ब्लग


टीओबीले २४ गते विध्वंस मच्चाउनुअघि भारतमा नेपालबारे जे बोलेर भाइरल बने लकी विष्ट

टीओबीले २४ गते विध्वंस मच्चाउनुअघि भारतमा नेपालबारे जे बोलेर भाइरल बने लकी विष्ट

लकी विष्ट भारतीय गुप्तचर संस्था रअ निकट मानिन्छन्


राजेश मिश्र
कात्तिक ८, २०८२ शनिबार १८:७, सान डिएगो, क्यालिफोर्निया

नेपालमा जेन जी आन्दोलनको नाममा दृश्यमै रहेर पनि अदृश्य रहन सीपालु एउटा कुनै शक्तिले पटाका पड्काउनु भन्दा करिब महिनौँअघि भारतीय टेलिभिजन सोहरूमा एउटा मान्छे भाइरल भए। पाठकहरूलाई सम्झना छैन भने लकी विष्ट नामले चिनिन्छन् यी व्यक्ति।

अहिलेको पिथौरागढ, उत्तराखण्डमा जन्मिएका उनी सुगौली सन्धि नहुँदो हो त नेपाली नागरिक नै हुने थिए। 

खुब बहादुरीको गाथा गाउन लगाए भारतीय गोदी मिडियाले यी मान्छेलाई। सुरुमा उनले कमान्डो भनिने विशेष सैन्य तालिम पाउन के–के शारीरिक कष्ट भोग्नु पर्छ भन्ने चर्चा गरे। इजरायलमा तालिम लिँदा दिनको अठार घण्टा खटिएको कुरा सुनाए। भारतीयहरू मुग्ध भए। उनले त्यो बेलासम्म नेपालको बारेमा बोलेका थिएनन्। 

तेह्र वर्षअघि उनलाई उत्तराखण्ड प्रहरीले दुई जनाको हत्या गरेको आशंकामा पूर्पक्षका निम्ति थुनामा राख्ने अनुमति माग्यो। अदालतले स्वीकृति दियो।

प्रहरी अनुसन्धानले केलाए अनुसार भएको के रहेछ भने एउटै पेस्तोलबाट चलेको एउटै गोलीबाट दुई जनाको कन्चट छेडिएको थियो। यस्तो दृश्य त सन् २००२ मा नाना पाटेकर र परेश रावल अभिनीत सिनेमा ‘आँच’मा मात्र देखिएको थियो! प्रहरी चकित थियो। लकी विष्ट अनुसन्धानको दायरामा आउनुको कारण थियो, उनको पेस्तोल बोक्ने खोल वा ‘होल्स्टर’ घटनास्थलमा भेटियो। फरेन्सिक जाँच मुताबिक त्यसमा विष्टको औँठा छाप समेत फेला पर्‍यो।

पक्राउ परेको लकी विष्ट तीन वर्षपछि ‘प्रमाणको अभावमा’ रिहा भए। त्यसपछि टेलिभिजनहरूमा अन्तर्वार्ता दिन थालेका उनले मारिएका राजू परागाई र अमित आर्य नामका मान्छेको हत्याको जिम्मेवारी लिएनन्। तर भने, ‘जे भयो, राम्रो भयो। ती भारतका दुश्मन देशका एजेन्ट थिए।’ भारतीय सेना र गुप्तचर संस्था रअले सहानूभूति नराखेको भए आफू जेलमा कुहिएर मर्न सक्ने उनको दाबी थियो। उनले भने, ‘तर भारत भारत हो। यसले हामीजस्ता सपूतलाई मझधारमा छोड्दैन।’

त्यसपछि उनी भारतीय मिडियामा नेपालका बारेमा बोल्न थाले। भदौ २४ को नेपाली दावानल भन्दा छ महिनाअघि उनले बोलेको कुरा हो, ‘कति समय लाग्छ, थाहा छैन, तर नेपालको सिस्टम भष्म हुनेछ। यो सरकार त गयो गयो।’

भारतमा सन् २०१४ मा नरेन्द्र मोदीको भाजपा नामधारी सरकारले मुलुकको लगाम समाउनुअघि नेपाली कांग्रेसका कार्यकर्ता भनिन रुचाउने अमरेशकुमार सिंह तत्कालीन भारतीय संस्थापन पक्षका अघोषित प्रवक्ता जस्तै थिए। भारतीयहरूको चाहना थियो, यदि नेपाल संघीय प्रणालीमा जाने नै हो भने, ‘एक मधेस एक प्रदेश’ हुन जरुरी छ। पूर्व र पश्चिम छुट्ट्याएर बीचको सात ओटा जिल्ला समेटेर बनेको मधेस प्रदेशले भारतीय स्वार्थको हित गर्दैन।’

अमरेशकुमार सिंह यो अभियानका प्रखर अभियन्ता मात्र बनेनन्, उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई चुनौती दिए, ‘एक मधेस एक प्रदेश नहुने भए नेपालमा खुनको खोला बग्छ।’ वीरगन्जको भारतीय महावाणिज्यदूतको कार्यालयले बोलाएको एउटा कार्यक्रममा अमरेशले बोलेका कुरा हुन् यी।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कन्पारो तात्तियो। उनको जिब्रोमा क्यान्सर थियो, तर कोइराला जिब्रो नचपाई कुरा गर्थे। उनले बालुवाटारमा आफ्ना मान्छेहरूलाई भने, ‘त्यो अमरेशकुमार भन्ने मान्छेलाई म यहाँ हुन्जेल छिर्न पनि नदिनू।’

तर भयो के? 

उनै सुशील कोइराला अमरेशकुमार सिंहलाई सर्लाहीबाट चारतारे टिकट दिन बाध्य भए। किन हुन्छ नेपालमा यस्तो? सोच्ने कुरा हो। 

अहिले नेपालीले पत्याएका बालेन्द्र शाह, नीलो स्याल वा जेन जी आन्दोलनको उभारबाट प्रकट अर्धकाँचा राजनेताहरूलाई नेपालको जीर्ण भूराजनीतिक अवस्थितिको जानकारी नहुनु आश्चर्य होइन। सामाजिक सञ्जालबाट उचालिएकाहरूलाई सामाजिक सञ्जालले सिर्जना गर्ने मतिभ्रमको ज्ञान हुँदैन। 

कुरा लकी विष्टको थियो। उनले एउटा भारतीय च्यानललाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘नेपालका युवाहरू कुनै न कुनै रूपले विदेशी शक्तिको प्रभावमा छन्। उनीहरू पच्चीस लाख पर्ने मोटरसाइकल चढेर हिँड्छन्।’

हार्ली डेभिड्सनमा पारस र पासाङका छोरा
हार्ली डेभिड्सन मोटरसाइकल गजबको छ। नेपालमा सायद पहिलोपटक यो गुडाउने अपदस्थ युवराज पारस शाह हुन्। दीपेन्द्र शाह चुपचाप आफ्नो मस्ती गर्थे। एडीसी गजेन्द्र बोहोरालाई आफ्नो गाडी चलाउन दिन्थे। तर उनले सडकमा उपद्रव गरेनन्। पारस शाहले राजा हुने तालिम पाएका थिएनन्। त्यसैले उनी आफ्नो वरिपरि अन्य ६ जना सैनिक अंगरक्षकहरूलाई सडकमा उतारेर जात्रा प्रदर्शन गर्थे। यो ध्वनिप्रदूषक मोटरसाइकलको आतंकले मान्छे मर्नु भन्दा कुर्नु राम्रो भन्ने सोचेर किनारा लाग्थे। अहिलेको जेन जी पुस्ताले यो अनुभव गर्न पाएन। सित्तैमा पाएको अधिकारले प्रजातन्त्रलाई सस्तो बनाउँदो रहेछ। 

यो हार्ली डेभिड्सन भन्ने मोटरसाइकल अमेरिकीहरूका लागि पनि एउटा सामाजिक पहिचान हो। विप्लवका छोराले एक दिन कतै कुनै गल्लीमा हार्ली डेभिड्सनमाथि चढेको फोटो हालेपछि वामपन्थीहरूले नै बबाल गरे। छोराले जवाफ दियो, ‘त्यो मेरो होइन, रहर लागेर चढेको फोटो हालेको मात्रै हो।’

यो हाम्रो सामाजिक संस्कार हो जो राजनीतिक बन्धनबाट सदैव मुक्त छ। 

नेपालमा हुँदा मैले पनि २५० सीसी को जापानी मोटरसाइकल चलाएको हो। जापानी मोटरसाइकलको विशेषता के हो भने त्यसले आफ्नो शक्तिको प्रचार गर्न ध्वधि प्रदूषण गर्दैन। हार्ली डेभिड्सनमा प्राय इन्जिनका दुई भाग हुन्छन्। जँड्याहाले जाँड खाएको भन्दा बढी तेल खान्छ त्यसले। हार्लीको तुलनामा एन्फिल्ड बुलेटले तेल कम पिउँछ। तर आवाजमा प्रतिस्पर्धा गर्ने उसको अधिकार हो। बेलायती उपनिवेशले भारतमा भित्र्याएको यो इन्जिन अहिले भारतीयहरूको भएको छ। नेपालीलाई ‘सेकेन्ड ह्यान्ड’ सामग्रीमा दम्भ गर्ने बानी परेको त जंगबहादुरकै पालादेखि हो। 

तर जेन जीको शान्तिपूर्ण प्रदर्शनमा एक दर्जन भन्दा बढी बुलेट बाइकको ‘साइलेन्सर’ फुस्काएर संसद भवनअघि पुग्ने समूह को थियो? टीओबी नामको ड्रागन खोपिएको लोगो अंकित ज्याकेट भिरेका को थिए? टीओबीको अर्थ त ‘टिबेटन ओरिजिनल ब्लड’ रहेछ। यसका एक नेता अहिले नक्कली नागरिकताको मुद्दामा प्रहरी हिरासतमा छन्। यी व्यक्ति आफ्नो सोचको लहडले उब्जाएको क्रान्तिकारी रोमाञ्चले भीडमा गएका थिए कि उनलाई कुनै कुत्सीत स्वार्थले परिचालित गरेको थियो? यो नेपाली राष्ट्रिय सुरक्षाका निम्ति एक गम्भीर प्रश्न हो। सुशीला कार्कीलाई निद्रा पुगेको छैन। गृहमन्त्री ओमप्रकाश अर्याललाई छोटो समयमा लागेको घाउ सुम्सुम्याएर बस्नुपर्ने बाध्यता छ। 

के हो बाइकर्स क्लब? 
अमेरिकाका पचास राज्यमध्ये जाडोमा हिउँ पर्ने धेरै ठाउँमा मोटरसाइकल चलाउन कानुनले नै प्रतिबन्धित गरेको छ। म कोलोराडो हुँदा त्यस्तै हुन्थ्यो। क्यालिफोर्नियामा मौसम एकप्रकारले सदाबहार छ। यो मोटरसाइकल क्लबको स्वप्नभूमि हो। यी दुई राज्यका मोटरसाइकल क्लबमा मिसिएर मैले पनि केही अनुभव गरेको छु। यो इमानदारी, आदर्श र स्वतन्त्रतालाई मूल मन्त्र मानेर जीवन बाँचेका विप्लवीको समूह हो। यी विद्रोह पनि गर्छन्, तर सामुदायिक सेवा गर्न चुक्दैनन्। स्थापित सामाजिक मूल्य र मान्यताप्रतिको असहमति र वैकल्पिक जीवन बाँच्ने उत्कण्ठाले यी सबैलाई एकै ठाउँमा जोडेको छ। यहाँ मानवीय आधारमा नेतृत्वको चयन हुन्छ। 

हेर्दा क्रूर, छालाको ज्याकेट भिरेका, दारी पालेका, शरीरभरि ‘ट्याटु’ खोपेका यी मान्छेहरू बाहिरबाट हेर्दा जति असहज लाग्छन्, भित्रबाट यी सबै प्रायः गुणकारी भेटेको छु मैले। अपवाद अर्कै कुरा हो। तर मैले चिनेको बाइकर्स क्लबका सदस्यहरू अवकाशप्राप्त प्रोफेसर, वैज्ञानिक, भूगर्भशास्त्रीहरू छन्। यिनीहरूसँग एक घण्टा कुरा गर्दा सिक्ने धेरै कुरा मिल्छ। 

मानवशास्त्री बारबरा जोन्स बाइकर क्लबकी सदस्य भइन्, चालीस वर्ष कटेपछि! पत्रकार हन्टर एस थम्पसन पैँतालीस वर्षमा बाइकर भए। सोमनी बर्गर, जो एक गुण्डा थिए, बाइकर क्लबमा आएपछि उनले अमेरिकी भूगोलका बारेमा पाँच वटा किताब मात्र लेखेनन्, एउटा हलिउड सिनेमा समेत खेले। टर्मिनेटर २ र विश्व विख्यात माफिया सिरिज द सोप्रानोका कलाकार रोबर्ट प्याट्रिक मोटरसाइकल क्लबमा आएपछि मात्रै चर्चित भए। जीवशास्त्री लू डबकिन्स दिउँसो प्रयोगशालामा काम गर्थे, राति ‘पेगन मोटरसाइकल क्लब’ नामको आफ्नो संस्थामा स्वंयसेवकहरूलाई वातावरण सुधार अभियानमा प्रेरित गर्थे। यो अहिलेको कुरा होइन, सन् १९५९ को कुरा हो। 

वाञ्छित सदुपयोग 
नेपालमा राजनीतिक, सामाजिक र आर्थिक जुनसुकै पाटोमा हुन्, विश्वले सफलता हासिल गरेको हरेक दर्शनको दुरूपयोग हुँदै आएको छ। स्पेन भन्ने मुलुकमा राजतन्त्र छ तर त्यहाँ प्रजातन्त्र र सुशासन छ भन्ने नेपालका राजतन्त्रवादीहरू इतिहासले पुनर्स्थापित गरेको स्पेनका अघिल्ला राजा हुवाँ कार्लोस भ्रष्टाचारको आरोप खपेर निर्वासित छन् भन्ने यथार्थ बिर्सिदिन्छन्। कम्बोडियाका विस्थापित राजा दशकौँ चीनमा निर्वासित भएर फर्किए पनि, उनलाई विस्थापित गर्ने शक्ति र उनका आफ्नै उत्तराधिकारी पुत्र मिलेर आज त्यो मुलुकमा तानाशाही र भ्रष्टाचारलाई संस्थागत गर्दैछन् भन्ने नेपालका जेन जीहरूलाई चेतना छैन। 

तर मोटरसाइकल चढ्ने राइडर क्लब जनचेतनाका निम्ति एक नवीन माध्यम हुनसक्छ। नेपालमा अहिले नौ ओटा नाम चलेका बाइकर्स क्लब छन्। कोही साहसिक पर्यटनको कुरा गर्छन, कोही वातावरणको। धेरैको ‘मिसन स्टेटमेन्ट’ सामुदायिक विकासमा केन्द्रित छ। तर कार्यदिशा स्पष्ट छैन। 

अब पुरानो राजनीतिक तौरतरिकाले सामाजिक जागरण सम्भव छैन। बाइकर्स क्लब यसको नयाँ माध्यम हुन सक्छ। 

तर संकट के छ भने, ‘टीओबी’ नामधारी चीनविरोधी एक समूह बुलेट बाइक चढेर परिचालित हुन सक्छ भन्ने राज्यलाई थाहै भएन। न यो समूह कुनै सरकारी निकायमा दर्ता भएको नै देखियो। 

बाइकर्स क्लब नेपालमा नयाँ आन्दोलनको एक प्रस्थान विन्दु हुन सक्छ। अथवा विध्वंशको। यो एकप्रकारको ‘स्लिपिङ सेल’ भनिने विदेशी स्वार्थले मौकामा जागृत तुल्याउने समूह पनि हुनसक्छ। अथवा देश र जनताप्रति जिम्मेवार एक सामाजिक पहरेदार। 

जुन सरकारलाई ‘टीओबी’ नामको बुलेट बाइक ग्याङले सुरु गरेको विध्वंशका बारेमा कुनै जानकारी थिएन, त्यो गइसक्यो। अन्तरिम सरकार आफै कुहिरोमा हराएको काग हो। ऊ किन सत्तामा छ, त्यो कुरा उसलाई सत्तामा स्थापितले सम्झाइदिनुपर्ने अवस्थामा बाइकर्स क्लबको मुद्दा गौण हुनसक्छ। 

तर बाइकर्स क्लब नेपाली समाजलाई जोड्ने एक माध्यम हुन सक्छ। 

कुनै जमाना थियो, म एक्लै आ एक्स १०० नामको टु स्ट्रोक बाइक चढेर पूर्व मेचीबाट सुरु गरेको यात्रा पश्चिम गड्डाचौकीमा पुगेर टुंग्याउथेँ। पाँच दिन लाग्थ्यो। तर मसँग पचासभन्दा बढी फिचर स्टोरीका निम्ति पुग्ने कच्चा पदार्थ हातमा हुन्थ्यो। देश जोडेको गर्व हुन्थ्यो। 

यसपटक टीओबीले देश जलायो, अब नेपालमा दर्ता भएका एक दर्जन बाइकर्स क्लबहरू देश बनाउने अभियानमा जोडिनुपर्छ। 

(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad