उपेन्द्रप्रसाद पराजुलीसँग भलाकुसारी गर्ने योजना मैले गत वर्षकै दसैँताका बनाएको थिएँ। तर, विविध कारणले गएको दसैँमा त्यो अवसर जुरेन। यस वर्ष भने दसैँभन्दा केही दिनअघि नै एक शताब्दीको संघारमै पुग्न लागेका ‘पराजुली बा’सँग गफिने मौका मिल्यो।
गतसाता भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथली पुग्दा दिउँसोको १ बज्दै थियो। आफ्नै घरमा भेटिनुभयो, ९६ वर्षीय पराजुली बा। भेट्ने वित्तिकै मैले सोधेँ, ‘सञ्चै हुनुहुन्छ बा?’
जीवनको उत्तरार्धमा पुगेका पराजुली बाले मुस्कुराउँदै भने, ‘अहिलेसम्म त भगवानको कृपाले सन्चै छु बाबु!’
कुराकानी सुरु गर्नुअघि मैले उनको जन्म र उमेर बुझ्न चाहेँ। ‘वि.सं. १९८६ साल कात्तिक २२ गते यही ताथलीमै जन्मिएको हुँ म। आउने कात्तिक २२ गते ९६ वर्ष पूरा गरेर ९७ वर्ष लाग्दैछु,’ यो उमेरमा पनि उनको बोलिको उत्साहमा कुनै कमि थिएन।
झण्डै डेढ घण्टाको बसाइमा उनले वि.सं. १९९० सालको भूकम्पको कहरदेखि किशोर र युवा उमेरमा गरेका सामाजिक र राजनीतिक संघर्षका कथा सिलसिलावद्ध रुपमा सुनाए।
पराजुली परिवार विगत सात पुस्तादेखि ताथलीमै बसिरहेको छ।

‘हाम्रा पुर्खा सात पुस्ताअघि काभ्रेको ज्याम्दीबाट यहाँ बसाइँ आएका रहेछन्,’ नेपालखबरसँग उनले भने, ‘यहाँ जन्मेहुर्के पनि उमेरमा म सुख खोज्दै निकै ठाउँ बसाईँ गएँ। तर यो ठाउँ जति प्यारो अन्त कहीँ लागेन। फेरि फर्किएर अहिले यहीँ आइ पुगेको छु।’
वि.सं.१९९० साल माघ २ गते नेपालमा विनाशकारी भूकम्प जाँदा पराजुली चार वर्ष पूरा गरेर पाँच वर्ष मात्रै लागेका रहेछन्।
‘भूकम्प जाँदा म आमासँग ललितपुरको लामाटारमा रहेका मावली घर गएको थिएँ,’ उनले भने, ‘बहिनी जन्मेपछि आमा सुत्केरी बस्न माइत जानु भएको थियो। म पनि आमाको पछि लागेको उतै गएँ। मावलमै हुँदा ठूलो भूइँचालो गयो।’
त्यसअघि उनले भूइँचालो भन्ने सुनेका पनि थिएनन्।
‘हामीले भर्खरै दिउँसोको खाना खाएका मात्र थियौँ, घर हल्लिन थाल्यो,’ ९२ वर्षअघि गएको विनाशकारी भूकम्प सम्झिँदै उनले भने, ‘कटकट गर्दै जमिनसँगै घर थर्कियो। ठूला मान्छे भूकम्प गयो, भूकम्प गयो भन्दै आँगनतिर निस्कए। म पनि आमाको पछि लागेर बाहिरतिर कुदेँ। हामी बारीको पाटामा पुगेका मात्रै थियौँ, मावली घर गर्ल्याम्मै ढल्यो।’
भूकम्प गएपछि सबै मानिस घरबाहिर निस्किए। सडक र खेतबारीमा मान्छेहरु जम्मा भए।
त्यतिबेला काठमाडौँ उपत्यको आकाश एकैछिनमा धुलो र छारोले ढाकेको उनले अझै बिर्सिएका छैनन्। ‘काठमाडौँ, ललितपुर र भक्तपुरका सयौँ घर एकैपटक भत्किँदा उडेको धुलोले वरपरसमेत देख्न नसकिने गरि कुइरीमण्डल बनेको थियोे,’ उनले भने।
त्यतिबेला राजधानी काठमडौँमासमेत अधिकांश घर ढुंगामाटाका र खरले छाएका थिए। अलिक हुनेखानेका घरमा झिँगटीका छाना हुन्थे। घरका भित्ता भने ढुंगामाटाकै। ‘जस्ताको छानो पनि उबेला हामीले देख्न पाएका थिएनौँ,’ उनी भन्छन्।
त्यतिबेला काठमाडौँ उपत्यकामा भूकम्पमा परेर धेरैले ज्यान गुमाए। तर, पराजुलीको घर र मावलीतर्फ भने कसैलाई सामान्य चोटसमेत लागेन।
‘भूकम्पले गोठ भत्किँदा हाम्रो एउटा गाईको बाछो मात्रै मरेछ,’ उनले भने, ‘हाम्रो घर वरपर छिमेकमा पनि भूकम्पले धेरै घर भत्कायो। तर, त्यसमा परेर कोही घाइते भएको र मरेको हामीले सुनेनौँ।’
त्यतिबेला उनका बुवा रुद्रप्रसाद पराजुली नेपाल आर्मीको गणेश दलमा कार्यरत थिए।
भूकम्प आउँदा उनका बुवा सेनाको पल्टनसँगै हेटौँडा सवारी गएका रहेछन्। भूकम्पले देश नै तहसनहस भएपछि त्यो सैनिक पल्टन तुरुन्तै काठमाडौँ फिर्ता भएछ।
‘प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्पछि उद्धारमा खटिएका सैनिकको तलब मासिक एक रुपैयाँ बढाइदिने घोषणा गरेछन्,’ उनले भने, ‘तर, भूकम्पपछिको उद्धारमा केही समय खटिएपछि हाम्रा बाले भने सैनिकको जागीर नै छाडिदिनुभयो।’
सैनिकको जागीरबाट घर परिवार पाल्न नपुग्ने देखेर बुवाले खाँदै गरेको जागीर छाडेको उनी बताउँछन्।
काठमाडौँमा थिएन यातायातको सुविधा
पराजुली किशोर उमेरको हुँदासमेत काठमाडौँ उपत्यकामा यातायातको सुविधा थिएन।
‘उबेला पैदल हिँड्नुको विकल्प थिएन,’ उनी भन्छन्, ‘त्यतिबेला मुग्लान जाने पनि पैदलै जान्थे, मावल र ससुराली जाँदा पनि हिँडेर जानु पथ्र्यो।’
त्यतिबेला भक्तपुरको ठिमीतिरका कसैकसैका साइकल थिए। उनीहरु त्यही साइकलमा राखेर आफूले फलाएका तरकारी र फलफूल बेच्न असनसम्म पुर्याउँथे।
उनी दसैँमा हिँडेरै मावल टीका लगाउन जान्थे। मामा घरमा टीका लगाएपछि दक्षिणा पाउँथे ५ देखि १० पैसा!
त्यो बेला १६ पैसामा दिनभर काम गर्ने एउटा खेताला पाइन्थ्यो।
‘अहिले एकजना खेतालाले एक बेला काम गरेकै पाँचसय रुपैयाँ लिन्छन्। त्यो पैसालाई अहिले तुलना गर्दा त्यतिबेला हामीले मामा घरमा पाइएको पाँच पैसा दक्षिणा अहिलेको पाँचसय रुपैयाँ बराबर रहेछ,’ उनी भन्छन्।
त्यतिबेला तीन रुपैयाँदेखि सात मोहोरसम्ममा दसैँको लागि ६-७ धार्नीको खसी पाइन्थ्यो। ‘म सानो छँदा एक रुपैयाँमै एक पाथी मासु पाइन्थ्यो,’ उनले भने।

त्यगसैगरि १२ पैसाको एकमानो घिउ र १० पैसामै तोरीको एकमाना तेल किनेको सम्झना पनि उनमा अझै ताजा छ।
‘म पढ्न जाँदा बाले खाजा खान भनेर दुई पैसा दाम दिनुहुन्थ्यो। दुई पैसाले भुटेको भटमास टन्न अघाउने गरि आउँथ्यो। भटमास खाएपछि पानी खाँदा पेट भरिन्थ्यो,’ उनले भने, ‘तर बाले दिएको पैसाले म प्रायः भटमास नखाएर घिउ र चाकु खान्थेँ। भक्तपुरको दत्रालय मन्दिर नजिकै ईश्वर भन्नेको पसल थियो। उनले दुई पैसाको घिउ र चाकु सालको पातभरि दिन्थे। म मिठो मानेर खान्थेँ।’
दसैँको बेला एक वर्ष बिराएर बाले नयाँ लुगा किनिदिन्थे। ती कपडा भक्तपुरका घरबुना थिए। ‘चर्खामा धागो कातेर बनाइएका भक्तपुरे घरबुँना कपडा ठूला डोरा भएका, बलिया र न्याना हुन्थे,’ पराजुली भन्छन्, ‘हामी तिनै कपडा लगाएर दसैँमा टीका लगाउन मामाघर जान्थ्यौँ।’
प्रत्येक दसैँमा नयाँ कपडा नभए पनि बाले मासु चाहीँ प्रसस्तै व्यवस्था गर्थे। अरुबेला चामलको अभाव भए पनि दसैँको लागि बाले चामलको पनि अभाव हुन दिँदैनथे।
‘हाम्रोतिर धान त्यति नफल्ने। दसैँ र श्राद्धमा मात्रै पेटभरि चामलको भात खान पाइँथ्यो,’ विगत सम्झिँदै उनले भने, ‘अरुबेला खाना खान बस्दा अप्सानी हाल्न चामलको भात हुन्थ्यो। पेट भर्न मकै र कोदोको ढिँडो।’
त्यतिबेला १० जना जहान हुनेका चुलामा पनि जम्मा एकमाना जति मात्रै चामल पाक्ने गरेको उनी सुनाउँछन्। ‘खाने हो भने एउटैले त्यो एकमानाको भात सिध्याउँथ्यो, तर त्यसरी खान कहाँ पाउनु?,’ उनी भन्छन्।
छोराछोरी भाग बस्दा आमाबुवा ‘चामलको भात अप्सानी हाल्ने र बिर्को लगाउने मात्रै हो है’ भन्थे। ढिँडो खाएर अघाएपछि अन्तिममा एकदुई गाँस मात्रै चामलको भात खाने चलन थियो। ‘त्यो बेला अन्तिममा एकदुई गाँस चामलको भात खानुलाई ‘ढिँडोमा बिर्को लगाएको’ भनिन्थ्यो,’ हाँस्दै उनले सुनाए।

‘आमाबुवाले भनेजस्तै हामी चामलको भातले अप्सानी हाल्ने र बिर्को लगाउने गथ्र्यौँ,’ उनले भने, ‘दुधदही, दाल तरकारीसँग कोदो, मकैको ढिँडो खाएर पेट भरिन्थ्यो। अन्तिममा चामलको एकदुई गाँसले बिर्को लाउथ्यौँ,’ उनले भने।
त्यतिबेला तामा, पित्तल र चाँदीका पैसा मात्रै थिए। अहिले जस्तो कागजी नोट प्रचलनमै थिएनन्।
सरकारले कागजी नोट नै छाप्दैनथ्यो। ‘पशुपति’ लेखेको, गाईको चिह्न भएको पैसा दक्षिणा पाइन्थे। अहिले पनि पराजुलीसँग पैसठ्ठी रुपैयाँ चाँदीका डबल छन्। ‘ती त्रिभुवन राजाका पालका पैसा हुन्, मैले अझै सुरक्षित राखेको छु। ती केही पैसा राजा महेन्द्रबाटै मैले दक्षिणा पाएको हो,’ उनले सुनाए।
त्यतिबेला खसी, घिउ, तेल मसला सस्तो थियो। पैसो चाहीँ महँगो। ‘०१६ सालमा हाम्रो जेठो छोरो विश्वनाथ जन्मिएको साल दसैँमा मैले १३ रुपैयाँमा झण्डै १० धार्नीको बोको किनेको थिएँ,’ उनले विगत सम्झिए।

आजभोलि दसैँ, तिहार जस्ता पर्व सम्झने बित्तिकै पुराना दिन उनका आँखामा नाच्न थाल्छन्। उबेला दसैँमा गाउँका सबै जम्मा भएर पिङ हाल्ने चलन थियो। निकै रमाइलो हुन्थ्यो। तिहारमा देउसी खेल्दा कम्ता रमाइलो हुँदैनथ्यो।
‘हाम्रो गाउँमा ‘पिँङ हाल्ने’ नाम गरेको डाँडो नै छ,’ पराजुलीले भने, ‘हामी सानो छँदा गाउँभरिका सबै मिलेर घरघरबाट बाबियो बटुल्थ्यौँ। लठारो बाट्न पनि गाउँभरिका मान्छे भेला हुन्थे। गाउँको डाँडोमा ठड्याइएको लिंगे पिँङमा हुँइकिएपछि मात्रै दसैँ आएजस्तो लाग्थ्यो।’
अहिले सम्झिँदा योबेलाको भन्दा त्यतिबेलाको दसैँ रमाइलो लाग्छ उनलाई। अहिले त दसैँमा पनि सबै आफन्तसँग भेटघाट हुँदैन। अवसर र सुखसयल खोज्दै कोही कता, कोही कता पुगेका छन्।
‘हाम्रा धेरै आफन्त त अहिले विदेशतिरै छन्,’ उनले भने, ‘त्यतिबेला कोही विदेश जाँदैनथे। अहिले सबै सहरबासी र विदेशवासी भए। दसैँमा पनि गाउँघरमा उहिले जस्तो रमाइलो हुँदैन।’
त्यतिबेला दसैँमा टीका लगाउँदा ज्वाइँलाई पनि ५/१० पैसा मात्रै नै दक्षिणा दिने चलन थियो।
जेठी छोरीको बिहे भएको वर्ष पहिलोपटक उनले ज्वाइँलाई दसैँको टीका लगाइदिनु पर्ने भयो। तर, पहिलोपालो ससुराली आएका ज्वाइँलाई दक्षिणा कति दिने उनले भेउ पाएनन्।
छिमेकमै बस्थे, सुविदार हजुरबा। उनले ‘ज्वाइँलाई कति दक्षिणा दिनु हजुरबा?’ भनेर उनै सुवेदारलाई सोधेँ। ‘उहाँले ज्वाइँलाई थोरै दक्षिणाले हुँदैन, एक मोहर (५० पैसा) दिनुपर्छ भन्नुभयो, मैले ज्वाइँलाई त्यो वर्ष ५० पैसा दक्षिणा दिएँ। त्यतिबेला त्यो निकै धेरै दक्षिणा हो,’ उनले भने।
दरबार हाइस्कुलका विद्यार्थी
नौ वर्ष पुगेपछि उपेन्द्रप्रसादको ब्रतबन्द भयो। ब्रतबन्धपछि उनलाई पढ्नको लागि बाले रानीपोखरी नजिकैको दरबार स्कुलमा भर्ना गरिदिए। त्यहाँ उनले चार वर्षसम्म बेद र कौमदी पढे। त्यतिबेला दरबार स्कुलमा बेद र कौमदीबाहेक अरु कुनै पनि विषयको पढाइ हुँदैनथ्यो।
‘ब्रतबन्धपछि मलाई बाले हरिबिक्रम राणाको घरमा राखेर दरबार स्कुलमा पढ्ने व्यवस्था मिलाइ दिनुभएको थियो,’ विगत सम्झिँदै उनले भने, ‘हरिबिक्रम प्रधानमन्त्री चन्द्र शमशेरका ससुरा हुन्। थापाथली पारि कुपण्डोलको हनुमान मन्दिर नजिक उनको घर थियो। त्यसलाई मान्छेहरु सेतो दरबार भन्थे। मैले त्यहीँ बसेर चार वर्ष दरबार स्कुलमा बेद र कौमदी पढेँँ।’
पहिला सैनिक भएर सेवा गरेको कारण हरिबिक्रमसँग उनका बुवाको चिनजान रहेछ। त्यही आधारमा उनलाई हरिबिक्रमले बिहान स्कुल जाने, दिउँसो गाई चराउने र साँझ बिहान घरमा आरती गर्ने कामको लागि आफ्नो घरमा राखेका थिए।
अहिले दशरथ रंगशाला रहेको ठाउँलाई त्यतिबेला सानो टुँडिखेल भनिन्थ्यो।
‘अहिले टुँडिखेल भएको ठाउँ उबेला खुला मैदान थियो। म कुपण्डोलबाट गाई चराउन सानो टुँडिखेल जान्थेँ। त्यहाँ नजिकै सेनाले तोप पड्काउँथ्यो,’ उनले भने, ‘साँझ, बिहान र दिउँसो सेनाले त्यहाँ तोप पड्काउँथे। तोप पड्किएको भरमा समय थाहा हुन्थ्यो। त्यतिबेला कसैका हातमा घडी थिएनन्। रेडियो, टीभी र अहिले जस्तो मोबाइल त कल्पनामै थिएन कसैको।’
हाल थापाथलीमा राष्ट्र बैंक रहेको भवन उबेला सिंह शमशेरको दरबार थियो। बहादुर शमशेर, भरत शमशेर र बबर शमशेरका घर पनि त्यहीँ वरपर थिए।
कर साहेब (कर्णेल हरिबिक्रम राणा)की पत्नीलाई बडामहारानी भनिन्यो। बडामहारानी पराजुली बाजेलाई बिहानै कहिले बबर शमशेर, कहिले सिंह शमशेर र कहिले भरत शमशेरकहाँ गाईको दुध लिन पठाउँथिन्।
‘त्यतिबेला राणाहरुको हाइहुकुम धेरै थियो। कसैले आफ्नो बिरोध गर्छन् कि भनेर उनीहरु घरघरमा चियो गर्दै हिँड्थे,’ उनी भन्छन्।
नेपालमा राणा शासन अन्त्य हुँदा उनी भारतको कलकत्तामा थिए। राणाकै घरमा बसेर पढेका भए पनि राणा शासन समाप्त भएको खबर सुन्दा उनी निकै खुसी भएका थिए रे।
‘राणा शासन समाप्त भएर प्राजातन्त्र स्थापना भएको सुन्दा अब राणाहरुको हैकम सकियो भन्ने लाग्यो,’ उनले भने, ‘राणाहरुले जनतालाई कज्याएर राखेका थिए। बल्ल फेला परे भन्ने लाग्यो।’
चार वर्ष दरबार हाइस्कुलमा पढेपछि उनी १४ वर्षका भए। त्यसपछि बाले भक्तपुर कटुन्जेकी ११ वर्षीया कन्या बालकुमारीसँग उनले लगन गाँठो कसिदिए।
‘मेरो बिहे बाले धुमधामसँग गरिदिनु भएको थियो। बिहेमा तीनसय रुपैयाँ खर्च भयो,’ उनले भने, ‘त्यतिबेला गाउँलेले ११ धार्नी खसीको मासुसँग २७ पाथी चामलको भात (जन्तेबाख्रो) खाएका थिए।’
त्यसरि घर भित्र्याएकी पत्नीसँग उनी ७० वर्षसम्म दाम्पत्य सम्बन्धमा रहे। उनकी पत्नी बालकुमारी ०७१ सालमा बितिन्। त्यसयताका ११ वर्ष उनी कान्छा छोरा-बुहारी (सुदर्शन पराजुली) सँग बसिरहेका छन्।

किशोर उमेरमा बिहे गरेपछि भने आफू विरक्तिएको उनी बताउँछन्।
‘त्यो बेला के बुद्धि आयो आयो, बिहेपछि मैले दरबार स्कुलको पढाइ पनि छाडेँ। घरका कसैलाई नभनी मुग्लान (भारत)तिर भागेँ,’ ८२ वर्ष अघिको त्यो दिन सम्झिँदै उनले भने, ‘काठमाडौँबाट मकवानपुरको भिमफेदीसम्म पैदल, त्यहाँबाट बाराको अमलेखगञ्जसम्म सानो गाडी र अमलेखञ्जबाट भारतको रक्सोलसम्म नेपाली रेल चढेर गएँ।’
त्यसपछिका सात वर्ष एकपटक पनि घर नआइ उनले कलकत्तामा जागीर खाएर बिताए। सात वर्ष भारत बसेपछि उनी २००७ साल चैतमा घर फर्किए। नेपाल फर्किँदा उनले ११ सय जोगाएर घर ल्याएका थिए। त्यो पैसाले भक्तपुरमै जमिन किने। २ं०३० सालमा त्यो जमिन ४२ सयमा बिक्यो।
भूकम्पबाट जोगिन महेन्द्रले लगाए दरबारमा पुराण
राजा महेन्द्रले एक वर्षअघि मात्रै पञ्चायती शासन सुरु गरेका थिए। ०१८ सालमा काठमाडौँमा ठूलो भूकम्प आउने हल्ला फैलियो। ‘सबै यो वर्ष १९९० सालको जस्तै भूकम्प आउँछ रे, सबै थिचिएर मर्छन् रे!’ भन्न थाले। काठमाडौँ उपत्यकामा चारैतिर त्रास फैलियो।
काठमाडौँकै कुनै मन्दिरमा बस्ने एकजना जोगीले सुरुमा यस्तो हल्ला फैलाएको रहेछ। त्यो हल्ला सुनेपछि राजा महेन्द्र पनि डराएछन्। त्यसपछि उनले भूकम्पबाट देशमा जनधनको क्षति नहोस् भनेर नारायणहिटी दरबारमा कोटीहोम लगाउने बिचार गरेछन्।
‘दरबार भित्रै नारायणको मन्दिर थियो, त्यही मन्दिर प्रांगणमा कोटी होम लगाउने तयारी राजाले गरेछन्,’ उनले भने, ‘त्यो कोटी होममा एकजना ब्राम्हण म पनि छानिएको थिएँ।’
कोटी होमका मुख्य पण्डित थिए– हरिचरण ढुंगाना।
उनी त्यो बेलाका प्रख्यात पण्डित थिए। उनैले पराजुलीलाई पनि आफ्नो टिममा समावेश गरेका थिए। कोटी होमका लागि माघे संक्रान्तिदेखि पण्डितहरुको समूह नारायणहिटीमै बस्न थाल्यो। उनी पनि त्यो समूहमा सामेल भए। कोटी होम एक महिनासम्म चल्यो। कोटी होममा ५५ जना ब्राम्हण सहभागी भएका थिए।
‘महेन्द्रका ससुरा हरि शमशेरले हामी ब्राम्हणहरुलाई दैनिक टीका लगाइदिन्थे। राजा महेन्द्र दक्षिणा बाँढ्थे,’ उनले भने, ‘प्रत्येक दिन राजाले हामी ब्राम्हणलाई जनही एक रुपैयाँ चाँदीको सिक्का र तामाको पाँचपैसा दक्षिणा दिन्थे। रानी पेँडा बाँड्थिन्। कोटी होममा मेरो काम बेद पाठ गर्ने थियो।’
दरबारको कोटीहोममा सहभागी भएपछि उनी हिउँदभर पुराण लगाउने पण्डितको समूहमा सहभागी भएर ठाउँठाउँमा हिँड्न थाले।
राजाले लगाएको कोटी होममा सहभागी भएको पुरेत भनेपछि उनको प्रख्याती पनि बढ्यो।
योगी नरहरिनाथ, स्वामी प्रपन्नाचार्य, नारायणप्रसाद पोखरेल, कालीबाबाहरुको टिममा रहेर उनले गोकर्ण, नागढुंगा, ठमेल, ठिमी, गुर्जुधारा, भक्तपुर लगायतका धेरै ठाउँका पुराणमा सहभागी भए। नारायण शमशेरको दरबारमा पनि त्यो टिमले पुराण लगायो।
यो जजमानी पेसा उनले २/३ वर्षअघिसम्म गर्दै थिए। अहिले भने वृद्धावस्थाको कारण सक्दैनन्।
उमेरमा उनको ताथली क्षेत्रमा ५०/६० घर जजमान थिए। पछि कोटेश्वरमा बसाईँ सर्दा पनि उनले धेरै जजमान बनाए। तर आजभोलि भने ती जजमानी उनले अरु नै पुरेतलाई जिम्मा लगाएका छन्।
कोटेश्वरमा बस्दा एक महिनामा जजमानीबाट एकलाख रुपैयाँसम्म कमाएको उनी बताउँछन्। कोटेश्वर निखिलेश्वर महादेव मन्दिरको प्राण प्रतिष्ठा उनले आफ्नै अगुवाईमा गरेका थिए। कोटेश्वरमै लक्ष्मिनारायणको मन्दिर पनि आफ्नै अगुवाइमा स्थापना भएको उनी बताउँछन्।
२ वर्ष केआई सिंहको अभियन्ता
२००७ सालमा देशमा राणा शासन विरोधी आन्दोलन उत्कर्षमा पुगेपछि राजा त्रिभुवन शरण खोज्दै दिल्ली तर्फ लागे। त्यही बेला डोटीका केआई सिंहले नेपालभरिका २४ वटा जेलबाट १८ देखि माथि र २५ वर्षभन्दा मुनिका सबै युवकलाई जेलमुक्त गरे। त्यतिबेला जेलबाट निकालिएकाहरुलाई समेटेर उनले ‘मुक्ति सेना’ खडा गरे।
पराजुलीका अनुसार त्यतिबेला केआई सिंह ‘त्रिभुवन श्री ५ सरकार हुन् भने म श्री ६ सरकार हुँ’ भन्थे रे!
त्रिभुवन नेपाल फर्किपछि भने केआई सिंह नेपालबाट भागेर चीन गए। त्यतिबेला चीनमा माओत्से तुडले उनलाई शरण दिएका पराजुली बताउँछन्। केआई सिंहले गठन गरेको मुक्ति सेनलाई पछि त्रिभुवनले प्रहरी संगठनमा रुपान्तरणा गरे।
पराजुली ०१५ सालमा लक्का जवान भइसकेका थिए। त्यही बेला डा.केआई सिंहले देशमा राजनीतिक अभियान सुरु गरे। सिंह गणतन्त्र पक्षधर थिए। सिंहले राजालाई ‘श्री ५’ नमान्ने घोषणा गर्दै आफूलाई ‘श्री ६’ को रुपमा चिनाउन थालेका थिए।
अभियानको क्रममा एकदिन भक्तपुरको पाँचथले मन्दिरमा केआई सिंहले भाषणले उनको मन छोयो।
त्यसपछि पराजुली पनि केआई सिंहको अभियानमा जोडिए। बागबजारमा सिंहको केन्द्रीय कार्यालय थियो। त्यहीँ कार्यालयमा सिंहले पराजुलीसहितका युवाका हातमा इस्पाते खुकुरी थमाएर आफ्नो अभियानमा खटाए। त्यसको सबै खर्चको व्यवस्थापन केआई सिंहले नै गरे।
त्यसक्रममा उनी चुनाव प्रचारको लागि भक्तपुर, काभ्रे, ललितपुर, काठमाडौँ, सिन्धुली, सर्लाही, रौतहट लगायत देशका विभिन्न जिल्लामा पुगे।
‘कृषि बैंक खडा होस्, भूमि सुधार लागू होस्, सर्भेनापी चाँडो होस्, आँठोसरो तिरो होस्, बिर्तागुठी खारेज होस्, मोहीयानी हक कायम होस्’ जस्ता माग केआई सिंहका थिए। २०१५ सालको चुनावअघि राजा महेन्द्रसँग.यी माग राखेपछि सिंह देशव्यापी संगठन विस्तारमा जुटेका थिए।
सिंहको पार्टीको नाम ‘संयुक्त प्रजातन्त्र पार्टी’ र चुनाव चिह्न धानको बाला थियो। ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो, पेटभरि खानपाए सबलाई रमाइलो,’भन्ने गीत गाउँदै उनीहरु चुनावमा खटिए।
‘तर केआई सिंहले २०१५ सालको चुनाव जितेनन्। कांग्रेसले बहुमत ल्यायो,’ उनले भने, ‘त्यसपछिका दुई वर्षसम्म म पनि केआई सिंहको अभियानमा खटिएँ। त्यसपछि त्यो पार्टी छाडिदिएँ।’
आफू जन्मे हुर्केको ताथली छाडेर उनी २०१७ सालमा रौतहटको चन्द्रनिगाहपुरमा बसाईँ गए। तर, त्यहाँको गर्मीमा टिक्न नसकेपछि उनी दुई वर्षमै फेरि भक्तपुर नै फर्किए।
‘धानको भात खान भनेर मधेस बसाईँ गएका थियौँ, तर गर्मीले टिक्न सकेनौँ,’ उनले भने, ‘श्रीमती गर्मीले बिरामी भएपछि चन्द्रनिगहापुरबाट हिँडेर चार दिनमा काठमाडौँ आइपुग्यौँ।’
त्यतिबेला पनि मकवानपुरको पुरानो सदरमुकाम भिमफेदिसम्म मात्रै गाडी चल्थे। उनी चन्द्रनिगाहपुरबाट हिँडेर बाराको बागदेउ हुँदै अमरेशगञ्ज आए। त्यहाँ सुरुडमार्ग हुँदै सानो गाडी चल्थ्यो। त्यो गाडी चढेर भिमफेदीसम्म पुगे। त्यहाँबाट हिँडेर दुई दिनमा काठमाडौँ पुगेको उनी बताउँछन्।
काठमाडौँमा त्यतिबेला पनि सार्वजनिक गाडी चल्दैनथे। राणा र राजपरिवारले भने त्यसअघि नै भिमफेदिबाट भरियालाई बोकाएर गाडी काठमाडौँ भित्र्याइसकेका थिए।

ताथली भन्दा पारिपट्टी छाप भन्ने ठाउँ छ। त्यहाँ दसैँघर थियो। राजाले त्यसक्षेत्रको जिम्दारी पर्शुराम थापालाई दिएका थिए।
दसैँको सप्तमीको दिन त्यहाँ फूलपातीको हर्षबढाईँ हुन्थ्यो। रैतीहरु सबै दसैँको टीकाको दिन टीका थाल्प त्यहाँ पुग्नै पथ्र्यो। घरको मूलीले त्यहाँ टीका नथापी आफ्नो घरमा टीका लगाउन पाउँदैनथे।
‘हाम्रा बा पनि दशमीको दिन जिम्दारकहाँ टीका लगाउन जानुहुन्थ्यो,’ उनले भने, ‘दसैँ घरको मुख्य मालिकलाई रिसले मान्छेहरु ‘राजाको भरौटे’ भन्थे। उनको हातको टीका नथापी बाले हामीले टीका लगाइदिनु हुन्नथ्यो।’
कतिपय मान्छे खसीका साँप्रा लिएर पनि थापाको हातको टीका थाप्न जान्थे। ‘यसो कपडामा बेरेर साँप्रो लिएर जान्थे मान्छेहरु, ती पर्शुरामलाई सबैले थापा काजी भन्थे,’ उनले भने।
Shares

प्रतिक्रिया