ad ad

ब्लग


यसरी सी चिनफिङ बने ती ‘लजालु युवा’

यसरी सी चिनफिङ बने ती ‘लजालु युवा’

युवा अवस्थामा सी चिनफिङ (बीबीसी)


चेतनाथ आचार्य
बैशाख २, २०८० शनिबार १२:३७, काठमाडौँ

सांस्कृतिक क्रान्ति सुरु भएको दुई वर्षपछि सन् १९६८ डिसेम्बर २२ तारिखमा अध्यक्ष माओ चतोङले उद्‍घोष गर्नुभयो– ग्रामीण भेगका गरिब किसानबाट युवाले पुन:शिक्षा लिन आवश्यक छ। एक करोड ७० लाख युवा विद्यार्थीहरू जो सहरी जनसंख्याको दस भागको एक भाग थिए, उनीहरू सहर छोडेर ग्रामीण क्षेत्रमा गए र सुरु गरे जीवनको अविस्मरणीय यात्रा। सी चिनफिङ तिनै युवामध्ये एकजना हुनुहुन्थ्यो। उहाँ राजधानी बेइजिङबाहिर गएर याननानलाई आफ्नो दोस्रो घर मानेर बस्न थाल्नुभयो। सी चिनफिङका लागि बेइजिङ छोड्‍नु भनेको भाग्नुजस्तै थियो।       

सन् १९६२ मै उहाँका बुबा सी चोङसुनलाई पार्टी नेतृत्व तहबाट हटाइएको थियो। परिणामस्वरूप सी चिनफिङले आफ्नो बाल्यकालमा निकै ठूलो कष्टको सामना गर्नु पर्‍यो। यो अवस्था सांस्कृतिक क्रान्तिको बेला अझै खराब बन्यो र उहाँहरूको सम्पूर्ण सम्पत्ति जफत गरियो। आफूले भोगेको उक्त समयको स्मृति गर्दै सी चिनफिङले लेख्नु भएको छ, ‘मेरो पहिचान नै कथित प्रतिक्रियावादीको अनुशासनहीन छोराका रूपमा थियो। म मुस्किलले १५ वर्षको थिएँ। उनीहरू मलाई १०० मृत्युको लायक छस्‍ भन्थे।’

सी चिनफिङले आफूलाई पहिले प्रहरी कार्यालयमा लगिएको थाहा पाउनुभयो र त्यसपछि उहाँलाई किशोरहरू राख्ने जेलमा लगियो। त्यहाँ अत्यधिक भिड भएकाले जेलभित्र हाल्नका लागि एक महिना कुर्नु पर्ने भयो। उहाँले स्वयंसेवाका लागि ग्रामीण क्षेत्रमा जाने टुङ्गो गर्नु भयो। ‘उनीहरूले म याननानमा जाँदै गरेको देखे। त्यहाँ जानु भनेको लगभग निर्वासनमा जानु जस्तै थियो। त्यसकारण उनीहरूले जेलमा हाल्नुको साटो मलाई त्यहाँ जाने अनुमति दिए,’ उहाँले लेख्नु भएको छ।

उहाँले याननान छनोट गर्नु भयो किनभने क्रान्तिको समयमा त्यही ठाउँमा उहाँका बुबाले लामो समय पार्टीको काम गर्नु भएको थियो। सन् १९६९ जनवरी १३ मा बेइजिङ रेलवे स्टेसन मानिसहरूको भिडले भरिएको थियो। सबै लामो सुस्केरामा सास फेर्दै थिए। सी चिनफिङ १६ वर्ष पुग्दै गरेको किशोर हुनुहुन्थ्यो। उहाँ कथित याननानका लागि 'शिक्षित युवा एक्प्रेस'मा यात्रा गर्न थाल्नुभयो। जब रेल गुड्‍न थाल्यो, रेलको भित्र रहेका र बाहिर रहेका सबै रून थाले। उक्त दिनको सम्झना गर्दै सी चिनफिङले व्याख्या गर्नुभयो, ‘म मात्र एउटा युवा थिएँ, जो मुस्कुराइरहेको थिएँ। रेलबाहिर रहेका थुप्रै मेरा आफन्तहरू किन मुस्कुराएको भन्दै मलाई प्रश्न गरिरहेका थिए। मैले भनेँ, यदि म यहीँ रहेको भए म रूने थिएँ। मलाई थाहा छैन म बाँच्थे कि बाँच्दिनथेँ। त्यसकारण अहिले यो ठाउँ छोड्‍नु राम्रो हैन त?’

‘शिक्षित युवा एक्प्रेस’ रेल थोङछुआनको सहरमा पुग्यो। त्यसपछि याननान फर्केर आइयो किनभने याननानमा रेल जाँदैन थियो। ट्रक चढेर याननान जानुभन्दा अगाडि उहाँहरूले बिहानको खाजा खानुभयो। त्यहाँको भूगोल निकै चिसो स्थान हो। त्यसमाथि हिउँदे समयले गर्दा उजाड र खैरा पहाडहरू देखिन्थे। जब उहाँहरू याननानमा पुग्नुभयो, पहिले नै साँझ परिसकेको थियो। त्यसमाथि सबै कुरा धुलाले ढाकेको थियो। ट्रक याननानको नर्मल स्कुलमा रोकियो, जहाँबाट उहाँहरूको यात्रा सुरु भयो।

याननानका बारेमा धेरै जिज्ञासा थिए, त्यसमध्ये केही त हिँडेर थाहा पाउन सकिन्थ्यो। सानो सहर उन्मुख गाउँ थियो र हिँडेरै आधा घण्टामा छिचोल्न सकिन्थ्यो। सबैभन्दा अग्लो भवन दुई तलाको सिन्ह्‍वा पुस्तक पसल थियो। सहरका बाटाहरू कालोपत्रे थिए, जहाँ गल्लीका बत्तीले चिसो हावामा शासन गरिरहेका थिए। बस स्टेसनबाट चुइँचुइँ आवाज र धिपधिपे उज्यालो आइरहेको थियो। के यो साँच्चै क्रान्तिको कोक्रो थियो? सी चिनफिङका मनमा यस्तै कुरा खेलिरहेको थियो।

क्रान्तिको समयमा सबैभन्दा लामो समय चिनियाँ कम्युनिष्ट पार्टीको हेडक्वार्टर रहेको याननान नयाँ चीन स्थापनापछि जन्मिएका सी चिनफिङजस्ता व्यक्तिहरूका लागि एउटा मिथक अथवा पवित्र तीर्थस्थल जस्तो लाग्थ्यो। तर याननान बारेका सबै कल्पनाहरू बेइजिङले चकनाचुर पारेको थियो। किशोरहरूका अनुहारमा नैराश्य पोतिएको थियो। उनीहरूले १५ नम्बरको धुलैधुलो भएको सडकको यात्रा फेरि सुरु गरे। ट्रकहरूको संख्या क्रमश: कम हुँदै गयो र अन्तमा सीमित सवारी साधन मात्र बाँकी रहे।

यात्रारत केही युवाहरूले ठूलोठूलो स्वरमा भन्न थाले, ‘गुरूजी तपाईंले गलत बाटो पो ल्याउनुभयो कि?’ सी चिनफिङ पूरै बाटोभरि धेरै बोल्नु भएन। उहाँलाई कुन ठाउँमा कता लगिँदैछ भन्ने बारेमा केही थाहा थिएन। अर्को दिन सी चिनफिङ र उहाँका साथीहरू यानछ्‍वान काउन्टीको कम्युनमा पुग्नुभयो। त्यहाँ प्रत्येकले अध्यक्ष माओको भनाइ संकलित किताब र सेतो टावेल पाउनुभयो। त्यसपछि उहाँहरू आफ्नो उत्पादन समूहतिर छरिनुभयो।

शिक्षित युवाहरू आउने क्रम जारी थियो। सन् १९६९ देखि १९७६ सम्म चार समूहमा गरी २ लाख ८० हजार युवाहरूलाई बेइजिङबाट याननानमा लगिएको थियो। सी चिनफिङलाई अन्य १४ युवाहरूसँगै ल्याङच्याह गाउँमा खटाइएको थियो। तिनीहरूमध्ये सी सबैभन्दा कम उमेरको हुनुहुन्थ्यो। पछि ल्याङच्याहका पार्टी सचिव हुनु भएका लिआङ युमिङका अनुसार सी चिनफिङ खैरो सुइटकेसमा पूरा किताब बोकेर आउनु भएको थियो। एक दिन उहाँहरू गाउँका युवालाई भारी बोक्ने सीप सिकाउँदै हुनुहुन्थ्यो। एकजना चलाख युवाले खैरो सुइटकेसलाई सबैभन्दा सानो देखेर त्यही बोक्नका लागि रोजे। तर उनले त्यसलाई निश्चित दुरीसम्म बोकेर लान सकेनन्। थकाइ मार्न बसेको ठाउँबाट उनले त्यो सानो सुइटकेसलाई त्यहीँ छोडेर अर्को ठूलो झोला बोके र थाहा पाए त्यो ठूलो झोला त सानो खैरो सुइटकेसभन्दा धेरै हलुका रहेछ। उनलाई अचम्म लाग्यो र सोधे ‘यो बेइजिङको केटाले यो खैरो सुइटकेसमा सुन बोकेको छ कि के हो?’  

ल्याङच्याहमा पुगेपछि मात्र सबैले थाहा पाए सी चिनफिङले बेइजिङबाट दुईवटा सुइटकेस ल्याउनु भएको छ। ती दुईमध्ये ठूलो चाहिँ सी आफैँले बोक्नु भएको थियो जहाँ किताबहरू थिए। सन् १९६९ को चिनियाँ नयाँ वर्षका अवसरमा शिक्षित युवाहरूले बाफमा पकाएको खानेकुरा स्टिमबल खाने अवसर पाएका थिए। यो सम्मानित पाहुनालाई स्वागत गर्ने स्थानीयको परम्परा थियो। बंगुरको मासु, भुटेको कुखुरा, मिटबल र करङ लगायतका परिकारहरू टेबुलमा राखिएका थिए। साथमा भातबाट बनाइएको रक्सी पनि थियो। यो एक प्रकारको भव्य भोज थियो जबकि त्यहाँ पुग्दो खानेकुरा हुँदैन थियो। युवाहरू यो देखेर छक्क परे। कसले यस्तो स्वादिलो खानेकुराको व्यवस्था गर्‍यो। तर यो लामो समय रहेन र ल्याङच्याहले आफ्नो सक्कली रङ देखायो। नयाँ वर्ष मनाएको केही समयमै केही मान्छेहरू गाउँबाट आफ्नो घरको ढोका बन्द गरेर बाहिर निस्किए। उक्त समय गाउँलेहरू घर छोडेर खानेकुरा माग्न जान्थे। यानछ्‍वान काउन्टीका लगभग आधाजस्तो गाउँलेहरू खानेकुरा माग्नका लागि बाहिर जाने गर्दथ्ये। काउन्टीको उत्पादन समूहका प्रमुख पनि यसरी माग्न जान्थे। त्यो काउन्टीमा पुगेका युवाहरूलाई यसरी पनि बाँच्न सकिन्छ भन्ने कुरा थाहा थिएन।

किसानहरूले सघन रूपमा काम गरेको देखेर सी चिनफिङ छक्क पर्नु भयो। उनीहरू बिहान छ बजे नै उठ्‍थे र पहाडमा काम गर्न जान्थे। पहाडमा सासै नफेरी काम गर्थे। दिउँसोको खाना खाने समयसम्म पनि उनीहरू निरन्तर काम गरिरहेका हुन्थे। कामका बीचमा रहेको छोटो आरामको समयमा सी चिनफिङले चुरोट खान सिक्नुभयो। गाउँले जीवन र सीले गाउँका बारेमा सुन्नु भएको कुराका बीचमा ठूलो विरोधाभास थियो। त्यसकारण सीका लागि ल्याङच्याहको पहिलो वर्ष अन्योलमै बित्यो। पछि सीले सम्झनु भयो जब उहाँ पहिलोपटक त्यहाँ पुग्नु भएको थियो, उहाँलाई अपनत्व महसुस नै भएको थिएन। एउटा कुरा के थियो भने सीले स्थनीय कुकुरलाई पाउरोटी खुवाएको कुराको व्यापक आलोचना भएको थियो। त्यो पाउरोटी सीले बेइजिङबाट लानु भएको थियो र मान्छेले खानका लागि खराब भइसकेको थियो। त्यसकारण उहाँले यो कुकुरलाई दिनु भएको थियो। गाउँलेहरूले यस्तो महत्वपूर्ण खानेकुरा पनि कुकुरलाई दिइन्छ भनेर कल्पनासम्म गरेका थिएनन्। राजधानीबाट आएका शिक्षित युवाहरूले खानेकुरा खेर फालिरहेका छन्‍ भन्ने कुरा एक मुख दुई मुख हुँदै बृहत रूपमा हल्ला फैलिएको थियो।

‘म १५ वर्षको मात्र थिएँ र त्यहाँको वातावरण मेरा लागि अनुकूल थिएन। म अपरिचित थिएँ र मेराबारेमा गलत बुझाइ थियो। म एक्लो थिएँ।’ सी चिनफिङले उक्त घटना सम्झदै भन्नुभयो। उहाँको परिवारको जीवनलाई टुक्राटुक्रामा विभाजन गरिएको थियो। उहाँका बुबालाई पक्रेर जेलमा राखिएको थियो। आमालाई घटुवा गरिएको थियो भने बहिनीलाई भित्री मंगोलिया पठाइएको थियो। सी हमलेटको ‘बाँच्ने कि मर्ने ?’ भन्ने दोधार जस्तै संघर्ष गर्दै हुनुहुन्थ्यो। केही महिनापछि, सीले आफ्‍ना परिवारलाई भेट्‍नका लागि बेइजिङ जाने अनुमति माग्नुभयो। उहाँको यो भनाइपछि प्रहरीले उहाँलाई पक्रियो र सहर फर्किन खोजेको अभियोग लगायो। सीलाई प्रहरी चौकीमा थुनियो र कडा शारीरिक श्रममा लगाइयो।

'हामी बेइजिङको हाइतिआन जिल्लाको जमिनमुनिको नालीमा सुतेर बिताएका थियौँ।’ प्रहरीले त्यतिबेला भनेको सी चिनफिङले सम्झदै बताउनुभयो। ल्याङच्याहका मान्छेले पाँच महिना अगाडिकै जस्तो सी चिनफिङलाई देख्न चाहन्थे। त्यो बेला उहाँको अनुहारको छाला बुढो मान्छेको जस्तो भएको थियो र धुँवाले पूरै अनुहार पाकेको थियो।

‘म युवा थिएँ र उनीहरूसँगै गाउँमा गएर बस्ने सानो रोजाइ मात्र थियो।’ सी चिनफिडले आफ्नो त्यो समयमा फर्केर ल्याङच्याहको समय सम्झँदै भन्नुभयो, ‘मेरो भविष्यको कुनै योजना थिएन। एकबद्धताको महत्वलाई पनि मैले बेवास्ता गरेको थिएँ। मानिसहरू त्यो पहाडमा दैनिक काम गर्दथे र म यताउता गर्दथेँ। यसले गलत प्रभाव पार्‍यो।’

सी चिनफिङले ग्रामीण र सहरी क्षेत्रका युवाबीच रहेको खाल्डो पुर्ने पुलको काम गर्नु भयो। अनि उब्रिएको समयमा उहाँले नयाँ व्यक्तिका रूपमा आफूलाई बढाउनुभयो। केही समयमा ल्याङच्याहमा उहाँले अत्यधिक झिँगाहरू रहेको पाउनुभयो। असंख्य झिँगा र अन्य अज्ञात किराहरूको टोकाइबाट उहाँको शरीरभरि फोका उठे। उहाँको संवेदनशील छालाका कारण पिँडुलामा उठेका फोका कन्याएर घाउ नै घाउ भएको थियो। उहाँलाई झिँगाहरूसँग अभ्यस्त हुन दुई वर्ष लाग्यो। उहाँ काठको मुढा जस्तै सुत्नु हुन्थ्यो। जतिसुकै झिँगा र किराले टोकून्‍ उहाँलाई मतलब थिएन। शौचालय पनि प्रयोग गर्ने खालको थिएन। ग्रामीण क्षेत्रको शौचालयको अवस्था अत्यन्त नाजुक थियो। ती शौचालयहरू फोहोर थिए। हिउँद अथवा वर्षा सधैँ मल थुप्रिएका हुन्थे।

‘चाँडै हरेकले समयको बानी जस्तै यो उनीहरूको व्यवसाय हो भन्ने थाहा पाए,’ उहाँले भन्नुभयो। ग्रामीण क्षेत्रमा नुहाउने बाथरूम पनि थिएन। जब चिसो हुन्थ्यो मानिसहरू पानी उमाल्थे टाबेल चोबेर शरीर पुस्थे। जब मौसम न्यानो हुन्थ्यो, तब मानिसहरू खोलामा नुहाउन जान्थे। अरू शिक्षित युवाले सी चिनफिङलाई ‘लजालु व्यक्ति’ भन्थे। उहाँ सशक्त मानिसकताको हुनुहुन्थ्यो र कहिल्यै पनि गुनासो गर्नु भएन। गाउँलेहरूका लागि उहाँ ज्ञानी, सजिलो र सामान्य व्यक्ति हुनुहुन्थ्यो जो बोल्दा कहिल्यै पनि क्रान्तिकारी अथवा परम्परावादी हुनु भएन। उहाँमा शहरी क्षेत्रको हावाको प्रभाव रहेको थिएन, जसले उहाँलाई गाउँलेहरूबाट टाढा बनाओस्।

सी चिनफिङले आफ्‍ना जुत्ता साथीलाई दिनुभयो जो खाली खुट्‍टै हिँड्‍ने गर्दथे। उहाँले कहिलेकाहीँ गाउँलेको कपाल काट्‍ने काम पनि गर्नुभयो। अनि कहिलेकाहीँ पौडी प्रशिक्षक पनि बन्नुभयो। ल्याङच्याहका थुप्रै युवाहरू सीका साथी बने यद्यपि उनीहरूलाई थाहा थियो सीका बाबाले कथित राजनीतिक गल्ती गरेका छन् र उनी प्रतिक्रियावादी परिवारका हुन्।        

बेइजिङमा पढेर ल्याङच्याहमा काम गरेका एकजना शिक्षित युवाका अनुसार सी चिनफिङले सधैँ सबैलाई समान व्यवहार गर्नु भयो। उहाँ मुस्कुराएर नम्र स्वरमा बोल्नुहुन्थ्यो। गाउँलेहरूले त्यो युवालाई अनुमोदन गरे र त्यही युवा गाउँबाहिर र विश्वको सूचनाको स्रोत बनेको थियो। सी चिनफिङको पेट त्यसअघि कहिल्यै पचाउन नसकेका खानेकुराहरूप्रति अभ्यस्त हुँदै गयो।

सी चिनफिङ छोटो समयका लागि आफ्‍ना साथीहरूसँग ल्याङच्याहमा पहिलो पटक आउनुभएको थियो, उहाँले गाउँलेहरूकै घरमा खानुभएको थियो। मकै र भटमासको पिठोबाट बनेका पाउरोटी लगायतका खानेकुरा गाउँलेहरूले सम्मान स्वरूप दिएका थिए। जब उहाँहरू खान थाल्नुहुन्थ्यो, गाउँका बच्चाहरू उत्साहपूर्वक उभिएर नियाल्ने गर्दथे। गाउँको जीवन बेइजिङको जीवनभन्दा निकै फरक थियो। तथापि उहाँहरू गाउँलेहरूभन्दा पनि राम्रो तरिकाले त्यहाँ बस्नुभयो।

ल्याङच्याहमा गाउँलेहरूले राज्यनियन्त्रित खेतीपाती उत्पादनको आधाभाग राज्यलाई उपलब्ध गराएर दायित्व निर्वाह गरिरहेका थिए। उनीहरूले मासिक १० किलो प्रतिव्यक्ति पाउने गर्थे। शिक्षित युवाहरूलाई भन्दा यो आधाले कम थियो। उनीहरू आफू पालिनका लागि चोकरका रोटी र अनाजका पातहरू खाने गर्दथे। यो त्यतिबेलासम्म थिएन जतिबेला शिक्षित युवाहरूले आफैँले खाना पकाएर खान सुरू गरेका थिएनन् र स्थानीय परिस्थितिमा खाना तयार गर्न कति गाह्रो हुन्छ भन्ने महसुस गरेका थिएनन्।

सबैभन्दा पहिलो अफ्‍ठ्‍यारो भनेको बाल्ने दाउरा थियो, जुन अलिकति जम्मा गर्न पनि गाह्रो हुन्थ्यो। त्यसकारण प्राय: भात आधाउधी त काँचै हुन्थ्यो। केही समयपछि उनीहरूलाई गाउँलेहरूले जम्मा पारेका मकैका ढोड बालेर खाना पकाउने सुविधा दिए। जसबाट उनीहरूको आगो बाल्नका लागि परेको ठूलो समस्या पार लागेको थियो। तर उनीहरू प्राय: भोकभोकै रहन्थे। राति जब उनीहरू इँटाको बिस्तरामा पल्टिन्थे, उनीहरू प्राय: खानेकुराकै बारेमा कुराकानी गरिरहेका हुन्थे। र, उनीहरू अधिकांश कुरा पनि कसरी भोकै रहन पुगियो भन्नेबारेमा चर्चा गर्थे।

तथ्याङ्क अनुसार त्यस वर्षपछि चीन सरकारले शिक्षित युवाहरूका लागि आपूर्ति गरिँदै आएको रासनमा पनि कटौती गरिदियो। करिब ४० प्रतिशत जति खाना आपूर्ति नै गर्न नसक्ने भयो। सी चिनफिङले भन्नुभयो, ‘त्यो यस्तो समय पनि थियो, जतिखेर मैले तीन महिनासम्म त तेलको स्वाद पनि चाख्न पाइँन। एकवर्षको हिउँदमा मेरो घरबाट केही पैसा पठाइएको थियो। मेरो कोठामा बस्ने साथी र मैले केही किलो सुँगुरको मासु किनेका थियौँ। हामीले त्यो टुक्रा टुक्रा काट्‍यौँ र नपकाइकन भएपनि खाइहाल्यौँ, त्यो एकदमै स्वादिलो थियो!’

उत्पादक समूहले कहिलेकाहीँ मिल मार्फत गहुँलाई पिसेर पिठोमा बदल्थे र शिक्षित युवाहरूलाई बाँड्‍थे। यसो गरेको बेला उनीहरू अलिक स्तरीय खानेकुरा खान पाउँथे। सी चिनफिङका एकजना युवा कमरेड सम्झिन्छन्‍, सीले पहाडमा काम गर्न गएका बेला एउटा गहुँबाट बनेको रोटी ल्याउनु भएको थियो। खाना खाने बेला भयो, तब उहाँले देख्नुभयो, सबै गाउँलेहरूले चोकरका रोटी खाइरहेका थिए। त्यसपछि उहाँले गाउँलेहरूका अगाडि त्यो रोटी खान सहज महसुस गर्नु भएन। उहाँले एक महिलालाई त्यो रोटी दिनुभयो र खाना नै खानुभएन।

ल्याङच्याहमा रहँदाको ७ वर्षको अवधिमा सीले एक चोटी मात्रै सेतो चामलको भात खानुभयो। एक कचौरा भात दिने मानिस हुनुहुन्थ्यो, लिन यिनथाङ। जसले सी नजिकै काम गर्नु हुन्थ्यो र पछि सीको निकै घनिष्ठ साथी हुनुभयो। कस्तै कठिन अवस्थाको सामना गर्नु परे पनि सी चिनफिङले ल्याङच्याहका गाउँलेहरूप्रति गहिरो प्रेमको अनुभव गर्नु भयो।

‘जब म भोकाएको हुन्थेँ, उनीहरूले मलाई खानेकुरा पकाइदिन्थे, जब मेरा लुगा मैला हुन्थे, उनीहरूले धोइदिन्थे र जब मेरो सुरुवाल च्यातिएको हुन्थ्यो, उनीहरूले सिलाइदिन्थे।’ उक्त समयको स्मरण गर्दै सीले भन्नु भयो। ल्याङच्याहमा रहँदा सी चिनफिङले बाँध निर्माणका कामहरू धेरै गर्नुभयो। गाउँका युवाहरू जो खेतीपातीमा राम्रा थिएनन्, ती बीस वा बीसभन्दा बढी युवाहरूलाई संगठित गरेर बाँध निर्माण तथा खेतलाई गह्रागह्रा बनाउनमा ध्यान दिनुभएको थियो। त्यस बखत, दुर्गम क्षेत्रहरूमा ठुल्ठूला मेसिनहरू थिएनन्। बाँध निर्माण गर्न पनि फोहोर मैलाका तहमाथि ठूला गह्रुङ्गा ढुङ्गा राखी गिलो माटो भरेर पर्खाल बनाइन्थ्यो। यो कठिन शारीरिक काम थियो। गाउँलेका अनुसार, एक जनाले एक दिनमा दुई सय पटक माटो र ढुङ्गाले भरिएका गाडा ओसारपसार गर्नु पर्दथ्यो। उनीहरूसँग हातमा लगाउनका लागि पञ्जा पनि थिएन। दिनभरिको कठिन कामपछि, सीको हातभरि ठेला उठेका हुन्थे, कतै फुटिसकेका र कतै काटिएका घाउ हुन्थ्यो। यसरी उहाँले हरेक दिन काम गर्नु भएको थियो। उहाँ जति थकित भए पनि आफ्नो काम सम्पन्न नभएसम्म गरिरहनु हुन्थ्यो। गाउँलेहरूले देखेका थिए कि उहाँ काम र कर्तव्यबाट कहिले पनि टाढा भाग्नु हुन्न थियो।          

उक्त निर्माण टोलीमा संलग्न एक कम्युन सदस्य, ल्याङ सिनरोङको यादमा सीको काम गराइ अझै ताजा छ। ल्याङले सम्झँदै भन्नुभयो, 'उहाँ आफ्नो कामप्रति निकै गम्भीर हुनुहुन्थ्यो। उहाँले एक निलो रङ्गको पुरानो कोट लगाउनु भएको थियो, जसमा कम्मरको चारैतिर विस्फोटक फ्युज जोडिएको थियो। उहाँमा आफू विद्वान भएकामा कुनै घमण्ड थिएन।’

साधारणतया, बाँधको निर्माण हिउँदमा खेतीको काम कम हुने अवस्थामा गरिन्थ्यो। तर यो समय बाँध निर्माणका लागि सबैभन्दा कठिन समय पनि थियो। जमिनमा जमिबसेको फोहोरलाई खनेर निकाल्नु, गाडामा राखेर धकेल्नु र माटो कडा नबनेसम्म चलाइरहनु। यी कामहरू सबै अति नै कठिन थिए। सीका औँलाहरू सबै सुन्निएर मोटा भएका थिए। कम्युनका एक साथीले सम्झिए कि चिनियाँ पात्रो अनुसारको फेब्रुअरी वा मार्चमा जब बरफ र हिउँ पग्लँदै थियो, सीले आफ्नो पाइन्ट खोली नाङ्गो खुट्‍टाले चिसो पानीमा उभिएर अरूसँग मिलेर हाइड्रोलिक बाँध बाँध्ने काम गर्नु भएको थियो।

सी ल्याङच्याह ब्रिगेड पार्टी शाखाको सचिव पदमा निर्वाचित हुने बेलासम्म उहाँ र अरू साथीहरू मिलेर चारवटा बाँध बनाइसकिएको थियो। एउटा निर्माण टोलीका पूर्वनेताले स्मरण गरे कि बाँध निर्माण भएपछि गाउँमा मकैको उत्पादन दोब्बर भयो। किसानी जीवनको अनुभव सँगसँगै सी चिनफिङले पुस्तकमार्फत आध्यात्मिक तथा बौद्धिक ज्ञान पनि प्राप्त गरिरहनुभएको थियो। सीले भन्नुभयो, त्यस बेला शारीरिक कामपछि मैले अरू दुई वटा काम गर्नु पर्ने हुन्थ्यो: एउटा गाउँलेहरूसँग घुलमिल गर्ने र अर्को पढ्‍नका लागि पुस्तक खोज्ने। कन्फ्युसियसको एउटा आदर्श वाक्यले एक युवकको जीवन उद्देश्यको व्याख्या गर्छ। आफ्नो समुचित विकास, आफ्नो परिवारको राम्रो व्यवस्थापन, स्थानीय सरकार राम्ररी सञ्चालन र संसारमा शान्ति कायम। हाम्रा पिँढीका मानिसहरू युवावस्थादेखि नै यस सोचबाट प्रभावित भएका थिए। म पन्ध्र वर्षको हुँदा मलाई ग्रामीण क्षेत्रमा कामका लागि पठाइयो। यसकारण मैले आफ्नो समुचित विकास गर्ने, आफ्नो परिवारको राम्रो व्यवस्थापन गर्ने, स्थानीय सरकार राम्ररी सञ्चालन गर्ने र संसारमा शान्ति कायम राख्ने मेरो काम होइन भन्ने नै भयो। तर हामीले गर्ने भनेको पढ्‍ने, पढ्‍ने र हाम्रो नैतिक चरित्रको अझै विकास गर्ने मात्र हो।

ल्याङच्याहका गाउँलेहरू सीले सधैँ इँटाभन्दा मोटा पुस्तकहरू पढ्‍नु भएको देखेर निकै प्रभावित भएका थिए। उहाँ खाना खाइरहेको बेला पनि पढ्‍ने गर्नुहुन्थ्यो र गोठाला जाने बेला पनि पुस्तक बोक्न बिर्सनु हुन्नथ्यो। त्यस बखत गाउँमा बिजुली थिएन। सबै गाउँलेहरू अलि छिट्‍टै सुत्थे तर सीको गुफा घरमा भने उज्यालो देखिन्थ्यो। उहाँ प्रायजसो चुरोट तान्दै राति अबेरसम्म पढ्‍नु हुन्थ्यो। गोट्‍स फ्लेक ब्राण्डको चुरोट, जुन प्याकेटको नौ फन पर्दथ्यो, उहाँलाई एक साँझ पुग्थ्यो। धुमपानको लतलाई उहाँले फुचियान प्रान्तमा काम थाल्नु भएपछि त्याग्नुभएको हो।

सीले पढ्‍नका लागि बाल्ने टुकी एउटा मसीको सिसीबाट बनाइएको थियो। यसले धेरै धुवाँ फ्‍याँक्थ्यो तर धिपधिपे बत्तीको प्रकाशमा पुस्तक पढ्‍न धेरै नजिक हुनु पर्थ्यो। बत्तीबाट आएको धुँवाले उहाँको अनुहार कालो बनाइदिन्थ्यो। इँटाभन्दा मोटा पुस्तकहरूमध्ये सीले पढ्‍नु भएका पुस्तकहरूमा मुख्यगरी प्राचीन र समकालीन थिए। त्यसै गरी चिनियाँका साथै विदेशी पुस्तक पनि थिए र साहित्य, दर्शन र विज्ञानसम्बन्धी पुस्तकहरू थिए।

बेइजिङबाट गएका युवाहरू, जो छिन्ह्‍वा विश्वविद्यालय अथवा बेइजिङ ५७ हाई स्कुलका थिए, ती सबै शिक्षित परिवारका थिए र ती सबैले आफ्नो साथ पुस्तक पनि बोकेका थिए। पुस्तकप्रेमीहरूले पुस्तक आदानप्रदानसँगै एउटा सानो समूह पनि बनाएका थिए। बेइजिङ ५७ माध्यमिक विद्यालयका एक विद्यार्थीले सम्झे कि उनीसँग जर्मन क्लासिक 'फौस्ट' किताब थियो र सीले १५ किलोमिटर हिँडेर उनी भएको ठाउँसम्म आई पुस्तक माग्नुभएको थियो। उहाँले भन्नुभएको थियो: त्यो पुस्तक मलाई देऊ, पढिसकेपछि कसम फिर्ता दिनेछु। सीले त्यही समयमा कार्ल माक्र्सको पूँजी कृति तीनपटक पढ्‍नु भएको थियो।

(मकालु प्रकाशन गृहले २०८० वैशाख १ गते सार्वजनिक गरेको चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’ पुस्तकको अंश)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .