कहिलेकाहीँ नसोचिएका यात्रा हुन्छन्। कहिले भने बनाइएका योजना पनि त्यसै तुहिन्छन्।यसपालि छोटो समयको तयारीमा एक अविस्मरणीय यात्रा गरियो।
अमेरिकाबाट साथी मञ्जु थापा आएको समय कुनै ऐतिहासिक वा पर्यटकीय क्षेत्रको भ्रमणमा जाने कुरा भयो। हाम्रो गन्तव्य निर्क्यौल भइसकेको थिएन। एक दिन हामी साँझतिर साथी–साथी भेटघाट गर्ने र गन्तव्यसहितको मिति पनि तय गर्ने सल्लाह भयो।
बानेश्वरमा हामी भेला भयौँ। भेलाको निर्णय भयो, उपल्लो मुस्ताङ जाने। छलफलमा सहभागी भएकी तर काम विशेषले यात्रामा सहभागी हुन नसक्ने बताएकी साथी मनीषा गौचनले यात्राको मिति तय भएमा स्थानीय व्यवस्थापन गरिदिने बताउनुुभयो।
यस्तै साथी मञ्जुले पोखराको व्यवस्थापनको मोर्चा सम्हाल्ने हुनुभयो। कुरैकुरामा हामी उपल्लो मुस्ताङ जाने पनि पक्का भयो। कसैको के बैठक, कसैको कता भ्रमण, सबै मिलाएर छलफलमा सहभागीमध्ये भ्रमणमै निस्कन चाहिँ हामी ७ जना तयार भयौँ।
पहिलो छलफलमै मिति तोक्यौँ, जेठ पहिलो हप्ता। तर, विभिन्न तालमेल मिलाउने क्रममा हाम्रो भ्रमण वैशाख २९ गते नै सुरु भयो, काठमाडौँबाट।
काठमाडौँबाट यात्रा सुरु गर्नेमा डा. बिन्दा पाण्डे र म मात्र भयौँ। मञ्जुजी पहिलेकै योजनामुताबिक पोखराको व्यवस्थापनको लागि पुगिसक्नुभएको थियो भने मनीषाको घरमा आकस्मिक काम परेकाले जान मिलेन। अन्यको पनि यस्तै–यस्तै भयो।
धेरै पहिलेदेखि पढेको सुनेको नाम हो, मुस्ताङ। मुस्ताङकै जोमसोम अनि मुक्तिनाथ मन्दिरसम्म पुगिसकिएको पनि थियो। तर, उपल्लो मुस्ताङ र कोरला नाका भने इच्छा हुँदाहँुदै जाने अवसर मिलेको थिएन। त्यसैले पनि यो मन त्यसै उत्साही भएको थियो।
काठमाडौँबाट पोखरा हुँदै जोमसोमसम्म पुग्दा पहिले गइसकेको भएकाले भूगोल र दृश्यले भन्दा धेरैपछि भेट भएका साथीहरूसँगको यात्राले नै पुलकित बनाइरहेको थियो। त्यसैले त्यहाँसम्मको यात्राको मुख्य पक्ष नै साथीहरूसँग जाँदाको रमाइलो नै भयो।
पर्वत प्रवेशलगत्तै ‘स्वर्ग जाने बाटो’को उत्पादन कुराउनी अनि मीठो चिया खाँदै बञ्जी जम्पको चर्चामा रमायौँ केहीबेर। त्यसपछि चर्चामा थपिए, बागलुङ कालिका, शालिग्राम संग्रहालयदेखि पञ्चकोटसम्मका विषय।
पोखराबाट हिँडेको दिन बिहान तातोपानीमा खाना खान पुग्यौँ। बाटाभरिको गफ यति मीठो भइरहेको थियो कि भोक लागेको पनि पत्तो थिएन। तर, बाटोमा राम्रो खाना नपाइन सक्ने भन्दै गाडीका चालक भाइ रवि तामाङको सल्लाहअनुसार तातोपानीमा पछि आएर नुहाउने तर आजको खाना भने त्यहीँ खाने सर्वसम्मत निर्णय भयो।
त्यहाँबाट केहीबेरको यात्रापछि बाटोमा पर्ने रुप्से झरनासँग जिस्किन पुग्यौँ। रुप्सेको मोहनी रूप छँदै थियो। त्यसमा पनि रुप्सेलाई आफैसँग उभ्याएर तस्बिर लिन हानाथाप चलिरहेको दृश्य थप रोचक थियो। हामी पनि त्यसै हानथापमा मिसियौँ।
बाटोको रमाइलो, समरको बास
बाटोभरिका गफ, हाँसो, दायाँबायाँ हेर्दाहेर्दै जोमसोम पुगियो। जोमसोम मन्दिर नजाने यसअघि नै सल्लाह भएकोले संविधान सभा सदस्यद्वय चन्द्रबहादुर गुरुङ र श्रीमाया थकालीसँग भेट गर्यौँ। त्यहीँ उहाँहरूको सत्कारसहितको मीठो फापरको रोटी र नुन राखेको सु–चिया पियौँ।
धेरैपछि भेट भएका आत्मीय मन, चियाको सुरुप अनि मीठा गफ। जीवनमा योभन्दा माथिको आनन्दी क्षण अर्को कुन होला र?
एकछिन गफियौँ। एकदुई थान तस्बिर खिचेर उहाँहरूसँग बिदा भई हामी हिँड्यौँ गन्तव्यतिर।
अल्लि पर पुगेपछि भोलि के–कसो होला भन्दै आजै कालीगण्डकीको माथि बसेर केही तस्बिर लिन बिन्दा दिदीको प्रस्ताव आयो। यति राम्रो प्रस्तावमा आपत्ति हुने कुरै भएन। गाडी पनि रोकिइहाल्यौँ।
मुस्ताङको सुख्खा भूमिलाई खनीखोस्री गर्दै सुन्दर बान्कीमा बगिरहेको कालीगण्डकीलाई छेउमा सजाएर तस्बिर लिन पाउँदा त हामी कहाँ जान हिँडेको भन्ने नै बिर्सियौँ। खासमा सारा संसार भुलेर हामी आनन्दमा डुबेका थियौँ। सबै खुसीले मस्त थियौँ। चालक भाइले ‘यसरी बास बस्ने ठाउँ पुगिन्न है’ भनेपछि पो झल्याँस्स भयौँ, गन्तव्य त अझै टाढा पो छ त! चालकको चेतावनीपछि हतारहतार गाडीभित्र बस्नुको विकल्प भएन।
गाडी हिँड्ने बाटोले घुम्ती र उकालो तय गर्न थालेपछि भने हाम्रो टोलीको बोलीमा मन्दी छायो। चुट्किला र गीत सुनिन छाडे। एकाध साथीहरूलाई अलिअलि असहज हुन थाल्यो। समूहमा पोखराबाट मञ्जुको साथै रवि बास्तोला, नारायणी बास्तोला, हीरा गिरी र उर्मिला श्रेष्ठ हुनुहुन्थ्यो। बाटोभरि उर्मिला भाउजूले यति रमाइलो गर्नुभयो कि मञ्जुले त ‘भाउजू नभएको भए हाम्रो यात्रा कस्तो हुन्थ्यो होला नि’ भन्न भ्याउनुभयो। उहाँको त्यही रमाइलो कुराकानी र हँसाउने बानीले हाम्रो यात्रा थप स्मरणीय बनाएको थियो।
साँझले सम्झाउँदै थियो, हामीले बास बस्ने बेला हँुदैछ भनेर। दायाँबायाँ प्राकृतिक रूपमै बनेको भए पनि हामीलाई भान भएको थियो कि ती सबै कुनै कलाकारले बनाएका माटोका मूर्तिरूपी पहाडहरू हुन्, जसलाई हेरेर हामी थाकेका भने पटक्कै थिएनौँ। यात्रा गर्दै जाँदा बिन्दा दिदीले भन्नुभयो, ‘यो पहाड त नवलपरासीको शाश्वतधाम जस्तै रहेछ नि सम्झना।’ मञ्जुले भन्नुभयो, ‘बिन्दा दिदी, हेर्नुहोस् त। यो पहाड त अमेरिकाको अरिजोनाको ग्रेट क्याननजस्तै छ।’
सबैले आ–आफ्नो स्मरणमा भएका विम्बसँग तुलना गर्दै थियौँ। हाम्रो गाडी अन्ततः मुस्ताङको समर भन्ने ठाउँको होटल अन्नपूर्णमा रोकियो। जहाँ चालक भाइले पहिला नै फोन गरेर कोठा भनिसक्नुभएको थियो।
होटल सञ्चालक बहिनी तीन महिनाजति जाडो छल्न काठमाडौँ बसेर भर्खर फर्कनुभएको रहेछ। सहयोगी बहिनी डोल्पाबाट यहाँ कामको लागि आउनुभएको रहेछ। होटलको वातावरण पनि निकै राम्रो। आफ्नै घरमा जस्तो भान्सामै गएर आगो ताप्दै, नुनचिया खाँदै बस्यौँ। बहिनीले लसुनको सुप बनाइदिनुभयो। उहाँकै भनाइमा त्यो सुप लेक लाग्ने सम्भावनाबाट जोगाउने औषधि पनि थियो।
यस्तो चिसो हावा चलेको थियो कि धेरैबेरसम्म बाहिर निस्कने जाँगर कसैको भएन। राति ८ बजेतिर खाना खाएर सुत्ने तरखर गरियो। किनभने, गाडीले हल्लाएर र लामो समयको यात्राले सबैलाई पर्याप्त थकाइसकेको थियो। थाकेको शरीर, न्यानो आतिथ्य, त्यो सफा शयनकक्ष र धुपी काठको बास्नाले बेग्लै आनन्द दिएको महसुस भयो।
भोलिपल्ट वैशाख ३१ गते बिहान ५ बजे नै उठियो। यसोउसो गरेर मञ्जु र मैले त बाहिर निस्कने सुरसार गर्यौँ। सबैको ढोका ढकढक्याउँदै बाहिरैबाट ‘गुडमर्निङ’ भन्यौँ।
मञ्जुले ‘तपाईं सबैलाई चियाको लागि पखिरहनेछौँ, आउनुहोस् है’ भनेर सन्देश पठाउनुभयो। अनि हामी लाग्यौँ भान्छातिर। बहिनीले नुनचिया तयार पारिसक्नुभएको रहेछ। एक–एक कप पियौँ र साथीहरू आई नसकेकोले यसो बाहिर निस्केर चौँरी गाई, हिमाल, सूर्यको किरण सबैको सामञ्जस्यमा निकै मनोरम दृश्य क्यामेरामा कैद गर्यौँ।
केहीबेरमा अरू साथीहरू पनि आइपुग्नुभयो। फेरि अर्को कप नुनचियासँग नारायणीले ल्याएको मकै र चनाको सातु घोलेर खायौँ। अनि हिँडियो मिसन ‘लो–मान्थाङ’ भन्दै।
कोरला पुग्दा खल्लो भएको मन
बिन्दा दिदी भन्दै हुनुहुन्थ्यो, ‘म त मोबाइल पनि राख्छु, खिच्दिनँ तस्बिर। यो मोबाइलसँग भुल्नु भन्दा त आफ्नो आँखाले हेरेको नै रमाइलो र राम्रो हुन्छ।’
किनकि यति राम्रो, यति विशाल छ, पहाडको प्राकृतिक सुन्दरता, त्यो मोबाइलले क्याप्चर नै गर्न सक्दैन। हामी सबै यस्तैयस्तै भन्दै थियौँ, तर तस्बिर पनि लिन भने छोडेका थिएनौँ। अन्ततः करिब बिहानको ११ बजेतिर पुगियो लोमान्थाङ।
बीचमा अलिकति बाटो पनि भुलिएछ। त्यसैले १५/२० मिनेट ढिलो भइयो। ‘लो–मान्थाङ’को प्रवेशमा नै बिहानको खाजा रोटी, तरकारी खायौँ। मुख्य मिसन कोरलातर्फ यात्रा सुरु गर्नुपहिला ‘लो–मान्थाङ’ बजारमा चालकभाइले खानाको व्यवस्था गर्नुभयो।
त्यहाँबाट १४ किलोमिटर पर रहेको र कोरला नाकाको यात्रा सुरु भयो। कोरला नाका पुगियो, नाका पुग्नुअघि ओहो कति फराकिलो फाँट, कति मनोरम दृश्य। तर ठिक कोरला नाकामा उभिँदा भने मलाई अलि मन अमिलो भयो। यसैको २ महिनाअघि मैले सिन्धुपाल्चोकको तातोपानी नाका पनि भ्रमण गरेको थिए। त्यहाँ कमसेकम दुवै तर्फको सरकारी कार्यालय लगायतका भवनहरू व्यवस्थित नै थियो। तर कोरला नाकामा भने त्यस्तो पाइएन।
चीनले बनाइदिएको सुरक्षा बलको सानो कोठाबाहेक अरु नेपालतर्फ केही पूर्वाधार थिएन। सुरक्षा दस्ता समेत दिनभरि सानो अस्थायी घरमा बसेर राति तलै झर्नुपर्ने अवस्था रहेछ। तर चीनतर्फ भने निकै व्यवस्थित थियो। स्थानीय सुरक्षाका सदस्यले भने अनुसार पूर्वाधार व्यवस्थापनको लागि नक्साङ्कन गरिएको छ। कमसेकम पनि सीमामा आवश्यक पूर्वाधार बनाउने कुरालाई नेपाल सरकारले प्राथमिकतामा राख्नुपर्ने छलफल गर्यौँ।
अन्ततः हाम्रो मिसन अपर मुस्ताड ‘लो–मान्थाङ’ अनि कोरला नाका पूरा भयो। कोरला ४६६० मिटर उचाइमा अवस्थित रहेछ। त्यहाँ पुग्दा केही साथीलाई थोरै लेक लागे झैँ भयो। तर पनि रमायौँ। फोटो खिच्यौँ। त्यहा केही नेपालीहरू सानो टेन्टमा चियालगायतको व्यापार गर्नुहुदो रहेछ। माथिल्लो भेगका दुई पालिकाको नागरिकता हुनेलाई पारिपट्टि निश्चित ठाउँसम्म आउन जान छुट रहेछ सामान ल्याउन।
नेपाललाई तिब्बतसँग जोड्ने कोरलाले दुई देशका उत्पादन अनि संस्कृतिको आदान–प्रदानलाई सहज बनाएको थियो। अहिले पनि यो नाका दुई देशको भौगोलिक विकटता छिचोल्ने व्यक्ति, पर्यटक र तीर्थयात्रीहरूका लागि प्रवेशद्वारको रूपमा प्रयोग हुने गरेको छ। जहाँबाट धौलागिरि र अन्नपूर्ण शृंखलाका भव्य चुचुराहरूको सहजै अवलोकन गर्न सकिन्छ।
हामीले त्यही टेन्टमा एक कप चिया पियौँ। केही क्यान्डी किन्यौँ र बाटो लाग्यौँ।
के छ अपर मुस्ताङमा?
माथिल्लो मुस्ताङलाई प्रायः लोको राज्य भनिन्छ। यस क्षेत्रमा लो वंशका राजाहरूले शासन गरेका थिए। प्राचीन कालदेखि नै माथिल्लो मुस्ताङको समृद्ध र जीवन्त इतिहास छ।
यसको राजधानी लो–मान्थाङ एउटा विकसित सहर हो। लो–मान्थाङ माथिल्लो मुस्ताङको समृद्ध इतिहास र सांस्कृतिक सम्पदा बोकेको ऐतिहासिक स्थलको रूपमा परिचित छ। यो प्राचीन राज्य, यसको परिदृश्य, भौगोलिक रुपमा असहज भू–भाग, र अद्वितीय तिब्बती–प्रभावित संस्कृतिका कारण यो स्थान आर्कषणको केन्द्र बन्ने गरेको छ। यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरूका अनुसार माथिल्लो मुस्ताङको सबैभन्दा उल्लेखनीय विशेषताहरूमध्ये एउटा यसको विशिष्ट तिब्बती बौद्ध संस्कृति हो।
यहाँका मठ, स्तुप, चोर्टेनहरू र प्रार्थना झण्डाले गर्दा एक शान्त र आध्यात्मिक वातावरण सिर्जना गरेको छ। माथिल्लो मुस्ताङका मानिसहरूले शताब्दियौँदेखि आफ्नो परम्परागत जीवनशैलीलाई संरक्षण गर्दै आएका छन् भन्ने अनुभूति सजिलै गर्न सकिन्छ। तिनीहरूको रहनसहन बोलीचाली, धार्मिक अनुष्ठानहरू सँगै उनीहरूले पाहुनालाई गर्ने न्यानो आतिथ्यताले आगन्तुकहरूलाई प्रसन्न मात्र बनाउँदैन, यो परिवेश र जनजीवनसँग हरेक पाहुनाको सम्बन्ध निकै पुरानो पो हो कि भन्ने अनुभूति गर्न बाध्य पार्छ।
वर्षौंदेखि विचलित नभई कुशल कलाकारले कँुदेको जस्ता देखिने प्रत्येक पहाडहरू अनि त्यहाँका स्थानीयको बोलीचाली, पहिरन र जीवनशैली देख्दा त्यो संस्कृति सदियौँदेखि धेरै हदसम्म अपरिवर्तित रहेको अनि आफ्नो पहिचानलाई कायम राख्न भरपूर प्रयासरत रहेको झलक पाइन्छ।
कुनै समयमा माथिल्लो मुस्ताङ ‘निषेधित राज्य’ को रूपमा चिनिन्थ्यो, किनकि यो २०४० को दशकको सुरुसम्म स्थानीयबाहेकलाई बन्द थियो।
लोमान्थाङको पर्खालभित्र प्रसिद्ध चम्पा ल्हाखाङ र थुब्सेन गोम्पासहित धेरै प्राचीन मठहरू छन्, जुन बौद्ध देवताहरू र ऐतिहासिक व्यक्तित्वहरू चित्रण गर्ने उत्कृष्ट भित्ते चित्र र मूर्तिहरूले सजाइएको छ। लोमान्थाङ बजारमा तत्कालीन राजाको दरबार त्यहाँ मध्यको भव्य सम्पदाको रूपमा खडा छ। जुन अहिले पनि लो राजाहरूका सन्तानहरू स्वामित्वमा छ र कहिलेकाहीँ उनीहरू सो दरबारमा आएर बसोबास गर्ने गरेको पाइन्छ।
कोरला र लोमाङन्थाङको बीचमा शिजा झोड गुफा पर्ने रहेछ। त्यहाँ प्रवेश गर्न स्थानीय सरकारले न्यूनतम शुल्क रु १०० लिने व्यवस्था गरेको रहेछ। हामी पनि यो भूगोलमा यत्तिको व्यवस्थित गुफा के नहेरी जाने त भनेर गुफा अवलोकन गर्ने निर्णयमा पुग्यौँ। टिकट लिएर गुफा परिसरमा जाँदै गर्दा केही साथीहरू गाह्रो हुन्छ भनेर जानुभएन। बिन्दा दिदी, रवि भाइ र उर्मिला भाउजू भने भित्रै जानु भयो।
गुफाभित्र माथि उक्लन सजिलो होस् भनेर काठको भर्याङ बनाइएको रहेछ। गुफा ५ तले थियो। म र हीराजी भने गुफाको पहिलो तलामा मात्र पुग्यौँ। भित्र पस्दै गर्दा कतै सबै भत्केर पो आउँछ र हामीलाई थिचिहाल्छ कि भन्ने डर लाग्यो।
पछिल्लो समयमा माथिल्लो मुस्ताङ जाने पर्यटक बढिरहँदा यो गुफा पनि पर्यटकका लागि अर्को गन्तव्यको रुपमा स्थापित भएको रहेछ।
समग्रमा भन्दा माथिल्लो मुस्ताङ र कोरला सीमा हिमालय क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको प्रमाण हुन्। प्राचीन तथा प्रकृतिद्वारा निर्मित भौगोलिक पर्खालले घेरिएको माथिल्लो मुस्ताङ र कोरला सीमाले हिमालयको मुटुमा अविस्मरणीय यात्राको छुट्टै रमाइलो अनि अविस्मरणीय यात्राको अनुभूत गर्ने अवसर जुटाउँछ।
Shares
प्रतिक्रिया