तीन बजेको थियो मिडल्यान्ड लुटनस्थित वेलकम ब्रेक वानमा पुग्दा। अलिअलि थाकेको पनि महसुस भइरहेथ्यो, झन्डै अढाई घण्टा लामो यात्राले। एक्कासि चिसो सिरेटोले स्वागत गर्छ, कार बाहिर निस्किँदा। घमाइलो दिनमा पनि न्यानो अनुभूति गर्न नसकिने। तर खासै टाढा थिएन पार्किङ एरियादेखि कफी सप। शरीर तन्काउँदै गाडीको चाबी हल्लाउँदै कुलदीप भाइ भन्नुहुन्छ- ‘अब आधा बाटो काटियो, भिनाजु।’
राम्रो लाग्यो यसप्रकारको व्यवस्थापन। एक निश्चित दूरीमा ब्रेक स्टलहरू। विशेषतः हाइवे क्षेत्रमा। अति आवश्यक पनि छ, यात्रु र गाडी चालकको सुविधा र सुरक्षाका लागि। कतिपय ठाउँमा यस्ता सुविधाको अभावमा जताततै पार्किङ गरेर सडक अवरुद्ध गर्ने। विश्राम क्षेत्र नपाउँदा चालक थाकेर निदाउने अवस्था आउने। यात्रुहरूले पनि हत्तपत्त फ्रेस हुने मौका नपाउने। यस्तै कारण त हुन् गाडी दुर्घटना बढ्ने, बढाउने।
अझै कति टाढा रहेछौँ हामी, यस्ता सोच र व्यवस्थापनका हिसाबले!
हाइवेदेखि थोरै बाहिर रहेका पार्किङ एरिया अनि आवश्यक सपिङ सेन्टरहरू। झट्ट हेर्दा झुरुप्प परेका होचा घरहरू मात्र देखिने। प्रायः एकनासका। तर भित्र प्रवेश गर्दा होचा भए पनि व्यवस्थित स्टलहरू। सफा गोलाकार क्षेत्रमा थरीथरी पसलहरू। खानादेखि आवश्यक सामान वा नानासम्म। तर यतिबेला सबैको पहिले रोजाइ हुन्छ- वासरुम। आहा! कति सफा अनि निशुल्क सेवा! किनकि प्रायः केही दिनयता स:शुल्क सेवा मात्र भेटेका थियौँ- यस्ता पब्लिक शौचालयहरू।
यतिबेला हामीले रोजेको, खोजेको भनेको मीठो ताततातो कफी। जो, बाहिरको जाडो भगाउने अनि शरीरको थकान मेटाउने। नजर पर्यो, माथिल्लो लाइनको चपस्टिक कफी सपमा। कारण नाम यसै पनि एसियन। ‘चारवटा क्यापिचिनो।’ सबैको ठाडो आदेश। पछि केही स्न्याकहरू थपिए सीता र छत्राको रोजाइमा। कतै काउन्टरमा इन्डियन सेफ देखेर पो हो कि?
थरीथरीका अनुहारहरू यति सानो ठाउँमा पनि। सबै आआफ्नै धुनमा मस्त। हाइवे न पर्यो। कहाँकहाँ पुग्ने हतारमा। एकैछिन भए पनि कति सुखद यो विश्रान्तित अवसर। यस्तै सुखान्त समय खोजिरहेको थिएँ- यो सेल्सवरीदेखि ननिटनसम्मको यात्रामा।
एकाध घण्टाको विश्रामपछि लागियो आफ्नो बाटो। यतिबेला मैले ग्रुप सेल्फी हानेर पोस्ट्याएँ फेसबुकमा। अलिअलि हल्ला त गर्नैपर्यो, यो सामाजिक सञ्जालले धुम मच्चाएको वर्तमानमा।
‘आहा! क्या राम्रो सन्नी डे! दिदी-भिनाजु त भाग्यमानी हुनुहुँदो रहेछ। यो मौसममा घाम लाग्नु अनि यसरी यात्रामा पानी नपर्नु। यो एक संयोग भनौँ कि भाग्य? मौसम सफा भएपछि यात्रा गर्न र गाडी हाँक्न पनि क्या रमाइलो, ...आनन्द!’
कुलदीप भाइले थोरै तारिफको पुल बाँधे, रफ्तारमा कारको स्टेरिङ घुमाउँदै।
सहमतिमा टाउकाृ हल्लाइदिन्छु ,उनकै बगलमा बसेर। र, शरीरमा पनि केही स्फूर्ति बढेझैँ भइरहेथ्यो कफी ब्रेकपछिको समयमा।
हावाको रफ्तारमा हुइँकिरहेको कारबाट बाह्य दृश्य हेर्न एकाग्र छ यो मन। तर घरिघरि एकाग्रता भंग गरिरहन्छ- नेभिगेसन जिपियसको आवाजले।
एकप्रकारले ढुक्क बनाउने, गाडी चालकलाई। आवाजसहित रोड र रोडको डाइरेक्सन बताइरहने। कति गज्जबको सिस्टम। पोस्टकोड सेट गरेपछि हाइवे होस् वा अन्जान ठाउँ। मज्जाले दिशा-दूरीदेखि दायाँ-बायाँ, तलमाथि, वैकल्पिक बाटो, समय सबै बताइरहन्छ छिनछिनमा।
बेलाबेला कुलदीप भाइ बाटामा देखिने/भेटिने दृश्य र ठाउँबारे बताइरहन्छन् नालीबेलीसहित। कार रफ्तारमा हुइँकिइरह्यो फराकिलो हाइवेमा। आफ्नै ताल छ, पछिल्लो सिटमा बसेका दिदीबहिनीको। हाँस्छन्, बोल्छन् फरक प्रसंगमा। यता पनि ध्यान दिएर सुनिदिन्छु उनीहरूका कुराहरू। किनकि धेरै नयाँ र रोचक जानकारी खोजिरहेछु- यो पारिवारिक नौलो यात्रामा।
हिउँदको मौसम भए पनि घमाइलो दिन। खुलेको आकास। टाढा टाढा कतै कतै सेता कुइराका थुप्राहरू। दायाँ-बायाँका खुला घाँसे मैदानमा लडीबुडी गर्न जाउँजस्तो। जता हेर्यो, उतै खुला फराकिला घाँसे मैदान। तर केही फुस्रा मैदान। कतै हिउँदको ठिहीले थलिएजस्ता। अलिक फरक लाग्ने बोटबिरुवा र फाँट हाम्रा घरदेशका भन्दा। यी फाँटहरूमा कतै कतै मात्र देखिन्छन्/भेटिन्छन्- बोटविरुवा र ठूला रुख।
नत्र घाँस मात्र उम्रने लेकाली नांगीजस्ता क्षेत्र। कतै कतै मात्र भेटिन्छन्- ससाना सिङरिङ्ग परेका बोटबिरुवा, रोडका दायाँबायाँ किनारतिर। बोटबिरुवा पनि कतै जाडोले खाएको हो कि? वा, मौसम परिवर्तनसँगै पात झरेर नांगिएका हुन्? कति कुरूप लाग्ने हरियाली वा पातरहित अवस्थामा। कतै वसन्त र न्यायो पर्खिरहेजस्ता। अनि बोटविरुवाका प्रकृति हेर्दा आवश्यकतामा रोपेर हुर्काएकाजस्ता। अर्थात् कृत्रिमताको झल्को दिने खालका। अनि सुन्दर लाग्ने ती फराकिला फाँटहरूमा, कतैकतै देखिन्छन्- एकनासका ससाना घर। एउटै कदका, एउटै अनुहारका। गज्जब लाग्ने आवश्यकता नै यस्तो कि बनावट?
खुला फाँटहरू आफ्नै विशेषता र पहिचानमा बाँचेका। कति रमाइला होचा ढिस्काहरू। दौडिएर नाघिदिऊँजस्तो लाग्ने। जता फर्किएर हेरे पनि उस्तै लाग्ने। ती फाँटहरूमा मस्त देखिन्छन्- कतै भेडाका बथान, कतै घोडा, गाईवस्तुका हुल। सबै सबै स्वछन्द रूपमा रमाइरहेका- न्यानो घाम तापेर।
बेलाबेला मेरो एकाग्रता तोड्न बोलिरहन्छन्- कुलदीप भाइ-‘ भिनाजु यी फाँटहरूमा घाँसको खेती गरिन्छ। ऊ ती थुप्राहरू देख्नु भो? ती सबै घाँस काटेर राखिएका थुप्राहरू हुन्। घाँस बिक्री हुन्छ यहाँ।’
मेरो सहमतिमा अरु हौसिँदै बोल्छन् भाइ- ‘यहाँका धनी मानिसहरूसँग मात्र हुन्छ- जग्गा जमिन। ... र, खाली जग्गा जति छन्, ती सबै रानीका हुन्। किनकि यहाँ रानीको शासन चल्छ।’
बोल्दाबोल्दै बढी बोलेजस्तो लागेर होला कि? सम्झिएझैँ गरेर कुरो सच्याए भाइले- ‘ए साँच्ची क्विन एलिजावेथको देहवसानपछि प्रिन्स चार्लस पो छन् त बेलायतको सम्राट!’
दुवैतिर तीन/तीन लेनको वान-वे फराकिलो हाइवे । अचानक वाटो बदल्न परे ठाउँठाउँमा व्यवस्था गरिएको राउन्ड वेबाट मात्र बदल्न सकिने। बाटो बदल्न पनि राउन्ड वे नै पर्खिनुपर्ने। तब त ड्राइभिङ गर्दा सधैँ सतर्क रहनुपर्ने। यस्तै तीतामीठा गफमा काटिए लामा गाडीको बाटो। तर साँझ परिसकेको हुन्छ- ननिटन पुग्नुअगावै।
एउटा फरक पाएँ यहाँ र हङकङका सडकमा। जति नै रात परोस् रोडमा बत्ती नबल्ने। हङकङका रोडमा जति पनि हिँड्न सकिन्छ रोड ल्याम्पको सुविधाले। चाहे हाइवे होस् वा सबवे। यहाँ त हाइवेमा लाइट भनेका लेन छुट्ट्याउन कोरिएको रेखामा राखिएका ससाना जमिनभित्रका जूनकिरीजस्ता बल्ब। त्यसैलाई आधार मानेर गाडी ड्राइभ गर्नुपर्ने। रोडका दायाँबायाँ न बत्ती, न उज्यालो। अन्धकार। तर पनि चलेकै छन् सवारीसाधन। गुणगान गायकै छन् ब्रिटिस साम्राज्यको।
साँझमा मात्र पुगियो ननिटन सहर। धमिलो ल्याम्प-पोस्टमा ससाना घर देखिन थाले सहर पुगिएको आभास दिलाउँदै। घर पुग्नुअगाडि कुलदीप भाइले गाडी मोडे, टेक्स्को सुपरमार्केटतिर। अलिक फरक र अनौठो लाग्छ यसको बनावट। मार्केट प्लेस भनौँ कि टहरो। निकै ठूलो र अग्लो देखिन्छ आवासीय घरका तुलनामा।
‘हङकङतिरको पार्किङ सप र वेलकमजस्तै हो यहाँका टेक्स्को अस्डा सुपरमार्केटहरू। घर भान्सामा चाहिने दैनिक उपभोग्य वस्तु खरिद गर्न यहीँ आउनुपर्छ भिनाजु’, यसको थप विशेषताबारे बोले कुलदीप भाइ- ‘... हेर्दा पो यस्तो देखिन्छ, तर धेरै नेपालीलाई रोजगारी दिएको छ यो घ्याङघरजस्तो देखिने सुपर मार्केटले।’
अग्रभागको पार्किङ एरियामा कार राखेर पस्यौँ टेक्स्को सपिङ सेन्टरमा। अहिले नै खाद्यवस्तु खरिद गर्नुपर्ने अर्घेलो ‘म परेछु क्यार!’
आज बेलुकी खाना रेस्टुरेन्टमा खाने प्रस्तावलाई स्वीकारिनँ मैले। कारण म परेँ घरबाहिर त्यति खान नरुचाउने मान्छे। घरनजिक नभए अलग कुरो। सबै मेरो कुरामा सहमत भए। म पनि मक्ख। सबै हारे एक शाकाहारीका अगाडि। एक त शाकाहारी रेस्टुरेन्ट विरलै पाइन्छ- यस्ता सहरी इलाकामा।
कति सस्तो लाग्ने खाने कुराका दाम। एक पौन्ड, पचास सेन्ट। दुई पौन्ड। मोल वस्तुको नजिकै टाँसिएको। यहाँका लागि ठिकै होला, तर नेपाली करेन्सीमा बदल्दा त बाफ रे!’ अनि कमाइको हिसाब पनि यस्तै रहेछ वस्तुको मोलजस्तै।
सपिङ गरेर घर लाग्दा रोड किनारका घरहरू देखाउँदै बोलिरहन्छन् कुलदीप भाइ।
‘कहिले यो घर त्यस्तो, त्यो घर यस्तो। ऊ त्यो गोर्खा रेस्टुरेन्ट। त्यो ह्यावेन्ली पाथको भवन। हाम्रै पहलमा खरिद गरेको। त्यो वीर सैनिकको सालिक रहेको रेभस्ली पार्क। यसको ठीकअगाडि राखिएको छ- अर्को गोर्खे ढुंगापार्क। अनि यताउता फलाना गाउँलेका घरहरू। तपाईं चिन्नुहुन्छ!’ आदि इत्यादि। सहमतिमा टाउको मात्र हल्लाइरहेँ मैले। कारण यसै त साँझको धमिलो उज्यालो।
पहिलोपटक देखिरहेछु- ती घर र आकार। कसरी स्पष्ट ठम्याउन सक्नु र ठाउँठाउँमा मात्र बलेको धमिलो ल्याम्प-पोस्टको आधारमा? तब त बारम्बार टाउको मात्र हल्लाइरहेँ उनको गफमा। तर मेरो कानलाई निकै चनाखो बनायो पछिल्लो एउटा कुरोले अर्थात् गोर्खे ढुंगाले।
एउटा होचो कम्पाउन्ड वाल भएको गेट खोलेर भित्रिएसँगै टुंगियो आजको यात्रा। घरको कम्याउन्ड वरपर खासै केही देखिँदैन अँध्यारो भएका कारण। सायद दुई दिनदेखि घरमा कोही नभएर होला, घरै अँध्यारो। आँगन कम्पाउन्डै नै अँध्यारो। हतारहतार कुलदीप भाइ र छत्राले घरको लक खोल्दै बाले बाहिर-भित्रका बत्तीहरू।
अहा! कति सुन्दर अनि शान्त वातावरण। पहिलोपल्ट पुगेको नयाँ घर र नयाँ सहर। फेरि चिसो हावा सेक्न आइपुगे पनि टेरिनँ। बरु एक/दुई पाइला वरपर हिँडेर नजर दौडाउन मन लाग्यो यो शान्त वातावरणमा। ढोकामा टाँसिएको एउटा चम्किलो प्लेटमा नजर पर्छ, जहाँ अंक लेखिएको छ- वान। सायद यही होला- घर नम्बर। मास्तिर ठूलो मेन रोड। त्यसैको एउटा शाखा यो घरको अगाडिबाट तलतिर तन्किरहेको। यी दुई रोडको ट्रेङ्गलमा अवस्थित घर। कतै यही कर्नरबाट गिन्ती गरिँदा पाएको हो कि यो घरले ‘नम्ब वान’को बिल्ला?
पहिलेदेखि नै एउटा फरक बानी मेरा। बेलुका खाना खाएपछि सुतिहाल्नुपर्ने। बरु बिहान चाँडै उठ्ने। यस्तो बानी आफ्नो घरमा त ठिकै हो तर पाहुना जाँदा बेठीक पनि। कतिलाई त बिहान अबेरसम्म सुत्नुपर्ने। यस्तै यस्तै हुन्छ यहाँ पनि। म सुत्न लाग्दा कुलदीप भाइ तल बैठक रुममा गितार बजाउँदै गाउँदै थिए सुर-बेसुरमा। आफ्नै तालमा। अनि छत्रा पनि भोलिदेखि फेरि काममा जानुपर्ने भन्दै खोज्दै थिइन् भोलिका लय।
कुलदीप छत्राको चार जानको सानो परिवार। छोराछोरी युनिभर्सिटी पढ्ने, हुर्किसकेका। गज्जबको छ शैक्षिक सिस्टम पनि। राम्रो लाग्छ सायद सबैलाई। उमेर पुगेपछि विद्यार्थीलाइ पढाइका लागि सरकारले ऋण प्रवाह गरिदिने। अनि विद्यार्थी पनि पूर्ण रूपले परिवारमा निर्भर रहन नपर्ने। एक प्रकारले आत्मनिर्भरताको वातावरण बनाइदिँदो रहेछ यो सिस्टमले। प्रायः शैक्षिकसत्र सुरु भएपछि होस्टलमा नै रहने व्यवस्था रहेछ विद्यार्थीहरूका लागि। बेलाबेलामा घर आउन भनेको परिवार भेटघाटका लागि मात्र। यस्तै बेला पुगिएछ ननिटन। योग भनौँ कि संयोग। कताकता परिवारका सबै सदस्य नभेटिँदा थोरै खल्लो र निरसता लाग्ने शून्य शून्य वातावरणभित्र।
हिजोदेखि नै निकै उत्सुक थिएँ- हिउँ पर्ने खबरले। आउँदै गर्दा एउटा लरीबाट रोड विभागका कर्मचारीहरूले नुन छर्किरहेका थिए, सहरी इलाकाका बाटामा। हिउँ चाँडो पग्लियोस्। बाटोमा नचिप्लिउन् भन्नाका खातिर यस्तो गरिँदो रहेछ स्थानीय प्रशासनबाट। मभित्र पनि केही उत्सुकता जागेको छ- हिउँसँग खेल्ने। यति नै बेला सेल्सवरीतिर हिउँ परिरहेको फोटो फेसबुकमा राखिसकेकी थिइन् बुहारी भिक्टोरियाले। यस्तै कौतुहल मेट्न उठ्नेबित्तिक्कै बाहिरी संसार चिहाउँछु झ्यालको पर्दा हटाएर। तर उस्तै छ- बाटो। हिजो देखिएझैँ। न हिउँ देखिन्छ, न पर्ने सम्भावना? केवल ओसिलो धमिलो तुवालोको साम्राज्य देखिन्छ- पहिलो बिहानीमा।
अझै निद्रा नटुटेझैँ सुनसान वातावरण। हिउँ नपरे पनि चिसोले सेकिरहँदा यसै यसै खुम्चिरहेझैँ लाग्ने वरपरका घरहरू। कतै पारिलो घामका पर्खाइमा पो छन् कि? केही समय झ्यालबाट चिहाइरहेँ परपरसम्म। बाहिर जाने इच्छा भए पनि आँट गरिनँ, चिसो हावा खान। यता कोठाभित्र त चिसो बढेको छ हिटरलाई नै हराउनेगरी। कतै पानी हिटर नुहँदो हो त ...!
एकप्रकारले रमाइलो लाग्छ- झ्यालबाट बाहिर हेरिरहन। एक त नयाँ ठाउँ। बसाइ पनि नयाँ। तर बाहिर देखिएका घर अन्य ठाउँका जस्तै एउटै अनुहारका। अनि फराकिलो रोडका दुवै किनारमा फैलिएका। अगाडि सानो कार पार्क अनि पछाडि दुई/तीन आनाजतिको करेसाबारी। हरेक घरका समान विशेषता। यो ट्रेङ्गुलर किनारमा उभिएको घरबाट यस्तै दृश्य कल्पना गर्दै हेरिरहन्छु एउटा फरक अनुभूतिमा।
यो पनि त एउटा समय कटनी मेलो। अब शरीर तनाकतुनक पार्न थाल्छु- तल बैठक कोठामा पुगेर। अनि टीभी खोलेर युट्युबमा नारायण गोपालको गीत बजाउँछु- ‘चिनारी हाम्रो धेरै पुरानो ....।’
‘कुनै नयाँ कुरो पनि देख्नुभयो भिनाजु?’ भोलिपल्ट कुलदीप भाइले प्रश्न गर्छन्, मैले बैठक कोठाका फोटा हेरिरहँदा।
‘राम्रो छ कान्छा। तिम्रो पुरानो सिप उस्तै रहेछ अहिले पनि।’ छोटो उत्तर दिएँ।
नजिकै आएर झ्यालमाथि टाँसिएको केही धमिला फोटा देखाए, कतै मेरो जवाफ पूरक नभएझैँ। अघि त्यहीँ उभिएर कतिञ्जेल बाहिरी संसार हेरिरहेँ, तर कसरी कसरी पुगेनछ मेरो नजर।
पुरानो समयतिर फर्काइदियो त्यो केही धमिलो फ्रेमभित्रका तस्बिरहरूले। एकछिन त सोच्नै सकिनँ- कहिले कहाँ खिचिएका थिए यी फोटा? केही बोल्न नसकिरहँदा उनैले व्याख्या गरे तिथिमितिसहित। एउटा फोटामा हामी दुई परिवारका चार उभिएकाथियौँ- म, सीता, कुलदीप र छत्रा। तस्बिरमा सामुद्रिक किनार थियो। चिङ-यी ब्रिज थियो। त्यो एरियामा बनेका अग्लाअग्ला अपार्टमेन्ट। जो आज पनि उस्तै लाग्ने। समयकालले मात्र केही धमिलो बनाउँदै लगिरहको।
‘२००३ मा चाइनिज न्यु इयरमा खिचेको,’ स्पष्ट पारे कुलदीप भाइले।
‘ए हो त’, विस्मृतिमा फर्किंदै कुरा मिलाएँ भाइसित।
चाइनिज न्यु इयर एउटा ठूलो चाड हो- हङकङवासीका लागि। तीन दिन सरकारी बिदा पाइने। कति स्थानीय चिनियाँले हप्तौँ बिदा मनाउँछन् आपसमा खुसी बाँडेर। नेपालीले दसैँ-तिहार मनाएझैँ। यही बिदामा घुम्न गएका थियौँ डिस्कवरी वे। त्यही बेला खिचेका दुई परिवारका तस्बिरहरू। साँचै कति जतन गरेर राखेका रहेछन् भाइले। पहिलेदेखि कति सामान बडो जनत गरेर राख्ने बानी थियो उनको। त्यही गुणले सरप्राइज दिए, एक सुखद उपहारजस्तै यो पुनर्मिलनको अवसरमा। भावुक नै बनााइदियो झन्डै सोर/सत्र वर्षपछिको समयतिर धकलेर।
एउटा लामो सम्बन्धको फेहरिस्त नै छ कुलदीप भाइ र मेरो परिवारबीच। कुनै बेला हङकङ खोज्दै आएका थिए नेपालबाट। तिथिमिति फरक परे पनि उस्तै थिए आएका समय र परिवेश। उस्तै थिए भोगाइ। तब त लामो समयसम्म जोडिएका थियौँ- समान स्वार्थ र आवश्यकताले। एउटा सानो स्पेसभित्र जिन्दगी नै अटाइदिनुपर्ने हङकङको बाध्यकारी बसाइ। सधैँ काम काम र महँगीजस्ता विविध कारण एउटै फ्ल्याटमा केही वर्ष बिते एउटै परिवारजसरी। जहाँ आपसमा माया थियो। सद्भाव थियो। विश्वास थियो। र त एकनासले सम्बन्ध तन्किइरहेछ, हिजोदेखि आजसम्म।
तत्कालै, ‘मलाई यो फोटो चाहियो’ भनेँ। सहमति पनि जनाइहाले कुलदीप भाइले। कहिलेकाहीँ एउटा सानो कुराले पनि कति धेरै खुसी दिने रहेछ- मनै भरिने गरी।
इङ्ल्यान्डको उत्तर-पश्चिमको एउटा भाग हो- ननिटन। अर्थात् पश्चिम क्षेत्रको सहरी क्षेत्र। तर कतिपयले यसलाई गाउँका रूपमा पनि लिने गर्दारहेछन्। कारण बुफिङटन, ह्यास्टहिलजस्ता गाउँ यतै भएकाले। तथापि एक बढ्दै गइरहेको औद्योगिक क्षेत्र पनि हो ननिटन। जहाँ अधिक डोरी-फित्ताजस्ता रिबनका तान र माइनिङ कारखाना छन्। वारविकसायर यहाँको एक पुरानो मुख्य मार्केट। जनघनत्व पनि खासै छैन यो सहरको। यता पनि बिस्तारै एसियन आप्रवासनको बढ्दो चापले स्थानीय अन्तै सर्न थालेको आभास हुन्छ- गोरा छालावाला आसपास नदेखिँदा/नभेटिँदा। खोइ मिल्न नसकेका हुन् कि बस्न नचाहेका हुन्? स्थानीय (गोरा ‚हरू विस्तार आप्रवासहरूको क्षेत्रबाहिर सर्न थालेका बताउँछन् भुक्तभोगी।
अर्को दिनको कुरो। आजको यात्रा वकिङ्घम टाउन। छत्रा छुटिन्, बिदा नभएकाले। यहाँको नजिक र ठूलो पुरानो सहर वकिङ्घम। ब्रिटेनका राजा-महाराजाहरू पुस्तौँदेखि बसिरहेको सहर। र त प्रख्यात् पनि छ- बेलायतको राजदबार वकिङ्घम प्यालेसको नामले। एक घण्टाभन्दा बढी लाग्यो बाटोमा। जाडो याम। कार पार्क गरेर पैदलै लाग्यौँ- बकिङ्घम सहरको चिसो खाँदै। सिमसिम पानी परिरह्यो, गल्लीहरू चहारिरहँदा। बेलाबेला चिसो हावा सेक्न आइपुग्ने। अति भएपछि सपिङ मलभित्र पस्थ्यौँ न्यानो खोज्न। लगभग पूरा दिन नै एकदेखि अर्को सपिङ मल हिँडेर बितायौँ। कतै सपिङ गर्न, कतै जाडो छल्न। र, कतै नयाँ खोज्न।
यता पनि भेटिए चाइनिज टाउन। एउटा सानो एरियाभरि नै फैलिएको। फर्कने बेला खाजा खान पस्यौँ- एउटा चाइनिज रेस्टुरेन्टमा। हङकङकै झल्को दिने। प्रायः ग्राहक पनि चिनियाँ नै भेटिए भित्र हलमा। बोलीचाली खाने कुरा सबैको नाम क्यान्टोनिजमा। मेन्यु भने दुई भाषामा- क्यान्टोनिज र इङगलिसमा।
सुयोक फान छसोक फान, कालिगाइ फान ह्वालोक, पेचाओ अनि तेल मिसाएको केचाप आदि इत्यादि। यस्तै भाषा बोले खानाका परिकार बताउन। कतै हाम्रो अनुहार पढेर हो वा आफ्नो मातृभाषा प्रेमले।
सीता र कुलदीप भाइ काम चलाउ क्यान्टोनिज बोलिहाल्ने मलाई के दुःख! कसैले अन्य भाषा बोलेन क्यान्टोरिजबाहेक। दुईजना मांशहारीले खाए थरीथरीका रोस्ट। भ्याए हाँस कुखुरादेखि स्टिम माछासम्म। र, बोके एक डेढ किलोजति बँगुरको रोस्ट। मैले पनि पहिले एउटा ह्वलोक र पछि एउटा ताततातो कफी सकाएँ, एउटै टेबलमा बस्नुपरेकाले।
बेलुका फर्कंदा बाटामा हिजोकै कुरो सम्झाए कुलदीप भाइले- ‘ऊ त्यो बाटाछेउको रेभवर्सी गार्डिन। जसको मध्य भागमा छ- गोर्खे ढुंगा।’
हतारहतार कान ठाडो पार्दै मुन्टो बटारेँ। गाडीको स्पिडले घुम्ती काटिहाल्यो राम्ररी हेर्न नपाउँदै। अब भने नहेरी नहुने भयो- त्यो गोर्खे ढुंगा। पुर्याउने जिम्मा पनि लिए कुलदीप भाइले।
जतिपल्ट यो बाटो ओहोरदोहोर गरियो, त्यति नै पल्ट मेरो मन र शीर श्रद्धाले झुकिरह्यो, गोर्खा स्मृति पार्कनिर। अलिकति खुसी अलिकति गौरव पलाइरह्यो यो यात्रामा। र, कौतुहल पनि जागिरह्यो स्मारक स्थापनाबारेमा।
अहिले बेलायतको विभिन्न क्षेत्रमा छरिएर बसोबास गरिरहेछन्- ब्रिटिस गोर्खा सैनिक र उनका परिवार। विशेषतः बसोबास गर्न पाउने वैधानिक अनुमतिपश्चात्। यसरी बसोबास गरेका ठाउँमध्ये एक हो- ननिटन। यहाँ बसोबास गरिरहेका नेपालीले एक ‘ननिटन गोर्खाली समाज’ स्थापना गरेका थिए, विशेषतः भूपू गोर्खा सैनिकहरूको सक्रियतामा। जसको मुख्य उद्देश्य थियो- आपसी सहयोग र सद्भाव बढाउने। समाजको स्थापनापछि मिडल्यान्ड ननिटनमा गोर्खा मुभमेन्ट चलाएका थिए- ब्रिटिस गोर्खा सैनिकको २०० वर्ष पुगेको अवसरमा। यो पहिचानका लागि अभियान थियो, विशेषतः नेपाली समुदायको। सहमति पनि जुट्यो, माग जायज भएकाले। र, एक ऐतिहासिक स्मृति प्रतीक स्वरूप सन् २०१५ मा गोर्खा स्मारक पनि राखियो, स्थानीय काउन्सिलको सहमतिमा ।
ढुंगा राखियो, प्रतीक चिह्नस्वरूप। सुरुमा गोर्खा सैनिकको सालिक राख्ने सहमति भए पनि। कारण एउटै ठाउँमा एकै किसिमका दुई सालिक हुने भयो। जुन ठाउँमा गोर्खा सैनिक सालिकको परिकल्पना गरिएको थियो, २०० मिटरकै दूरीमा सैनिक स्मारक बनिसकेको थियो, केही वर्षअगाडि नै।
एउटै परिचय झल्काउने सालिक एउटै ठाउँमा दुइटा कति उपयुक्त? उस्तै सालिक राख्नुभन्दा फरक गर्ने विकल्प खोजियो दुईपक्षबीच। फरक खोज्न एउटा शिला स्थापना गरिएको रहेछ गोर्खा स्मृति वा प्रतीकका लागि।
चाहे सालिक होस् वा ढुंगा। ठूलो कुरो सम्मान र कदर न हो- गौरवपूर्ण इतिहासको। अहिले सबै गोर्खाली समुदायका लागि सर्वस्वीकार्य रहेछ- यो प्रतीक। जुन जागरुकता अभियानको नेतृत्व ननिटन समाजका अध्यक्ष ओम गुरुङले गर्नुभएको रहेछ, स्थानीयले दिएको जानकारीअनुसार।
सन् २०१५ मा वीर गोर्खा सैनिक स्मृति ढुंगा (स्मृति प्रतीक) स्थापनापश्चात् डिसेम्बर २०१६ मा ब्रिटिस सैनिक सहिद दिवस अवसरमा भूपू गोर्खा सैनिकहरूद्वारा एक परेड कार्यक्रम पनि आयोजना गरिएको रहेछ- ननिटन टाउन सेन्टरमा। जुन एक सरल र उपयुक्त माध्यमसमेत बनेको थियो- स्थानीय समुदायमा गोर्खा समुदायलाई चिनाउन र स्थापित गराउन। समाजले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइरहे पनि सो हुन नसकेको बताउँछन् कुलदीप भाइ। भइदिए अति राम्रो हुने थियो- स्थानीयबीच सामाजीकीकरणका लागि।
खुसी नै खुसीले मन भरियो, यसरी थप जानकारी पाउँदा। जुन एउटा ऐतिहासिक कार्य नै थियो- चाहे सानो होस् वा ठूलो। हेर्दा कतिपयलाई सामान्य लाग्नसक्छ, तर गोर्खा समुदायका लागि यो एउटा परिचयको प्रतीक हो। वीरताको निशानी हो- गोर्खे ढुंगा।
कहिले सानो/ठूलो हुँदैन परिचय। यहाँ बसोबास गरिरहेका जो कोहीले जान्नेछन्, बुझ्नेछन्- गौरवशाली गोर्खाली इतिहास। अनि महत्त्व र वीरताको गाथा। त्यो पहिलो कार्यक्रममा धेरै वीर गोर्खाली सहिदलाइ स्मरण गरियो, उहाँहरूको बलिदानको कदर गर्दै। यो एउटा जीवित इतिहास पनि हो, जुन भावी पुस्तालाई जानकारी गराउन अति जरुरी छ यहाँको बासिन्दा बनिरहँदा। र, अरू थप परिचय वा जनकारी अवश्य नै दिने छन्- यस्ता ऐतिहासिक कार्यले।
शताब्दियौँदेखि कहलिएका वीर गोर्खाली हामी। तर कहिले आफूलाई वीर भनेर चिन्न नसक्ने हामी। हामीलाई अरूहरूले वीर भनिदिनुपर्ने। वीरको परिभाषा अरूले दिनुपर्ने। तब मात्र वीर! अनि कहिले वीर हुन सकेनौँ हामी हाम्रो मुलुकका लागि। वीर हुन पनि विदेश नै जानुपर्ने। सायद यसरी नै वीर कहलिएका हौँला हामी। कवि भूपि शेरचनको ‘हामी’ कविताजस्तै-
हामी वीर त छौँ
तर बुद्दु छौँ
हामी बुद्दु छौँ
र त वीर छौँ
... ... ...
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौँ...
कतै देशले नबुझिदिएपछि देश खोज्दै जाँदा विदेशले बुझिदिएझैँ लाग्यो गोर्खालीको गाथा। अनि समयसमयमा यसरी नै लेखिँदै छ भूगोलका कुनाकुनामा नेपालीका कथा।
यताउति गर्दै गर्दा चार दिन बित्यो अर्थात् सकियो कुलदीप भाइको बिदा। अनि स्थगन भयो हाम्रो ननिटन घुम्ने चाहना।
तेस्रो दिन बिहानै कान्छा अनित हामीलाई लिन ननिटन आएपछि पुनः आउने वाचा गर्दै लागियो सेल्सवरीतिर।
एउटा मीठो आतिथ्य र गोर्खे ढुंगा मानसपटलमा खेलिरह्यो फर्किंदा बाटाभरि।
०७ मार्च २०२४
Shares
प्रतिक्रिया