बाँच्ने क्रममा जीवनमा केही यस्ता घटना घट्छन्, जसलाई हामी सम्झिन चाहन्नौँ। तर विस्मृतिमा धकेल्न अविछिन्न प्रयास गरे पनि तिनलाई स्मृतिबाट निकाल्न कठिन हुन्छ। वर्तमानबाट परित्यक्त हुने स्वीकृति हुँदैन।
यी र यस्तै बिर्सन नसकिने घटनाको दस्तावेजका लागि पनि बनेका होलान् शब्दहरू। शब्दमुहान यादका बाकस पनि रहेछन्। उसो त यादको म्याद हुन्छ, तिनलाई बचाइराख्ने काम शब्दले गरेका छन्। मनभित्र निस्सासिएका उकुसमुकस, आवेग, संवेग, हार्दिकताहरू शब्दमार्फत नै प्रस्फुटन हुन्छन्। जसकारण शब्द निर्माता मेरा लागि सबैभन्दा ढोग्य व्यक्तित्व हुन्।
तपाईं अहिले कहाँ हुनुहुन्छ? तपाईंले यो पढिरहँदा म कहाँ हुन्छु भन्ने समेत थाहा नभएको मलाई तपाईंको यथावस्था थाह हुने झन् सम्भावना भएन। धन्न शब्द छन्, शब्दको आविष्कारकै कारण न हो, हामी यसरी कहाँ छौँ भन्ने थाह नभएर पनि साक्षात्कार गरिरहेका छौँ।
घटना आजभन्दा ठीक एक वर्ष अघिको हो।
२०७९ वैशाख २३।
साथी हिमाल काफ्ले र चालकसहित हामी हाम्रो कार्यालय पुष्पलाल (मध्यपहाडी) योजना कार्यालय फिदिमबाट मध्यपहाडी लोकमार्गको पूर्वी किनार चिवाभन्ज्याङ जाँदै थियौ। चिवाभन्ज्याङ नेपाल-भारतको सीमा पनि हो। फिदिमबाट चिवाभन्ज्याङ तमोर कोरिडर हुँदै जाँदा क्रमश: माझिटार, शुभाङ खोला, अमरपुर, गणेशचोक, थर्पु, ओनेम, च्याङ्गथापु आउँछन्।
बिहान १० बजेतिर फिदिमबाट निस्केका हामी करिब १२ बजे गणेशचोक पुग्यौँ। गाडी चढ्दा मेरा आँखा प्राय: पहाड बस्ती पछ्याइरहेका हुन्छन्। हरेक चोकमा देखिने मान्छेहरू नियाल्ने गर्छुँ। उनीहरू कहाँ जान लागेका होलान्? के गर्छन् होला? उनीहरूको अनुहारले के भनिरहेछ? वर्तमान अर्थराजनीतिक परिवेशमा उनीहरूको अवस्था के छ? राज्यसत्ता र समाजलाई कसरी हेर्छन् होला? ऐजनऐजन अनुमान गरिटोपल्छु। डाँडाकाँडा र बस्ती एक तमासले हेरिरहन्छु म। त्यो दिन पनि बाटो ठीक त्यसैगरी कटिरहेको थियो। दृश्यलाई स्मृतिमा कैद गर्नु नै सम्पत्ति हो सायद। भविष्यमा बाँकी रहने व्यक्तिगत विरासत पनि यही हो, बाँकी त जे मसँग छ यतिबेला भोलि अरु कसैसित हुनेछ। जहाँनेर म उभिएको छु, त्यहाँ कोही अरु हुनेछ।
मलाई यात्रा गर्नु असाध्यै मन पर्छ। त्यो यात्रा पनि रमाइलै भइरहेको थियो। यात्रामा कुनै गम्भीर विषयभन्दा हाँसोमजाक, मनोविनोद र परिहास हुने गर्छ, यो ज्यादा महत्वपूर्ण पनि हुन्छ भन्ने मलाई लाग्छ।
सिमसिम पानी परेको थियो। हाँसोठट्टा गर्दै अघि बढिरहेका थियौँ। थर्पु भन्ने ठाउँ पुगेका थियौँ हाम्रो गाडी दुर्घटनामा पर्यो। सडकबाट १५ मिटर तल गाडी खस्यो। गाडी कच्याककुचुक्क भयो। पलभरमै हाम्रो सारा संसार बदलियो, मथिङ्गलमा तल बारी छ अब त अडिन्छ होला कि भन्ने आशा र दुर्घटनाको जोखिमको खतरा दुवैको घमासन द्वन्द्व चर्कियो। एकपटक त लाग्यो, अब यही जीवनको अन्तिम समय हो।
ज्यान जोगाउन सचेतन शरीर कडा बन्दा साथीहरूलाई भन्दा मलाई अतिरिक्त चोट लाग्यो। अत्यन्त रौद्र र हैबतानक तौरले गाडी पल्टियो।
जसोतसो उत्तानो परेको खण्डहर गाडीबाट हामी बाहिर निस्कियौँ। घाउचोट र दरफरिएका हातपाउ घिसार्दै बिनासहयोग हामी सडकसम्म आउन सक्यौँ। हामी तीनै जनाको अवस्था स्थिर थियो। थप जटिल हुने सन्देह तिरोहित भयो। घटनाको प्रकृति , सडक छेउबाट गाडी उत्तानो परेसम्मको दूरी, दुर्घटनापश्चात् वाहनको अवस्था हेर्दा घटना घटिरहँदा बाँचिनुपर्ने, बचाउने मूर्त अन्य कुनै खास्सा चिज दृश्यमा थिएन।
तर ईश्वरको कृपाले हामी तीनै जनाको शरीरमा साधारण घाउचोटबाहेक केही भएन। कठिन संयोगको योगले, गुल्टिरहेको गाडीमा हामी सचेत संसारमै थियौँ।
दुर्लभ अनुकम्पको संयोगले हामी बाँच्यौँ। घटनापश्चात् प्रिय मान्छेहरूको उदात्त सहयोग अवर्णनीय रह्यो। व्यवसायी तिलविक्रम योंगह्वांग, जसले दुर्घटना स्थलबाट तत्काल जिल्ला अस्पताल फिदिमसम्म पुर्याउनुभयो।
नेपाल भारतकै पानी ढलो चिवाभन्ज्याङसम्मको गन्तव्य बोकेर हिँडेका हामी जीवन मृत्युकै पानी ढलो नजिकैबाट निहारेर जीवनतर्फको बगाइमा पूर्ववत छौँ। पानीका पनि आफ्नै सिमा र सन्तुलन हुँदा रहेछन्। पानी नियमसम्वत आफ्नो जलग्रहण क्षेत्र छाडेर कहिल्यै पनि अर्काको जलग्रहण क्षेत्रमा प्रवेश गर्दैन। पानीले मान्छेका जीवनका फरक-फरक चक्रहरूसँग गजबको सादृश्यता राख्दछ। खहरे पानीको जवानी हो । जवानी बरालिन्छ, बहकिन्छ त्यसैगरी खहरे पनि बरालिन्छ, बहकिन्छ।
खहरेहरुको परिपक्व रूप नदी शान्त छ। विशाल छ, दायरा फराकिलो छ। आफ्नै सीमा र सन्तुलनमा नदीहरू पनि सागर भेट्न कुदिरहेका हुन्छन्, जस्तो कि मान्छेको पनि अन्तिम गन्तव्य भनेको सागर भेट्नु नै त हो ।
कुसमयका प्रकोपको शृंखला भोग्न विवश परिवारजन र प्रियजनलाई थप पीडा नहोस् भन्ने हेतुले सामान्य चोट न हो ठीक भैहाल्छ भन्ने विचारले मैले बताउन सकेको थिइनँ। आजसम्म पनि छैन। घर कहिले आउला भनेर प्रतीक्षामा आँखा बिछ्याइरहने परिवारजन र प्रियजनसँग कुरा लुकाउनु ठीक हो वा होइन मलाई अझै थाहा छैन । तर पक्कै तहकीकात होला? म कुरा लुकाउने विचारी बनेकै हो र मैँले मेरो डेढ अक्कलको लागी माफ माग्नै पर्छ र माग्नुपर्नेछ।
समयको तगारो हुत्ताए पनि, देहमा घाउचोटरुपी सन्देह नभएपनि घटनाको कुप्रभावका मनोवैज्ञानिक अवशेषहरू अझै बाँकी छन्। आजकल गाडी चढेपश्चात् गन्तव्यमा नपुगुन्जेल अकण्टक आँखाहरू चालकको हात र स्टेरिङमा गैरहन्छन, उपत्यकामा बाइक चलाउँदा अतिरेक निकाशा चाहिन्छ, प्रतिक्रिया समय साविकको भन्दा ज्यादा लोसे भएको छ। जहाज चढ्दा नओर्लेसम्म मन ढुक्क हुँदैन। समयको छिनोले हिर्काएका मनोवैज्ञानिक डोबहरू अझै पुरिएका छैनन्।
संसारमै सबैभन्दा डरलाग्दो , कहालीलाग्दो र होस उडाउने शब्द हो मृत्यु। साथै कोही बोल्न नचाहने र प्रश्न नगर्ने विषय पनि यही हो। यस्तो लाग्छ उमेर र शेष रहेका सग्ला रहर छँदैका मान्छेको लागि मृत्यु सबैभन्दा भयंकर भय हो र यदि कसैले मलाई मृत्युसँग भय छैन भनेर भन्छ भने त्यो झूटको झिलिमिली हो तर पनि मृत्युबोध जीवनयात्राको सन्तुलन र संयम सूत्र हो भन्ने कुरालाई नकार्न सकिँदैन।
प्रतिक्रिया