प्रभुको पाउको म सफा धुलो हुँ
दुनियाँको भने म आँखाको फुलो हुँ
मलाई मन्त्री अवश्य नै दिनोस्!!
खुल्ला रहोस् सधैँ हजुरको दरबार
चाहे यो नेपाल अर्कैले किनोस्
मलाई मन्त्री अवश्य नै दिनोस्!!
सर्सती कवितांश पढ्दा सधैँ स्वदेशका प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री पदको मियोमा घुमिरहेको समग्र देशको समसामयिक राजनीतिसँग मिल्दोजुल्दो भए पनि यो कविता भने करिब ६७ वर्षअगाडि रचिएको हो।
‘हङकङ साहित्यिक साझा शृङ्खला’का संयोजक, कवि तथा चित्रकार रमण गुरुङले एउटा फोनवार्तामा ‘ल है कमलजी! यसपालिको १३०औँ विशेष कविता वाचन शृङ्खला ग्रास आइल्यान्डमा गरिने भएको छ। जसरी भए पनि कविता सहित समय निकाल्नुहोला’ भनेका थिए। शृङ्खलाद्वारा हङकङमा अनवरत रुपमा विगत १२ वर्षदेखि हरेक महिनाको अन्तिम आइतबार गरिने कविता वाचन कार्यक्रममा समयले भ्याएसम्म पुग्ने गर्छु म। यस्ता आउटडोर कार्यक्रमहरू चाहिँ सकभर छुटाउँदिनँ।
अनि म आफ्ना कविताहरू खोज्न थालेँ। केही लेख्न सुरु गरेका, केही आधाआधि, केही पहिला सुनाएका कविताभन्दा कवि माहौलमा अलि फरक, समय सान्दर्भिक कविता वाचन गर्ने सोच आयो। हङकङका कतिपय यस्ता कार्यक्रमहरूमा म आफूलाई मनपर्ने खासगरी बाका छन्द कविता र अरु रचनाकारहरूको मनपरेका कविताहरू कविको अनुमति मागेर वाचन गर्ने मेरो सोख हो र छँदैछ। नेपालखबरमा लेख लेख्न थालेपछि भने मेरो कविता सिर्जनामा अल्पविराम लागेको छ आजकाल। अनि घरको दराज पुस्तकालयबाट बाको कविता संग्रहहरू निकालेँ। अनि ‘शङ्कै शङ्का’ भन्ने कविता संग्रहको पाना पल्टाउँदै जाँदा ‘मलाई मन्त्री दिनुस्’ भन्ने शीर्षकको कवितामा मेरो आँखा र मन अडियो।
प्रगतिशील जनकवि केवलपुरे किसानद्वारा रचित उक्त व्यंग्य कविता विसं २०१३ सालमा ‘नौलो पाइलो’ भनिने त्रैमासिक साहित्यिक पत्रिकामा छापिएको रहेछ। २००६ सालमा प्रजातान्त्रका लागि सङ्घर्ष गर्दा पद्म समशेरले वहाँ लगायत १३२ जनालाई देश निकाला गर्दाको संस्मरण सुनाउनुहुन्थ्यो मलाई। तर २००७ सालमा प्रजातन्त्र आइसकेपछि पनि अगुवा नेतागण सधैँ प्रधानमन्त्री र मन्त्री पदकै लागि तँछाडमछाड गरेको देखेर वहाँलाई यो व्यङ्ग्य कविता फुरेको बताउनुहुन्थ्यो।
त्यो बेलामा मन्त्री बन्न बिन्तिभाउ, चाकडीचाप्लुसी राजालाई गरिन्थ्यो। अहिले भने पार्टीका उपल्ला नेताहरूलाई। उहिलेको कविता अहिलेको देशकाल र परिस्थितिमा समेत सान्दर्भिक हुनु निकै दुःखद संयोग हो। जसका अरु हरफ यस्ता छन् :
प्रजातान्त्रिक पद्धतिमा दुनियाँ ढाल्ने छु
क्रान्तिकारी कदम म आफै चाल्ने छु
अनि बेलाबेलामा पुग्ने छु दिल्ली धाम
उहीँ फत्ते गर्ने छु नेपालीको सारा काम!!
