाट बाहिर आउँछ बिरामी चाहिँ। भैँसीमा सुँघेर थाहा पाउने स्मरणशक्ति र अनुशासन गाईहरूभन्दा बढी हुन्छ।’
गाईभैँसीसँगको निकटताले तिनको मासु खान छाडेको पनि आमाले बताइन्। ‘कुनै समयमा बिफ टी बोन स्टेक विद ब्ल्याक पेपर सस मेरो फेबरेट खाना थियो। तर जब म यो खाएर यिनीहरू नजिक आउँथे मलाई सुँघेर मुन्टो बटार्थे। छालाको पेटी वा जुत्ता लाएर उनीहरूको नजिक जाँदा पनि खासै कम्फर्टेबल फिल गरेजस्तो लागेन। त्यो बेलादेखि बिफ खान र छालाबाट बनेका वस्तुहरू प्रयोग गर्न छाडिदिएँ।’
‘तपाईंको व्यक्तिगत जीवनबारे प्रश्न गर्न सक्छु?’ मैले सोधेँ।
‘अवश्य। खुल्ला किताबजस्तै हो मेरो जीवन।’
‘त्यसोभए तपाईंको श्रीमान्?’
‘उमेरले ८६ काटिसके। अलि बिरामी छन्। क्यानडामा बस्छन्, आजकाल फोनमा कुरा हुन्छ।’
‘अनि छोराछोरी?’
‘उनीपट्टिका छन्। तर मपट्टिका चाहिँ यिनै’ भनेर हाँस्दै भैँसीसँगको फोटो भएको कार्ड देखाइन्। अनि भनिन्, ‘ऊ यो आन्चाइ, यो ङाउ ङाउ अनि यो यान यान लाई। आन्चाइ अलि बिरामी थियो। ठीक हुँदैछ, अर्को समूहको सँग सिङौरी खेलेछ अस्ति भर्खरै।’
‘अनि तपाईंको बाल्यकालदेखि विबाह सम्मको कथा?’
उनी बेलिबिस्तार लाउन थालिन्–
‘मेरा हजुरबा चीनको मूलभूमिको ग्वाङझाउबाट हङकङ बसाइँ सरेका अरे। म चाहिँ हङकङको चेङ चाउ भन्ने टापुमा सन् १९५२ मा जन्मेको। मैले त्यहीँ सरकारी स्कुलमा अहिलेको प्लस टुसम्म पढेँ। मेरा बाको एक्जस्ट फ्यान र झ्यालको ग्रिल बनाउने व्यवसाय थियोे। म फुर्सद हुँदा बासँगै अरुअरु आइल्यान्डमा डुङ्गामा जान्थेँ। बा सामानका अर्डर लिने अनि पुर्याउने गर्नुहुन्थ्यो।
चीनमा सांस्कृतिक क्रान्ति चल्दै थियो। बा देशभक्त तथा माओत्सेतुङका ठूलो प्रशंसक हुनुहुन्थ्यो। वहाँ हङकङमा ब्रिटिस शासन हटाउन पर्छ भन्ने हङकङको भूमिगत कम्युनिस्ट पार्टीमा समेत आवद्ध हुनुहुन्थ्यो। म र मेरो साथीहरू घरको झ्याल ढोका थुनेर चीनको राष्ट्रिय गीत गाउँथ्यौँ। हङकङको ब्रिटिस सरकारले स्थानीय चिनियाँहरूलाई नै गुप्तचर राखेको थियोे। यो १९६७ को कुरा हो। स्टार फेरीको टिकट मूल्य बढाएको निहुँमा ठूलो आन्दोलन भयो। तर तत्कालीन ब्रिटिस हङकङ सरकारले त्यसलाई दबायो। कम्युनिस्ट पार्टी र तत्तसम्बन्धी प्रकाशनमा समेत नियन्त्रण गर्यो।
त्यसपछि बाको धेरै काम यो अहिले बसेको लान्ताउको मुइ ओ भन्ने ठाउँबाट आउन थालेपछि हामी यो ठाउँमा बसाइँ सर्यौँ। म होटल म्यानेजमेन्ट पढ्न थालेँ। साथै सेन्ट्रलको विङ्ग अन प्लाजामा आफ्नो पकेट खर्चको लागि समर जब पनि गर्थें।
म काम गर्ने फ्लोरमाथि एउटा इन्जिनियरिङ आर्किटेक्ट कम्पनी थियोे। मेरा अहिलेका श्रीमान् त्यहीँ काम गर्ने रहेछन्। लिफ्टमा झल्याकझुलुक देखभेट हुँदाहुँदै उनी मलाई पछ्याउन लागे। उमेरमा मभन्दा १५ वर्ष जेठा हुँदाहुदै पनि बिहे भयो। उनी आर्टिटेक्ट इन्जिनियर अनि मैले बाबासँग व्यावसायिक कला सिकिसकेको थिएँ। हामीले हाउजिङ व्यववसाय सुरु गर्यौँ। धेरै घर बनाएर बेच्नेदेखि मैले त प्रपर्टी एजेन्सी पनि खोलेँ। यहाँ माथिको लक्जरियस भिल्ला चङ फु गार्डेन हामीले नै बनाएको। मुइ ओ वरपर कति छन् कति। तुङचुङको विकास र नयाँ एअरपोर्ट बनेको थिएन। डिस्कभरी बेपछि मूल्यमा पनि कम भएकोले युरोपियन मुलकाहरूका मुइ ओ र दक्षिण लान्ताउमा किनेर वा भाडामा बस्न मन पराउँथे। कमिसनको कमाइ राम्रो थियो। सन् १९९५ मा हामी दुवै रिटायर्ड हुने सल्लाह गर्यौँ अनि यिनै जनावरहरूको सेवा गर्न थाल्यौँ। त्यो बेलाको चुलिएको व्यावसायिक आम्दानीभन्दा पनि यी जनावरहरूको सेवा गर्दा अर्कै आनन्द आउँछ।’
‘अनि दैनिकी कसरी बित्छ त?’
‘दुईजना फिलपिना घरेलुु सहयोगी छन्। बिहान ५ बजे उठ्छु। दैनिक राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार अनि मौसम अनुमान हेरेपछि ब्रेकफास्ट खाएर निक्लन्छु। यिनीहरूको अनुगमन वा बिरामी भए उपचार अनि निकै भोक लागे पछ्याउँछन्, खाना दिन्छु। कुनै कुनै त यति अल्छी छन् कि मलाई देखेपछि चर्न छाडेर घाँस माग्छन्। दिउँसोको खानापछि फेरि एक चक्कर लाउँछु अनि पाँच बजे घर फर्किन्छु।’
‘भगवान मान्नुहुन्छ?’
‘अहँ खासै मान्दिनँ। कन्स्ट्रक्सन व्यावसाय गर्दा कामदारहरूलाई कहिलेकाहीँ चोटपटक लाग्थ्यो अनि उनीहरू तैँले भगवान नमान्ने भएर यस्तो भएको हो भन्थे। त्यसैले उनीहरूको मन राख्दिन यही लान्ताउको कन्याम बुद्धमा नयाँ वर्षको सुरुमा आउने साल राम्रो होओस् र अन्तिम दिन यो वर्ष राम्रोसँग बितेकोमा धन्यवाद भन्न जान्थेँ बस्। मेरो विचारमा सेवा नै धर्म हो,’ आमाले थपिन्।
मैले स्वदेशमा आजकाल मार्क्स, लेनिन, स्टालिन र माओत्सेतुङको तस्बिर रामनामीले छोपेर धार्मिक रुपान्तरणमा छलाङ मार्न थालेका राजनेता कमरेडहरूलाई सम्झिएँ।
मैले भनेँ, ‘हुन त तपाईंसँग जनावर सेवाको कुरा सुन्न आएको, अब थोरै हङकङको राजनीतिक कुरा गरौँ है त!’
‘हुन्छ,’ आमाले मुन्टो हल्लाईन्।
‘हङकङको पछिल्लो हिंस्रक आन्दोलन र सुरक्षा कानुन अनि सुपुर्दगी सन्धिबारे के लाग्छ तपाईंलाई?’
‘पहिलो कुरा त हामी सबै चिनियाँ हौँ र हामीले हाम्रो देशलाई माया गर्नुपर्छ। माओत्सेतुङदेखि सी चिनफिङसम्म सबैले देशको स्वार्थ सबैभन्दा माथि राखेकाले हामी अहिले संसारकै शक्तिशाली छौँ, आर्थिक, प्राविधिक भौतिक विकास र सैनिक क्षमतामा समेत। हङकङको आन्दोलन चीनविरुद्ध हङकङलाई प्रयोग गर्न चाहने, खासगरी अमेरिकी, बेलायती र स्वतन्त्र ताइवान चाहनेहरूको प्रायोजनमा भएको थियोे। हङकङको माटोमा विदेशी झण्डा हल्लाएर प्रजातन्त्र मागेको कि उही पुरानो दासता?’
केही हङकङका कार्यकारी प्रमुखहरूको पनि कमजोरी छ। पहिलो कार्यकारी प्रमुख तोङ ची वा व्यावसायिक घरानाबाट आएकाले खासै प्रशासनिक अनुभव थिएन। डोनाल्ड चाङले नुनको सोझो गरेनन्। बरु क्यारी ल्यामको सट्टा न्यु पिपुल्स पार्टीकी रेजिना यिप भइदिएकी भए राम्रो समाल्थिन्। उनी अध्यागमन प्रमुख, सुरक्षा सचिव हुँदै मलाई उनको कार्यशैली मनपर्थ्यो। जे होस् अहिलेका जोन लीले सबै चिज लयमा फर्काएका छन्। संसारमा चिनियाँ भएर बाँच्न पाउँदा गर्व लाग्छ मलाई।’
ओहो! झण्डै दुई घण्टा बितेछ। हाम्रो वार्तालापको बीचबीचमा कफी सपमा आएका लगभग सबै ग्राहकले आउँदा र जाँदा यी आमालाई हाइ र बाइ भनेको सुनियो।
कपको पिँधमा सेलाएको कफी सिध्याउँदै मैले भनेँ, ‘ल अब अरु केही सोध्नुपरे म तपाईंलाई फोन या मेसेज गरौँला।’
‘हुन्छ,’ आमाले भनिन्।
बिजुली चम्कँदै मेघगर्जन सहितको कालो बादल दक्षिण चीन सागरबाट हामी भएतिर सोझिँदै थियो।
‘ठूलो पानी पर्लाजस्तो छ म दाइ गो लाई औषधि लगाउँछु अनि तपाईंलाई पर बसस्टपसम्म छोडिदिउँला,’ उनले भनिन्।
हामी बाहिर निस्कियौँ। आमाले गाडीबाट केही औषधि निकालिन् र खल्तीमा राखिन्। हामी दाइ गो भएतिर सोझियौँ।
ऊ बालुवामा मुन्टो पसारेर सुतिरहेको थियो।
आमाले ल हेर्नु है भन्दै बोलाईन्, दाइ गो! दाइ गो!
दाइ गोले मुन्टो उठायो।
आमाले निधार मुसार्दै रातो भएर सुन्निएको दाहिने आँखा र सिङको फेदमा औषधि लगाइदिइन्।
हामी फर्कियौँ। दाइ गो पनि उठेर आयो। आमाले फेरि एक प्याकेट घाँस हालिदिइन्। दाइ गो पुच्छर हल्लाउँदै खान थाल्यो। अलि पर एक हुल भैँसीहरू आमालाई हेर्दै थिए।
आमाले भनिन्, ‘अब जाऊँ, मलाई देखेपछि चर्न अल्छी गर्छन् सबै। भएभरको घाँस अहिले सके हिउँदमा के ख्वाउनू?’
आमाले गाडीको स्टेयरिङ घुमाइन्। मैले जिपभित्र आँखा घुमाएँ। चाङ लगाएका सुकेका घाँसका थैला, तीनचार बकेटभरि थरीथरीका औषधि।
‘अनि यति धेरै फलफूल?’ मैले सोधेँ।
‘यिनीहरूलाई स्याउ, केरा र सुन्तला मन पर्छ। मसँग जम्काभेट भयो कि आश गर्छन्। यसरी खान दिँदा आत्मियता पनि बढछ।’
हामी पुइ ओबाट लोअर चाङ्सातर्फ सोझिँदै थियौँ। आमाले मलाई दोबाटोको बसस्टपमा छाडिदिइन्। म उनका परोपकारी दयालु जीवात्माप्रेमी हात ढोग्दै बिदा भएँ।
मुइ ओबाट तुङचुङ जाने एघार नम्बरको डबलडेकर बस पाक कुङ आउ भञ्ज्याङतर्फ उकालो लाग्दै थियो। म जीवनमा एउटा अचम्मको अनुभव लिएर घर फर्कंदै थिएँ।
बाटाभरि धर्ममा भन्दा सेवा र अहिंसामा विश्वास राख्ने यी आमाको जनावर मुसारेको चाउरी परेको मायालु हात मेरो अगाडि आइरह्यो।
त्यसैले त ओशोले भनेका थिए, ‘धर्म की सब से सरल व्याख्या– किसी भी आत्माको हमारे वजह से दुःख ना पहुँचे। यही धर्म है।’
ओशोबारे नसुनेकी भए पनि यही शैलीमै जीवन जिउने कला भएकी यो समयकी एकजना महान आमा हङकङकी सबैकी जिन ल्योङ आमा!!
Shares
प्रतिक्रिया