ad ad

ब्लग


हात समाउँदै जब उनले भनिन्– भैगयो, जिन्दगी त हराएको छैन नि

हात समाउँदै जब उनले भनिन्– भैगयो, जिन्दगी त हराएको छैन नि

हरिकुमार श्रेष्ठ
कात्तिक ९, २०७९ बुधबार ११:२७, काठमाडौँ

मेरो मोबाइल अचानक हरायो। मोबाइलसँगै झोलाबाट वालेट पनि गायब। मोबाइल हराउनु के थियो, म आफैँ हराएजस्तो भएँ। मान्छेको भिडमा मैले त्यसबेला आफूलाई नितान्त एक्लो पाएँ।

जिन्दगीमा मैले त्यस्तो निरीह कहिल्यै अनुभव गरेको थिइनँ।

घटना यसरी घटेको थियो :

२०७९ सालको दशैंभरि नै झरी परेकाले चाडबाडको खासै रौनक थिएन। बेमौसमको झरीले धेरैको चिल्लीबिल्ली बनायो। पानी पनि कस्तो पर्न सकेको असार–साउन भन्दा बढी। असोज महिनामा त्यसरी लगातार झरी परेको कहिल्यै थाहा थिएन।

अष्टमीको दिन आकाश केही खुल्यो। त्यही मौका पारेर नजिकैको भाटभटेनीमा घरायसी किनमेलको लागि गएको, फर्कंदा पानीले झण्डै चुटेको। घरभित्र पसेको मात्र के थिएँ, गड्याङगुडुङसहित घनघोर पानी परिहाल्यो। मनसुन बाहिरिने बेलामा त्यस्तो मौसम थाहा थिएन।

कात्तिक महिना लागेपछि बल्ल आकाश खुल्न थाल्यो। तिहार नजिकिँदै थियो। तर यति नै बेला राजधानीमा डेंगीको महामाहारीले आतंक मच्चायो। चिरपरिचित धेरै साथीभाइ डेंगी संक्रमणको सिकार भएका थिए। कोभिड संक्रमण बल्ल घटेको थियो, डेंगी संक्रमणले गाँजिहाल्यो।

मान्छेलाई केले मात्र सताउने, केबाट मात्र जोगिने, अनि कहिलेसम्म जोगिने? तर मान्छे भन्ने प्राणी कस्तो ज्याद्रो छ भने ऊ त्यस्ता सन्त्रासदेखि भाग्दैन, भाग्न पनि सक्दैन। आदिम कालदेखि मानिस थरिथरिका सन्त्रास लिएर बाँचिरहेको छ। त्यसलाई त उसले चुनौतीका रुपमा लिन्छ। मानव सभ्यताको मानक नै त्यही हो।

म आफूलाई त्यसरी दार्शनिक हुनु थिएन। घरमै कति खुम्चिएर बस्ने भन्ने उकुसमुकुस चाहिँ अवश्य थियो।

आकाश खुलेसँगै कात्तिकको शारदी न्यानो घामले स्वागत गरिरहेको थियो। मैले आफूलाई थाम्न सकिनँ। मनले त आफूलाई एभरेस्ट बेसक्याम्प पुगौं भन्थ्यो। अन्नपूर्ण सर्किट घुमौं भन्थ्यो। लाङटाङ उपत्यका अनि गोसाइँकुण्ड जाउँ भन्थ्यो।

त्यो सम्भव नभए पनि कमसेकम बस चढेर नयाँसडक, इन्द्रचोक त पुग्न सक्थेँ। त्यहाँ नगएको पनि महिनौं भइसकेको थियो। तन बुढ्यौलीतिर अग्रसर भए पनि मन भने कलेज पढ्दाको बेला जस्तै तन्देरी थियो। त्यही तन्देरी मन लिएर आन्तरिक पर्यटक भएर सहर घुम्ने इच्छा बोकेर त्यसदिन म घरबाट निस्केँ।

मन तन्देरी भएपछि तनले पनि त्यस्तै पहिरन रोज्दो रहेछ। जिन्स, टिसर्ट, बेसबल क्याप अनि हलुंगो स्पोर्टस् जुत्ता लगाएर घरबाट निस्कँदा मैले आफूलाई जमानामा त्रिचन्द्रमा पढ्दाको उमेरमा पाएँ।

त्यसमाथि पछाडि काँधमा हलुंगो रुकस्याक झोला भिरेर निस्कँदा मैले आफूलाई साँच्चि नै ट्रेकिङका लागि हिँडेको अनुभूति गरेको थिएँ। झोलाको बाहिरी कम्पार्टमेन्टमा एक बोतल पानी र चुइँगमको प्याकेट राखेको थिएँ। झोलाको बीचमा एउटा सानो कम्पार्टमेन्ट थियो, जसमा मोबाइल फोन र वालेट जतनसँग राखेको थिएँ। त्यति भएपछि म फुक्काफाल दिनभर सहर घुम्न सक्थेँ।

टुरिस्ट भएर घुम्न जान कस्सिएपछि ट्याक्सीको पछि किन लाग्थें? सार्वजनिक यातायात मेरो रोजाईमा पर्ने नै भयो। दुइ वर्षअघि कोरोना संक्रमणको बेला र त्यसपछि पनि लामो समयसम्म घरबाट काम विशेषले बाहिर निस्कनुपर्दा धेरैजसो ट्याक्सीको शरणमा पर्नु पर्दा एक किसिमको मनोटोनी जस्तो भएको थियो।

त्यसमाथि राजधानीको ट्याक्सीको कुरा गरेर पनि के साध्य?

सार्वजनिक यातायातमा यात्रा गर्नुको मजा नै अर्को हुन्छ। विभिन्न उमेर समूहका थरिथरिका यात्रु भेटिन्छन्। उनीहरुको हाउभाउ, भेषभुषा, कुराकानीले सहरको माइक्रोकोजम प्रतिबिम्बित गरिरहेको हुन्छ। त्यसैले मलाई सार्वजनिक यातायातमा यात्रा गर्न मन लाग्छ।

पहिले–पहिले जस्तो भए रिङरोडमा पुगेपछि ट्याक्सीको लागि हात उठाउँथे। तर, त्यसदिन म रुमानी मुडमा थिएँ। त्यसैले सडक पार गरी बसस्टपमा रोकिएँ। केही छोप्नु पर्ने हतार थिएन। अफिस छुट्ला, मिटिङ छुट्ला भन्ने चिन्ता थिएन। अपरान्हको घाम त्यति चर्को पनि थिएन। घाम ताप्दै यताउति गर्दै बस कुर्दै थिएँ।

समय आफ्नो साथमा हुँदा अर्कै मज्जा हुँदो रहेछ।

केही समय कुरेपछि बस आइपुग्यो। अफिस टाइम थिएन, तैपनि बसमा भिडभाड थियो। राजधानीमा सार्वजनिक यातायातको हालत यस्तै हो, कहिल्यै नसुध्रिने। सुधारका लागि कुरा चाँहि धेरै गर्छन्, काम चाहिँ माखो मार्दैनन्। ‘मास ट्रान्जिट’ को कुरा भट्याउँछन्, मोनोरेल, मेट्रोरेलको सपना देखाउँछन् तर छिमेकी मित्र देशले सहायतास्वरुप दिएको ट्रलीबस पनि चलाउन सक्दैनन्। उल्टै त्यसको तार चोरी, बेची खान्छन्।

राजधानीमा दैनिक सार्वजनिक यातायात चढ्न बाध्य निरीह यात्रुहरु सडकमा कालो धुँवा फाल्दै गुड्ने बस, माइक्रोबसलाई ‘कोच बस’ भन्न रुचाउँछन्, तिनले सकेसम्म यात्रु कोच्ने हुनाले।

आफुलाई भिडभाडमा बस चढ्ने बानी थिएन, त्यस्तो हतार पनि थिएन। त्यसैले अर्को बस कुर्ने मुडमा थिएँ। त्यस्तैमा बसस्टपमा केही यात्रु झरेपछि बस अलि हलुको भयो। बस चढौं कि नचढौंको दोमनमा थिएँ, सहचालकले ‘गइहाल्यो गइहाल्यो ’ भनेर कराएपछि भिडभाड चिर्दै म पनि बसभित्र हुलिएँ। कन्डक्टरको त्यो ‘गइहाल्यो’ शब्दमा के मोहनी जादु हुँदो रहेछ कुन्नि! यस्तो लाग्थ्यो– त्यो छुटेपछि अर्को बस आउनेवाला छैन।

राजधानीको सडकको जुनसुकै रुटमा चल्ने बस, माइक्रोबसका कन्डक्टर सबैले बोल्ने त्यो भाषाको जादुगरी मैले त्यसै बेला बुझेँ। जसरी हजारौँ यात्रु सार्वजनिक यातायातमा दिनहुँ कष्टकर यात्रा गर्न विवश छन्, म त केही न केही! भिडभाडको यात्राको अनुभव किन नलिने! त्यही सोचाइले बसभित्र कोचिन पुगेको थिएँ। मैले बोकेको झोला काँधमा झुन्डिरहेको थियो।

अर्को स्टपमा यात्रुहरु झरेपछि बस केही हलुंगो भयो। मैले चालक पछाडिको सानो बेन्चमा बस्ने ठाउँ पाएँ। काँधको झोला झिक्ने झन्झट गरिनँ। बरु बसमा यात्रा गरिरहेका यात्रुको कलबल, अनि गफगाफमा रमाइलो मान्दै थिएँ।

नेपाल वायु सेवा निगम अगाडिको मुख्य स्टपमा बस रोकिएपछि बसबाट धेरै यात्रु झरे। म पनि काँधको झोला जस्ताको तस्तै बोकेर सहर घुम्न निस्केँ।

सडक पेटीमा पैदल यात्रुको थामिनसक्नु भिड थियो। त्यो भिडलाई छिचोल्न नै मुस्किल। चाडबडको बेला भएर हो कि! अथवा मानिसहरु त्यसै लखरलखर हिँड्छन्– छुट्याउनै गाह्रो !

म आफू पनि त तिनैमध्येको थिएँ।

भिडभाड छिचोल्दै काठमाडौं मलभित्र छिरेँ। त्यहाँबाट संकटाबहाल हुँदै नयाँसडक छिर्ने छोटो बाटो छ। बाहिर सडक पेटीमा त्यत्रो भिडभाड भए पनि मलमा भने खासै ग्राहक थिएनन्। सडकमा थामी नसक्नुको भिडभाड, तर पसलमा भने ग्राहक संख्या न्यून, त्यो विरोधाभास मैले त्यहाँ प्रत्यक्ष अनुभव गरेँ। चाडबाडको बेला किनमेल गर्नु पनि छ। तर पसलमा छिर्न बजेटले दिँदैन। त्यस्तो अवस्थामा सडकमा लखरलखर हिँडेरै भएपनि धेरैले सन्तोष गर्दा हुन् कि!

म पनि केहीबेर विन्डो सपिङ गरी संकटा छिर्ने गल्लीमा निस्किएँ। मलाई किन्नुपर्ने त्यस्तो केही थिएन। मेरो गन्तव्य चाहिँ न्युरोड पीपलबोट नजिकको घडी पसल थियो, जहाँ मेरो आफ्नै र श्रीमतीको घडीको ब्याट्री फेर्नु थियो। त्यो काम सिध्याएर इन्द्रचोकबाट मखन जाने सानो गल्लीको पसलमा छिरी केही प्याकेट किसमिस, आलमन्ड, काजु, बदाम किन्नु थियो। त्यस दिनको मेरो घुमघामको मोटामोटी एजेन्डा त्यही थियो।

तर मेरो त्यस दिनको योजनामा अचानक तुषारापात भयो। एजेन्डामा प्रवेश गर्न नपाउँदै एकाएक ती भाँडिन पुगे। बैठक सुरु हुन नपाउँदै बिथोलिएजस्तो भयो।

