चीनको राष्ट्रिय अध्यागमन प्रशासनले हङकङ र मकाउका गैरचिनियाँ स्थायी बासिन्दाका लागि पाँच वर्षे बहु-प्रवेश यात्रा अनुमतिसहितको परिचयपत्र १० जुलाई २०२४ बाट लागु गरेको छ।
यो कागजात गैरचिनियाँ नागरिकलाई मुख्यभूमिको यात्रा सुव्यवस्थित बनाउने उद्देश्यका साथ ल्याइएको हो। साथै, आर्थिक एकीकरणलाई बढावा दिन र ग्रेटर बे एरियाभित्र विश्वव्यापी जडान विस्तार गर्ने लक्ष्य राखिएको नयाँ उपायको रूपमा यसलाई व्याख्या गरिएको छ।
हङकङ र मुख्यभूमिबीचको आदानप्रदानलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित चीन सरकारले डिजाइन गरेको यो सुविधा लिनबाट म पनि अछुतो रहिनँ।
चाइना ट्राभल सर्भिस (सीटीएस) को सेवा ग्रहण गरिहाल्न मलाई त्यतिसारो हतारो लागेको थिएन। एक त मसँग पछिल्लो बेइजिङ भ्रमणको क्रममा प्राप्त ५ वर्षे मल्टिपल भिसा छँदै थियो। त्यसमाथि, आकर्षक र मनले रुचाएका अनि भ्रमणयोग्य भनिएका ठाउँलाई चक्कर लगाइसकेको थिएँ एकसरो।
चीन भ्रमणकाबारे मन, मस्तिष्क र शरीर झरीपछि फक्रिएका फुलझैँ शीतल बनिसकेको थियो। हङकङ र चिन। तर, यस्ता विषयमा जहिल्यै सक्रिय बनाइदिहाल्नुहुन्छ दाजु डोम रानाले। एक हिसाबले मैले दाइलाई अनलाइनका गुरु नै मान्ने गरेको छु।
एक बिहान ब्रेकफास्ट खाने निमन्त्रणा दिनुभयो। ड्युटी सकेर घर फर्किने क्रममा थिएँ, भोलि बिहान ७:४० बजे मङककको पूर्वी स्टेसनसँगैको मोको प्लाजामा उपस्थित हुनु है भनेर फोन गर्नु भयो।
मङकक रोडसँगैको चुङचोइ स्ट्रिट बसाइ भएकोले यिम्पो फोङ स्ट्रिटको फ्लाइओभरमा रहेको मोको प्लाजा मलाई दुई पाइलाको बाटो थियो। बिहान उठेर दाइले दिनुभएको समयलाई पछ्याउँदै मोको प्लाजा पुगेँ। दाइलाई प्लाजा लेवल २ सँगैको स्टारबक्स कफीसपको टेबलमा ३ कप कफी र ब्रेकफास्ट सेटसहित नारिँदै देख्छु!
‘शुभप्रभात दाजु’ भनेको उहाँलाई निकै घत लागेछ। ‘ठिटोबाट आज हङकङमा दुर्लभ शब्द सुन्न पाइयो’ भन्नुभयो।
‘दुई जनाको लागि तीन सेट कफी’ मैले आश्चर्यमिश्रित प्रश्न तेर्स्याएँ। दाइ मुस्कुराउँदै ‘आइपुग्न लाछ के एक जना सोल्टिनी’ भन्नुहुन्छ। होलिन् नि त कोही भन्ठानेर कफीको सुर्की लाउन के थालेको थिएँ सोल्टीको पो प्रवेश हुन्छ! राजेन्द्र लिम्बु दाइ लमक-लमक गर्दै आइपुग्नु भयो।
कफीको चुस्कीसँगै डोम दाजुले ल्यापटप पल्टाउँदै ल साथी हो चाइनाको ट्राभल कार्ड एप्लाइ गरौँ भन्न थाल्नुभयो।
‘होइन, मल्टिपल भिसाको म्याद ५ वर्ष डङ्गै छ त! ट्राभल कार्डको जरुरी किन?’ मैले प्रश्न तेर्स्याउन नपाउँदै डोम दाइ भन्नुहुन्छ, ‘ल...! अस्ति बेइजिङ जाँदा अध्यागमनमा अफिसरले टाउको दुखाको बिर्सेको?’
लामो लाइनमा बस्नुपर्ने, समयको बर्बाद! शंकाको घेरामा राख्दै पासपोर्ट ओल्टाइपल्टाइ गर्दै कष्टडीमा उभ्याएको थियो त्यतिखेर।
कैदीलाई झैँ व्यवहार गर्ने। नेपाली र अझ भारतीय पासपोर्टधारीलाई त लम्बेतान सोधपुछ गरेको आँखामा झलझली आयो।
‘अबको ट्राभल कार्डले चीन भ्रमण हाम्रो लागि छिटोछरितो बन्छ। पासपोर्टको पेज सकिएला भन्नु पनि परेन, छाप लगाइराख्नु परेन। तुरुन्त मौकाको फाइदा लिनुपर्छ। कि अझै पनि बेइजिङ यात्राकै नियति भोग्न मन छ?’ मेरो मौनता तोड्दै डोम दाइले यसका फाइदा बताउनु भयो।
‘लौ न त भरौँ फारम।’ यसबारेमा दाइलाई धेरै ज्ञान भएपछि बाँकी कुरा सुनिरहनतिर लागिएन। उहाँ नै ज्ञाता भएकोले फारम भर्ने जिम्मा पनि उहाँलाई नै दिइयो। अति सरल प्रक्रिया रहेछ। स्थायी ठेगाना, परिचयपत्र नम्बर, राहदानी नम्बर, फोन नम्बर, इमेल आदि राखेर पेस गर्नुभयो।
‘अब आफ्नो बसोबासको मेलबक्स प्रत्येक दिनजसो हेर्ने गर्नू दुवै भाइले। अध्यागमनबाट आफूहरूको नाममा पत्र आउँछ। अलि टाठो हुनू फोन पनि आउन सक्छ,’ फारम भर्ने प्रक्रिया सकिएपछि दाइको उर्दी थियो, ‘पत्र लिन आइज भनेर हुलाक कार्यालयले एउटा कार्ड पठाउँछ त्यो कार्ड लिएर हुलाक काउन्टरमा पत्र बुझ्न जाने।’
दाइको अनुभवलाई आत्मसात् गर्दै अध्यागमनको फोन र पत्र कुर्न थालियो। हप्ता दिन कसो बितेको थियो, एउटा हुलाक कार्ड मेरो नाम र पत्र सिरियल नम्बर सहित घरको मेलबक्समा खसेछ।
उत्साहित हुँदै हुलाकघर गएर पत्र बुझेँ। पत्रमा अध्यागमनको निलो छापसँगै प्रमाणीकरण गरिएको अफिसरको हस्ताक्षर थियो। जसमा लेखिएको थियो, ‘तपाईँले स्थायी परिचयपत्रको लागि योग्यता प्रमाणीकरणको लागि आवेदन पेस गर्नुभए बमोजिम प्रमाणित भयो कि तपाईँ अध्यागमन अध्यादेशको अनुसूची १ को अनुच्छेद २(डी) अन्तर्गत हङकङ विशेष प्रशासनिक क्षेत्रको स्थायी बासिन्दा हुनुहुन्छ।’
पत्र प्राप्त गरेको खुसी दाइसँग साटेँ। उहाँले ९० प्रतिशत काम सकिएको र अब फोटोसहित राहदानी कपी बुझाउने हो भन्नुभयो। अनि डकुमेन्ट बुझाउने अपोइन्टमेन्ट लिइदिन्छु भन्नुभयो।
एकछिनमा फोन गरेर इमेल हेर्दै गर्नू है भन्नुभयो। नभन्दै डकुमेन्ट बुझाउने मिति, समय र सम्बन्धित कार्यालयको ठेगाना बताइएको मेल आयो, ‘तपाईँले हङकङ र मकाउका स्थायी बासिन्दा (गैरचिनियाँ) को लागि मुख्यभूमि यात्रा अनुमतिको लागि आवेदन दिन अपोइन्टमेन्ट लिनुभएको छ।’
अपोइन्टमेन्ट लिने सेवाकेन्द्र मेरो बसोबास नजिकै मिलाइदिनुभएछ दाइले। सन्देशमा थियो, ‘मोङकक टेम्प, सेवाकेन्द्र’।
५ अगस्ट २०२४ का लागि तोकिएको अपोइन्टमेन्ट मितिमा समय १६:२०-१६:४० उल्लेख थियो। लामै सन्देशको अन्त्यमा ‘हामी तपाईँलाई थप रूपमा सहयोग गर्न तत्पर छौँ। धन्यवाद।’ लेखेर टुङ्ग्याइएको थियो।
यता, विडम्बना भनौँ कि लक नपरेको भनौँ कफी गफमा सँगै फारम भरेका राजेन्द्र दाइको भने ३ हप्ता बित्दा पनि न त पत्र आयो न फोन नै। के चाल पर्यो कुन्नि!
म तोकिएको मितिमा सेवाकेन्द्र पुगेँ। आधा घण्टा अगावै पुगेछु। फोटो खिचिदिने व्यापारीको प्रचारले कान खायो। माथिल्लो तलामा गएर मेसिनबाट आफैँले फोटो खिच्न सकिने सुविधा रहेछ, त्यो थाहा भएन। अन्धाधुन्ध एउटा स्टुडियोमा प्रवेश गरेँ। गुणस्तर, आकार-प्रकार सबै उनीहरूलाई थाहा हुँदो रहेछ। हङकङ अध्यागमनले पठाएको प्रमाणीकरण पत्र देखाएपछि १० मिनेटमै फोटो दियो।
त्यसपछि लागेँ दोस्रो तलातर्फ। जहाँ इन्क्वाइरी काउन्टरबाट कागजात पेस गर्नुपर्ने हुन्छ। डोम दाइको सल्लाहअनुसार नम्बर एक काउन्टरको लाइनमा बसेँ।
भन्नु मात्रैको लाइन, एकाध मानिस मात्र थिए। मिनेटभित्रको साधारण सोधपुछ, काउन्टरका कर्मचारीबाट कागजात रुजुपछि क्यूसी१३२ नम्बर प्रिन्ट भएको ट्याग दिँदै कागजात पेसका लागि पछिल्लो कुर्सीमा बसेर काउन्टरबाट बोलाइने नम्बरमा ध्यान दिन भनेर पठाइयो।
पछाडिको कुर्सीमा बसेका मान्छे प्राय: भारतीय भेषभूषाका देखिन्थे। फेटा/पगरी गुथेका, लामो दारीवाला पन्जाबीमूलका थिए। सुनेको थिएँ- हङकङमा हुने भारतीय त्यसमा पनि पन्जाबीहरू हङकङ, चाइनालगायतका मुलुकमा हिरा/डायमन्डको व्यापार गर्छन्। मेरो आवेदनको दिन नै त्यस्तो हो कि संयोग परेको हो पन्जाबीको बाहुल्यता देखेपछि व्यापारी होलान् भनेर अड्कल काटेँ।
२० मिनेटपछि मेरो टोकन नम्बर डिजिटल स्क्रिनमा देखियो। नाम र नम्बरसँगै बोलावट भयो। आवाज आएको १७ नम्बर काउन्टरमा के पुगेको थिएँ एक जना भारतीय अफिसरसँग बाझिराछ! समस्या के रहेछ भनेर बुझ्दा त उसको नम्बर पहिले नै आएको रहेछ तर साथी आउँदैन त काउन्टरमा! अफिसरले दोहोर्याइ-तेहर्याइ बोलाएपछि पनि ऊ नआएपछि मेरो नम्बर बोलाइएको रहेछ।
‘तिम्रो नम्बर लामो समयसम्म बोलाइयो तर तिमी देखा नपरेपछि अफिसरले अर्को नम्बर अफर गर्यो,’ उसको साथीले यति भनेर सम्झाउँदा पनि साथी मान्दैन त!
मलाई पनि अलिअलि झ्वाँक चल्यो। कनिकुथी हिन्दी सुरु गरेँ, ‘अरे यार, मेरा नाम नम्बर मिल गया, क्या हुआ भाइ, जाओ! क्या आप काम नहीँ करने के बाद बाहर पुड़ी, बिरयानी खाने गएथे?’
मेरो कुराले किन किन डराउँथ्यो ऊ! बिचरा ती महिला अध्यागमन अफिसर कति भलाद्मी! छेउको अफिसरलाई मेरो डकुमेन्ट हस्तान्तरण गरिन्। डकुमेन्ट ठिक ठहरियो। शुल्क नगद वा ईपीएस कुन माध्यमबाट तिर्छौ भनिन्। मैले नगद नै बुझाएँ।
हङकङबाट पहिलो आवेदनको शुल्क २६० हङकङ डलर हो। मुख्यभूमिबाट नवीकरण वा प्रतिस्थापनको लागि २३० आरएमबी बुझाउनुपर्छ।
‘यदि केही नमिलेको खण्डमा तिमीलाई फोन गर्नेछौँ, नत्र सबै ठिक छ’ भन्दै एउटा पेपर प्रिन्ट गरेर पहेँलो मार्करले ट्राभल कार्ड बुझिलिने मिति र काउन्टर नम्बर तोक लगाउँदै मलाई बिदा गरियो।
२७ दिनपछि बुझिलिने समय तोकिएको थियो। तोकिएको मितिमा गएँ हर्षित मुडमा। काउन्टरको कर्मचारीलाई डकुमेन्ट पेस गर्दा प्राप्त पेपर दिएको ‘तपाईँ आफैँले वान फ्लोरको एक नम्बर मेसिन प्रयोग गरेर लिन सक्नुहुन्छ’ भनिन्।
तल्लो तलामा ठ्याक्कै बैंकको एटीएम मेसिनको शैलीमा राखिएको मेसिन बक्स थियो। हङकङ आईडी सेन्सरलाइटमा सुघाउनुपर्ने त्यहाँ रहेकी सहयोगी कर्मचारीले बताइन्। उसैगरी प्रयास गरेको ट्राभल कार्ड फुत्त बाहिर निस्क्यो।
मलाई म्यासेज तथा फोन लगायतका माध्यमबाट ट्राभल कार्डको लागि के-कस्तो प्रक्रिया अपनाउनुपर्ने रहेछ भनेर धेरै जिज्ञासा राख्नुभएको थियो। त्यसैले तपाईँहरूलाई प्रक्रिया बुझ्न सहज होस् भनेर यो लेख लेख्ने जमर्को गरेँ। अझै पनि मैले केही बुझाउन छुटाएको रहेछु भने सहयोगको लागि तयार नै रहनेछु।
एउटा कुरा चाहिँ सबैले ध्यान पुर्याउनुपर्ने हुन्छ- प्रमाणपत्र धारकले यात्रा अनुमति (ट्राभल कार्ड) को पाँच वर्षको वैध अवधिभित्र धेरै पटक मुख्यभूमिको यात्रा गर्न सक्छ। तर, प्रत्येक बसाइ ९० दिनभन्दा बढी चाहिँ हुनु हुँदैन।
साथै, यो कार्ड धारकले मुख्यभूमिमा काम गर्न, अध्ययन गर्न, समाचार संकलन गर्न वा यस्तै प्रकारका अन्य गतिविधि गर्न पनि पाइँदैन। यी कार्यको लागि भने हङकङ वा मकाउको परराष्ट्र मन्त्रालयका आयुक्तको कार्यालय वा राष्ट्रिय अध्यागमन प्रशासनमा छुट्टै आवेदन दिनु पर्दछ।
Shares
प्रतिक्रिया