विदेशी हस्तक्षेपको घोर विरोध गर्ने छु
कलकत्ताको मैदानमा प्रेस सम्मेलन गर्ने छु
चाकडीमा पहिलो नाम मेरो नै लिनोस्
मलाई मन्त्री अवश्य नै दिनोस्!!
प्रभो! बिन्ती सुनिदिनोस्!!
यो मन्त्री पद पनि अचम्मको छ। अहिले समेत देशमा फुटने, जुट्ने, गठबन्धन, गठन, विघटन, सत्ता परिवर्तन सबै यिनै पदको कारणले भएका छन्। जसले गर्दा मन्त्री हुनु देश र जनताको सेवाको लागि भन्दा पद, प्रतिष्ठा, शक्ति र धनआर्जनको लागि भन्ने सन्देश प्रवाह भइरहेको छ।
यो क्षेत्रमा लाग्ने कोहीले रातारात चर्चाको चुली चढ्छन् भने कोही जीवनभर त्याग–तपस्या गर्दा पनि लाखापाखा लाग्छन् वा जस्ताको तस्तै हुन्छन्। कतिपय चर्चाको चुलीबाट एकैचोटि गर्ल्यामगुर्लुम खसेका पनि छन् र कति खस्नेछन्। हाम्रो देशमा मात्र होइन, संसारमै सबैभन्दा बढी घात अन्तर्घात, स्वार्थ र बेइमानी राजनीतिमै हुन्छ।
त्यसैले त ओशोले भनेका थिए, ‘राजनीति नीति नहीँ है, अनीति है। न मालुम किस बेइमानोँ ने उसे राजनीति नाम दे दिया! नीति तो उसमे कुछ भी नही है। राजनीति है : विशुद्ध बेइमानीका कला।’
तर सबैका सबैलाई एउटै जाँतोमा राखेर पिँध्दा भने अलि अन्याय हुन्छ।
बाको कविता नोट प्याडमा टाइप गर्दागर्दै कविताको शीर्षकले गर्दा म मन्त्री र राजनीतिमै मनमनै बहकिएछु अलिबेर।
अब लागौँ नियात्रातर्फ।
बिहानै तुङचुङको रेल स्टेसनबाट तानेको रेलले डाइमन्ड हिलको भूमिगत स्टेसनमा मलाई छोडिदिएर आफ्नो बाटो लाग्यो। लामो समयान्तरपछि यो स्टेसन पुग्दा अझै सेवा सुविधाको स्तरोन्नति भएको अनुभूति गरेँ। जहिल्यै हङकङमा लामालामा स्केलेटर अर्थात् हिँड्ने भर्याङबाट अटाइनअटाइ मानिसहरूको लावालस्कर तलमाथि गरेको देख्दा मलाई उहिल्यै गाउँको पानी घट्टको सोलीबाट मकै खसेझैँ लाग्छ। त्यहाँ मकै पीठो भएर निस्कन्छ तर यहाँ मान्छेहरू भने सग्लै।
रेल बिसौनीको भेटिने स्थानको निस्कने बाटो एक्जिट सी वानमा भनिएको समयभन्दा अलि चाँडै नै पुगेछु। हङकङ साहित्यिक साझा शृङ्खलाको सेतो टिसर्टमा एकजना महिला देखिए पनि उनीसँग मेरो चिनजान थिएन।
केहीछिनमा कविहरू डोम राना, नरजीत राई र विशु सम आइपुगेपछि समय काट्न सजिलो भयो।
बस्दाबस्दै धमाधम अरु कविहरू थपिए पनि केही साथीहरू आउन अलि समय लाग्ने बताए संयोजक रमणजीले। ताप मुन अर्थात ग्रास आइल्यान्ड पटकपटक पुगेका डोम राना भाइ र मेरो चाहिँ पहिलोपटक भएकोले संयोजकको अनुमति लिएर उहीँ भेटौँला भनेर हामी दुईजना पहिल्यै बाटो लाग्यौँ।
भरिभराउ दुईतले काउलुन मोटरबस कम्पनीको ९६ आर बसले ‘चुङ क्वान ओ’को गगनचुम्बी आवास भवनहरूलाई परिक्रमा गरेर काउलुन पिकको मुनि हुँदै क्लियर वाटर बेतिरको बाटो सोझ्यायो।
दायाँपट्टि सदावहार जङ्गल, बायाँपट्टि तरेली परेका पहाडी शृङ्खला र साइकुङ बेसी, सिमसिमे पानीले ओसिएको पिच बाटोमा सुकेर झरेका रुखका पातहरू कुल्चेर बस गुड्दा उहिल्यै बासँग टाटा ट्रकको सिटमा बसेर त्रिभुवन राजपथको सिमभञ्ज्याङ हुँदै हेटौँडा जान लाग्दाको झझल्को आयो मलाई।
सन् १९३२ अर्थात् आजभन्दा ९२ वर्षअगाडि बनेको क्लियरवाटर बे रोडको दायाँबायाँका बङ्गलो बस्तीहरू ब्रिटिस शासनकालदेखि अहिलेसम्म हङकङको धनाढ्यहरूको बासस्थानमा गनिन्छ।
अलि अगाडि यो रोडलाई छाडेर बस बायाँ हुँदै साइकुङतिर सोझियो। दुईतले बसको चालकभन्दा माथिको अग्रभागबाट साइकुङ सहर जाने ओरालो बाटो लाग्दा म जहिल्यै हवाई जहाज अवतरण गर्दाको अनुभूति गर्छु।
पूर्वी हङकङको साइकुङ खासगरी समुद्री परिकारको खानपिनका भोजनालयहरू, वाटर स्पोर्ट्स, अनगिन्ती पदयात्रा मार्ग र स–साना पानीजहाज चढेर अन्य टापुहरूमा जानको लागि प्रसिद्ध छ। यसको सेरोफेरोमा सानाठूला गरी ७० वटा टापुहरू हङकङ प्रशासनिक एकाइको मातहतमा छन्। त्यसको अगाडि मूलभूमिसँगको समुद्री सीमा छ।
अझ हङकङको सबैभन्दा लामो एक सय किमिको म्याक्लेहोस ट्रेलको सुरुआत स्थल, युनेस्को ग्लोबल जियोपार्क, सार्प पिक, अनि मानव बस्तीविहीन ठुल्ठूला र निकै सफा साइ वान, हामतिन र लङ की वान समुद्री तटहरू पनि यही भूभागमा भएकोले पनि सप्ताहन्त र सार्वजनिक बिदाका दिनहरूमा प्रकृतिप्रेमीहरूको भीडभाड हुन्छ यहाँ।
हङकङको अन्य स्थानजस्तो अझै पनि गगनचुम्बी बासस्थान बन्ने रोग नलागेको साइकुङबाट नै हङकङमा धानबाली भित्रिएको थियो अरे। करिब तीनसय वर्षअगाडि मूलभूमिबाट आएका हाक्का समुदायका कृषकहरूले यो स्थानमा खोरिया फाँडेर बस्ती बसालेको इतिहासमा पढ्न पाइन्छ।
साइकुङको बस बिसौनीमा केही यात्रुहरू ओर्लिए र केही चढेपछि बस अगाडि बढ्यो।
अर्को बिसौनी सन् ७० को दशकमा बनेको ६० अर्ब ग्यालेन क्षमताको हाइल्यान्ड रिजर्भवायरको मूलगेटमा पुगेपछि बस लगभग आधा खाली भयो। प्रकृतिप्रेमी पदयात्रीहरूको एउटा लामो लाइन त्यतातिर सोझियो।
बस अब ‘पाक ताम आउ’ भनिने दोबाटोको बिसौनीमा अर्को चर्चित पदयात्रा मार्ग ‘सार्प पिक’तिर पदयात्रा जाने यात्रुहरूलाई ओरालेर ‘ओङ सेक पियर’ भनिने अर्को अन्तिम बिसौनीमा रोकियो। बस चालकलाई धन्यवाद भन्दै हामी ओर्लियौँ।
बसबाट ओर्लेका यात्रुहरू कुरेर धुवाँ उडाउँदै बसेका सानाठूला पानीजहाजहरू तयार थिए। अन्य टापुहरूमा पनि जाने अलगअलग जहाज भएकोले ताप मुन टापु नै जाने चाहिँ निर्क्यौल गरेर हामी चढ्यौँ। पूर्वी साइकुङको सफा र नीलो समुद्रको ज्वारभाटामा डुबुल्की खेल्दै जहाज अगाडि बढ्यो। दायाँतर्फ सार्प पिकको चुचुरो र सेरोफेरोबारे त मलाई थाहा थियोे। बायाँ तरेली परेका मैले हिँड्न बाँकी हरियाली पहाडी शृङ्खलाहरूको नाम भूगोल र पदयात्रामा मार्गबारे डोम भाइले मलाई बताए।
कविता साहित्यजत्तिकै खेलकुद र हङकङका लगभग सबै ट्रेल रेसहरूमा नेपालको झन्डा बोकेर दौडने डोम भाइसँग मेरो लामो चिनजान भए पनि आक्कलझुक्कल पदयात्रामा बाहेक भेटघाट भने विरलै हुन्थ्यो।
जहाज ‘तान क्वा वान’ भन्ने अर्को समुद्री तटको माझी गाउँमा रोकियो। करिब तीन वर्षअगाडि सार्प पिक चढेर फर्कंदा बाटो बिराएर हराएपछि करिब राति एघार बजेतिर हङकङ प्रहरीको टोलीले यही ठाउँबाट हाम्रो उद्धार गरेको विषयमा एउटा संस्मरण नेपालखबरमै लेखेको थिएँ।
‘तान का वान’पछि पानीजहाज अन्तिम गन्तव्य ग्रास आइल्यान्डको बिसौनीमा आइपुगेपछि हामी ओर्लियौँ।
करिब १.६९ स्क्वायर किमि क्षेत्रमा फैलिएको यो टापुको जनसंख्या भने २ हजारभन्दा कम भएको अनुमान गरिन्छ। उत्तरपूर्वी हङकङको ताइपो प्रशासनिक एकाइमा पर्ने यो ठाउँ क्याम्पिङको मौसममा रात बस्नेहरूले भरिभराउ हुन्छ।
सामाजिक सञ्जालमा नेपाली गीत र नवविवाहित जोडीको भिडिओ सुटिङदेखि अधिकांश क्याम्पिङ र प्रकृतिप्रेमी हङकङे नेपालीहरूले समेत टेकिसकेको यो ठाउँको अर्को विशेषता स्वदेशको जस्तै घरपालुवा जनावर गाईबाच्छाहरूसँगको सामीप्य पनि हो। यहाँको कृषि तथा मत्स्य मन्त्रालयको रोहवरमा रहेका यी गाईवस्तु जताततै देख्न सकिन्छ यहाँ।
केहीबेर नजिकैको सेरोफेरो घुम्दै गर्दा बाँकी सबै साथीहरू चढेको पानीजहाज पनि आइपुग्न लागेको सुनेपछि डोम भाइ र म फेरि जहाज बिसौनीमैं फर्कियौँ।
नेपाली भाषामा लेखिएको एउटै सेतो टिसर्टमा जन्तीजसरी अगाडि बढेको हाम्रो लस्कर देखेर स्थानीयहरूले टोलाएर हेरे हामीलाई।
समुद्री किनाराको एकदुई तले जस्ता र टायलले छाएका घरहरूको सानो बस्ती, सुकाएर बेच्न राखेका समुद्री खाद्यवस्तुका पसल, रेस्टुरेन्ट र ब्रिटिसकालीन पुरानो प्रहरी चौकी भवन पार गरेर तर्पिनतर्पिन उकालो हुँदै टापुको थलीमा पुग्दै गर्दा कतै चर्दै, उग्राउँदै, बस्दै गरेका गाईबाच्छाका बथान र गोबरको गन्धले सबै रमाएर तस्बिर खिच्न थाले।
सबैले घरघरबाटै वा किनेर खानाको एकदुई डिस लिएर आउने भने पनि अधिकांश महिला सहभागीहरूको झोला भने निकै गह्रौँ देखिन्थ्यो।
ल है चाम्रेको तातोले त मेरो पिठ्युँ नै तात्यो भन्दै कवियत्री जानु काङमाङ लिम्बूसँगै खानपिनका झोलाहरू बिसाए सबैले। लामो यात्रापछि सबै भोकाएकाले भोजनपछि मात्रै कार्यक्रम गर्ने सल्लाह भयो।
निकै जाँगरिला महिला सहभागीले प्लास्टिकको पञ्जा लाएर एकैछिनमा बफे तयार गरेर डाडु पन्यु लिँदै लाइनमा बसेर थाल थाप्न भने सबैलाई।
‘होइन यो पितृसत्तात्मक युगकै झझल्को भएन र? सबैले सँगै खाँदा भइहाल्छ,’ मैले प्रश्न गरेँ।
‘हैन, आज माइती राजाहरूलाई चेलीबेटीले खुवाएको सम्झेर खाऊँ न,’ कवियत्री सुनिता गिरीले भनिन्।
सेलरोटी, पिरोपिरो लपक्क परेको आलुदम, कालो चनाको तरकारी, पहेँलपुर चाम्रे, गुन्द्रुक साँधेको, गोलभेडाको चटनी, मटर पुलाउ अनि कुखुराको सिकार प्लेटमा थाप्दै गर्दा वनभोज कम रेस्टुरेन्ट बढी लाग्यो। साझा शृङ्खलाकी उपसंयोजक कवियत्री अरुणा शर्माले खुर्सानी खाने कोही छ? भन्दै अन्जुलीभरि ताजा हरियो खुर्सानी र सिसीको पिरो अचार देखाइन्।
अर्को टेबुलभरि फलफूल थुप्रिएको थियो। बस के चाहियो अरु?
खानाको गन्धले गाईबाच्छाहरू चर्न छाडेर हामीतिर लहसिन थाले। फलफूल खाएर जालान् भन्दा त दिनभरि हाम्रै वरिपरि घुमिरहे। अझ हङकङमै जन्मे हुर्केकी सबैभन्दा कान्छी सहभागी तेह्र वर्षीया सुनिस्का याक्खाले उनीहरूलाई फलफूल खुवाएर भरपूर मनोरञ्जन लिइन् त्यो दिन।
संयोगले त्यो दिन सपरिवार त्यहीँ क्याम्पिङ बस्न पुगेका हङकङका अर्का साहित्यकार कवि टंक सम्बाहाङ्फेसँग निकै लामो समयपछि जम्काभेट भयो। सम्बाहाङ्फे, मोती चाम्लिङ, पशन तमु र म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टरमा आबद्ध हुँदा करिब पन्ध्र वर्षअगाडि हङकङकै लामा आइल्यन्डको बतासे डाँडामा यस्तै कवि गोष्ठी आयोजना गरेका थियौँ हामीले। जसबारेको एउटा संस्मरण उहिल्यै नेपालखबरमा लेखेको थिएँ मैले।
टंकजीले आफ्नो युट्युब च्यानलको लागि कार्यक्रमबारे सहभागीहरूसँग छोटोछोटो भिडिओ क्लिप रेकर्ड गरे।
नेपालबाट अघिल्लो दिन मात्रै हङकङ आइपुगेकी कविता र मुक्तककी सिद्धहस्त खानी कल्पना काफ्लेसँग लामो समायान्तरपछि स्वदेशका पछिल्ला साहित्यिक गतिविधिबारे जानकारी पाइयो। नेपाल वायुसेवा निगमको हङकङ कार्यालयमा छोटो समय सरुवा भएर बस्दा साझा शृङ्खलाका हरेक कार्यक्रममा उनको सिर्जना वाचनको प्रशंसकहरूमध्ये एक थिएँ म, खासगरी मुक्तक र छन्द कविताको।
यो आइल्यान्डबाट अन्तिम पानीजहाज साँझ छ बजे जाने हुनाले हामीसँग समय थियो।
सहभागीमध्ये अधिकांशले यो टापुमा पहिलोपटक पाइला टेकेकोले खानपिनपछि सेरोफेरोको स्थलगत दृश्यावलोकन र पछि कार्यक्रम गर्ने सल्लाह भयो फेरि।
हामी भेला भएको सार्वजनिक चौर र पाटीको उत्तरपूर्वपट्टि अजङ्गको ब्रोकाउलीको थुङ्गोजस्तो देखिने हरियो पहाडी थुम्कोतिर उकालो लाग्यौँ सबै। यो ठाउँ यो टापुको सबैभन्दा अग्लो भूभाग रहेछ।
चारैतिर निलो समुद्र पारिपट्टि मूलभूमि चीनको भूभाग, आँखाले नभ्याउने पहाडी शृङ्खलाहरू, सिमसिमे पानीपछि आएको माटो र पत्करको गन्धले सवै कविहरू मन्त्रमुग्ध भए। केहीबेर सामूहिक नाचगानपछि पुरानै ठाउँमा ओर्लिएर भेला भयौँ सबै।
साझा शृङ्खलाका १३० औँ कवि गोष्ठीमध्ये खुल्ला आकाशमुनि गरिएको भने चौथो जमघट थियोे यो दिन।
संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न साहित्यिक कार्यक्रममा उद्घोषक तथा कवि टी.बी. याक्खाको अनुरोधमा छोटो स्वागत मन्तव्य राखेँ मैले। नेपालबाट कोसेली आएका कवि तथा गीतकार अगम विकरालको गीतिसंग्रह ‘यादको मूर्च्छना’ र अर्का कवि तथा गीतकार भावेश भुमरीको प्रेमपत्र संग्रह ‘भावलिपि’ सामूहिक सार्वजनिक गरियो।
अगम विकरालको ‘यादको मूर्च्छना’ माथि कवि तथा साहित्यकार देवेन्द्र खेरेस र टी.बी. याक्खाले टिप्पणी राखेका थिए भने भावेश भुमरीको ‘भावलिपि’ माथि कवि विशु समले बोलेका थिए।
कार्यक्रममा कविहरू क्रमशः जानु काङमाङ लिम्बु, टी.बी.याक्खा, कल्पना काफ्ले, सुनिता गिरी, पूर्णिमाजी शाह, नरजित राई, इन्द्र राना, नारायण भन्डारी, डोम राना र विशु सम लगायतले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए। त्यो दिनको कविता यात्रा अवधिमा रचिएका सिर्जनाहरूमध्ये जानु काङमाङ लिम्बु र इन्द्रा रानाका २ उत्कृष्ट सिर्जनाका लागि शृंखलाका संरक्षक दाजु गुरुङले खादा र नगदसहित सम्मान गर्दै आफ्नो पछिल्लो कृति ‘निरजोया’ उपन्यास उपहार प्रदान गरेका थिए। साथै उनले सिर्जना वाचन र समग्र कार्यक्रमबारे आफ्नो भनाइहरू राखे।
अनि मैले सुनाएका ६७ वर्षपहिला बाले रचना गर्नुभएका बाँकी कवितांश यस्ता थिए। अचम्मको संयोग बाको ९७ औँ जन्मतिथि समेत परेको थियो त्यही दिन।
भरमग्दुर उद्योग मुखैले गर्ने छु
गरिबका अनुहारमा कर्के आँखा तर्नेछु
श्रीमतीजीको म सारै प्यारो बन्ने छु
उनैको काखमा मासिक तलब गन्ने छु
आफ्ना नाताजतिको गरिदिने छु उद्धार
अरुको चाहिँ पछि हुँदै गर्छ विचार!!
अनि मेरो उदारता नेपालले चिनोस्
मन्त्री पदमा राखी मन बहलाइ दिनोस्
बरु दिनको दस पटक नमस्कार नै लिनोस्
मलाई मन्त्री अवश्य नै दिनोस्
लौ न हे प्रभु! बिन्ती सुनिदिनोस्!!
संयोजक रमण गुरुङले आफ्नो सिर्जना वाचनसहित धन्यवाद मन्तव्य राखे। अन्त्यमा साहित्यिक कार्यक्रमको समापनसँगै हङकङलाई कर्मथलो बनाएकी चर्चित लोक दोहोरी गायिका तथा मोडल मञ्जु थापाले गीत गाएर सबैलाई नचाएकी थिइन्।
सामूहिक र एकल फोटो सेसनपछि हामी फर्किन लाग्दा मायालु अनुहारले गाईबाच्छाहरू हामी नफर्के हुन्थ्यो जस्तो गरी हेरिरहेका थिए।
फर्किने फरक गोरेटोमुनि पर्ने ‘ब्यालेन्स रक’ यो ठाउँ को अर्को विशेषता हो। समुद्री किनारमा एकमाथि अर्को खप्टिएको करिब ६ मिटर अग्लो टेडो ढुङ्गो अचम्म सँग बसेको छ। यसो बल लगाएर घचेट्दा पनि ढल्ने जस्तो लाग्ने यो ढुङ्गाको नजिकै र टाढाबाट तस्बिर खिचेर हामी पानीजहाज बिसौनीमा आइपुग्यौँ।
बिहान र बेलुकी जाने र फर्कने हाम्रो ठूलो हुल देखेर जहाज चालकहरूले हामीलाई खुसी हुँदै स्वागत गरे पुनः एकपटक। करिब आधा घण्टाको यात्राभरि मीठो चटपटे बनाएर बाँडे सबैलाई जाँगरिला चेलीहरूले। ओङ सेक जहाज बिसौनीमा ओर्लियौँ हामी सबै।
अनि ९६ आर बसबाट उही बाटो हुँदै एकघण्टाको यात्रापछि डाइमन्ड हिल रेल बिसौनी आइपुगियो। एकआपसमा गुनगुनमै व्यस्त थिए सबै। यस्तो लाग्थ्यो, अझै छुट्टिन चाहन्नन् कोही कसैसँग।
हङकङ साहित्यिक साझा शृङ्खलाका परिकल्पनाकारमध्ये एक जना तथा कथाकार दाजु गुरुङले ‘टाँकीका फूलहरू’ भन्ने कथा संग्रहको कथाको एउटा प्रसंगमा हङकङेली नेपालीहरूबारे दुखेसो लेख्दै उनले भनेका थिए, ‘एउटा कुराले निकै मर्मान्त बनाउँछ मलाई, यहाँ त नेपालीहरू छैनन् खाली जातजातिहरू मात्र छन्। विश्वास लाग्दैन भने सोधिखोजी गरे हुन्छ, नेपाल र नेपालीको नाममा कोही छैनन् आउँदैनन्। विदेशमा पनि देशको झण्डा हैन, पार्टीको बोक्छन्। मन कुटुक्कै हुन्छ यथार्थ सुन्दा। किन हामी एकैठाउँमा उभिन नसकेको होला? नेपालका राजनीतिक पार्टीहरूले सिकाएको संकीर्ण संस्कारलाई तोडेर राजनीति, जात र क्षेत्रभन्दा माथि आउन नसकेका हामी।’
तर त्यो दिन र सधैँसधैँ दाजु गुरुङको यी गुनासाहरूभन्दा निकै माथि मात्र नेपाली जात, नेपाली क्षेत्र, मन, भाषा साहित्य र कलालाई माथि राखेर भेला हुने १३० औँ कार्यक्रमको मीठो सम्झना बोकेर बेलुकी आ–आफ्नो गुँड फर्कियौँ हामी सबै। फेरि अर्को महिनाको र सधैँ सबै महिनाको अन्तिम आइतबार सिर्जना वाचनमा भेला हुने वाचा गरेर।
Shares
प्रतिक्रिया