घडी पसलको स्टुलमा बसेर आरामपूर्वक काँधको पछाडि बोकेको झोला झिकेँ। झोलाको भित्री भागको सुरक्षित कम्पार्टमेन्टमा मेरो र श्रीमतिको स्वीस घडी थियो। त्यसकै ब्याट्री फेर्न त्यहाँसम्म धाएको थिएँ। त्यो कम्पार्टमेन्ट खोल्न पाएको थिइनँ, त्यसभन्दा माथिल्लो भागको चेन पुरा खुलेको थियो, जसमा मैले वालेट र मोबाइल जतनसँग राखेको थिएँ। जतनसँग राखेर के गर्नु! कुन सड्को गायब भैसकेछ।

जिपर खुल्ला भएको झोलालाई हेरेँ। उसले दयाको भिख मागिरहेको थियो। आफ्नो मालिकले सधैँ जतन गरी राख्ने त्यो कम्पार्टमेन्ट जोगाउन नसेकोमा उसलाई हुनसम्म पीडा भएको थियो। मान्छे हुँदो हो त उ मेरो खुट्टा समातेर क्वाँक्वाँ रुने थियो। मैले उसको पीडा तत्काल बुझें।

तर मेरो पीडा कस्ले बुझोस्! वालेटमा त्यसदिन किनमेल गर्न भनेर एटिम मेसिनबाट केही पैसा निकालेको थिएँ। साथमा बैंकको भिसा डेविट कार्ड थियो। त्यसभन्दा पनि मेरा लागि महत्वपूर्ण त मैले तीन दशक सेवा गरेको परराष्ट्र मन्त्रालयले मेरो नाउँमा बनाइदिएको परिचयपत्र थियो।

म एकाएक परिचयविहीन हुन पुगेँ।

मोबाइल फोन हराएपछि मेरो सबैसँग सम्पर्क विच्छेद भइहाल्यो। सम्पर्कको माध्यम भनेको त्यही थियो– फोन, इमेल, भाइवर, मेसेन्जर सबै एकै ठाउँमा। ती सबै हराएपछि म स्वतः हराउने भइहालेँ।

त्यो स्लिक नयाँ मोबाइल अरुण छोराले केही महिना अघिमात्र लण्डनबाट पठाइदिएको थियो। उसले नै मलाई नोकिया फोनबाट स्मार्ट फोनमा प्रवेश गराएको थियो। अहिलेसम्म बजारमा मैले फोन किनेको अनुभव छैन। उसले नै हरेक ३–४ वर्षमा नयाँ मोबाइल पठाइदिन्थ्यो। मेरो च्वाइस पनि उसलाई राम्ररी थाहा छ। हत्केलामा अट्ने, हलुंगो, अनि ब्याट्री केहीदिन चल्ने, डाटा स्टोरेज राम्रो भएको। त्यही नै मेरो छनौट हुन्थ्यो।

सधैँ हातमा लिएर औंला घुमाउँदै व्यस्त हुने मेरो प्यारो नयाँ मोबाइल एकाएक गायब भएपछि एकछिन त म किंकर्तव्यमुढको अवस्थामा गुज्रिएँ।  दिमागले पनि काम गरेन, बिल्कुल शून्य थियो। शून्यताबाट वास्तविकतामा आउन केही समय लाग्यो।

जब म यथार्थको धरातलमा आएँ, मैले आफ्नो मोबाइल नम्बर सम्झेँ, जसलाई मैले झण्डै दुइ दशकदेखि प्रयोग गर्दै आएको थिएँ। नेपाल मोबाइल युगमा प्रवेश गरेपछि सरकारी कोटाबाट मुस्किलले पाएको मोबाइल नम्बर थियो त्यो।

सबभन्दा पहिले त्यही प्यारो मोबाइल नम्बर सम्झेँ। घडी पसलमा कामगर्ने एकजना महिला बिक्रेताको मोबाइलबाट आफ्नो मोबाइल नम्बरमा डायल गरेँ। तर अफसोच, मेरो मोबाइल नम्बर स्विच अफ थियो। त्यसरी मोबाइल स्विच अफ त म विदेश जाँदा मात्र हुन्थ्यो।

अहिले म आफ्नै देशको राजधानीको मुटुमा थिएँ। तर मैले आफूलाई विदेशमा भौँतारिएको अनुभव गर्न पुगेँ। कस्तो विडम्बना!

त्यसरी भावनामा बहकिएर–भौंतारिएर हिँड्नुको अब कुनै औचित्य थिएन। त्यसपछि के गर्ने– त्यो महत्वपूर्ण थियो। पहिलो त पुलिस रिपोर्ट गर्नुपर्ने थियो। तर त्यसको लागि पनि मसँग समय थिएन। एकछिन अघिसम्म मसँग फुर्सद नै फुर्सद थियो। अहिले मेरा लागि पलपल महत्वपूर्ण भएको थियो।

समयको परिभाषा पनि एक निमेषमा फेरिँदो रहेछ।

सबभन्दा पहिलो काम त बैंकको कार्ड ब्लक गर्नु पर्ने हुन आयो। त्यसको लागि बैंकसँग सम्पर्क गर्न मसँग फोन नम्बर पनि थिएन। उल्टै पाउ लुखुरलुखुर फर्कनु पर्ने भयो। त्यो बेला मेरो मनस्थिति मनास्लु ट्रेकिङको लागि निस्केको त्यस्तो पदयात्रीको जस्तो थियो, जो मनाङको बाटोमा पहिरो खसेर बीच बाटोबाटै फर्कन बाध्य भएको हुन्छ।

हिड्दाहिँड्दै उल्टो पाउ फर्कनु पर्दा मेरो के गति भयो होला!

मोबाइल र वालेट हराएपछि खति त भइसकेको थियो, जुन त्यसै नीच मारेर बसे अझ बढी पनि हुन सक्थ्यो। त्यसका लागि मैले प्रयोग गरेको मोबाइलको सीमकार्ड लक गर्नु त्यत्तिकै जरुरी थियो, किनकि त्यसमा मेरा धेरै व्यक्तिगत सूचना थिए।

अग्रेजी शब्द ‘लक’ को एउटा अर्थ नेपाली भाषामा ‘तालासाँचो’ भन्ने बुझ्न सकिएला। मलाई चाहि नेपाली ‘साँचो’ शब्द औधी प्यारो लाग्छ। किनकि सानो छँदा आमाले हामीलाई ‘साँचो’ को अर्थ सिकाइरहनु हुन्थ्यो। साँचो र झुटोको फरक सम्झाउँदै उहाँ भन्नु हुन्थ्यो, ‘साँचो व्यवहार गर्नेलाई पो ‘साँचो’, झुटो मन हुनेलाई के ‘साँचो’! तालासाँचोको उदाहरण दिँदै उहाँले त्यसो भन्नुहुन्थ्यो।

हुनपनि सानो छँदा हाम्रो घरमा साँचो लाएको कहिल्यै थाहा छैन। घरमा कोही नहुँदा वा आमा खेतबारीमा खेतालालाई खाजा पुर्याउन जाँदा उहाँले ढोकामा आग्लोसम्म लाउनु हुन्थ्यो। म स्कुलबाट घर आउँदा पिँढीको कुनामा झुन्डिरहेको फलामे डन्डीको कुईले ढोकाको आग्लो खोल्थेँ। हाम्रो लागि त्यही नै साँचो थियो। घरबाट एउटा सिन्को समेत हराउँथेन।

हराउँथ्यो त घरमा पालेको कुखुरा। घरमा कोही नभएको मौका पारी घरको आँगनबाटै स्यालले कुखुरा चोर्थ्यो। आमा खेतालालाई खाजा दिई घर फर्कंदा चल्लाहरु माउ गुमाउनु पर्दा कुखुरा च्याँ–च्याँ–च्युँ–च्युँ गरिररहेका भेट्नु हुन्थ्यो। त्यसबेला उहाँलाई हुनु मनखत लाग्थ्यो।

अहिले मेरो मनस्थिति पनि त्यस्तै थियो। आँगनमा चरिरहेको कुखुरा स्यालले चोरेजस्तै झोलामा सुरक्षित मेरो मोबाइल र पर्स पेसेवर स्यालले चोरेको थियो।

साँचोको कुरा गर्दा म परराष्ट्रमा छँदा धेरै वर्षपहिले हवाइको होनोलुलुमा एउटा कोर्सको सिलसिलामा तीन महिना बस्दाको स्मरण अहिले पनि मानसपटलमा ताजा छ। आयोजक संस्थाले तालिमका सहभागीलाई होनोलुलुको डाउनटाउनमा अवस्थित एक कन्डोमिनियममा बस्ने व्यवस्था मिलाएका थिए। त्यो गगनचुम्बी भवनको बाइसौं तलाको मेरो चिटिक्क परेको फ्ल्याटको बरन्डाबाट होनोलुलुको विश्व प्रसिद्ध वाइकिकी समुद्री तटको मनमोहक दृश्य देखिन्थ्यो। साँझपख अस्ताउन लागेको सुनौलो रंगको सूर्य प्रशान्त महासागरको गहिराइमा डुबेको अनुपम दृश्य पनि म बरन्डामा नै बसेर हेर्न पाउथेँ।

त्यहाँ बस्दा अहिले मैले सम्झेको कुरा चाहिँ अलि बेग्लै छ। पहिलो दिन हामी अपार्टमेन्टमा प्रवेश गर्नेबित्तिकै कन्डोमिनियमका म्यानेजरले फ्ल्याटको साँचो दिँदै रमाइलो पारामा भनेका थिए, ‘हवाइको सबै टापुमा प्रायः कसैले पनि घरमा साँचो लाउँदैनन्। चोरीचकारी नभएपछि किन घरमा साँचो लाउने झन्झट गरिरहनु! तपाईंलाई दिएको साँचो पनि फ्ल्याट नम्बर सम्झन सजिलो होस् भन्नलाई मात्र हो।!

हुनपनि तीन महिना होनोलुलु बसुञ्जेल मैले फ्ल्याटको ढोकामा साँचो लाउने झन्झट गरिनँ।

त्यतिमात्र हैन, रेष्टुरेन्टमा खाँदा अनि सुपरमार्केटमा किनमेल गर्दा फिर्ता भएको खुद्रा पैसा ओछ्यानमा त्यतिकै असरल्ल छाडी तालिमकेन्द्रमा जान्थेँ। कति पैसा छ भनेर गन्दा पनि गन्दिनथेँ। साँझ घर फर्कंदा ती खुद्रा पैसा चाङ मिलाएर सिरानी नजिकको सानो टेबुलमा राखिएको हुन्थ्यो। फ्ल्याटमा दैनिक सरसफाइ गर्न आउने फिलिपिनी हाउस किपर महिलाले ती खुद्रा पैसा जतनसँग मिलाएर जाँदी रहिछन्।

ती हाउस किपर महिलासँग मेरो खासै भेट हुन्थेन। म बिहान ब्रेकफस्ट लिएर तालिम केन्द्र जान्थेँ। उनी कुनबेला आएर फ्ल्याट सफा गर्ने, तन्ना मिलाउने काम गर्थिन्, मलाई थाहा हुन्थेन।

एकदिन विदाको दिन बाहिर कतै नगाई घरमा आराम गरिबस्दा उनीसँग भेट भयो। उनी एक साधारण फिलिपिनी महिला कामदार थिइन्। आफ्नो काममा अत्यन्तै लगनशील। हाउस किपिङ कामको महत्व राम्ररी बुझेकी।

मैले वैदेशिक रोजगारीको विषयमा उनको अनुभव जान्न चाहेँ, अनि कुरै–कुराको सिलसिलामा छरपष्ट रहेका खुद्रा पैसाको विषयमा पनि हल्का प्रश्न गरेँ, ‘बेवारिसे पैसा टिपौं जस्तो लाग्दैन?’

‘त्यस्तो पनि लोभ गर्ने हो– त्यसकै कारण जागिर गयो भने?’ उनको सरल जवाफ थियो।

मलाई उनको साँचोमन र सादापनप्रति अगाध श्रद्धा जाग्यो। फर्कने बेला जम्मा भएका खुद्राखुद्री पैसा ती फिलिपिनी महिलालाई एकमुष्ट दिएँ। श्रद्धाले दिएको हुनाले उनले पनि खुसीले लिइन्।

साँचोको वास्तविक अर्थ मैले त्यतिबेला बुझेँ। 

तर विडम्बना! मोबाइल हराएपछि मैले साँचोको परिभाषा फेर्नुपर्ने भयो। मोबाइलको सिमकार्डको सम्भावित दुरुपयोग रोक्न मैले त्यसलाई अविलम्ब ‘लक’ गर्नुपर्थ्यो। मेरो मोबाइलको भाग्य (लक) नै त्यस्तो रहेछ।

विद्युतीय माध्यमबाट बिल तिर्ने बानी बसिसकेको थियो। त्यही मोबाइल फोनमा मोबाइल ब्यांकिङ थियो, इ–सेवा थियो– घरै बसी बिजुली, पानी, टेलिफोनको बिल भुक्तानी गर्न सजिलो। त्यस्तै परे अरु बैंकिङ कारोबार गर्न पनि सजिलो थियो। मोबाइल हराएपछि चोरलाई पो सजिलो हुने हो कि! म एकछिन आत्तिएँ पनि।

धन्न दुरसंचारले तुरुन्तै सीम ‘लक’ गरिदिएकाले ढुक्क भएँ। बैंकले पनि तुरुन्त एटीएम कार्ड र मोबाइल बैंकिङ ब्लक गरिदिएकाले मोबाइल चोर हेरेको हेर्यै भयो होला।

अब त्यसलाई त्यो मोबाइलको के काम!

सोझो हिसाबले हेर्दा चोरले गर्ने भनेकै अर्को सिमकार्ड प्रयोग गर्ने वा मोबाइल सेट बेच्ने हो। त्यसको पनि केही उपाय निस्कन्छ कि भनेर चिनेका केही साथीभाइसँग सल्लाह गरी हेरेँ। त्यसो गर्दा मनको बोझ पनि अलि हलुंगो हुन्थ्यो।

एकजना भाइ थिए, जो नेपाल प्रहरीको डीआईजी पदबाट भर्खर सेवानिवृत्त भएका थिए। उनकी श्रीमती आफैँ मोबाइल चोरीबाट पीडित रहिछन्। 

‘दाज्यू, मेरो श्रीमतीको मोबाइल पनि केही महिना अघि नेपाल यातायातको बसमा चढ्दा पर्सवाटै गायब भयो। अहिलेसम्म फेला परेको छैन। फेला पर्ला जस्तो पनि छैन। पुलिसले ट्र्याकिङ त गर्छ। तर नेटवर्कभित्र आएमा मात्र फेला पर्न सक्छ। रातारात सिमाना कटायो वा मोबाइलको पार्टपुर्जा बेच्यो भने त के लाग्छ र? तैपनि पुलिस रिपोर्ट गर्नु बेस होला,’ उनले सुझाए।

उनले नै पुलिस रिपोर्ट गर्ने ठाउँ बताए। भोलिपल्ट खाना खाइवरी पुलिस रिपोर्ट गर्न पहिलेको नेसनल ट्रेडिङको कम्पाउण्डभित्र दाखिल भएँ। त्यहाँ काठमाडौं जिल्ला प्रहरी परिसरको कार्यालय रहेछ।

कार्यालयभित्र पनि प्रवेश गर्नु परेन। प्रवेशद्वारबाहिरै ‘नागरिक सहायता डेस्क’ साइनबोर्ड टाँसेर दुईजना प्रहरी अधिकृत टेबलमा निवेदन फारम फिजारेर बसेका थिए। एकजना महिला प्रहरी अधिकारीले मेरो निवेदन लिएपछि सम्झाउँदै भनिन्, ‘बुबा नआतिनुस्, हामी अवश्य ट्रयाकिङ गर्छौं। खाली यति कि त्यो मोबाइल चोर फोनको नेटवर्कभित्र आउनु पर्यो। आएछ भने ढिलो चाँडो अवश्य फेला पर्छ!

मेरा लागि उनको त्यो आश्वासन नै ठूलो कुरा थियो।

केही आश्वस्त भएर फर्के पनि मन भने बेचैन थियो। दुई दिनसम्म साथीभाइ, इष्टमित्र आफन्तजन कोही कसैसँग कुरा हुन सकेको थिएन। त्यो दुई दिन मेरा लागि दुई वर्षभन्दा लामो भएको थियो।

सूचना प्रविधिमाथिको परनिर्भरताले मानिसलाई त्यतिसम्म निरीह बनाउँदो रहेछ।

मेरो निरीहता र बेचैनीलाई श्रीमतीले राम्ररी बुझेकी थिइन्। कारण धेरैजसो समय म त्यही मोबाइलमा झुन्डिरहेको हुन्थेँ– समाचार पढ्नदेखि युट्युवमा गीत सुन्न। म नुन खाएको कुखुराजस्तो निन्याउरो देखेर उनले पनि नरमाइलो मानिन्। सुखमा, दु:खमा सधैँ साथ दिने जीवनसंगिनीले मेरो हात समाउँदै भनिन्, ‘भैगयो पीर नगर्नु, एउटा मोबाइल हरायो त के भयो! जिन्दगी त हराएको छैन नि!  केटाहरुले नयाँ फोन पठाइदिइहाल्छन् नि!’

हो त, जिन्दगी नै त हराएको थिएन। जीन्दगीको त भर छैन भने त्यो जाबो मोबाइलको के कुरा भयो र! उनले कति सरल भाषामा जीन्दगीलाई परिभाषित गरेकी थिइन्।

उनको त्यति आडभरोसा पाएपछि मैले आफूलाई हुलुंगो महसुस गरेँ। त्यही एकवचनले मोबाइल हराएको पीडा भुल्न मद्दत गर्यो। मनमा पीर परेको बेला सान्त्वनाका केही शब्दले पनि मनको भारी बिसाएजस्तो हुँदो रहेछ।

त्यसपछि ट्याबलेट खोलेँ, अनि मुड फ्रेस गर्न ट्विट गरें, ‘मोबाइल हराउनु त कौन सी बडी बात हुइ, मोबिलिटी हराउनु चाहिँ सबसे बढी बात हुइ।’

त्यो मैले लारा दत्त र विनय पाठकको मुख्य भूमिका रहेको ‘चलो दिल्ली’ नामक हिन्दी फिल्मको रमाइलो डाइलग रिमिक्स गरेको थिएँ। त्यो फिल्म हामी बुढाबुढीले टेलिभिजनमा धेरैपटक हेरेका थियौँ। अनि मरीमरी हाँसेका थियौँ।

अहिले मोबाइल चोरीको प्रकरणमा मैले त्यो डाइलग चोरी गरेँ। चोर्नु त हाकाहाकी यसरी पो चोर्नु– कि कसो!

त्यो ट्विट पढेपछि म आफैँ हाँसेँ। मन हलुंगो भयो। पीर परेको बेला माया र ढाडसको एक शब्दले पनि मल्हमपट्टीको काम गर्दो रहेछ भन्ने मैले त्यति बेला नै बुझें। त्यसपछि फेरि एउटा रुमानी ट्विट गरेँ, ‘मोबाइल फोन हरायो त के भयो र, माया त हराएको छैन नि! माया कहिल्यै हराउँदैन। सधैँ मुटुभित्र सुरक्षित रहन्छ।’ 

हो त नि, मोबाइल खसेर टुट्न फुट्न सक्छ, हराउन सक्छ, चोरी हुन सक्छ, बिग्रन पनि सक्छ। तर चोखो माया कहिल्यै फुट्दैन। हराउँदैन, चोरी पनि हुँदैन, बिग्रँदैन। त्यो त जन्म–जन्मान्तरसम्म अजर–अमर रहन्छ।

कहाँको चोखो माया, अनि कहाँको त्यो जाबो मोबाइल!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .