छठ हिन्दु धर्ममा मनाइने एक महत्त्वपूर्ण पर्व हो। हरेक वर्ष अनुसार कार्तिक महिनाको कार्तिक मास के शुक्ल पक्षको षष्ठीको दिन पूर्ण आस्था र श्रद्धाको साथ पवित्र हृदयबाट यो पर्व मनाइन्छ। यो पर्वमा छठीमाताको पूजासँगै अस्ताउँदो र उदाउँदो सूर्य भगवानको पूजा गर्ने गरिन्छ। विधिवत् रुपमा छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान प्राप्ति तथा मनकामना पूरा हुने विश्वास देखिन्छ। यस पर्वलाई महापर्व पनि भनिन्छ।
सामान्यतयाः यो पर्व दीपावली सकेपछिको छैटौँ दिनमा हुन्छ। यो पर्व विशेषगरी चार दिनको हुन्छ। जसमा पहिलो दिन 'नहाय खाए' को नामबाट प्रसिद्ध छ। यो दिन बिहान नुहाएर खाने (लौका, रहरीको दाल, तोरीको साग, भात र रोटी) विधि पूरा गरिन्छ।
दोस्रो दिनलाई 'खरना' को नामले चिनिन्छ। खरनामा दिनभरि निर्जल उपवास बसी बेलुका माटोको चुलोमा गुड (मीठा) र बासमती चामल मिलाई खीर र गहुँको रोटी बनाएर प्रसादको रुपमा खाने गरिन्छ।
तेस्रो दिन अर्थात् छठ पूजाको दिन पनि दिनभरिको निर्जल उपवास गरी बेलुका पूजा सामग्री, ठेकुवा, फलफूल, अर्घ्य सहित प्रसाद लिएर छठ घाटमा पुगी अस्ताउँदो सूर्यको पूजा गरी नदी किनारमा बसेर छठी माईको भजन, गीत, कथा सुन्दैसुनाउँदै रात बिताउने गरिन्छ।
चौथो दिन छठ पूजाको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पति र पुत्रको दीर्घ आयुसँगै पुत्र प्राप्तिको लागि प्रार्थना गरी पूजा समापन गरिन्छ। यस दिनलाई 'पारण'को दिन पनि भनिन्छ। यसरी चार दिनको निर्जल व्रत सूर्य भगवानको पूजा पछि अन्त्य हुन्छ। यो पर्वमा धेरै कठिन नियम पालना गर्नुपर्ने हुनाले यसलाई महापर्व पनि भनिन्छ।
यस पर्वमा मानिसहरूले आफ्नो सामर्थ्य अनुसार प्रसादको व्यवस्था गर्छन्। सात, एघार, एक्काइस वा एकाउन्न प्रकारका फलफूल अनि केही तरकारी मिलाई बाँसको सुपलीमा राखी व्रत बस्ने व्रती वा उसको पति वा छोराछोरी वा घरको अन्य सदस्यहरूले छठ घाट जाने गर्दछन्। पूजाको पहिलो र दोस्रो दिन कच्चा गाईको दूधको अर्घ्य पुजारीको माध्यमबाट सूर्य भगवानलाई दिइन्छ। यस दिनमा घर, आँगनदेखि लिएर छठ घाटसम्म दीपावलीको जस्तै झिलिमिली हुन्छ। सबैतिर माटोको दियो बाल्ने, पूजापाठको सामान जुटाउने, पूजा गर्ने गरिन्छ भने बच्चाहरूले विभिन्न किसिमका पटका पड्काएर रमाइलो गर्छन्।
छठ पूजा र व्रत महिला र पुरुष दुवैलाई गर्न मिले पनि प्रायः महिलाहरूले गरेको देखिन्छ तर आजभोलि कुनैकुनै ठाउँमा पुरूषहरूले पनि गरेको पाइन्छ। घरमा महिला नभए आफ्नो छोराछोरीको हित र कल्याणको लागि पुरुषले पनि व्रत बस्ने चलन अहिले बढेको छ।
तर खासगरी महिलाहरूले आफ्नो पति र छोराछरीहरूको लागि भनेर व्रत बस्ने चलन छ। निर्जल अर्थात पानी पनि नखाई व्रत बस्नु पर्छ। सुरु भएको दिनदेखि परम्परागत रूपमा मानिने विधि विधान अनुसार व्रत बस्नु पर्छ। कुनै पनि काम नियम विपरीत गरियो भने त्यसलाई व्रतको उपहास मानिन्छ। त्यसैले पनि यो पर्वलाई धेरै कठोर पनि मानिन्छ।
छठको इतिहास
छठ पर्वको बारेमा धेरै कथा प्रचलित रहेको पाइन्छ। मान्यता अनुसार छठ व्रत सबैभन्दा पहिले देवमाता आदितिले गरेकी थिइन्। जो कश्यप ऋषिकी पत्नी थिइन्। प्रथम देवासुर संग्राममा असुरहरूबाट देवताहरू पराजित भएका थिए। तब देव माता आदितीले तेजस्वी पुत्र प्राप्तिको लागि छठी माताको आराधना गरेकी थिइन्। छठी माता अति प्रसन्न भई उनलाई तेजस्वी पुत्र वरदान दिनु भयो, त्यसपछि देवमाता आदितिले त्रिदेव रूप आदित्य भगवानलाई जन्म दिइन्। जसले असुरहरूबाट देवताहरूको विजय गराए। यससँगै षष्ठी देवी अर्थात् छठी देवीको नाममा यो पर्वको नाम रहन गएको र छठ पर्व सुरु भएको मानिन्छ।
यस पर्वको बारेमा रामायण र महाभारत जस्ता प्रसिद्ध पौराणिक ग्रन्थमा पनि उल्लेख गरिएको छ। रामायणमा राजा दशरथकी पत्नी कौशल्याले यो व्रत गरेको कुरा उल्लेख गरिएको छ। साथै महाभारतमा पनि कुन्ती, द्रौपदी र पाँच पाण्डवले छठ पर्व मनाएको उल्लेख छ।
यो पर्व सालमा दुईचोटि मनाउने चलन छ। कार्तिक महिनामा मनाउने पर्वलाई महापर्व भनिन्छ भने चैत्र महिनामा मनाउने यस पर्वलाई चैते छठ भनेर पनि चिनिन्छ।
छठ पर्वको विस्तार र महत्त्व
यो पर्व खासगरी नेपालको तराई क्षेत्र र भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, असाम, पश्चिम बंगाल, आदि क्षेत्रमा मनाउँदै आएको छ। आजको दिनसम्म आइपुग्दा यो पर्वको महत्त्व यति धेरै बढ्यो कि आज गाउँदेखि सहरसम्म, तराईदेखि पहाडसम्म र विदेशसम्म पनि विधिपूर्वक छठ मनाउन थालिएको छ।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पहिला तराईका गाउँमा मात्र मनाउने गरिन्थ्यो। विस्तारै तराईको केही सहरसम्म आइपुग्यो। त्यसपछि तराईबाट आज पहाडसम्म विस्तार हुँदै पहाडमा पनि पूरै धुमधामले मनाएको देखिन्छ। पहिला काठमाडौंमा बसोबास गर्ने तराईका मानिसहरू छठ पूजा गर्न आफ्नो मातृ भमि जानु पर्थ्यो। तर बितेको केही वर्षयता काठमाडौंमै विभिन्न पशुपतिनाथ मन्दिर, बागमती नदी, लगायत अन्य नदीको किनारमा छठ घाट बनाई पूजा गरेको पाइन्छ।
त्यसैगरी नेपाल र भारतबाहेक हिन्दु धर्म मान्ने र छठ पर्वप्रति आस्था राख्ने श्रीलंका, बंगलादेश, मरिसससहितका कयौं देशमा छठ पूजा गरिन्छ। नेपाल र भारतबाट अमेरिका, अस्ट्रेलिया लगायत अन्य देशहरूमा पनि व्यवसायको सिलसिलामा बसेका वा उतै बसोबास गर्नेहरूले पनि छठ पूजा मनाइरहेका छन्। यसरी हेर्दा परम्परागत रुपमा मनाउँदै आएका केही पर्वहरू (झिझिया, सामा चकवा) समय सँगै तुलनात्मक रुपमा लोप भइरहँदा छठ पर्वको महत्त्व र विस्तार विदेशसम्म हुन पुगेको छ।
चैते छठ पहिला एकाधले मनाउने गर्थे। तर आजभोलि नेपाल र भारत दुवैतिर त्यसलाई धूमधामले मनाउन थालिएको छ। लाग्छ, आउँदो केही वर्षमा चैते छठ पनि कार्तिक महिना हुने छठ जस्तै हुनसक्छ।
Shares

प्रतिक्रिया