यूके बस्ने जेन-जी छोरीलाई बुवाको पत्र : देश फर्क, बलिदानै दिन परे पनि तयार बन

यूके बस्ने जेन-जी छोरीलाई बुवाको पत्र : देश फर्क, बलिदानै दिन परे पनि तयार बन

ललित सुब्बा
कात्तिक २०, २०८२ बिहिबार १४:११, बेलायत

प्रिय छोरी आस्था,

धेरै माया अनि तिम्रो धैर्य, त्यागपछिको सफलतामा बधाई। साथमा, तिम्रो आगामी दिन अझ सफल बनोस्, अनेकौँ शुभकामना!

आजको दिन हाम्रो परिवारको सपना पूरा बनाइदिएको दिन, बलिहाङ राजाले खुसी मनाएको दिनमा थप तिमीले दिएको खुसी नै हाम्रो परिवारलगायत शुभचिन्तकले दिएको माया नै तिम्रो शक्ति हो। पहिलो खुसी तिम्रो जन्म हुँदा थिए भने दोस्रो आज सफल बनेको देख्न पाउँदा भएँ।

हाम्रो परिवारमा हाम्रो दुई आँखाका नानी हौ तिमी र भाइ। तिम्रो भाइले दिलाएको खुसीसँगै तिम्रो सफलता नै हाम्रो सफलता हो। हार मानेर टुटेको तिम्रो मन आज कोसिस, लगाव र हिम्मतले सफल बन्न सफल भयौ।

मेरो एकल प्रयासले मात्र असम्भवलाई तिमीले सम्भव बनाइदिँदा आज सबैभन्दा खुसी म नै हुँला। धेरैले आफ्नो परिवारलाई खुसी बनाएको सुन्न र देख्न पाइयो तर एउटा पिता, बाबा भएको नाताले मैले गरेको प्रयास र प्रेरणाले आज असम्भवलाई पनि सम्भव बनाउन सकिने रहेछ भन्ने प्रमाण दिन सकियो।

प्रिय छोरी,
तिमीलाई हाम्रो तर्फबाट दिने भनेकै शिक्षा हो। त्यसैले तिम्रो पढाइलाई हामीले पहिलो प्राथमिकतामा राख्यौँ। तिमीले तिम्रो बाबाममीको धरातल नबिर्सनू।

संसारको जुनसुकै कुनामा पुगे पनि तिमी नेपाली हौ। तिमीलाई विदेशी बनाउने मेरो रहर होइन, बाध्यता हो। नेपालले नेपाली हौँ भन्ने पहिचान दियो तर अधिकार दिएन। तिमी सक्षम बन्यौ तर नेपालको लागि नभएर विदेशीको लागि बन्न सफल भयौ।

तिमीजस्ता होनहार छोरीले नेपाललाई माया गर्नुपर्ने खाँचो छ तर नेपाललाई धमिराले खतम बनाएको छ। तिमीहरूले त्यो जालो तोड्नु पर्छ। हालसालै तिमीजस्ता जेन-जी नानीहरूले देशको लागि रगत बगाए। भ्रष्टाचार र अनियमितताको अन्त्य गरी सुशासन ल्याउन ज्यान नै अहुति दिए।

तर, आज ती नानीहरूले गरेको बलिदान, सपना पूरा होला र भन्ने शंका उत्पन्न भएको छ। रगत राम्ररी सुकिसुकेको छैन तर उनीहरूको सपना सुक्न थालेजस्तो देखिन्छ। 

प्रिय जेनजी छोरी,
तिमीजस्तै तिम्रै उमेरका ती सपुत नानीहरू मेरो रगतको नानी नभए पनि नेपाल आमाका नानीहरू हुन्। ती महान् नानीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा सहन सक्ने शक्ति मिलोस् भन्न चाहन्छु। नानीहरूको सपना सरकारले पूरा गरोस् भन्ने जोडदार माग गर्दछु।

ती नानीहरू राहत रकम र सहिद बन्नका लागि लडेका थिएनन्। देशका शासकको दलाली र अत्यचारको अन्त्य अनि भ्रष्टहरूबाट देश बचाउनका लागि लडेका थिए। ती बच्चाहरू परिवर्तनका निम्ति स्कुल, कलेजबाट आएर बाटोमा लामबद्ध भई देशको रक्षाको निम्ति आवाज उठाउँद ताकी-ताकी गोली हान्नुपर्ने थियो? उनीहरूको के दोष थियो?

बहुलट्ठी शासकले आफ्नो स्वार्थ पूरा गर्न तिमीजस्ता होनहार नानीहरूको आत्मविश्वासमाथि कुल्चँदै ताकी-ताकी छातीमा गोली हाने। तिनीहरूलाई कानुनको कठघरामा ल्याई जतिसक्दो छिटो कारवाही गरियोस्।

अब पनि अधिकारको लागि लड्न परे देशमा रहेका जेन-जी मात्र होइन, तिमीजस्ता विदेशमा बस्ने जेन-जीहरू पनि सडकमा लामबद्ध भएर लाग्न आग्रह गर्दछु। बलिदान नै दिन परे पनि पछि नपर्न एउटा बाबाको नाताले कठोर निर्णयका साथ हौसला दिन चाहन्छु।

तिमी के हौ, को हौ भन्ने आधार आफ्नै भाषा, लिपि, संस्कार र इतिहास प्रष्ट छ तर विदेशी बन्न बाध्य बनाइयो। नेपालले तिमीहरूजस्ता मणिलाई चिन्न सकेन छोरी। आफ्नो पितापुर्खाको माटोमा फर्काउन चाहेका छैनन् यहाँका शासकले। तिमीले तिम्रो बाजे, बज्यैका नाममा पठाएको रेमिट्यान्स लिन, खान मिल्छ तर तिमी नेपाली भएर नेपालमा बस्न अधिकार मिल्दैन!

माफ गर छोरी,
तिमीलाई नेपाली बनाउन सकिनँ। तिम्रो योगदान नेपाललाई चाहिएको छैन। तिमी आफैँ तिम्रो अधिकारको लागि लड्न अग्रसर बन। म एनआरएनए हङकङको अध्यक्ष हुँदा तिमी जस्ता हजारौँ विदेशमा बस्ने नानीहरूलाई नेपाली बनाउन सकेसम्म कोसिस गरेँ तर त्यहाँ पनि लोभिपापीले ‘एक पटकको नपाली सधैँको लागि नेपाली’ नारामा मात्र सीमित बनाए।

लोभिपापी पार्टीका झोलेहरूले अधिकारभन्दा अहमता मात्र खोजे। अन्य देशले तिमी र तिमीजस्ता हजारौँ योग्य व्यक्तिलाई आफ्नो देश झिकाउँछन्, रोजगारीसहित अधिकार दिन्छन् तर मेरो देशले तिमीलाई आफ्नो बाबाममीको देशलाई मेरो देश भन्नबाट वञ्चित गराउँछ।

परिवर्तन सम्भव छ तर विदेशमा बसेर पार्टीको, नेताको झोले बनेर सम्भव छैन। आफ्नो अधिकारको निम्ति देश तथा विदेशमा बस्ने सबै जेन-जी नानीहरू एकबद्ध हुन जरुरी छ। 

अन्त्यमा, तिमीले मेरो मात्र सपना पूरा गरेर हुँदैन, देशका सबै बाबाममी खुसी बन्न जरुरी छ। विश्वका कुनाकाप्चामा रहेका नेपाली जेन-जीहरूलाई नेपाल आमाको काखमा फर्काउनुछ– देशले मागे रगत बगाउनसम्म अग्रस्थानमा जाने हिम्मतसहित।

(हाल बेलायत बसोबास रहेका ललित सुब्बा एनआरएनए हङकङका पूर्वअध्यक्ष हुन्)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .