ललितपुरको पाटनढोका मेरा लागि जीवनको सबैभन्दा प्रिय ठाउँ हो। यहाँका हर चिजसँग मेरो प्रेम छ, लगाव छ अनि अपनत्व छ।
जिन्दगीको लगभग एक दशक समय मैले यो बाटो हिँडेर गन्तव्य पहिल्याएको छु। पाटनढोकाको चौतारो, जहाँ म कयौँपटक सुस्ताएको छु। पाटनढोकाको मूल गेटमा चिया–नास्ता बेच्ने कार्की दाइ र पतञ्जलिको पसलअगाडि फलफूल बेच्ने तराई मूलका बुढा बा मेरा गफ गर्ने साथी हुन्।
यही चौतारोमा लोकल लसुन, अदुवा, कागती र खुर्सानी बेच्ने सर्लाहीकी आमैसँग त कयौँपटक सानोतिनो भनाभन नै हुन्छ। म आमैलाई चिढ्याउन बेलाबेला उनलाई मन नपर्ने काम गरिरहेकै हुन्छु। सामानको मूल्य सोधेर ‘महँगो भो!’ भनिदिनुपर्छ, आमैको रिस नाकको टुप्पोमा पुग्छ। अझ सामान उचाल्नु, मूल्य सोध्नु अनि छोडेर हिँडिदिनुपर्छ, आमै ग्राहक अलि पर पुग्दासम्म गाली गरिरहन्छिन्।
मलाई आमैको रिसमा मामाघरकी हजुरआमाको झल्को आउँछ। मनमा आँखाबाट पर नगइदिए हुन्थ्यो भन्ने भाव राखेर ‘मेरा अगाडि देखा नपर’ भन्दै लखेट्नुहुन्थ्यो परसम्म। हामी बाख्राका पाठाझैँ बुर्कुसी मार्थ्यौँ।
हजुरआमा थाक्नुहुन्थ्यो अनि थुचुक्क बाटोमा बसेर भन्नुहुन्थ्यो, ‘त्यता नजा हे राक्षस, सर्पले टोक्ला!’ म आमैको गालीमा पनि ग्राहक फर्किएर आइदिए हुन्थ्यो भन्ने भाव देख्छु।
मेरो भान्सामा अदुवा कमै प्रयोग हुन्छ। लसुन त प्रयोग हुँदै हुँदैन भने पनि हुन्छ। तर, आमैलाई जिस्क्याएपछि एक भाग लिएर हिँड्छु। पहिले आमैले बेच्ने अदुवा, लसुन भागको ३० रुपैयाँमा पाइन्थ्यो। हिजोआज मूल्य बढेको छ, ५० रुपैयाँ भाग पर्छ। मलाई आमैको माया मिसिएको रिस असाध्यै मन पर्छ। जिस्क्याउँछु।
केही वर्षअघिसम्म अरू ग्राहकलाई झैँ मुरमुरिँदै गाली गर्थिन्। हिजोआज रिसाउँदिनन्। सायद आमैलाई पनि मैले जिस्क्याएको मन पर्न थालिसक्यो। कहिलेकाहीँ केही नकिनी ‘चिया खानु है आमै’ भनेर सय/पचास हातमा राखिदिन्छु। आमै ‘हवस् नानी’ भनेर मुस्कुराउँछिन्। आमैको खुसी ग्राहकले किनिदिने एक भाग अदुवा, एक भाग कागतीजस्तै ससाना कुरामा अडिएको छ।
यहाँ आमैलाई यसैगरी माया गर्ने अरू थुप्रै छन्। खाजा पसल चलाएर बसेका लामा दाइले आमैको सामानको बोरा आफ्नै पसलमा राखिदिएर माया देखाएको थुप्रै वर्ष भयो। आमैको डेरा पाटनढोकाबाट अलि भित्र पर्छ। हरेक दिन सामान बोकेर डेरामा पुर्याउन र ल्याउन गाह्रै हुन्थ्यो।
सर्लाहीबाट काठमाडौँ आएकी उनले २२ वर्षअघि पाटनढोकाको सडकपेटीमा सामान राखेर व्यापार सुरु गरेकी हुन्। सडकमा सवारी र मान्छेको चाप बढ्दै गयो। उनी पछि चौतारोमा सरिन्। तर, व्यापार गर्ने ठाउँ छाडेझैँ दुःखले उनलाई छाडेन। आमै दुःख सँगै बोक्छिन्। हरेक बिहान कालीमाटीबाट अदुवा, लसुन र कागतीको भारी। यही भारीले दिएको आम्दानीले जे दिन्छ, खाएर जिन्दगीको गाडा गुडाउँछिन्।
तर, उनको दुःखको कथा सोध्ने मौका मलाई जुरेको थिएन।
पाटनढोका आजभोलि मलाई अपायक पर्छ। तर, बिहीबार अफिस सकिएपछि जानुपर्ने बानेश्वर डेरामा, मनले तानेर लग्यो पाटनढोका। उसैगरी खुर्सानीको भाग उचालेर जिस्क्याएँ आमैलाई। आमैको रिसाउने शैली ओठमा देखियो। तिर्खा थियो सायद आमैको रिसको। थुप्रै महिना बितेछन् त्यो बाटो नहिँडेको। चैतारीको पिपलले पनि न्यास्रो मानेझैँ लाग्यो। आफैँलाई पनि लागेको थियो सायद, पिपलको आडैमा बसेर आमैसँग गफिन थालेँ। तर, आमै भक्कानिएर रुन थालिन्। डेराबाटै ल्याएको काठको पिर्कामा बसेर।
म पिपलको आड छोडेर चौतारो चढ्ने सिँढीमा ओर्लिएँ। सोधेँ, ‘आमै, छोराछोरी छैनन् तपाईंका?’
आमैले मलीन स्वरमा भनिन्, ‘छन त बुहारी र ज्वाइँ पनि छन्। भए के, नभए के?’
आमैको यही एउटा वाक्यले सारा व्यथा कह्यो। मैले ज्यादा सोध्न सकिनँ।
आमैका छोराछोरी छन्। उनीहरूको आफ्नै संसार छ। छोराछोरीको संसारमा आमै अटाइनन्। ६ महिनाको बच्चा छाडेर बुहारी हिँडेपछि छोराले अर्की श्रीमती ल्याए। आमैले नातिलाई यही व्यापार गरेर हुर्काइन्। यी बज्यै–नाति एकअर्काका सहारा हुन्।
मसँगै चौतारोमा बसेको अन्जान भाइले लामा दाइको पसलमा पसेर एक टुक्रो केक ल्याए र आमैको हातमा हालिदिए।
रिस आमैको अनुहारमा बसेको आफन्त हो। मैले थुप्रैपटक देखेँ। मोलमोलाइ नगरी ग्राहकले किनेको ५० रुपैयाँको लसुनमा आमाको लामो खुसी मिसिएको देखेँ। तर कहिल्यै देखेकी थिइनँ, उनको आँखामा आँसु। केले उनलाई रुन बाध्य पार्यो त? मलाई बुझ्न मन लाग्यो। सोधेँ, ‘आमै, आज किन दुखेको छ तपाईंको मन?’
आमैले भन्नुभयो, ‘नानी, मलाई त रवि लामिछानेले भाइरल बनाइदिए। कहिलेकसो फोन त गर्थे छोराछोरीले, अब त फोन पनि उठाउँदैनन्। मसँग रिसाएका छन्।’
यसरी आमैको जीवन बिथोलिएको धेरै दिन भएको छैन। २ साताअघि हुनुपर्छ, गृहमन्त्री रवि लामिछाने त्यही बाटो हिँड्दै थिए। साँझ पर्न लागेको थियो। आमैले बोराको सामान थन्काएर केही भागका लागि ग्राहक पर्खिरहेकी थिइन्। गृहमन्त्रीको टोली पुग्यो। गृहमन्त्रीले मूल्य सोधे, हिसाब निकाले र ११ सयको सामानलाई १५ सय रुपैयाँ दिए। आमैलाई भने, ‘आज तपाईंको सबै सामान मैले किनिदिएँ, यो पैसा लिएर जानू अनि आरामले सुत्नू है आमा!’
हेर्नुहोस् भिडिओ
उनले सामान उठाएको भिडिओ उनीसँगै गएकाहरूले खिचे। त्यही रात नइन्टरनेटको सामाजिक सञ्जालमा फैलाए गरे।
लगभग घर जाने बेला भएको थियो। अलिक समय बस्दा एकदुई भाग सामान बिक्ला भन्ने आशमा बसेकी आमैको भएभरको सामान बिक्यो। त्यसमाथि ४ सय रुपैयाँ ज्यादा पनि पाइन्। आमै खुसी भइन्। त्यो दिन नाति–बज्यैले मासुमा झोल हालेर भात खाए र सुते।
तर, आमैको खुसी त्यही एक रात मात्र टिक्यो। बिहान उठेर सामान लिन कालिमाटी पुगेकी आमैको सकस त्यहीँबाट सुरु भयो। गृहमन्त्रीले सामान उठाइदिएकी भाइरल आमै भनेर सबैले घेरे। बाहिर निस्कनै गाह्रो भयो। आमै अचम्म मान्दै डेरा पुगिन्।
छोराको फोन आयो। खुसी हुँदै फोन उठाएकी आमैले रुँदै फोन राख्नुपर्यो।
‘दुःख देखाएर चौतारोमा बस्ने? हामी थिएनौँ? ६ महिनाको नाति हुर्काएँ भनेर महानता देखाएको?’
यति भनेर फोन राखेका छोराले त्यसपछि न फोन गरेका छन्, न यताबाट गरेको फोन उठाएका छन्। आमै छोराको बोली सुन्न नपाएर निराश छिन्। यो निराशा कति आँसु बनेर, कति रिस बनेर पोखिइरहेका छन्।
आमै प्रश्न गर्छिन्, ‘१५ सयले मेरो पूरै जिन्दगी चलाइदिएझैँ प्रचार गरेर मलाई भाइरल बनाउनुपर्थ्यो र? त्यही पनि त्यो त मेरो सामान लगेर दिएको पैसा हो। सामानको मूल्य कटाएर आउने नाफा मात्रै मेरो कमाइ हो।’
मन्त्रीज्यूले सामान किनिदिए भनेर खुसी भएकी उनको मन त्यसपछि झन् भतभती पोल्न थाल्यो, जब नातिले ‘आमा, तपाईंको सामान किनेजस्तो गरेर तपाईंलाई बेचेका हुन्।’
आमैसँग यसअघि पनि केही मानिसहरूले यसैगरी सबै सामान उठाएर लगेको सम्झना छ। अहिले पनि घरमा खाँचो परिहालेको नभए पनि आमैको सामान किनेर हिँड्ने थुप्रै छन्। यो बाटो हिँड्ने धेरैलाई थाहा भइसक्यो, एक भाग सामान किनिदिँदा खुसी भएर आमैले दिने आशीर्वादको आयतन। तर, यसअघि आमैले यसरी भाइरल हुनुपरेको थिएन।
गृहमन्त्री लामिछानेको त्यो हर्कतपछि कयौँ मानिस क्यामरा बोकेर चौतारोमा पुगिसके। हिजोसम्म सामान किनेर लैजानेहरू आज ‘भाइरल बुढी हेर त’ भनेर औँलाले देखाउँछन्।
आमैलाई उति साह्रो पीर छैन, छोराछोरीले लगाएका वचनसँग। तर, गृहमन्त्रीले सडकमा व्यापार गरी खाने वर्गको आत्मसम्मानको ख्यालै नगरी आफ्नो ‘उदात्तता’को प्रचार सामग्री बनाएकामा बढी चोट दिएको छ।
हुन पनि कोही नेता हुन् वा सामाजिक अभियन्ता, उनीहरूका सस्ता स्टन्टको सिकार यिनै आमै र नातिनातिनीहरू बन्नुपरेको छ। जसलाई सामाजिक सञ्जालसँग मतलब छैन, भाइरलको भारीको पूर्वानुमान छैन, जसलाई आफ्नो काम र थोरै कमाइसँग मात्रै सरोकार छ। उनीहरूलाई भाइरल बनाउने होडले खोसिरहेको छ, आमै र तिनका नातिहरूको ओठको हाँसो। कतिपयको त निजी जीवन र सामाजिक सम्बन्ध नै क्षत् विक्षत बनाएको छ।
गृहमन्त्रीको प्रचारले आमैको मन दुख्यो। छोराले गाली गरे। नातिलाई सकस र ग्लानि भयो। अहिले त कसैले हेरे पनि ‘भाइरल बुढी’ भनेर होच्याएको लाग्छ उनलाई। नमज्जा लाग्छ। कालिमाटी जान पनि जाँगर चल्दैन।
‘भाइरल आमा आउनु भो भन्छन्, मान्छे जम्मा हुन्छन्। केके सोध्छन्। सबैका उत्तर दिएर बस्ने समय पनि छैन। मन पनि छैन। सामान लिएर निस्कनै मुस्किल हुन्छ,’ आमै दुःख सुनाउँछिन्।
मेरो मनमा भने बारम्बार एउटै प्रश्नले हिर्काइरहेको छ, ‘गृहमन्त्रीज्यू, क्यामराबिना सहयोग गर्न सकिँदैन?’
भनिन्छ, एक हातले सहयोग गरेको अर्को हातलाई थाहै नहोस्।’ तर, पछिल्लो समय मानिसलाई सानो सहयोगको ठूलो प्रचार गर्ने रोग लागेको छ। यस समूहमा राजनीतिकर्मी, समाजसेवीदेखि आम मानिससम्म पर्छन्। उनीहरू मान्छेहरूको आफ्नो स्वाभिमान हुन्छ, सामान्य काम गरेर पनि उनीहरू स्वाभिमानमा बाँच्न चाहन्छन् भन्ने कुरा बिर्सन्छन्। अनि सकसपूर्ण जीवनतिर धकेल्न उद्धत हुन्छन्।
अहिले भाइरलको चपेटामा पर्ने ठूलो जमात छ। बालबालिका, बूढाबूढी, फरक क्षमताका मानिस, विपन्न र असहाय बढी यसको सिकार भइरहेका छन्। जसलाई आफ्नो गोपनीयताको हक छ, कसैले आफ्नो इच्छाविपरीत आफ्ना फोटो, भिडिओ तथा आफूले गरेको कामको प्रचार गरिदिएको खण्डमा कानुन लाग्छ भन्ने समेत थाहा हुँदैन।
संविधानले सबै नागरिकलाई गोपनीयताको हकको ग्यारेन्टी गरेको छ। अर्थात् व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनअनुसार बाहेक कसैले अतिक्रमण गर्न पाइँदैन। अनुमति नलिई खिचेको फोटो सञ्जालमा सार्वजनिक गरेमा विद्युतीय कारोबार ऐन अन्तर्गत ५ वर्षसम्म कैद र एक लाखसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ। यही विषयमा मुलुकी फौजदारी संहिताअन्तर्गत उजुरी पर्यो भने १० हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म कैद हुन्छ।
देशको गृहमन्त्री जस्तो पदमा रहेका मानिसले कानुन विपरीत आम मान्छेको मर्मलाई ख्यालै नगरी गरेको प्रचारले नयाँ पुस्ता भनेर आश गर्ने हामी जस्ता आम मान्छेको मनमा पनि चोट पुर्याउने रहेछ। अरु सामान्य मान्छेले गरेको यही कामलाई यस्तै हो भनेर बेवास्ता गर्न सकिएला। तर, सुशासन र समृद्धिको आश देखाएर सत्तामा पुगेका गृहमन्त्रीकै यस्ता हर्कतले उनीहरूमाथि गरेको विश्वासको लगानी बालुवामा पानी भइरहेको छ।
Shares
प्रतिक्रिया