ब्लग


मस्क र जेन्सेनको खाका– अबको दुनियामा बाँच्नको लागि कमाउनु पर्दैन, आत्मसन्तुष्टिको लागि अफिस गइन्छ

मस्क र जेन्सेनको खाका– अबको दुनियामा बाँच्नको लागि कमाउनु पर्दैन, आत्मसन्तुष्टिको लागि अफिस गइन्छ

एनभिडियाका सीईओ जेन्सेन हुवाङ (दायाँ) र टेस्ला एवं स्पेसएक्सका प्रमुख इलोन मस्क (तस्बिरः एनभिडिया ब्लग)


दिलिप भट्टराई
मंसिर १५, २०८२ सोमबार ७:२७, काठमाडौँ

आज तपाईँ हामी यस्तो बिन्दुमा उभिएका छौँ जहाँ इतिहासले कोल्टे फेर्दैछ। हिजोसम्म हामीले शक्ति मानेको इन्धन (तेल), बन्दुक र फलाम अब इतिहासको पानामा सीमित हुँदैछन्। साउदी अरबको तातो बालुवामा हालै सम्पन्न साउदी इन्भेस्टमेन्ट समिटले विश्वलाई झस्काएको छ। त्यहाँ एउटा युगको अन्त्य र अर्को युगको जन्मको घोषणा गरिँदै थियो। त्यो भविष्य जहाँ तपाईँको काम बाध्यता नभई विकल्प मात्र हुनेछ।

हामी अहिले औद्योगिक युगको अन्तिम समय र बौद्धिक युगको पहिलो पाइलाको बीचमा छौँ। यो परिवर्तन तपाईँको मोबाइल स्क्रिनमा मात्र नभई तपाईँको भान्सादेखि बैंक खातासम्म र नेपालका नदीनालादेखि सिंहदरबारसम्म ठोकिन आइपुग्नेछ। साउदी इन्भेस्टमेन्ट समिटमा टेस्लाका सीईओ इलोन मस्क, एनभिडियाका सीईओ जेन्सेन हुवाङ र अन्य ऊर्जा विज्ञहरूको बहसमा आधारित रहँदै आजको लेख यो युगमा नेपाल कहाँ उभिनेछ भन्नेमा केन्द्रित रहनेछ।

मरुभूमिमा महाशक्तिहरूको मिलन
दशकौँसम्म तेलको बलमा विश्वको औद्योगिक युगलाई इन्धन प्रदान गर्ने साउदी अरब आज सिलिकन भ्यालीका महारथीहरूसँग हातेमालो गर्दैछ। हिजोको कालो सुन (तेल) अब आजको डिजिटल इन्टेलिजेन्स (एआई) मा परिणत हुँदैछ। टेस्ला र स्पेसएक्सका प्रमुख इलोन मस्क र एनभिडियाका सीईओ जेन्सेन हुवाङ एउटै मञ्चमा उभिएर एउटा साझा भविष्यको खाका कोरिरहेका थिए। उनीहरूको भनाई स्पष्ट छ– जसरी साउदी अरबले तेल रिफाइनरी बनाएर विश्वलाई चलायो, अब एआई फ्याक्ट्री बनाएर डिजिटल दुनियालाई चलाउनुपर्नेछ।

यो गठबन्धन व्यापारिक सम्झौता मात्र नभई ९० वर्ष लामो ऊर्जामा आधारित सम्बन्धलाई बौद्धिक युगमा रूपान्तरण गर्ने प्रयास हो। साउदी अरबले आफ्नो पुँजी, जमिन र ऊर्जालाई एआई इकोसिस्टम निर्माणमा लगाउने घोषणा गरेको छ। यसले अगाडि भविष्यको शक्ति बन्दुक र तेलमा नभई डेटा र कम्प्युटिङ क्षमतामा निहित हुनेछ।

इलोन मस्क र पहिलो सिद्धान्त
इलोन मस्कलाई कार्यक्रमको सुरुआतमा प्रश्न सोधियो, ‘तपाईँ कसरी सधैँ हरेक उद्योगलाई उथलपुथल गर्नुहुन्छ?’

मस्कले भने, ‘यो उथलपुथल नभई सिर्जना हो।’

उनको सोच्ने तरिका फर्स्ट प्रिन्सिपल थिङ्किङमा आधारित रहेको छ। यसको अर्थ हो कुनै पनि समस्यालाई त्यसको आधारभूत सत्यतासम्म टुक्र्याउनु र त्यहाँबाट समाधान खोज्नु।

उदाहरणका लागि ब्याट्रीको कुरा गरौँ। केही वर्ष अघिसम्म ब्याट्रीको लागत प्रतिघण्टा प्रतिकिलोवाट हजार डलर पर्थ्यो। मस्कले यसको भौतिक शास्त्र र रसायन शास्त्रलाई हेरेर आज त्यो लागत सय डलरभन्दा तल झरेको छ। यही सोच उनले रकेटमा लगाए। रकेट एकपटक उडाएर समुद्रमा फ्याँक्नु भनेको हरेक पटक हवाइजहाज चढेपछि आगो लगाउनु जस्तै हो, मस्कले तर्क गरे। नतिजा? आज रकेटहरू अन्तरिक्षबाट फर्केर पुनः अवतरण गर्छन्।

अब मस्कको त्यो पागलपन र जीनियसको मिश्रण रोबोटिक्समा सरिरहेको छ।

के तपाईँ आफ्नो सी-३पीओ वा आर२-डी२ चाहनुहुन्छ?
मस्कको अर्को भविष्यवाणी सुन्दा तपाईँलाई हाँसो साथसाथै डर पनि लाग्न सक्छ। उनी भन्छन्, ‘अहिले बजारमा देखिएका रोबोट खेलौना मात्र हुन्। तर, टेस्लाले त्यस्तो ह्युमनोइड (मान्छेजस्तै) रोबोट बनाउँदैछ जसले साँच्चिकै काम गर्नेछ।’

के तपाईँ आफ्नो लुगा धुन, भाँडा माझ्न वा बजार जान अल्छी मान्नुहुन्छ? मस्कको भिजनमा हरेक मानिसले आफ्नो व्यक्तिगत स्टार वार्स फिल्मका चर्चित रोबोट पात्र जस्तै सी-३पीओ वा आर२-डी२ राख्ने दिन धेरै टाढा छैन। एआई र रोबोटिक्सले इतिहासमै पहिलो पटक गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने दावी मस्क गर्छन्।

यो सुन्दा अचम्म लाग्छ, होइन र? दशकौँदेखि सरकार र एनजीओले नसकेको काम एउटा रोबोटले कसरी गर्ला? रोबोटले चौबीसै घण्टा खटेर वस्तु र सेवा उत्पादन गर्छन्, उत्पादन लागत शून्यको नजिक पुग्छ, मस्कको तर्क सरल छ। सामान जब सस्तो हुन्छ र प्रचुर हुन्छ, तब गरिबीको कुनै गुञ्जायस रहँदैन। यो मानवताको लागि वरदान होला वा श्राप?

जेन्सेन हुवाङ र एआई फ्याक्ट्री
एनभिडियाका सीईओ जेन्सेन हुवाङ जसलाई एआई युगका ‘गडफादर’ मानिन्छ, उनले कम्प्युटिङको परिभाषा नै बदलिदिएका छन्। तपाईँले चलाउने कम्प्युटर अब पुरानो भइसक्यो।

जेन्सेन भन्छन्, ‘हिजोसम्म हामी रिट्रिभल बेस्ड दुनियामा थियौँ। अर्थात्, तपाईँले गुगलमा केही खोज्दा कम्प्युटरले कतै लेखिएको कुरा खोजेर देखाउँथ्यो। यो रिट्रिभल थियो। तर आज? आज हामी जेनेरेटिभ युगमा छौँ।

यसलाई सरल भाषामा बुझौँ। तपाईँ जब च्याटजीपीटी, जेमिनी वा ग्रोकसँग कुरा गर्नुहुन्छ, त्यसले दिने उत्तर ब्रह्माण्डमा कतै पनि लेखिएको हुँदैन। त्यो उत्तर त्यसै पल, तपाईँको लागि डिजिटल दिमागले सिर्जना गरिरहेको हुन्छ। जेन्सेन भन्छन्, ‘अब हामीलाई सफ्टवेयर नभई एआई फ्याक्ट्री चाहिन्छ। जसरी हिजोका कारखानाले कपडा वा गाडी उत्पादन गर्थे, भविष्यका एआई फ्याक्ट्रीले इन्टलिजेन्स उत्पादन गर्नेछन्। जुन, हरेक पटक नयाँ र अद्वितीय हुनेछ।’

रोजगारीको भविष्य र कामको विकल्प
सबैभन्दा डरलाग्दो प्रश्न करोडौँ रोबोट र एआई फ्याक्ट्री आउँदा हामी मानिसले के गर्ने? के हामी बेरोजगार र बेकार हुनेछौँ?

मस्क र जेन्सेन दुवैले यसमा अनौठो चित्र कोरेका छन्। मस्कले दीर्घकालमा काम एउटा विकल्प हुने दावी गर्छन्। सोच्नुहोस् त त्यो दिनको बारेमा, तपाईँलाई जहाँ बाँच्नको लागि कमाउनु पर्दैन। तपाईँले काम गर्नुहुनेछ तर तलबको लागि नभई आत्मसन्तुष्टिको लागि। जसरी आज कोही रहरले बगैँचामा तरकारी फलाउँछन्, भोलि मानिस रहरले अफिस जानेछन्। पैसाको अर्थ नै हराएर जानेछ।

तर के यो साँच्चै होला?

जेन्सेनले अझ रोचक तथ्य पेस गरे। एआईले रेडियोलोजी क्षेत्रमा प्रवेश गर्दा धेरैले सोचेका थिए रेडियोलोजिस्ट डाक्टरहरूको जागिर जानेछ। तर, भयो उल्टो। आज झन् धेरै रेडियोलोजिस्टको माग छ।

किन?

किनकि एआईले तस्बिर हेर्ने र विश्लेषण गर्ने झन्झटिलो काम गर्दा डाक्टरले बिरामीको रोग निदान गर्न र उपचार गर्न धेरै समय पाए। उत्पादकत्व बढ्यो र सेवाको गुणस्तर पनि।

जेन्सेनको निष्कर्ष छ, ‘एआईका कारण हामी पहिलेभन्दा बढी व्यस्त हुनेछौँ। हामीसँग अब धेरै आइडियाहरू छन् जसलाई हामी छिटो कार्यान्वयन गर्न सक्छौँ। एआईले तपाईँको जागिर खाँदैन, तर एआई चलाउन जान्ने मानिसले एआई नजान्नेको जागिर पक्कै खानेछ।’

अन्तरिक्षमा एआई र सौर्य ऊर्जा
इलोन मस्कको दिमाग पृथ्वीको गुरुत्वाकर्षणमा मात्र सीमित छैन। के अन्तरिक्षमा एआई सम्भव छ? भन्ने प्रश्नमा यदि मानव सभ्यता जोगियो भने अन्तरिक्षमा एआई अपरिहार्य छ भनेर मस्कले ठोकुवा गरे।

किन?

यहाँ गणित बोल्छ। कार्डासेभ स्केलअनुसार पृथ्वीले सूर्यको ऊर्जाको दुई अर्बको एक भाग मात्र प्राप्त गर्छ। यदि हामीले भविष्यमा एआई र सुपरकम्प्युटरहरू चलाउन टेरावाटको मात्रामा बिजुली चाहिने समयमा पृथ्वीमा त्यो सम्भव छैन।

अमेरिकाको सम्पूर्ण बिजुली उत्पादनले पनि एउटा ठूलो एआई सहरलाई धान्न सक्ने छैन। त्यसैले, मस्कको योजना एआई डेटा सेन्टरहरूलाई अन्तरिक्षमा राख्ने रहेको छ। त्यहाँ २४सै घण्टा घाम लाग्छ र अन्तरिक्षको चिसोले तातो चिप्सलाई सेलाउन मद्दत गर्छ। मस्कको अनुमानमा अबको ४-५ वर्षमै अन्तरिक्षमा एआई चलाउनु पृथ्वीभन्दा सस्तो पर्न सक्नेछ। के हामीले कहिल्यै सोचेका थियौँ कि हाम्रो इन्टरनेटको सर्भर मंगल ग्रहको बाटोमा हुनेछ?

एआईलाई चलाउने ऊर्जा खोई?
एआई र रोबोटिक्सको सपना जति सुन्दर छ, त्यसलाई चलाउन चाहिने ऊर्जाको चुनौती त्यति नै डरलाग्दो छ।

ऊर्जाविज्ञ प्याट्रिक जो २० वर्षदेखि ऊर्जा क्षेत्रमा छन्, उनले हामीले एआईको कुरा गर्‍यौँ, चिप्सको कुरा गर्‍यौँ, तर यी विशाल डेटा सेन्टरलाई बत्ती बाल्ने ऊर्जाको लागि खोसाखोस सुरु भइसकेको छ भन्दै चेतावनी दिए।

विगत २० वर्षमा हामीले ऊर्जाको माग खासै बढेको देखेका थिएनौँ। तर एआईको आगमन र विश्वव्यापीकरणबाट राष्ट्रिय सुरक्षातिरको झुकावले गर्दा ऊर्जाको माग आकासिएको छ। प्याट्रिकको भनाईमा आधारित रहने हो भने आगामी १० वर्षमा अमेरिकालाई मात्रै हालको भन्दा ३ गुणा बढी बिजुली उत्पादन गर्नु पर्नेछ। यो भौतिक रूपमा लगभग असम्भव चुनौती हो।

एआईले ऊर्जा उपभोग मात्र गर्दैन, त्यसले निल्नेछ। सामान्य गुगल सर्चको तुलनामा च्याटजीपीटीसँगको कुराकानीले १० गुणा बढी बिजुली खपत गर्छ।

ग्लोबल साउथ र अफ्रिकाको पीडा
यो ऊर्जा सङ्कटले विकासशील राष्ट्रलाई सबैभन्दा ठूलो मार पार्नेछ। युगान्डाको एक तेल कम्पनीकी पूर्वप्रमुख जोसेफिनले एउटा तितो सत्य उजागर गरिन्। अफ्रिका र ग्लोबल साउथका देशले विगतका औद्योगिक क्रान्ति गुमाएका थिए। उनीहरूसँग पर्याप्त ऊर्जा भएन भने उनीहरू एआई क्रान्तिबाट पनि वञ्चित हुनेछन्।

‘यदि तपाईँ ऊर्जामा गरिब हुनुहुन्छ भने, एआईमा पनि गरिब हुनुहुनेछ,’ जोसेफिन भन्छिन्।

अझ विडम्बनापूर्ण कुरा के छ भने, पश्चिमी देश र ठूला बैंकले हरित ऊर्जाको नाममा अफ्रिकामा फोसिल इन्धन र ग्यास परियोजनामा लगानी गर्न बन्द गरेका छन्। युगान्डाको पाइपलाइन परियोजनामा युरोपेली बैंकले लगानी फिर्ता लिएको उदाहरण दिँदै उनले भनिन्, ‘विकासशील देशलाई अहिले नै सस्तो र भरपर्दो ऊर्जा चाहिएको छ, तर विश्वले उनीहरूको हात बाँधिदिएको छ।’

आणविक ऊर्जा र चीनको दबदबा
हावा र पानीबाट आउने बिजुली राम्रो हो। तर, एआईलाई २४सै घण्टा, ३६५ दिन, ९९.९% भरपर्दो बिजुली चाहिन्छ। बादल लाग्दा वा हावा नचल्दा बन्द हुने बिजुलीले एआईको दिमाग चल्दैन।

यहीँनेर विश्व फेरि विवादास्पद विकल्पमा फर्किएको छ– आणविक ऊर्जामा। प्याट्रिक भन्छन्, ‘अहिले आणविक ऊर्जाको पुनर्जागरण चलिरहेको छ।’

यहाँ पनि भू-राजनीति हाबी छ। अमेरिका आणविक ऊर्जामा हिजोको राजा थियो, तर भोलिको राजा चीन बन्दैछ। विगत २० वर्षमा र आगामी योजना हेर्दा सन् २०३५ सम्म चीनले आणविक भट्टी निर्माणमा पश्चिमाहरूलाई पछाडि छोड्दैछ। चीनले जसको हातमा इलेक्ट्रोन हुन्छ, भविष्यको एआई र रोबोटिक्स अर्थतन्त्र उसैको हातमा हुन्छ भन्ने बुझेको छ।

चीनको मोडल एक डिजाइन, अनेक निर्माणले आणविक ऊर्जालाई सस्तो र छिटो बनाएको छ। के विश्व अब चिनियाँ ब्याट्री र चिनियाँ एआईमा निर्भर हुन बाध्य हुनेछ? यता अमेरिका र युरोप भने नियमन र लागतको जालोमा अल्झिएका छन्।

के नेपाल फड्को मार्न सक्छ?
के यो सबै निराशाजनक मात्र छ? यहाँ नेपाल जस्ता देशका लागि अभूतपूर्व अवसर लुकेको छ। ओडीसी इनर्जी सोलुसन्स्‌की एमिलीले जसरी नेपाल र अफ्रिकाका धेरै देशले ल्यान्डलाइन फोनको युगलाई बाइपास गरेर सिधै मोबाइल फोनमा फड्को मारे, त्यसरी नै ऊर्जामा पनि वितरित ऊर्जामार्फत फड्को मार्न सक्ने बताइन्।

‘नेपालले जसरी ल्यान्डलाइन फोनको युगलाई बाइपास गरेर सिधै मोबाइल फोनमा फड्को मार्‍यो। गाउँगाउँमा तार टाँग्नु परेन, टावर ठड्यायो, हातहातमा मोबाइल पुग्यो,’ एमिली भन्छिन्, ‘ऊर्जामा पनि ठ्याक्कै त्यही गर्न सकिन्छ।’

अमेरिका र युरोपका पुराना एवं जीर्ण ग्रिडको सट्टा, विकासशील देशले साना, सोलार र ब्याट्रीसहितको माइक्रोग्रिड बनाउन सक्छन्। भारतको रिलायन्सले डेटा सेन्टरसँगै सोलार पार्क बनाइरहेको उदाहरण दिँदै एमिलीले नयाँ प्रविधि र एआईलाई स्थानीयस्तरमै बिजुली उत्पादन गरेर चलाउन सक्ने सम्भावना देखाइन्। यसका लागि ठूला ट्रान्समिसन लाइन र वर्षौं लाग्ने सरकारी अनुमति कुर्नु पर्दैन।

हाम्रो देश नेपालमा बग्ने ६ हजारभन्दा बढी नदीनाला पानी मात्र नभई बौद्धिक युगका ब्याट्री हुन्। विश्वलाई २४सै घण्टा चल्ने हरित ऊर्जा चाहिएको छ र हामीसँग त्यो अपार छ।

यदि हामीले हाम्रा जलविद्युत्‌ आयोजनाहरूलाई एआई डेटा सेन्टरसँग जोड्न सक्यौँ भने? सोच्नुहोस् त, मनाङ वा मुस्ताङको चिसो हावा जसले डेटा सेन्टर चिस्याउन मद्दत गर्छ र तल बग्ने नदीको बिजुली। यो एआई कम्पनीहरूको लागि स्वर्ग हुन सक्छ। के हाम्रा नीति-निर्माताले विद्युत्‌ बेच्ने पुरानो सोचबाट माथि उठेर डेटा र एआई केन्द्र होस्ट गर्ने नयाँ सोचमा जान सक्लान्?

हामी दर्शक मात्र बन्ने कि खेलाडी?
यी छलफलबाट के प्रस्ट हुन्छ भने विश्व अब पहिले जस्तो रहने छैन। इलोन मस्क र जेन्सेन हुवाङको बौद्धिक युगले गरिबी निवारण, रोग निदान र अन्तरिक्ष यात्राको अपार सम्भावना बोकेको छ। तर, यो भविष्यलाई ऊर्जाको इन्धन चाहिन्छ। जसले सस्तो र भरपर्दो ऊर्जा उत्पादन गर्न सक्छ, उसैले एआईको दौड जित्नेछ। यो केवल कोडिङ वा चिप्सको लडाइँ होइन, यो इलेक्ट्रोनको लडाइँ हो।

हामी एउटा यस्तो बिन्दुमा छौँ जहाँ  कामको परिभाषा बदलिएर रोजगारी बाध्यताबाट विकल्पमा सर्दैछ। फेरि, डिजिटल विभेदको खतरा पनि छ। यदि हामीले अहिले नै पूर्वाधार र शिक्षामा लगानी गरेनौँ भने, हामी एआई मालिकहरूको डिजिटल दास बन्ने खतरा छ।

यसले हामीलाई चेतावनी र आशा दुवै दिएको छ। प्रविधि तयार छ, सपना ठूला छन्। तर, तिनलाई साकार पार्न ऊर्जा र इच्छाशक्ति चाहिन्छ।

के हामी यो बौद्धिक युगको सुनामीलाई देखेर भाग्ने? वा, त्यसको छालमा सर्फिङ गर्दै माथि उठ्ने? निर्णय हाम्रै हातमा छ। समयले कसैलाई पर्खने छैन र एआईको घडी अरूको भन्दा छिटो चल्छ।

के तपाईँ आफ्नो भविष्य एउटा रोबोटको हातमा सुम्पन तयार हुनुहुन्छ वा त्यो रोबोटलाई चलाउने रिमोट आफ्नो हातमा लिन चाहनुहुन्छ?

(यो लेख हालै साउदी अरबमा आयोजित साउदी लगानी सम्मेलनमा इलोन मस्क, जेन्सेन हुवाङ र ऊर्जा क्षेत्रका दिग्गजहरूले एआई, रोबोटिक्स र विश्वव्यापी ऊर्जा सङ्कटबारे गरेको बहसमा आधारित छ। लेखक दिलिप भट्टराई एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्सका कार्यकारी निर्देशक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad