ब्लग


संकटको चौबाटोमा नेपाल

संकटको चौबाटोमा नेपाल

जयशंकर सिंह
कात्तिक १८, २०८२ मंगलबार ६:४२, काठमाडौँ

भूगर्भीय दृष्टिबाट हेर्दा नेपाल ठूलो संकटका सामुन्ने खडा छ। भारतीय प्लेट अफ्रिकी प्लेटबाट अलग भएर युरेसियन प्लेटलाई लगातार उत्तरपट्टि धकेलिरहेको छ। भारतीय प्लेट वर्षेनि ५ सेन्टिमिटरका दरले युरेसियन प्लेटमाथि ओभरल्याप भइरहेको छ। जसले गर्दा भूकम्पीय दृष्टिले नेपाल जोखिमपूर्ण अवस्थामा छ।

नेपालमा ठूलो भूकम्प गएर भूस्खलन हुने, पहिरो जाने, भू-आकृतिमा परिवर्तन आउने सम्भावना उच्च देखिन्छ। विगतमा पनि यस्ता घटनाहरू घटित भएका देखिएकै हो।

वातावरणीय दृष्टिमा नेपाल
नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक मध्येमा पर्छ। यहाँको तापक्रम सन् २०३० सम्म ०.५ देखि २.० डिग्री सेलसियसले बढ्ने अनुमान गरिएको छ। वनको अत्यधिक दोहन, अनवीकरणीय उर्जामा आधारित यातायातका साधनहरू अत्यधिक प्रयोग, अनेक निर्माण कार्य, ठोस अपशिष्ट जलाउने प्रवृत्ति, रासायनिक मलको अत्यधिक प्रयोग जस्ता मानवीय कार्यले जलवायु परिवर्तनमा घिउ थप्ने काम भइरहेको छ।

यही गतिमा जलवायु परिवर्तन भै तापक्रम २.० डिग्री सी वृद्धि भयो भने हिमाल र हिमतालको हिउँ पग्लने, हिमताल फुटने, बाढी पहिरो जाने, मनसुनको  पैटर्न परिवर्तन हुने अनि कृषि र जलविद्युत जस्ता क्षेत्रमा गम्भीर असर हुने सम्भावनाको आँकलन गरिन्छ।

नेपालबाट प्रतिवर्ष पाँच लाख युवाहरू, पच्चीस सय डाक्टरहरू र त्यतिकै संख्यामा प्राध्यापकहरू, सोह्र हजार निजामती कर्मचारी एवं बाह्र सय शिक्षकहरू विदेश पलायन हुँदैछन्। विदेश गएर हराउने, घुम्न गएका बुबा आमाहरू,नेपाल बाहिरको विमानस्थल प्रयोग गरेकाहरू एवं भारतको सिमानासँग जोडिएका गाँउबाट भारततिर पलायन हुनेको तथ्याङ्क सरकारसँग छैन।

जुन गतिमा कमाउने हात र दिमाग बाहिर जाँदैछ, यो क्रम जारी नै रहने हो भने देशभित्र गम्भीर समस्या उत्पन्न हुने लगभग निश्चित छ। 

ऋणको बोझ र भ्रष्टाचार
नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको छ। जुन प्रतिव्य ९१ हजार हुन आउँछ। विश्वबैंकसँग ४८.८६ प्रतिशत, एसियाली बैंकसँग ३२.४० प्रतिशत, जपानसँग ४.०६ प्रतिशत, भारतसँग ३.२३ प्रतिशत, चीनसँग २.८२ प्रतिशत र अन्य मुलुकसँग १ प्रतिशत नेपालको वैदेशिक ऋण छ।

भारतबाट लिएको ऋणको ब्याजदर १.४ प्रतिशत र चीनबाट लिएको ऋणको ब्याजदर १.७५ प्रतिशत छ। ब्याजदर र विदेशी मुद्रा विनिमयदर परिवर्तन हुँदा ३ खर्वको हराहरीमा ऋण बढ्दो रहेछ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत लिएको ऋणले पोखरा र लुम्बनीको विमानस्थलको निर्माण भएको छ। जसबाट अहिलेसम्म एक सुक्का पनि आम्दानी भएको छैन। लागतको आधि रकम भ्रष्टाचारमा गएको अनुमान गर्न सकिन्छ। यो ऋणको सर्वसाधारणले थाहा नपाउने किसिमका शर्तले नेपाललाई जोखिम बढाउन सक्ने निश्चित छ।

जनसंख्या र सांस्कृतिक संकट
नेपालको जनसंख्या बृद्धिदर हाल घटेर ०.९२ प्रतिशतमा झरेको छ। हिमाल र पहाडका गरि ३२ जिल्ला अर्थात २६० गाउँपालिका र ६९ वटा नगरपालिकाको जनसंख्या बृद्धिदर ऋणात्मक भएको छ।

तराईका केही जाति विशेषले गर्दा समग्रमा जनसंख्या वृद्धि ऋणात्मक हुनबाट जोगिएको छ। यही क्रममा जनसंख्या घटी रहने हो भने नेपालको सांस्कृतिक विविधता र भाषिक अस्तिवलाई खतरा हुन सक्ने सम्भावना प्रबल छ।

त्यो अवस्थामा देशमा कमाउने जनशक्ति हुँदैन। स्थानीय सरकारलाई सेवा प्रवाहमा चुनौति हुनसक्छ। जनसङ्ख्याको वितरण झन् असमान हुन पुग्छ। बुढाबुढीको सङ्ख्या निरन्तर बढदै जान्छ। जसले गर्दा देशको आर्थिक अवस्था झन् कमजोर हुने निश्चित देखिन्छ।

समयमै सरकार र समाजका जिम्मेवार पक्षले यी विषयमा गम्भीरतापूर्वक विचार गरी आवश्यक कदम चालेनन् भने नेपालको विकास चौपट हुने निश्चित छ।

राजनीतिक अराजकता
पार्टीहरूसँग देश निर्माण गर्ने स्पष्ट भिजन देखिँदैन। नेताहरूले पद र धनको लागि मात्रै राजनीति गर्ने गरेको देखिँदैछ।

दलहरूले एउटा सिस्टमको विकास नगर्दा सबै दलका यतिबेला आन्तरिक कलह चरम उत्कर्षमा पुगेको छ। दलहरूमा नेतृत्व हस्तान्तरणको संस्कार नरहेकाले कलह बढ्दो छ। लोकतन्त्र आएपछि ३० भन्दा बढीपटक सरकार परिवर्तन भइसकेको छ।

छोटो समयमा सरकार परिवर्तन हुने गरेकोले एउटा सरकारले बढाएको राम्रो कामलाई अर्को सरकारले निरन्तरता नदिने संस्कारले देशको  छवि संसारको नजरमा भ्रष्टाचारी र अस्थिर छ।

विगतमा सरकारले सस्तो लोकप्रियताका लागि चुच्चे नक्सा जारी गर्‍यो। तर, चीन र भारतको स्वार्थ मिलेपछि लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति भयो। हामी हेरेका हेरै भयौँ।

यस्तो अवस्थामा तत्कालै देशमा कुनै राम्रो काम हुन्छ भन्ने अपेक्षा नगरौँ। 

जेनजी आन्दोलन- नयाँ आशाको संकेत
२०८२ भदौ २३ र २४ गते देशमा घटेका घटनाहरू सर्वविदितै छन्। यो आन्दोलन भ्रष्टाचार र सामाजिक संजाल माथिको प्रतिबन्धबाट युवापुस्तामा देखिएकोअसन्टुष्टिको प्रतिबिम्बको रूपमा सुरु भएको थियो। तर सरकारी दमनको कारण आन्दोलनले अर्को मोड लियो। आन्दोलनको क्रममा ७६ जनाको ज्यान गयो र सयौँ घाइते भए।

परिणाम स्वरुप केपी शर्मा ओलीको सरकार ढलेपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। जसको प्रमुख उदेश्य तोकिएको मिति (आगामी फागुन २१ गते)मा चुनाब गराउनु हो।

देशप्रति समर्पित नेताको खडेरी र विदेशी हस्तक्षेप देख्दा देशमा तुरुन्तै शान्ति हुने आधार देखिँदैन। जेनजीको साहसले मात्र होइन सबै पुस्ताको सहकार्यले भ्रष्टाचारको अन्त्य, संस्थागत सुधार, युवाहरूहो सहभागिता र समावेशी शासन, आर्थिक र सामाजिक विकास एवम् संस्थागत स्थिरतामा जोड दिँदै एउटा खाका बनाएर अगाडि बढिएन भने थप अस्थिरतामा मुलुक फस्ने छ। तर यस्तो सुधारको सम्भावना तत्काल न्यून देखिन्छ।

वर्तमान संविधान अनुसार चुनावबाट कुनै एक पार्टीको पूर्ण बहुमत आउने पनि देखिँदैन। 

शिक्षकको नयाँ भूमिका-अन्तिम आशाको केन्द्र
अहिले सम्म शिक्षकको भूमिका पाठ्यपुस्तकमा भएको विषयवस्तुलाई विद्यार्थीसम्म पुर्‍याउनु थियो। तर अब ज्ञानमा गुगलको आधिपत्यको युग सुरु भएकोछ। अहिले त झन एआईको उपस्थितिले शिक्षकको भूमिकामै प्रश्न खडा गरेको छ। 

यस्तो अवस्थामा शिक्षकहरूले पनि आफूलाई फरक ढंगले अघि बढाउनु पर्ने अवस्था सिर्जना भएको छ। वर्तमान अवस्थामा समाजका सबै क्षेत्रको विश्वास र भरोसा धवस्त भएको छ। धर्म, संत महात्मा, राजनीति, प्रशासनिक सबै क्षेत्रले आफ्नो विश्वास र भरोसा गुमाएको छ।

आमाबाबुपछि विद्यार्थीको विश्वास र भरोसा शिक्षकमाथि हुन्छ। राज्य र समाजले शिक्षकलाई जति तिरस्कार गरे पनि हामीले विद्यार्थीको विश्वास र भरोसा टुट्न दिनु हुँदैन। यो एउटा मात्र बाटो हो, जसले आफ्नो अस्तित्व र विद्यार्थीको भविष्य बनाउँदै देश सुधार्नको लागि योगदान गर्न सक्छन्। यो हाम्रो देश हो, हामीले राम्रो गर्‍यौँ भने मात्र हाम्रो रक्षा पशुपतिनाथले गर्नुहुन्छ।

(सिंह महादेव जनता नमूना मावि, हरिवन सर्लाहीका पूर्वप्रअ हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad