ब्लग


खुसी आत्मिक विकासमा छ, न कि विभेदकारी सांसारिक विकासमा

समानताको हिमायती अमेरिकाको अचम्मको कथा
खुसी आत्मिक विकासमा छ, न कि विभेदकारी सांसारिक विकासमा

जुनिता सुब्बा मिश्र
मंसिर १४, २०८२ आइतबार ७:२१, सान डिएगो, क्यालिफोर्निया

चेतनाको दृष्टिले मान्छे एउटै हुन्। चेतनाले मान्छेको जात, वर्ण, भाषा, रङसँग कुनै सरोकार राख्दैन। जन्मिँदा हामी यसरी नै जन्मेका हुन्छौँ। हुर्किने क्रममा मान्छेभित्र अनेक खालका संस्कार भित्रिने गर्छन्। संस्कार, सामाजिक व्यवस्था र मूल्य मान्यताले निर्बोध बालकको पवित्र हृदयलाई अतिक्रमण र प्रदूषित गर्दछ। त्यही अतिक्रमित धारणा कालान्तरमा घृणा र द्वेषको कारक हुन पुग्छ। 

मान्छेको विकासले चेतना हुँदै ब्रह्माण्ड नजिक पुग्ने मुख्य द्वारको काम गरेको छ। यसको सदुपयोगले मान्छे आफू स्वयम् ब्रह्माण्डको केन्द्रबिन्दुसम्मको यात्रा गर्न सक्छ भने दुरुपयोगले स्वयम्‌लाई भष्म पनि गर्न सक्छ।

मानव जातिको स्वतः स्वयम् शक्तिको यो खेलमा बर्ण जातको कुनै ठाउँ हुँदैन। यो चेतनाको सबैभन्दा उच्च तहको बुझाइ हो। यो बुझ्न नसक्नु नै जात, वर्ण, रङमा झरेर लड्नु हो। यो लड्ने क्रम परापूर्वकालदेखि आजसम्म कायम छ।

आधुनिक मान्छेले चेतनाको सानो अंश मात्र पनि बुझ्ने हो भने, हरेक मान्छेभित्र त्यो चेतनाको ज्योति जाग्नेछ, जुन ज्योति सबैभित्र हुन्छ। यो अनुभवपछि मान्छेको धारणामा कुनै विभेदले ठाउँ पाउने छैन वा अन्धकारको अन्त्य हुनेछ।

मान्छेको चेतनाको विकास नहुनु वा आँखा नउघ्रिनु नै मान्छे-मान्छेको विभेद अगाडि आउनु हो। मानव भावना मात्र एक-अर्काले बुझ्ने हो भने संसारमा युद्ध कहिल्यै हुँदैन। मानिसलाई युद्धसम्म धकेल्ने कुरा भनेको चेतनाको अभाव भई आउने अहंकार, घमण्ड, ईर्ष्या र देखासिकी भावना हुन्।

यो भावको अभावमा होडबाजी समाप्त हुन्छ। होडबाजी समाप्त हुनु विकास नहुनु होइन। मानव हृदयको विकास हुनु हो। हृदय जाग्नु हो। सांसारिक दुनियाको विकासले मान्छेलाई अशान्त हिंसामा धकेलेको अहिलेबाट होइन।

हिंसा उब्जिने भनेको नै सांसारिक दुनियासम्मको परिकल्पना हो। सांसारिक दुनियाले मानिसलाई कसरी अविवेकशील बनाउँछ र मानिस जन्मने र मृत्यु हुने, मेसिन जसरी चलिरहने प्रक्रिया भइरहेको छ? यो कुरा भनिरहनु पर्दैन। यसको अर्को पाटो पनि छ। सांसारिक विकास दिमागले हुने भए पनि हृदयले हेर्नु पर्छ। महसुस गर्नु पर्छ। दिमागमा हिंसा हुन्छ भने हृदयमा करुणा हुन्छ।

अहिलेको सांसारिक विकाससँगै मान्छेले आत्मिक विकास गर्थ्यो भने मान्छे धेरै खुसी र शान्तिपूर्ण जीवन बाँच्न सक्थ्यो। मान्छेको जीवनमा घृणाको ठाउँमा प्रेम, करुणा प्रतिस्थापित हुने हो भने मान्छेमा संसारलाई हेर्ने दृष्टि नै बदलिनेछ।

हामीले गरेको आजसम्मको विकाससँगै सोचमा हिंसा, घृणाको ठाउँ छोडेर प्रेमले ठाउँ लिनेछ। प्रेम तथा करुणाले मान्छेले विकासबारे सोच्छ भने कति अकल्पनीय सकारात्मक प्राप्ति गर्न सक्छ होला?

ईर्ष्या, घृणाभन्दा प्रेममा धेरै सकारात्मक कुराको उत्खनन हुन्छ। साथमा मानव जातिले खोज्दै हिँडेको शान्तिको बाटो पनि यही नै हो। हरेक मान्छे जीवनमा शान्ति र प्रेम चाहन्छ। तर, बाटो समातेको छ अशान्ति र घृणाको। यसमा हात छ अग्रजहरूको र ती अग्रजहरूले बनाएका सामाजिक व्यवस्थाको।

हामीले यसलाई उल्टाउने आँट गर्दैनौँ। बरु जगेर्ना गर्छौँ। बितेका समयमा विकास भएका व्यवस्था ती समयमा उचित थिए होला तर आज उचित छन् भन्न सकिन्न। समय अनुसार व्यवस्था पुनरावलोकन नगर्नाले मान्छेमा वितृष्णा पैदा हुन्छ। मानव चेतनाको विकाससँगै मानिसहरू ती व्यवस्थामा पौडी खेल्न पाउनु पर्छ। व्यवस्था र मान्छेको सम्बन्ध पानी र माछाको जस्तो हुन जरुरी छ, ता कि मानिसले बनाएको व्यवस्थामा मानिसले शान्तसँग श्वास फेर्न सकोस् र राहत महसुस गरोस्। मानिसले यो नसोचुन् कि व्यवस्थामा मान्छे पिँजडाको सुगा हुन परोस्! 

झुटो कुरालाई सय चोटि सत्य भन्यो भने त्यो भिडका निम्ति सत्य हुन्छ, असत्य हुँदाहुँदै पनि। के हामी त्यस्तैको सिकार भइरहेको छैनौँ र? कसको तागत छ हो म भएको छैन भन्ने? र, कति जनाले उसको कुरा सुन्ने?

अहिलेको डिजिटल युगले त यसलाई चुचुरोमा पुर्‍याइदिएको छ। बलेको आगोमा सुकेको पराल बल्न छिन लाग्दैन। त्यसरी नै सल्किने गर्छ डिजिटल दुनियामा झुटको आगो। तर, त्यो ठाउँमा काठको मुढालाई बल्न कति समय लाग्छ? झुट कुरा सल्किन बेर लाग्दैन, सत्य कुरा प्रकाशित हुन जीवनकाल!

जात, वर्ण, भाषा, रङको कुरा गर्न म यी सबै कुरा जोडिरहेको छु। यी भन्दा टाढा छु भन्छु भने मैले आदर्शको कुरा गरेको हुन्छु। यो यथार्थ हो। मेरो चल्ने अर्को पैतालाले टेक्नुअघि मेरो अनुहारको थेप्चो नाक वा चुच्चो नाक वा कालो, चुच्चो, बुच्चो नाकबारे मान्छेको दिमागमा स्वस्फूर्त धरणा जागृत भइहाल्छ जसले मलाई सामुन्नेबाट देख्छ।

उसको पहिलो नजर स्वाभाविक रूपमा मेरो शारीरिक बनोटमा जान्छ। जसको नाक मेरोसँग मेल खाँदैन, जसको कपाल मेरो कपालसँग मिल्दैन। जसको रङ मेरो रङसँग मिल्दैन। जसको भाषा मेरो भाषासँग मिल्दैन। उसले लख् काट्नु स्वाभाविक हो, ‘ओ कालो कपाल! अथवा खैरो कपाल! चिम्सो आँखा!’

हुँदा नहुँदा व्यवसायको बिल्डिङपछाडि ‘फक चाइना’ लेखेको दृश्य देख्ने म आफैँ साक्षी छु। दुई पैताला चल्न नपाई तीन सय मिटर परको दूरीबाट बाटो मोड्छन् आगाडि अश्वेत वर्णका मान्छे देखे भने।

सावधानी अपनाइहाल्नु पर्ने। पहेँलो हो। एसियन हो। सेतो छाला, सेतोभित्र निलो आँखा, सेतोभित्र मिसिएको सेतो (ट्र्यास कुइरे) अनि अरू धेरै यस्ता सुन्न झुर लाग्ने विभेदहरूको थाक छन्।

यी स्वाभाविक रूपमा बाहिर देखिने आवरण विभेद हुन्। जातीय घृणा केवल सेतो वर्णमा मात्र सीमित छैन। सेतो-सेतो बीचमा पनि छन्। कालाहरूको अखडामा सेतालाई मौका परे ढुङ्गा हान्छन्। यो घृणा सबैतिर छन्।

अब राज्य प्रणालीमा जाऊँ। अमेरिका जस्तो प्रजातन्त्र र समानताको हिमायती कहलिएको देशको कथा हो। मान्छेलाई अचम्म लाग्ला यहाँ पनि विभेद छ। अझ, झन् खतरनाक विभेद छ। रोनाल्ड रेगन फाउन्डेसनको एउटा भिडिओ आँखामा पर्‍यो। त्यहाँ भनिँदै थियो, ‘संसारभरको जुनसुकै ठाउँमा जानुहोस्, अमेरिका आएपछि तपाईँ अमेरिकन बन्न सक्नु हुन्छ। अन्य देशमा यो सुविधा छैन।’

यसमा मलाई खड्किएको पहिलो कुरा यहाँ मान्छे राहदानी लिएर अमेरिकन हुँदैनन्। उनीहरू एसियन अमेरिकन, ल्याटिनो अमेरिकन, नेपाली अमेरिकन, इन्डियन अमेरिकन हुन्छन्।

गोरा छालाहरूलाई सोलोडोलो ककेसियन भनेपछि उनीहरूको मौलिक राष्ट्रिय पहिचान आवश्यक नै पर्दैन। स्वतः मूलवासी अमेरिकनमा गनिन्छन्। रैथाने आदिवासीलाई विस्थापित गरेर बसेका सेताहरूको कानुनमा दासप्रथा समाप्त भए पनि सोचले आजपर्यन्त काला वर्णका मानिस दास नै हुन्। जसरी नेपालमा जात प्रथा समाप्त भए पनि सोचले जातीयता जिउँदैछ। बाँकी अरू ‘ब्राउन’ एसियन बाहिरिया हुन्। कानुनत: यहाँ सबै बराबर हुन् तर सोच र कानुनको तालमेल शून्य छ। जबसम्म सोचमा परिवर्तन हुँदैन, कानुन औपचारिकता मात्र सीमित हुन्छ।

औपचारिकतामा टिकेको सभ्यता र विकासले मान्छेभित्रको हृदयलाई कहाँ छोड्यो, कहाँ बिर्सियो! मान्छेसँग केवल दिमाग छ, औपचारिकताको खोल ओडेको। हृदयबिनाको दिमाग ‘एआई’ भन्दा खतरनाक हुन्छ।

कम्प्युटरको एक ‘क्लिक’ले संसार ध्वस्त हुने जमानामा मान्छेको दिमागले के-के ध्वस्त गर्न सक्ला? आँकलन गर्न सकिन्छ। जात, भाषा, वर्ण र धर्मको रूपमा इतिहासदेखि आजसम्म धर्तीले मान्छेको रगतलाई नसोसेको भए पृथ्वी हरियो होइन रातो हुन्थ्यो।

पृथ्वीको केन्द्र भागको ज्वाला जस्तै पृथ्वीको आवरण पनि रक्तिम हुने थियो। समुद्र निलो होइन रातो महासागर हुन्थ्यो। र, रातो पृथ्वी भन्न बाध्य हुन्थ्यौँ। श्वास फेर्न नमिल्ने मंगल ग्रह जस्तै हुन्थ्यो होला। जात, वर्ण, रङ, धर्मको आधारमा मान्छेले कति मान्छे मारे होला आजसम्म आइपुग्दा? ती मान्छे मान्छेकै अहंकारको सिकार भएका हुन् कि होइनन् ?

वर्ण र धर्ममा आधारित सांसारिक यो लडाईँमा सबै वर्णका र धर्म मान्ने मान्छेहरूबीच मानवीय संवेदना जोडिएको हुन्छ। सबैले फेर्ने श्वास एउटै हो। उनीहरूबाट निस्किने पहिलो शब्द एउटै हो। उनीहरूको पहिलो प्रतिक्रिया ‘मुस्कान’ एउटै हुन्छ। सुन्ने, मनन गर्ने र बुझ्ने तरिका ‘चेतना’ एउटै हो। चाहे बुझाइ तलमाथि किन नहोस्। मानवीयताको आधार संसारमा एउटै हो। जसको विकास एउटा अणुबाट आरम्भ भएर चेतनामा परिणत भएको छ।

अर्बौँ मान्छेको फरक शरीरमा फरक-फरक हृदय छ। तर, ती सबै एउटा मात्र हृदय हो जो सबैमा छ। सर्वव्यापी छ। यसको अर्थ बुझ्न मान्छेले आफ्नो हृदयको अनुभव गर्नु जरुरी छ। दिमागको अनुभवले मान्छे हृदयमा पुग्न सक्दैन। दिमागको अनुभव धेरै गरिसक्यो मान्छेले।

चाणक्यले सधैँ दिमागलाई प्राथमिकता दिए। चाणक्य कुटिलता र रणनीतिको एक पराकाष्ठा थिए। उनी सोच्थे– आफ्नो कमजोरी अर्कालाई सुनाउनु आफू दुर्बल हुनु हो। उनको यो सोचले भन्छ– उनी हृदय कम र दिमाग बढी चलाउने मान्छे थिए। 

हृदयबाट जागृत व्यक्तिले आफ्नो कमजोरीलाई कमजोरीको रूपमा हेर्दैन। दुर्बलता शक्ति हो। दिमागी रूपले उनका कुरा ठिक हो। जुन समय उनको प्रख्याति थियो, त्यो दिमाग चलाएर नै सफलता हासिल गरेर प्रख्यात भए। त्यसको मतलब दिमाग सर्वेसर्वा होइन। उनका कुरा आज पनि उत्तिकै प्रख्यात र चल्तीमा छन्। तर, उनी आज पनि सर्वेसर्वा होइनन्। दिमागलाई सर्वेसर्वा ठान्नु हाम्रो कमजोरी हो।

समय-समयमा प्रख्यात भएका पात्रको धारणा नै सर्वेसर्वा हुन्छ भनेर सोच्नु गलत हुन्छ। उनको समयमा उनलाई लागेको कुरा थिए ती। त्यही कुरालाई पक्रेर बस्नु आफूलाई नबुझ्नु नै हो। न विरोध गर्नु आवश्यक छ। जरुरी छ त आफूले आफूलाई उत्खनन गर्न। आफूले आफूभित्र आफूलाई खोज्न र सात्क्षात्कार गर्न। आफूले आफ्नो कुरा प्राप्त गर्न। जसरी बुद्धले गरेका थिए।

हरेक मानिसले आफ्नो हृदयलाई हेर्‍यो भने पक्कै त्यहाँ स्वयम्‌लाई साक्षात्कार गर्नेछ। त्यो आफ्नो वास्तविक परिचय हो। त्यसमा हामी अन्य मानिस होइन, बुद्ध पनि होइन– आफू भेट्नेछौँ। जो म हुँ।

यो प्रक्रिया हृदयबाट हुनु पर्छ। दिमागबाट त्यहाँसम्मको यात्रा तय गर्न सकिँदैन। दिमागको प्रतिक्रियाले व्यक्तिलाई दिग्भ्रमित तुल्याउँछ। दिमाग र हृदयको बाटा बिल्कुल फरक छन्। बस, नियाल्न जरुरी हुन्छ। जात, वर्ण, रङ, भाषाबाट विभेदमुक्त हुन मानिसलाई हृदयको प्रतिक्रिया आवश्यक पर्दछ।

जबसम्म मानव जीवनमा दिमाग चल्छ, विभेदको अन्त्य हुँदैन। सबैले बुझ्न सक्ने मौनताको भाषा बुझौँ। जुन भाषा हृदयको भाषा हो। जो पहिले हृदयमा लेखिन्छ अनि हृदयमै पढिन्छ। जसलाई शब्दमा उतार्नुभन्दा व्यवहारमा उतार्न आवश्यक छ। मौनता र मुस्कान बाँड्न आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad