हङकङमा रहेका २९/३० हजार नेपालीका माझ अहिले करिब २५० हाराहारीका सङ्घसंस्था छन् भनिन्छ।
आजकाल जातीय, क्षेत्रीय, जिल्ला, गाउँ, टोल, वडा, नदी वा सडकको नामदेखि नेपालका राजनीतिक सङ्घ सङ्गठनका भातृ संस्थाका सभासमारोहहरू हेर्दा नयाँ पुस्ताको उपस्थिति भन्दा पुरानाहरूकै वर्चस्व देखिन्छ।
अब आउने नयाँ पुस्ताले यसलाई निरन्तरता देलान्/नदेलान् अल्प या पूर्णविराम लाग्ला यसै भन्न सकिन्न।
अबको एक/दुई दशकपछि पनि मङ्की हिल, ताइमो सान, क्याफे वन, ताइतोङ पार्क, नेपाली रेस्टुरेन्टहरू र इन्डिया क्लब वा सार्वजनिक सभाहलहरूमा आर्थिक प्रायोजनसहित रातो कार्पेट, कुर्सी, ब्याच, खादा, मालासहित प्रमुख, विशेष र साधारण अतिथिको प्रतिस्पर्धा होला/नहोला?
केही न्यून सभा-समारोहमा आक्कल-झुक्कल मलाई पनि मञ्चमा बोलाउँदा अगाडि दर्शकदिर्घा खाली देखेर निकै अप्ठ्यारो लागेर आउँछ। भएका दर्शक पनि भाषण विचार सुन्नभन्दा फोन कोट्याउन वा एकआपसमा कुराकानी गर्न व्यस्त देखिन्छन्।
भनाइको तात्पर्य यसको विरोध वा आलोचना गर्न खोजिएको होइन, नयाँ हङकङे नेपाली पुस्तामा पनि यो आनिबानी, इच्छा, चाहना होला/नहोलाको तर्क विमर्श गर्न खोजिएको मात्र हो।
कतिपय सामाजिक तथा क्षेत्रीय जातीय संघसंस्थाले आ-आफ्ना संस्कार-संस्कृति, खानपान, खेलकुद, चित्रकलादेखि भेषभूषासम्म नयाँ पुस्तालाई सिकाउँदै हस्तान्तरण गर्दै पनि गएका छन्।
हङकङका स्थानीय स्कुल-कलेजहरूका सभासमारोह र विशेष पर्वहरूमा नेपाली कलासंस्कृति, भेषभूषासहितको गीतसङ्गीत र नृत्यमा नयाँ पुस्ताको सहभागिता अग्रभागमा देखिनु हामी सबैको लागि खुसी र गर्वको कुरा हो।
हालसालै हङकङलाई कर्मथलो बनाएकी रिस्ता गुरुङ ‘मेरो डान्स युनिभर्स सिजन दुई’को विजेता बनिन् भने टोपराज तामाङ ‘मेरो भ्वाइस युनिभर्स सिजन दुई’को प्रतिस्पर्धामा उपविजेता चुनिन सफल भए।
त्यसैगरी, यसपाली नै पहिलोपटक राज गुरुङ र अन्जला राईले हङकङबाट गएर सगरमाथाको शिखर चुम्दा देश-विदेश र हङकङका समाचारमा समेत हेडलाइन बन्न सफल भए। यी सबै विशेष प्रतिभा बधाई र गौरवका पात्र हुन्।
एक जमानामा भाषा साहित्यको हिसाबले नेपालपछिको दार्जिलिङ अनि हङकङ भन्न थालिएको थियो। यो पनि पहिलो पुस्तामै सीमित रहने लक्षण देखिँदैछ।
कुनै जमानामा बग्रेल्ती साहित्यिक सभा-समारोह हुने हङकङमा केही सक्रिय साहित्यकारहरूको बेलायत बसाइँ र हङकङमै भएकाहरूमा पनि जोस, जाँगर कम हुँदै गरेको मैले अनुभूति गरेको छु।
हङकङ साहित्यिक साझा शृङ्खलाले भने हल्लाखल्लासहित अझै डोरी बाटिरहेकै छ। तर, शृङ्खलाले संख्यात्मकतासँगै गुणात्मकतामा पनि ध्यान दिए सुनमा सुगन्ध हुनेछ।
‘बाइ नेपाली फर नेपाली’ भनेर ठूलो आशा अनि उत्साहसाथ सुरुआतका वर्ष र पछि लामो समयसम्म इज्जत प्रतिष्ठा कमाएको थियो गैरआवासीय नेपाली संघले। तर, अहिलेसम्म आइपुग्दा भने ‘बाइ नेता फर नेता’ वा ‘बाइ पार्टी फर पार्टी’मा रूपान्तरण हुनु दु:खको कुरा भएको बताउँछन् हङकङका एकजना भूतभूर्व सक्रिय अभियन्ता। जसको असर हङकङमा पनि परेको छ।
एनआरएनएका पूर्वकेन्द्रीय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सायद तीन/चार वर्ष अगाडि चिमसा चोईको रिगल ओरियन्टल होटलमा विशेष समारोहसाथ गठन गरिएको एउटा (सायद जीएनआरएनए) कार्यसमितिको कुनै कार्यक्रम र चहलपहल त्यसपछि सुनेको/देखेको छैन।
हालसालै बद्री केसी संस्थापन पक्षबाट यहाँ अनु राईको नेतृत्वमा कविता गुरुङ, सन्तोषकुमार गुरुङ र इन्दर पुर्जा पुन लगायतको निर्विरोध कार्यसमिति चयन भएको छ। त्यसको लगत्तै महेश श्रेष्ठ समूहबाट जयन्ती गुरुङको नेतृत्वमा नरेन्द्रकुमार गुरुङ, भविन लिम्बू लगायतको अर्को समानान्तर गैरआवासीय नेपाली संघ, हङकङ लिमिटेड गठन भएर अघि बढ्ने प्रतिबद्धताको समाचार पनि देख्न र सुन्नमा आएको छ।
दुवै अध्यक्षले दुवै केन्द्रीय नेताबाट बधाई, शुभकामना तथा कार्यकाल सफलताको पत्र प्राप्त गरेका छन्।
व्यावसायिक संघसंस्थाको कुरा गर्दा, हङकङ सरकारबाट स्वीकृत प्राप्त नेपाली उद्यमीहरूको पहिलो संस्था ‘नेपाल चेम्बर अफ कमर्स हङकङ’ पनि छ भन्ने कुरा यो संस्थाको चुनावको सेरोफेरो आएपछि मात्र अनुभूति हुन थालेको छ पछिल्लो समय।
यसमा आबद्ध नभएका अन्य मझौला व्यवसायीलाई आबद्ध गर्ने भनेर दर्ता गरिएको ‘हङकङ नेप्लिज बिजनेस एसोसिएसन’को सुरुआतमा केही चहलपहल देखिए पनि अहिले भने नेम कार्ड र लेटर हेड बाहेक अन्त कतै भएजस्तो लाग्दैन। यी दुवै संस्था विभिन्न सभासमारोहका आसन ग्रहणमा भने देखिन्छन्, सुनिन्छन्।
हङकङेली नेपाली व्यावसायिक समाजको एकता र नेतृत्व गर्छु भन्ने यी संस्थाबीच एकताका हुने गरेको कसले कति महङ्गो ठाउँमा वार्षिक उत्सव वा अन्य समारोह गर्ने भन्ने प्रतिस्पर्धा पनि सेलाएको छ आजकाल।
यी दुई व्यापारी संस्था बाहेक युवा उद्यमीले सुरुआत गरेको फिने अर्थात् ‘फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरपेनर्स’ हङकङले केही फरक र केही आशा जगाएको थियो। सुरुआतभन्दा पनि निरन्तरता कसरी र कहिलेसम्म हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। त्यो हेर्ने भने बाँकी नै छ।
मुख्यतः व्यवसायी-उद्यमीहरूको संघसंस्थामा अन्य संघसंस्थामा जस्तो जातीय, क्षेत्रीय राजनीतिको रोग नसरे राम्रो हुने हो।
फुड एन्ड वेभरेज, रेस्टुरेन्ट, बार, सैलुन, स्पा, निर्माण व्यवसाय, सेक्युरिटी, टुर्स एन्ड ट्राभल्स, फाइनान्स, रेमिट, शिक्षा, कानुन, ग्रोसरी, सुपरमार्केट, एक्सपोर्ट-इम्पोर्ट, सिपिङ, कार्गो सबैतिरका जमेका योग्य व्यावसायिक व्यक्तिहरूको समावेशिता अपरिहार्य हुनुपर्छ यस्ता खाले संस्थामा।
मैले पुराना लेखमा पनि भनेको छु– यूएस डलर तीन सय, पाँच सय वा हजार लिएर हङकङ ओर्लेर यहाँ व्यावसायिक प्रगति गरेका नेपालीहरूबारे ठूलो पुस्तक नै बन्छ।
नजिको तीर्थ हेलाँ भनेझैँ गर्नुभन्दा यहाँका व्यावसायिक संघसंस्थाले स्वदेश- विदेशबाट भन्दा हङकङमा पहिलो पुस्तामै अनुकरणीय सफलता हासिल गरेका विविध विधाका उद्यमीहरूलाई मुख्य वक्ता बनाएर नयाँ पुस्तासँग जोड्ने र अनुभव लिने, सिक्ने, बाँड्ने पुलको काम गर्न सक्छन्।
उपलब्धि र परिणाममुखी कामभन्दा सामाजिक सञ्जालमा गरिने सस्तो आत्मप्रचारले अब आउने नयाँ पुस्ताले हामीबाट खासै सिक्लान् जस्तो मलाई लाग्दैन।
हङकङमा खादामाला, आसन, भाषण, सम्मान पत्र र व्यावसायिक आत्मप्रचारबाट टाढा रहेर हङकङ सरकारलाई नोटिसेबल व्यावसायिक आम्दानी कर तिरेर र सयौँ नेपाली तथा विदेशीलाई रोजगारी दिने क्षमता राख्ने नेपाली व्यवसायीहरू पनि स्थापित छन् र अझै हुँदैछन्।
यसमध्येका हङकङको निर्माण व्यवसायको मूलधारमै प्रगति हासिल गरेका हङकङको ‘निना वाङको सहर’ उपनाम पाएको ऐतिहासिक व्यावसायिक ‘चुनवान’ सहरमा जमेका नेपाली दोस्रो पुस्ताका दाजुबहिनी अभिषेक खड्का र सुरक्षा खड्काको ‘बीएम ह्युमन रिसोर्सेस एन्ड कन्सट्रक्सन लिमिटेड’ र उनीहरूको शैक्षिक एवं व्यावसायिक यात्रा अनुभव तथा विचारबारे चर्चा गर्नेछु यो लेखमा।
चुनवानको भूमिगत रेलमार्ग बिसौनीमा ओर्लिएर आकासे पुल हुँदै म ग्य्रान्ड सिटी कमर्सियल बिल्डिङको अफिसमा पुग्दा सुरक्षा र अभिषेक फाइलका चाङबीच आ-आफ्ना क्याबिनको कम्प्युटरमा व्यस्त थिए।
बेलुकीको ६ बज्नै लाग्दा कार्यालयका कर्मचारीहरू भने घर जाने तरखरमा देखिन्थे। एक्सप्रेसो कफीसँगै हाम्रो वार्तालाप सुरु भयो।
मैले उनीहरूको एकेडेमिक यात्राबारे जान्न चाहेँ पहिला।
सुरक्षाले काठमाडौँको ग्यालेक्सी स्कुलबाट ग्रेड दस, अस्ट्रेलियाको न्यु साउथ वेल्सबाट प्लस टु र सिड्नी युनिभर्सिटीबाट वायोमेडिकल साइन्समा ब्याचलर गरेपछि सिड्नी वाटर अथ्योरिटी ट्रिटमेन्ट प्लान्टमा प्राविधिक रिसर्चरको रूपमा तीन वर्ष काम गरिन्। त्यसपछि उनले पछिल्लो समय हङकङ युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा एमबीए गरिन्।
त्यसैगरी, अभिषेकले पनि काठमाडौँको ग्यालेक्सी स्कुलबाटै दश, अस्ट्रेलियाको न्यु साउथ वेल्सबाट प्लस टु र सिड्नी न्यु साउथ वेल्स युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा ब्याचलर अनि सिड्नी युनिभर्सिटीबाट फाइनान्समा एमबीए गरे। अनि अस्ट्रेलियन नेसनल बैंकमा बिजनेस लेन्डिङ एड्भाइजरको पोजिसनमा तीन वर्ष काम गरे।
अस्ट्रेलियाको एजुकेसनपछि पाएको त्यस्तो जागिर, पीआर छोडेर हङकङ स्थानान्तरण हुनुको प्रश्नबारे उनीहरूले आफ्नो कुरा यसरी राखे–
‘नेपालदेखि अस्ट्रेलियासम्मको पढाइलेखाइ र जागिरे जीवनसम्म पुग्दा हामी ममीड्याडीसँग धेरै समय सँगै बस्न पाएनौँ। अबको उपाय भनेको कि उहाँहरूलाई अस्ट्रेलिया बोलाउने वा हामी हङकङ आउने।
हो, अस्ट्रेलियाको शुद्ध हावापानी, खाद्य, पेय पदार्थदेखि जीवनशैली लक्जरियस छ। तर, हङकङमा ममीड्याडीलाई यहाँको बानी परिसकेको छ। साथीभाइसँगको एउटा सर्कल बनिसकेको छ। उहाँहरू हङकङको माहोलमा खुसी देखिनुहुन्छ। अस्ट्रेलियामा ठूलो क्षेत्र र यहाँजस्तो नेपालबाट नजिक र कन्भिनिएन्ट छैन।
अर्को कुरा, सधैँ इम्प्लोइ मात्रै भएर बसिरहने कुरा आएन। त्यो मानेमा हङकङ संसारकै ठूलो बिजनेस हब हो। यहाँ मिहिनेत गरेर अगाडि बढ्न अनगिन्ती सम्भावना र अवसर रहेकोबारे पटक-पटक यहाँ आउँदा जानकार थियौँ। अस्ट्रेलियाबाटै पनि यो देखिरहेका थियौँ।
यिनै कारणले पारिवारिक आत्मीयतासँगै रहेर अस्ट्रेलियाको शिक्षा र अनुभव दुवै लिएर हङकङलाई कर्मथलो किन नबनाउने भनेर फर्कियौँ।’
हङकङ फर्किएपछि उनीहरूले पारिवारिक स्वामित्वको प्यासिफिक क्राउन कन्स्ट्रक्सन एन्ड सेक्युरिटी कम्पनीमा पेड इम्प्लोइको रूपमा काम सुरु गरे।
सहोदर काका दीपक खड्काले स्थापना गरेको यो कम्पनी नेपालीमूलको स्वामित्वको हङकङमा पहिलो निर्माण व्यवसायी कम्पनी हो, जुन अद्यापि छँदैछ।
हङकङको लान्ताउ आइल्यान्डको विमानस्थल जोड्ने चर्चित सस्पेन्सज चिङमा ब्रिजदेखि यहाँको सबैभन्दा अग्लो आईएफसी टावर निर्माणमा समेत ठेक्का लिएर इतिहास रचेको यस प्यासिफिक क्राउन कन्स्ट्रक्सन एन्ड सेक्युरिटी कम्पनीमा सुरक्षाले अफिस व्यवस्थापन र अभिषेकले मार्केटिङ तथा साइटको काम हेर्दै आफ्नो ज्ञान अझै तिखारे।
ममीड्याडीको मायाले हङकङ तानिएका यी दाजुबहिनीले अन्ततोगत्वा उहाँहरूकै नाममा बीएम अर्थात् (बेद मनोरमा) ह्युमन रिसोर्सेस कन्स्ट्रक्सन लिमिटेड कम्पनी दर्ता गरेर व्यवसाय सुरु गरे करिब एक दशक अगाडि।
‘बाबाआमाको नामले गुड लक हुन्छ भनेर कि अरू कारणले?’ कम्पनीको नामबारे जिज्ञासा राख्दा उनीहरूले यसरी व्याख्या गरे–
‘पहिलो कुरा, हामी सकुशल जन्मिँदा उहाँहरू कति खुसी भएर अनगिन्ती गुड लकको बधाई थाप्नुभएको थियो होला? स्वाभाविक रूपमा, सन्तानलाई जीवनभर निस्वार्थ गुड लकको कामना गर्ने मातापिता जति गुड लक यो संसारमा अरू को हुन सक्छ र?
अर्को कुरा, हामीले विदेशमा व्यवसाय सुरु गर्दा नाम छोटो-मिठो र सबैलाई उच्चारण गर्न सजिलो हुनु पर्छ। अनि घरमा सबैजना बसेर विभिन्न नामबारे सल्लाह गर्दा सबैभन्दा छोटो-मिठो ममीड्याडीको नाम जोडिएको अङ्ग्रेजी अक्षरको बीएम नै उपयुक्त लाग्यो। अहिलेसम्म आइपुग्दा अनवरत रूपमा गुड लक नै गुड लक भएको छ।’
यी दाजुबहिनीले भनेजस्तै स्थापनाको छोटो समयमै हङकङका नेपाली, विदेशी र स्थानीयमूलका निर्माण व्यवसायीबीच छोटो समयमै बीएम कन्ट्रक्सन स्थापित हुन पुगेको छ।
मुख्य हङकङ द्वीपलाई उज्यालो बाँड्ने यहाँका सबैभन्दा धनाढ्य लीका सिङको ‘हङकङ इलेक्ट्रिक’को लामा आइल्यान्ड पावर स्टेसन चिमनी स्काप फोल्डिङ निर्माण, हङकङ विमानस्थल तेस्रो उडान अवतरण मार्गको ड्रिनेज सिस्टम, प्यासेन्जर क्लियरेन्स टनल निर्माणको काममा विदेशी र हङकङका अन्य नेपाली तथा स्थानीय निर्माण कम्पनीहरूको हाराहारीमा उनीहरू सहभागी भए।
काउलुन पेनेनसुला र न्यु टेरिटोरीलाई उज्यालो बाँड्ने क्यास्टल पिकको चाइना लाइट एन्ड पावर, ग्यास पाइपलाइन निर्माण र अन्य दर्जनौँ परियोजनामा कतै कामदार सप्लाइ त कतै निर्माण ठेक्काले उनीहरूको आत्मविश्वास र अनुभव अझै बढायो।
हालसालै मूलभूमि चीनमा रहेको स्टिल कारखानासँगको साझेदारी स्वामित्वमा हङकङका निर्माण क्षेत्रमा स्टिलसम्बन्धी सबै कामको ठेक्काको पनि सुरुआत गरेका छन् उनीहरूले।
जसअनुसार न्यु टेरिटोरीमा रहेको नर्थ डिस्ट्रिक हस्पिटल पुन: निर्माणमा बीएम कन्स्ट्रक्सनले स्टिल फिक्सिङका सबै कामको ठेक्का पाएको छ।
कामदार सप्लाइ मात्र गर्दा जोखिम कम र रिवार्ड पनि कम हुने बरु परियोजना ठेक्कामा उच्च जोखिम तर सफल भएमा नाफा पनि उच्च हुने उनीहरूको बुझाइ छ। त्यसैले चुङक्वान ओ, लाम तिन सुरुङ मार्गका १० किमी भाग कङ्क्रिट ठेक्का र ब्रेकिङ थ्रु कन्ट्रयाक्टले आर्थिक मुनाफा र अनुभवको हिसाबले निकै हितकर रह्यो बीएम कन्स्ट्रक्सनलाई।
सवा सय कर्मचारी, भारतीयमूलका दुई जना इन्जिनियर र आधा दर्जन सुपरभाइजरसहितको टिम बनाएका उनीहरूले हङकङको सानादेखि ठूला निर्माण परियोजनाका भुइँ, भित्ता र सिलिङमा नेपालीहरूको डीएनए हुनुलाई गर्व मान्छन्।
हङकङ जनरल चेम्बर अफ कमर्स, अस्ट्रेलियन चेम्बर अफ कमर्स, आइरिस चेम्बर अफ कमर्सदेखि हङकङमा निर्माण व्यवसायीहरूको ‘लाइट हाउस क्लब’का विभिन्न शिक्षामूलक वा अनुभव सेयर गरिने सभा-सेमिनारमा समयले भ्याएसम्म भाग लिन ज्ञानवर्द्धक लाग्छ सुरक्षा र अभिषेकलाई।
हङकङका निर्माण व्यवसायीहरूको क्लब ‘लाइट हाउस वुमन इन कन्स्ट्रक्सन’मा लामो समयदेखि चेयर पर्सन सम्हालेकी सुरक्षालाई विभिन्न कार्यक्रममा वक्ताको रूपमा निम्ता आउँछ। अभिषेक भने सुन्न मन पराउँछन्।
कुराको बिट मार्दै ‘हङकङमा पछिल्लो समय निर्माण व्यवसायमा काम गर्ने नेपालीलाई मुख्यभूमिबाट आउने कामदारका कारण विभेद भएको र धेरै बेरोजगार भएको सुन्नमा आएकोबारे’ जिज्ञासा राख्दा उनीहरूले यसरी व्याख्या गरे–
‘पहिलो कुरा त कोभिड महामारीपछि संसारमा कुनै पनि व्यवसाय पहिलेजस्तो स्वस्फूर्त मालामाल छैन, जसको असर कामदारलाई पनि पर्नु स्वाभाविक हो। हरेक व्यवसायको उद्देश्य मुनाफा कमाउनु नै हो। जब परियोजनाको ठेक्का नै कम लागतमा आउन थाल्छ भने ठेकेदार कम्पनीले कसरी लागत कम गर्ने भनेर सोच्नै पर्छ।
अहिले हङकङमा विदेशबाट दुई वर्षे करारमा कामदार ल्याउने अनुमति निर्माण व्यवसायलाई मात्र नभएर होटल, रेस्टुरेन्ट अनि अन्य विविध क्षेत्रमा पनि दिइएको छ। मूलभूमिका कामदार भाषाको कारणले पनि सजिलो मानिन्छन् यहाँ।
अर्को, हामीले नै पनि यहाँको स्थानीय इन्जिनियर राख्दा निकै महँगो पर्ने भएर इन्डियाबाट करारमा झिकाएका हौँ।
हङकङ विमानस्थल र चिङ्मा ब्रिज जस्ता युद्धस्तरमा सम्पन्न गर्नुपर्ने निर्माण परियोजना खासै छैनन् अहिले। मकाउ-जुहाइ-हङकङ सामुद्रिक पुल मार्ग र वेस्ट काउलुन एक्सप्रेस ट्रेन मार्गको काम सकिएको धेरै भइसक्यो।
कोभिडको समयमा सरकारले हङकङका जनता र व्यवसायीलाई सहयोगस्वरुप निकै ठूलो धनराशि बाँड्यो। अर्थसचिव पल चानका अनुसार यो आ.व. (२०२५/२६) मा पनि ६७ बिलियन हङकङ डलर बजेट घाटा छ।
जसको कारणले पूर्वकार्यकारी प्रमुख क्यारी लामको समयमा बनाउने भनिएको लान्ताउ भिजन टुमारो अर्थात् लान्ताउ आइल्यान्डमा समुद्री क्षेत्र अधिग्रहण गरेर पाँच/सात लाख जनसंख्या बसोबास गराउने ठूलो परियोजना थाती राखिएको छ अहिले।
विभेदभन्दा पनि, प्रतिस्पर्धाको जमानामा समग्र परिस्थिति केलाउँदै आफ्नो ज्ञान बढाउँदै स्थानीय भाषा सिक्नै पर्छ। यहाँको सरकार र लेबर डिपार्टमेन्टले भोकेसनल ट्रेनिङ सेन्टरमार्फत ट्रेनिङ भत्तासमेत दिएर विविध विषयका सिपमूलक तालिमको लागि हङकङका अल्पसंख्यक समुदायलाई आह्वान गरिरहेको छ। युगअनुसार कामसँगै आफ्नो ज्ञान, सिप, क्षमता अभिवृद्धि गर्दै जानुको विकल्प छैन।
अर्को मूल कुरा, जति सुरक्षा अपनाउँदा पनि निर्माण क्षेत्रमा यदाकदा दुर्घटना भइ नै रहन्छन्। वास्तविक दुर्घटनामा परेका पीडकले अवश्य नै क्षतिपूर्ति पाउँछन्। यो विषयमा हङकङको लेबर डिपार्टमेन्ट कामदारहरूको हकहितमा एकदमै कडा र दत्तचित्त छ।
तर, ससाना चोटपटकलाई पनि बहाना बनाएर कसरी बढीभन्दा बढी क्षतिपूर्ति लिने भन्ने खालका लोभका मुद्दामामिला बढ्दा त्यसले यो उद्योगमा हामीप्रति नकारात्मक धारणा पैदा हुनेमा बेलैमा सजग हुनै पर्छ।
त्यसैगरी, कमाइ राम्रो हुँदा उरलधुरल खर्च मात्रै नगरेर सञ्चय गर्ने र भविष्यको योजना बनाउन पनि जरुरी छ।’
आशा गरौँ, अब विस्तारै अर्थतन्त्र पुरानै लयमा फर्कनेछ। यी सबै उपलब्धि, ज्ञान र सफलताका तस्बिरबारे उनीहरू कुनै सामाजिक सञ्जालमा सुनिन्नन्, देखिन्नन्। करिब दुई घण्टाको बसाइमा उनीहरूको पारिवारिक ममता, स्नेह, व्यावहारिक, प्राविधिक, आर्थिक र समसामयिक ज्ञान सुनेर मलाई खुसी लाग्यो।
अनि, बिदा हुँदै बाहिर निस्केर गेटमा रहेको बीएम अर्थात् (बेद मनोरमा) ह्युमन रिसोर्सेस कन्स्ट्रक्सन लिमिटेड कम्पनीको बोर्ड मुसारेँ र आफ्नो हात हेंरेँ।
यस्तै सुझबुझ मन र मुटु भएका कर्मशील सन्तति भैदिए यो संसारमा एल्डर्ली होम अर्थात् वृद्धाश्रम चाहिने थिएन अनि हरेक घर स्वर्ग हुन्थ्यो भन्ने गम्दै बाटो तताएँ।
Shares

प्रतिक्रिया