१६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडेँ। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म बनारस पुगेँ, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला बनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्रजस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति र समाजसेवामा आफैँलाई समर्पित गरेँ। इलाहावाद बोर्डबाट एसएलसीसरहको परीक्षा पास गरेपछि विज्ञान विषयमा अध्ययन सुरु गरेँ।
पढाइकै क्रममा घर फर्किएको बेला अनेरास्ववियुले नेपालको इतिहासमै पहिलोपटक नेपाल बन्दको आयोजना गरेको थियो। त्यसमा सहभागी हुँदा घोराहीमा गिरफ्तार भएँ। पहिलोपटक प्रहरीको बलप्रयोग र यातनाको सामना गर्नुपर्यो। सो क्रममा मेरो बाँया हात भाँचियो। उपचारको अवसर समेत नपाई तुल्सीपुर कारागारमा पठाइएँ। करिब पाँच महिना जेल जीवन बिताउँदा विज्ञान अध्ययन रोकियो। त्यसपछि प्राइभेट परीक्षार्थीका रूपमा आईकम परीक्षा दिएँ र पास गरेँ। बीकम अध्ययन भने बनारसको बीएचयूअन्तर्गत क्याम्पसमा नियमित विद्यार्थी भएर पूरा गरेँ।
पाँच वर्षको बनारस बसाइपछि उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भर्ना भएँ। एमबीए विद्यार्थीका रूपमा पढाइ र राजनीतिको नयाँ अध्याय सुरु भयो। कक्षा १० देखि नै राजनीति र अध्ययनलाई सँगसँगै अघि बढाउँदै आएँ। राजनीतिक सक्रियता हुँदाहुँदै पनि पढाइमा अवरोध आएन। जसको कारणले उक्त समयमा कम उमेरमै उच्च शिक्षा हासिल गर्ने सौभाग्य प्राप्त भयो। २०३७ सालमा शिक्षाका लागि सुरु भएको डेरावास २०६० सालसम्म निरन्तर रह्यो। डेराको बसाइ र घरबेटीसँगका सम्बन्धका मिठातिता अनुभव मैले पनि अरू डेरावालहरूले झैँ गरेको छु। आज ती सन्दर्भको सम्झना गर्दा रमाइलो अनुभूति हुन्छ।
अमेरिकामा डीभी परेर जानुभएकी सुजिताकी दिदीले किनेको चारआनाको घडेरी बैनीलाई दिनुभयो। पैतृक सम्पत्तिको जग्गा बिक्रीबाट दाजुले पठाएको रकमले त्यहीँ घर बनायौँ। जेनजी आन्दोलनसम्म काठमाडौँको आफ्नै घरमा बसिरहेका थियौँ। दाङको बिजौरीस्थित पैतृक सम्पत्तिको अंशबन्डापछि प्राप्त नगद र जग्गा बिक्रीबाट आएको रकमले त्यहाँ पनि घर बनाएका थियौँ। त्यो घर नयाँ प्रविधि आधारित इको प्यानलको थियो।
तराई क्षेत्रका लागि लु र शीतलहरमा उपयोगी हुने प्रविधिलाई प्रयोग गरी उक्त घर बनाएका थियौँ। तर २४ गतेको लुटपाट र आगजनीमा दुवै घर पूर्ण रूपमा क्षतिग्रस्त भए। हामी दुवैजना (सुजिता र मेरो) ५०-५५ वर्षको शैक्षिक, राजनीतिक र सामाजिक जीवनसँग जोडिएका सम्पूर्ण कागजात, सामग्री र सम्झनाहरू खरानी बने। दुई छोरीहरूले प्रयोग गरेका लत्ताकपडासहितका अध्ययन सामग्रीहरू जलेर नष्ट भए। २४ गतेको विध्वंसात्मक घटनामा, घरविहीन भएपछि झण्डै अढाई महिनासम्म साथीहरूको आतिथ्यतामा बसियो। हिजो (कात्तिक १९) देखि एउटा फ्ल्याटमा भाडाको बसाइ सुरु भएको छ। यसबीचमा न्यानो साथ र सहयोग दिनुहुने सम्पूर्ण मित्रहरू र उहाँहरूका परिवारजनप्रति हामी सधैँ कृतज्ञ र आभारी रहनेछौँ।
यतिबेला यो प्रसंग कोट्याउनुको अर्थ हामी घरबाट डेरामा बसाइ सर्नुपरेको पीडा पोख्न होइन। हाम्रो घरमा भएको आगजनी र लुटपाटलाई 'भ्रष्टाचारविरोधी अभियान'सँग जोडिन पुगेका कारणले केही कुरा स्पष्ट पार्न आवश्यक ठानेको छु। म जन्मिएको परिवार एक समय दाङकै सम्पन्न परिवारमध्ये पर्थ्यो। तर हामी हुर्किएको परिवेश भने ग्रामीण क्षेत्रको मध्यमवर्गीय परिवेश हो। हाम्रो परिवारको सामाजिक प्रतिष्ठा विगतदेखि नै निकै राम्रो मानिन्थ्यो। मेरो ठुलो दाजु देवी पोखरेल जसको गएको वर्ष असामयिक निधन भयो। उहाँको जीवनशैली प्रगतिशील आचरण, सामाजिक जागरण र अन्य व्यावहारिक आदर्शलाई सम्झनेहरू अहिले पनि निकै धेरै छन्। अहिलेको संस्कृत विश्वविद्यालयसहितका हजारौँ बिघा जग्गाको सबैभन्दा ठुलो दाता मेरो हजुरआमा (बजै) र बुबा हुनुहुन्थ्यो। हाम्रो परिवारले मात्र शिक्षा र समाजसेवाका लागि करिब ३०० बिघा जग्गा दान गरेको थियो। त्यही दानवीर हजुरआमाको संरक्षणमा हुर्किएको परिवार हो हाम्रो। हामी सबै दाजुभाइ दिदीबहिनीहरूको जीवनमा त्यसको निकै गहिरो प्रभाव छ।
दाजु देवी पोखरेल, म र मेरी बहिनी मेनका राजनीतिमा सक्रिय हुँदा पनि हाम्रो परिवारसँग करिब ४० बिघा जमिन बाँकी थियो। तर त्यही जग्गाको बिक्रीबाट नै हाम्रो शैक्षिक र सामाजिक कामको जोहो हुने गर्थ्यो। आमाको देहावसानपछि हाम्रो परिवारको संयुक्त स्वामित्वमा करिब १५ बिघाजति जमिन बाँकी थियो। जबकि त्यतिबेलासम्म म सांसद र मन्त्रीसमेत भइसकेको थिएँ। तीन दाजुभाइबीचको अंशबन्डापछि अहिले हाम्रो नाममा करिब ४ बिघा पैतृक जग्गा छ, जसमा काठमाडौँ र दाङमा दुईवटा घर रहेका थिए। हाम्रा लागि ती घर मात्र थिएनन्, भावनात्मक मूल्यसहितको असीमित गौरवको विषय थिए। अहिले ती दुवै घर बस्न अयोग्य खण्डहरको अवस्थामा छन्।
कति लुटिए र कति जले भनेर छुट्याउन सकिने अवस्था पनि छैन। जलेको खरानी मात्र बचेको कारणले ती सबै जलेको ठानेका छौँ। लुटेर लगेकाहरूले सुदपयोग गरेकै होलान्। अब त्यसको खोजी गर्नु पनि छैन। अपराध नियन्त्रण राज्यको कर्तव्य हो। त्यसले आवश्यक ठाने केही गर्ला नै। तोडफोड, लुटपाट र आजगनी सामान्य विषय होइन। यो त राष्ट्र, राज्य र लोकतन्त्रलाई कमजोर बनाउने भूराजनीतिक चाल थियो। तर हाम्रा सामाजिक सञ्जालमा लत बसेका नवयुवाहरू ती षड्यन्त्रलाई बुझ्न नसकी सामाजिक सञ्जाल बन्द गरिएको नाममा आक्रोश पोख्न उतारु भए। सामाजिक सञ्जाल प्रतिबद्ध वा बन्द गरिएको थिएन। नियमन गर्ने उद्देश्यका साथ दर्ता अनिवार्य गरिएको थियो। त्यसको आवश्यकतालाई बुझ्ने र बुझाउने काम हुन सकेन। बाह्य षड्यन्त्र र युवाहरूको असन्तुष्टि र आक्रोशमा देशभित्रका अनेक स्वार्थी तत्त्वहरू र आपराधिक समूह मिसिए। आज एक पक्ष अर्को तथ्यहरू सार्वजनिक भइरहँदा धेरैलाई त्यो अनुभूति भइरहेको छ। अझै पनि अनुभूति नभएकाहरूलाई भविष्यमा हुने नै छ।
तर जेनजीका नाममा सुरु भएको आन्दोलनका सुरुका माग भने नाजायज थिएनन्। हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकार ती नवयुवाहरूको माग र भावनाको पक्षमा रहँदै आएको थियो। तर उनीहरूका माग न सरकार समक्ष प्रस्तुत गरिएको थियो। न त त्यसको प्रत्यक्ष र स्वीकार्य नेतृत्व नै अघि आएको थियो। तर हाम्रा नवयुवाहरूको भावना र आकांक्षामा खेल्ने योजनाका साथ स्वार्थी तत्त्व सुरुदेखि नै सक्रिय रह्यो। तिनले दुई दिनको छोटो समयमै सिंगो मुलुक गौरव र सामर्थ्यलाई असाधारण रूपमा क्षति पुर्याउने काम गरे।
मुलुकलाई राज्यविहीनताको कहालीलाग्दो अवस्थामा पुर्याए। त्यही क्रममा केही स्वार्थी र कुण्ठाग्रस्त व्यक्तिहरू र आपराधिक चरित्रका व्यक्तिहरूको उक्साहट र सहभागितामा हाम्रो घरसमेत जलाइयो र लुटपाट गरियो। त्यहाँ आउनेहरू केही योजनाबद्ध थिए, केही भावनामा बहकिएर आएका थिए होलान्। म यस क्षतिलाई पनि म राजनीतिक संघर्षकै एउटा पाटोका रूपमा बुझ्दछु। राज्यको सामर्थ्यलाई कमजोर बनाउने षड्यन्त्र गर्नेहरूको निसानामा म पनि पर्नुलाई राष्ट्रप्रतिको मेरो समर्पणको परिणाम पनि ठान्दछु।
सुशासनको पक्षमा र भ्रष्टाचार विरोधमा म र मेरो परिवार सधैँ पारदर्शिता र उत्तरदायित्वका पक्षमा उभिँदै आएका छौँ। पहिलोपटक प्रतिनिधिसभा सदस्य हुँदा, ‘प्राडो-पजेरो संस्कृतिको’ गलत परम्परा सुरु भएको थियो। त्यतिबेला म ती सुविधाविरुद्ध खुलेर उभिएको थिएँ। प्रायः सबैले लाखौँ मूल्यको गाडी सुविधा लिँदा मैले त्यसलाई अस्वीकार गरेको थिएँ। सांसदका रूपमा धेरैले उपचार खर्चमा राज्यको लाखौँ रुपैयाँ लिँदा पनि मैले गम्भीर बिरामी हुँदासमेत कुनै सुविधा लिइनँ। मुख्यमन्त्री हुँदा तीन वर्षभन्दा बढी समयसम्म भ्रमणमा प्रायः सरकारी गेस्टहाउसमै बसेँ, विशेष सुविधा वा भत्ता लिइनँ। मेरो कार्यकालमा लुम्बिनी प्रदेशको पुँजीगत खर्च तेस्रो वर्षमा १०० प्रतिशत रह्यो। मैले सम्हालेको मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयको बेरुजु म रहँदासम्म शून्य थियो।
मैले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरेँ। तर भ्रष्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निसानामा हाम्रो परिवार पनि पर्न गयो। यसका बाबजुद म जेनजीका नाममा सक्रिय नवयुवाहरूको भावनालाई सम्मान नै गर्दछु। त्यसको आवरणमा भएको अपराधको भने म चरम घृणा गर्दछु। म जेनजी अभियानका नाममा सुशासन र भ्रष्टाचारविरोधी आन्दोलन चलाइरहनुभएका नव युवाहरूलाई भन्न चाहन्छु- तपाईंहरूको आदर्शको मापदण्डमा कोही व्यक्ति छन् भने म आफैँलाई तीसँग परीक्षणमा लैजान तयार छु। (एमाले महासचिव शंकर पोखरलेको फेसबुकबाट)
Shares

प्रतिक्रिया