ब्लग


पर्खिरहेका ज्ञानेन्द्र शाह

कुलमान, बालेन, हर्क एक्सनको प्रतीक बने, संस्थागत सुधारको विकल्प हुन सक्छन्?
पर्खिरहेका ज्ञानेन्द्र शाह

दिलिप भट्टराई
कात्तिक ६, २०८२ बिहिबार १०:३१, काठमाडौँ

कुनै पनि वस्तु वा विचारलाई चिनाउन प्रयोग गरिने संकेतलाई शीर्षक भनिन्छ, यो स्कुलको परिभाषा हो। तर यहाँ नेपाल नामक शीर्षकलाई परिभाषित गर्न खोजियो भने त्यो आफैँमा एउटा असमाप्त शल्यक्रियाको नाम हुन पुग्छ। र, धोका शब्दको अर्थ कसैले दिएको वचन तोड्नु नभई एउटै घाउलाई निको पार्ने भ्रममा पटक–पटक कोट्याइरहने एउटा राष्ट्रिय मनोरोग हो भनेर बुझियो भने यो लेख स्पष्ट हुनेछ। 

बिरामीलाई आफ्नो घाउ कोट्याउनुमा नै एक किसिमको पीडादायी आनन्द मिल्छ। उसलाई निको हुनुभन्दा आफ्नो पीडाको कथा सुनाइरहनुमा गौरव महसुस हुन्छ।

यो लेख समकालीन पात्रहरूको मूल्यांकन गर्न वा भविष्यको कुनै मितिमा हुने काल्पनिक विद्रोहको भविष्यवाणी गर्न लेखिएको होइन। त्यो त ज्योतिष वा गणितको काम हो। राजनीतिमा गणित नभई मनोविज्ञान हुन्छ। यहाँ एउटा प्रश्नको खोजी छः किन हाम्रो हरेक उपचार आफैँमा एउटा नयाँ रोग बन्न पुग्छ? किन हाम्रो राजनीतिक चेतनाको नक्सामा हामी सधैँ एउटा यस्तो विन्दुमा उभिन्छौँ, जहाँबाट अगाडि बढ्ने बाटो देखिँदैन, तर पछाडि फर्कने अनेकौँ आकर्षक गल्लीहरूले बोलाइरहेका हुन्छन्?

अपरेसन थिएटरको चिसो टेबलमा एउटा बिरामी छ। वैद्य, डाक्टर, सर्जनदेखि तालिम नपाएका कसाईसम्मले चलाएका छुरी–चक्कुका अनगिन्ती दागहरू छन् उसको शरीरमा। 

हरेक दशकमा एउटा नयाँ मसिहाको टोली आउँछ, क्रान्तिको झोलामा खिया लागेका औजार बोकेर। बिरामीलाई समृद्धिको एनेस्थेसिया दिन्छ, चिर्छ, फाड्छ र घोषणा गर्छ शल्यक्रिया सफल भयो! तर बिरामी ब्युँझिँदा, उसको रोग जस्ताको तस्तै हुन्छ, शरीरमा अर्को एउटा गहिरो टाटो थपिएको हुन्छ।

नेपालको पहिलो ठूलो शल्यक्रिया थियो, २००७ सालको क्रान्ति। भारतको राजनीतिक प्रयोगशालामा प्रशिक्षित भएका सर्जनहरूको टोलीले १०४ वर्ष पुरानो जहानियाँ राणा शासनको ट्युमरलाई निकाल्यो। दिल्लीमा भएको सम्झौताको कैँचीले काटिएको त्यो गाँठो बाहिरबाट हेर्दा ठूलो सफलता थियो।

तर, ती सर्जनहरूले राणाको शरीर मात्रै काटे, उसको आत्मालाई दरबारभित्रै राजाको संरक्षणमा छोडिदिए। सामन्तवादको क्यान्सरको जरा जमिनदारी प्रथा, चाकरी र हुकुमको संस्कृतिमा थियो, त्यो जस्ताको तस्तै रह्यो। उनीहरूले शासकको अनुहार बदले, तर शासन गर्ने चरित्र र प्रवृत्ति बदल्न चाहेनन्, वा सकेनन्। यो शल्यक्रियाले बिरामीलाई हिँड्न सक्ने त बनायो, तर उसको शरीरभित्र क्यान्सरको जीवाणुलाई झन् बलियो गरी स्थापित गरिदियो।

२०४६/४७ सालमा तीस वर्षको निर्दलीय पञ्चायतको पत्थरी निकाल्न दोस्रो ठूलो अपरेसन भयो। यस पटक सर्जनहरूको टोलीमा पुराना कांग्रेसका वैद्य र भर्खरै भूमिगत सुरुङबाट निस्किएका कम्युनिस्टका कम्पाउन्डरहरू थिए।

संयुक्त जनआन्दोलनको बलले गरिएको यो शल्यक्रियाले बहुदलीय व्यवस्थाको पुनर्स्थापना त गर्यो, तर शरीरको प्रतिरोधात्मक क्षमतालाई नै कमजोर बनाइदियो। प्रजातन्त्रको नाममा देशमा दलाल पुँजीवादको भाइरस फैलियो।

राष्ट्रिय उद्योगधन्दाहरूलाई निजीकरणको नाममा कौडीको भाउमा बेचियो। राजनीति देश सेवाको माध्यम रहेन, रातारात धनी बन्ने लाइसेन्स बन्यो। नेता, कर्मचारी र ठेकेदारको अपवित्र गठबन्धनले देशको स्रोतलाई लुटेर आफ्नो व्यक्तिगत स्वर्ग बनायो। प्रजातन्त्र आयो, तर त्यो भोट हाल्ने र नेता चुन्ने प्रक्रियामा सीमित भयो; आम मानिसको जीवनस्तरमा त्यसले कुनै आधारभूत परिवर्तन ल्याउन सकेन।

२०६२/६३ मा महा-शल्यक्रिया भयो। यो सबैभन्दा जटिल र महत्त्वाकांक्षी शल्यक्रिया थियो। सात राजनीतिक दल र विद्रोही माओवादीको संयुक्त टोलीले राजतन्त्रको २३८ वर्ष पुरानो गाँठोलाई जरैदेखि उखेलेर फ्याँक्यो। गणतन्त्रको स्थापना भयो। तर यो शल्यक्रिया यति हतारमा गरियो कि शरीरको आन्तरिक रक्तश्राव रोकिएन। संक्रमण फैलियो।

राजतन्त्रको ठाउँमा सयौं साना-साना राजाहरू जन्मे। भ्रष्टाचार, नातावाद र कुशासनले राज्यको डीएनएलाई नै संक्रमित गरिदियो। राज्यको हरेक अंग न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका यो रोगले थला पर्यो। क्रान्तिको अग्रमोर्चामा लडेकाहरू सत्ताको कुर्सीमा पुगेपछि सबैभन्दा ठूला प्रतिक्रान्तिकारी देखिए। उनीहरूले हिजो जुन व्यवस्थाविरुद्ध बन्दुक उठाएका थिए, आज त्यही व्यवस्थाका सबैभन्दा कुरूप र विकृत अवशेषहरूलाई आफ्नो आचरणमा बोकेर हिँड्न थाले।

पहिलो प्रश्न: रोगको निदान नै गलत भएपछि शल्यक्रिया सफल हुनुको अर्थ के हो? के ट्युमर काटेर फ्याँक्नु र क्यान्सरलाई नै मलजल गर्नुलाई उपचार भन्न मिल्छ? वा, कतै यो बिरामी आफैंलाई आफ्नो रोगसँग प्रेम त छैन? उसलाई यो निरन्तरको शल्यक्रियाको पीडामा नै आफ्नो अस्तित्व महसुस हुने बानी त परिसकेको छैन?

जब जादुगर आए
केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी टोपीबाट पानीजहाज र ग्यास पाइपका खरायोहरू निकाले। उनको वाकपटुताको तुफानमा मान्छेले आफ्नो विवेकको छाता उडाए र उनलाई दुई-तिहाई बहुमतको अभेद्य किल्लाभित्र पठाए।

तर, रंगमञ्चमा पर्दा उघ्रिएपछि थाहा भयो, जादुगरले त आफ्नो जादुको छडी नै बिर्सिसकेको रहेछ। ऊ त आफ्नो प्रशंसामा लेखिएका गीतहरू गाइरहेको छ र आलोचकहरूलाई देशद्रोही, अराष्ट्रिय तत्व र विकास विरोधीको जन्तर लगाइदिइरहेको छ।

उनले शिलान्यास गरेका हजारौं परियोजनाहरू शिलान्यासको ढुङ्गामै सीमित भए। विकास उनको लागि राष्ट्र निर्माणको मिसन थिएन, चुनाव जित्ने र ताली बटुल्ने इभेन्ट म्यानेजमेन्ट थियो।

उनको शासनकाल सपना र यथार्थबीचको सबैभन्दा कुरूप, भद्दा र क्रूर ठट्टा बन्न पुग्यो। दैनिक दुई हजार युवाहरू आफ्नो भविष्य प्याक गरेर अरबको तातो बालुवामा रगत बेच्न गइरहेका बेला भव्य समारोहकाबीच पानीजहाजको कार्यालय खोलियो।

भोका पेटमाथि, देशको वास्तविकतामाथि गरिएको सबैभन्दा क्रूर र निर्लज्ज मजाक थियो त्यो। ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा बालुवाटारको पर्खालमा सुनौलो अक्षरले लेखियो, तर देशको नियति यति, ओम्नी र बालुवाटार जग्गा काण्डको कालो, नमेटिने मसीले पोतियो।

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकांकमा नेपाल सधैं पुछारतिरै रह्यो, तर ओलीले भने ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने खोक्रो भाषण गरिरहे। उनको जादुको शो चलिरहँदा पर्दा पछाडि थर्मल गन ग्याङको झुण्डले देशको ढुकुटी लुटिइरहेको थियो, तर दर्शकहरू जादुगरको हाउभाउ र उखान-टुक्कामा यति मोहित थिए कि उनीहरूले आफ्नो घरमा आगो लागेको पत्तै पाएनन्।

दोस्रो प्रश्न : के यो ओली नामक पात्रको मात्रै असफलता थियो, वा सपना देख्ने र त्यसलाई पत्याउने हाम्रो सामूहिक मूर्खताको सबैभन्दा कुरूप नतिजा? के हामीलाई जादु मन पर्ने भएकाले नै जादुगरहरू जन्मिरहन्छन्? के हामीलाई यथार्थको तितो औषधिभन्दा सपनाको गुलियो झुट बढी मन पर्छ?

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) कम्युनिस्ट पार्टीलाई सर्वहाराको अधिनायकत्वको साँघुरो गल्लीबाट निकालेर लोकतन्त्रको फराकिलो राजमार्गमा हिँडाउन ल्याइएको वैचारिक गाडी थियो।

यो गाडीको इन्जिन प्रतिस्पर्धा, विधिको शासन, र निरन्तर आत्मसमीक्षा थियो। तर ओलीले त्यही गाडीको रङ्ग बदले, बाहिर मदन भण्डारीको फोटो टाँसे, तर भित्रको इन्जिन नै निकालेर फालिदिए र त्यसलाई आफ्नो अहंकारको घोडाले तान्ने बग्गी बनाए।

जबजले पार्टीभित्र जनवादी केन्द्रीयता अर्थात् छलफलमा जनवाद र निर्णयमा केन्द्रीयताको परिकल्पना गरेको थियो। तर ओलीले यसलाई खड्गप्रसादीय केन्द्रीयतामा बदले, जहाँ छलफलको अर्थ थियो- बा को भजन गाउनु, र केन्द्रीयताको अर्थ थियो- बा को आदेश मान्नु।

उनले नेकपा एमाले जस्तो ऐतिहासिक पार्टीलाई विचार र बहसको जीवन्त पाठशालाबाट आफ्नो भजन-मण्डली र साइबर स्यालहरूको झुण्डमा रूपान्तरण गरे। दासढुंगा घटनाले मदन भण्डारीलाई दिएको शंकाको लाभलाई उनका चेलाहरूले सत्ताको भर्याङ मात्रै बनाए।

उनीहरूले जबजलाई एउटा यस्तो पवित्र ग्रन्थ बनाए, जसको पूजा त सबैले गर्थे, तर त्यसलाई पढेर त्यसको मर्मअनुसार चल्ने हिम्मत कसैले गरेन।

दुई-दुई पटकको संसद विघटन कुनै राजनीतिक निर्णय नभई उनको महाराजधिराज बन्ने आकांक्षाको उन्माद थियो। पार्टीभित्र उनको कुर्सी हल्लिँदा उनले सिंगो देशको म्यान्डेट र संविधानलाई आफ्नो कोठाको रद्दी टोकरीमा फ्याँकिदिए। जबजको लोकतान्त्रिक मर्ममाथिको यो सबैभन्दा ठूलो कुठाराघात थियो। मदन भण्डारीले जनताको सर्वोच्चताको कुरा गरेका थिए, ओलीले आफ्नो सर्वोच्चताको अभ्यास गरे।

तेस्रो प्रश्न: जब एउटा क्रान्तिकारी विचारलाई कर्मकाण्डमा बदलीइन्छ, के त्यो विचार जीवित रहन्छ? वा, त्यो एउटा यस्तो लास बन्न पुग्छ, जसलाई काँधमा बोकेर उसका अनुयायीहरू राजनीतिको चुनाव वैतरणी पार गर्न खोज्छन्?

अदृश्य माउतेहरू
पृथ्वीनारायण शाहले दिव्योपदेशमा भनेका थिए- नेपाल दुई ढुंगाबीचको तरुल हो। तर आज, यो तरुलमाथि चीन र अमेरिका नामक दुई विशाल हात्तीहरू आफ्नो शक्ति प्रदर्शनको नाच नाच्न थालेका छन्, र भारत नामक अर्को माउते छेउमा बसेर अंकुश देखाउँदै, आफ्नो स्वार्थको रोटी सेक्दै छ। हात्तीहरू जब नाच्छन् वा जुध्छन्, तरुल (घाँस) को नियति सधैं कुल्चिनु, मिचिनु र पेलिनु नै हो।

हाम्रा नेताहरू यति निरीह छन् कि उनीहरू आफ्नो राजनीतिक विरासत जनताको भोटबाट नभई विदेशी दूतावासको आशीर्वादबाट खोज्छन्। उनीहरू सार्वजनिक भाषणमा भारतलाई गाली गरेर राष्ट्रवादीको ताली खान्छन्, तर मध्यरातमा भारतीय गुप्तचर प्रमुखलाई बालुवाटारमा रातो कार्पेट बिछ्याउँछन्।

एमसीसी र बीआरआई जस्ता परियोजनाहरू राष्ट्रिय हितको कसीमा नभई सत्ता समीकरणको गणितमा पास वा फेल हुन्छन्। उनीहरू कहिले दिल्लीको पाउमा सार्वभौमसत्ता चढाउँछन्, कहिले बेइजिङको काखमा लुट्पुटिन्छन्, कहिले वासिङ्टनको इशारामा नाच्छन्। उनीहरूले बुझेका छन् कि आफ्नो जनतालाई धोका दिएर सत्तामा टिकिरहन सकिन्छ, तर विदेशी मालिकलाई चिढ्याएर एक दिन पनि कुर्सीमा बस्न सकिँदैन।

चौथो प्रश्न :  घरका मूलीहरू नै जब सत्ताको लागि विदेशीको अगाडि घुँडा टेक्छन्, तब बाहिरियाले घरको आँगनमा नाचेको दोष कसलाई दिने? यो बाह्य हस्तक्षेप हो, वा हाम्रो आत्मसमर्पणको निम्तो? के हाम्रो सार्वभौमसत्ता साँच्चै बाह्य शक्तिले खोसेको हो, वा हामीले नै त्यसलाई आफ्नो स्वार्थको लागि पटक-पटक लिलाम बढाबढमा राखेका हौं?

क्रान्तिको गर्भपतन
किन नेपालका आन्दोलनहरू सधैं अधुरा हुन्छन्? किन हरेक शल्यक्रियापछि बिरामीको रोग बल्झिरहन्छ? र, किन हाम्रो हरेक क्रान्तिले सिंहदरबारको गेट त तोड्छ, तर भित्रको चरित्र, संस्कृति र प्रवृत्ति तोड्न सक्दैन?

पहिलो कारण: सम्झौताको विष। हाम्रो क्रान्ति भनेको पहाडबाट उत्साह, वेग र गर्जनका साथ निस्किएको त्यो नदी हो, जो मैदान (सत्ता) मा पुग्ने बित्तिकै विभिन्न दलाल, ठेकेदार, नातावाद र विदेशी स्वार्थका नहरहरूमा बाँडिन्छ र कहिलै आफ्नो अन्तिम गन्तव्य, अर्थात् आम जनताको सुख र समृद्धिको समुद्रमा पुग्नै सक्दैन। त्यो बीचमै बालुवामा बिलाउँछ।

हरेक क्रान्ति एउटा सम्झौतामा टुंगिएको छ, चाहे त्यो दिल्ली सम्झौता होस्, वा १२-बुँदे समझदारी। यी सम्झौताहरूले क्रान्तिको भ्रूणलाई पूर्ण विकसित हुन नदिई त्यसको गर्भपतन गराइदिन्छन्।

पुराना र नयाँ शक्तिहरूबीच सत्ताको लेनदेन हुन्छ। यो सम्झौताले क्रान्तिको र्‍याडिकल चरित्रलाई समाप्त पार्छ र त्यसलाई सत्ता-परिवर्तनको एउटा फोस्रो खेलमा सीमित गरिदिन्छ।

दोस्रो कारण: पुरानो कंकालमा नयाँ टाउको। क्रान्तिकारी शक्तिले पुरानो राज्य संयन्त्र (सेना, प्रहरी, प्रशासन, न्यायालय) को कंकाललाई भत्काएर नयाँ बनाउने आँट कहिल्यै गरेन। उनीहरूले त्यही पुरानो, जड र भ्रष्ट कंकालमाथि आफ्नो नयाँ टाउको जोडिदिए। तर कंकालको डीएनए पुरानै थियो।

त्यसैले, नयाँ टाउकोले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि, शरीरले पुरानै सामन्ती र भ्रष्ट शैलीमा काम गरिरह्यो। अन्ततः, त्यो पुरानो शरीरले नयाँ टाउकोलाई नै आफ्नो नियन्त्रणमा लियो। नयाँ रक्सीलाई पुरानो, मक्किइसकेको भाँडोमा हालेपछि रक्सी नै दूषित हुन्छ, भाँडो सफा हुँदैन।

तेस्रो कारण: क्रान्तिकारीबाट सामन्तसम्मको यात्रा। हिजो जो क्रान्तिको झोला बोकेर, फाटेको चप्पल लगाएर, जनताको घरमा सुत्थ्यो, आज ऊ सत्ताको चिल्लो, कालो सिसा भएको गाडीमा बसेर त्यही जनतालाई धुलो उडाउँदै हिँड्छ। राणा फ्याँक्ने कांग्रेस आफैं श्री ३ बन्यो। पञ्चायत फ्याँक्ने कांग्रेस-एमाले आफैं नव-पञ्च बने।

राजतन्त्र फ्याँक्ने माओवादीको जीवनशैली कुनै महाराजाको भन्दा कम देखिएन। उनीहरूले व्यवस्था बदले, तर आफ्नो चरित्र, आफ्नो वर्ग र आफ्नो सामन्ती मानसिकता बदल्न सकेनन्।

वर्षौंदेखिको अभाव र संघर्षबाट आएको व्यक्ति शक्ति र सम्पत्तिको नजिक पुग्दा मनोवैज्ञानिक विचलन आउँछ। ऊ आफ्नो विगतको अभावलाई पूर्ति गर्न लालायित हुन्छ। उसलाई लाग्न थाल्छ मैले क्रान्तिको लागि यति धेरै त्याग गरें, अब मैले भोग गर्न पाउनुपर्छ। उसको यही भोगको भोकले क्रान्तिको आदर्शलाई निलिदिन्छ।

चौथो कारण: आर्थिक क्रान्तिको अनुपस्थिति। हाम्रा सबै क्रान्तिहरू राजनीतिक मात्रै भए, आर्थिक कहिल्यै भएनन्। हामीले शासक फेऱ्यौं, तर उत्पादन सम्बन्ध फेर्न सकेनौं। हाम्रो अर्थतन्त्र रेमिट्यान्स नामक सलाइन पानीको भरमा बाँचिरहेको छ।

देशमा जबसम्म रोजगारी सिर्जना हुँदैन, राष्ट्रिय उद्योगधन्दाको जबसम्म विकास हुँदैन, जतिसुकै राजनीतिक परिवर्तन गरे पनि त्यो बालुवामा पानी हालेसरह हुनेछ। राजनीतिक परिवर्तनको जग आर्थिक आत्मनिर्भरतामा टिकेको हुनुपर्छ, विदेशीको अनुदान र ऋणको बैशाखीमा होइन।

पर्खिरहेका ज्ञानेन्द्र शाह 
गणतन्त्रले जनतालाई जब रोटी, कपडा र आवासको सट्टा धोका, अपमान र भ्रष्टाचारको झापड हान्छ, तब मानिसहरू निराश भएर चिहानमा गई राजतन्त्रको कंकाल खोज्न थाल्छन्। आज दुर्गा प्रसाईं जस्ता पात्रहरूको नेतृत्वमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै निस्किएका जुलुसहरू राजतन्त्रप्रतिको प्रेमले भन्दा पनि यो गणतन्त्र नामक कुरूप व्यवस्थाप्रतिको घृणाले जन्मेका चित्कारका मेला हुन्।

यो वैचारिक आन्दोलन नभई व्यवस्थाले लुटिएका, ठगिएका र अपमानित भएकाहरूको निराशाको जन्तीहरू हुन् जसले आफ्नो पीडालाई एउटा भव्य झाँकीको रूपमा प्रदर्शन गरिरहेका छन्।

यो नारा गणतन्त्रको सबैभन्दा ठूलो हार हो। व्यवस्थाले जब आफ्नो वैधता गुमाउँछ, मानिसहरू तब विकल्पको खोजीमा प्रतिगमनको अँध्यारो सुरुङतिर हेर्न थाल्छन्। यो राजनीतिक सिद्धान्तको कुरा नभई मानिसको निराशा र आक्रोशको स्वाभाविक मनोवैज्ञानिक अभिव्यक्ति हो।

नक्कली शरणार्थी प्रकरण होस् वा सुन तस्करी काण्ड, व्यवस्थाका रक्षकहरू नै जब जनताको भविष्य बेच्ने तस्कर र दलाल साबित हुन्छन्, तब मानिसहरूलाई पुरानो मालिक नै बरु ठीक थियो कि भन्ने भ्रम पर्न थाल्छ। यो प्रेम नभई वर्तमानको पीडाबाट उम्कन खोज्ने एउटा मनोवैज्ञानिक पलायन हो।

यो ज्ञात शैतानलाई अज्ञात र असफल देवता भन्दा ठीक मान्ने निरीह मानसिकता हो। पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो देव-दर्शन र सांकेतिक अभिव्यक्तिहरू कुनै राजनीतिक शक्तिको कारणले नभई गणतन्त्रका पुजारीहरूको असफलता र नालायकीले गर्दा सान्दर्भिक देखिन थालेको हो। उनी पर्खिरहेका छन् गणतन्त्रका खेलाडीहरू आफैं लडेर, आफैं नाङ्गिएर सकिऊन्, अनि आफूलाई जनताले तारणहारको रूपमा बोलाऊन्।

महामानवको भ्रम 
हामी एउटा महामानवको कल्पना गरेर आफ्नो काँधको जिम्मेवारीबाट उम्किन खोज्छौं। राजनीतिक दलका देवताहरू भ्रष्ट र नालायक साबित भएपछि, निराश जनताले अब नयाँ मसिहाहरू खोज्न थालेको छ, नयाँ मूर्तिहरू बनाउन थालेको छ।

पहिले कुलमान घिसिङ आए अन्धकार हटाउने उज्यालो-पुरुष। उनले लोडसेडिङ अन्त्य गरेर आफूलाई एक सक्षम टेक्नोक्रेटको रूपमा स्थापित गरे। जनताले उनमा यस्तो नायक देख्यो, जसले राजनीतिक भाषण मात्र नभई परिणाम दिन्छ।

तर प्रश्न उठ्छ के एउटा कुशल व्यवस्थापकले सिंगो राजनीतिक प्रणालीको क्यान्सर निको पार्न सक्छ? उनले एउटा अंगको सफल शल्यक्रिया गरे, तर बाँकी शरीर त भ्रष्टाचार र निकम्मापनले सडिरहेकै थियो। उनले बिजुली दिए, तर के राजनीतिक चेतनाको दृष्टि दिन सके?

त्यसपछि स्थानीय तहबाट नयाँ नायकहरू जन्मे काठमाडौंका बालेन शाह डोजरसहित र धरानका हर्क साम्पाङ श्रमदानको कुटो-कोदालोसहित। उनीहरू वर्षौंदेखिको असफलता र निराशामाथि तत्काल र देखिने एक्शनको प्रतीक बने।

बालेनको डोजरले अवैध संरचना मात्र भत्काएन, त्यसले जनताको मनमा जमेको पुरानो व्यवस्थाप्रतिको आक्रोश र निराशाको पहाड पनि भत्कायो। हर्कको श्रमदानले राज्य संयन्त्रप्रतिको अविश्वास र आफ्नो ठाउँ आफैं बनाउनुपर्छ भन्ने भावनालाई जगायो।

तर, के शासन-व्यवस्था भनेको के एउटा इभेन्ट हो? के डोजर नीतिको र कुटो-कोदालो संस्थागत सुधारको विकल्प हुन सक्छ? यो व्यक्ति-केन्द्रित नायकत्वले तत्कालका लागि ताली त पाउँछ, तर यसले विधिको शासन र संस्थागत प्रक्रियालाई कमजोर बनाउने खतरा बोकेको हुन्छ।

अनि टेलिभिजनको पर्दाबाट अर्को नायकको उदय भयो- रवि लामिछाने। न्यायलय, प्रहरी र प्रशासनले जब न्याय दिन सकेन, जनताले टीभीको स्टिङ अपरेशनमा न्याय देख्न थाल्यो। उनको उदयले राज्यका परम्परागत संस्थाहरूको मृत्युको घोषणा गर्यो।

उनले जनताको आक्रोशलाई आफ्नो राजनीतिक पुँजी बनाए। तर, टिभीमा देखाइने सनसनीपूर्ण न्याय र देश चलाउने जटिल र पट्यारलाग्दो प्रक्रिया एउटै हो? के आक्रोशको जगमा बनेको पार्टीले विचार र संगठनको लामो यात्रा तय गर्न सक्छ?

यी सबै नयाँ नायकहरू कुलमान, बालेन, हर्क, रवि पुराना दलहरूको असफलताको गर्भबाट जन्मेका हुन्। तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने, हामी फेरि उही पुरानो गल्ती दोहोर्याउँदै छौं। हामीले पात्र मात्रै फेरेका छौं, प्रवृत्ति फेरेका छैनौं।

हामी अझै पनि एउटा मसिहाको खोजीमा छौं, जसले आएर हाम्रो सबै दुःख हरण गरिदेओस्। यो महामानवको पूजा गर्ने प्रवृत्ति नै हाम्रो नागरिक चेतनाको सबैभन्दा ठूलो कमजोरी हो। लोकतन्त्रमा कुनै एउटा व्यक्ति तारणहार हुँदैन। जागरूक र संगठित नागरिक नै सबैभन्दा ठूलो शक्ति हो। समस्या नायकको अभाव होइन, समस्या हाम्रो नायक खोज्ने र पूजा गर्ने रोग हो।

नियती की छनौट?
भोलि फेरि कुनै आक्रोशको ज्वालामुखी बिष्फोट होला। कुनै भाद्रमा, वा कुनै अर्को मितिमा। त्यसले पुराना मूर्तिहरू जलाउला। तर प्रश्न यो होइन कि विद्रोह कहिले हुन्छ। प्रश्न यो हो कि विद्रोहको खरानीबाट के उम्रिन्छ? के त्यहाँबाट फेरि उही विषालु, कुरूप झारपात उम्रिन्छ, वा कुनै नयाँ, स्वस्थ बिरुवा?

हाम्रो इतिहास एउटा यस्तो नाटकघर हो, जहाँ हरेक केही दशकमा एउटै नाटक मञ्चन हुन्छ। पटकथा उही हो एक निरंकुश शासक, उसको विरुद्धमा उठेको जनआक्रोश, केही आदर्शवादी नायकहरूको उदय, र अन्तमा सत्ता प्राप्तिपछिको उनीहरूको नैतिक पतन। पात्रका अनुहारहरू फेरिन्छन्, संवादहरू थोरै फेरबदल हुन्छन्, तर नाटकको सार र दुःखद अन्त्य कहिल्यै फेरिँदैन।

के हामी यही पटकथालाई बारम्बार बाँचिरहन अभिशप्त छौं? के यो हाम्रो नियति हो? वा, यो हाम्रो छनोट हो? हामीलाई सायद यो नाटकको बानी परिसकेको छ। हामीलाई थाहा छ, अब के हुन्छ। हामीलाई नायकको उदयमा ताली बजाउन र उसको पतनमा आँसु बगाउन मन पर्छ।

हामीलाई यो आशा र निराशाको चक्रव्युहमा फँसिरहनुमा एक किसिमको सुरक्षित महसुस हुन्छ, किनकि यसले हामीलाई आफ्नो जीवनको असफलताको दोष अरू कसैको टाउकोमा थुपार्ने सुविधा दिन्छ। हामी परिवर्तन चाहन्छौं, तर परिवर्तनको लागि चाहिने त्याग, धैर्य र निरन्तरको नागरिक संघर्षको पीडादायी प्रक्रियाबाट गुज्रन चाहँदैनौं। हामीलाई तत्काल परिणाम चाहिन्छ, हामीलाई इन्स्ट्यान्ट क्रान्ति चाहिन्छ, जसरी हामीलाई इन्स्ट्यान्ट नुडल्स मन पर्छ।

शल्यक्रियाको टेबलमा लम्पसार देशको नियति फेरि अर्को छुरीको टुप्पोमा अड्किएको छ। तर प्रश्न यो होइन कि छुरी कसको हातमा छ पुरानो कसाईको वा नयाँ, अनुभवहीन सर्जनको।

प्रश्न यो हो कि यो बिरामीलाई अब साँच्चै निको हुनु छ कि छैन? वा, उसलाई यो निरन्तरको शल्यक्रिया र कहिल्यै निको नहुने घाउको कथा सुनाइरहने बानी परिसकेको छ? के हामी एउटा यस्तो राष्ट्र हौं, जो आफ्नो इतिहासको गल्तीबाट कहिल्यै सिक्दैन, र त्यही गल्तीलाई फरक-फरक नाम दिएर दोहोर्याइरहन्छ? 

अन्तिम प्रश्न यही हो के यो हाम्रो नियति हो, वा हाम्रो छनोट?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad