नेपालको मात्र नभएर संसारकै चर्चित पदयात्रामध्येको एक मानिने अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा (एबीसी ट्रेकिङ)को विषयमा सुनेको र पढेको मात्र थिएँ, पदयात्रा गर्ने साइत जुरेको थिएन।
यसपटक तिहारलगत्तै ९ सदस्यीय पारिवारिक टोली अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रामा जाने निधो भयो। २/३ महिना अघिदेखि नै आपसी सरसल्लाह र तयारी सुरु गरिसकेका थियौँ।
यात्रा प्रबन्ध एवं व्यवस्थापनको सम्पूर्ण कार्य हिमा ट्रेकका सञ्चालक बालकृष्ण पौडेलले गर्नुभएको थियो। जसको प्याकेजमा बिहान, दिउँसो र बेलुकाको खानाका साथै बसोबासको व्यवस्था अनि समय-समयमा चिया-कफी र तीन जना भारबाहक र एक जना पथप्रदर्शकको व्यवस्था थियो।
२५ अक्टोबर २०२५ का दिन आफ्नै गाडीमा काठमाडौँबाट पोखरा पुग्यौँ। त्यो दिन मेरो ६७ हिउँद पूरा गरेको विशेष दिन थियो। साँझको खाना खाएपछि भोलिको यात्राका लागि सबैका आवश्यक सरसामान पुगे-नपुगेको विषयमा छलफल भयो। अपुग सामान खरिद गर्ने र सबै प्याक गरी बिहान ९ बजे प्रस्थान गर्ने सल्लाह भयो।
सुत्न जानुअघि एउटा सानो कार्यक्रम बाँकी छ भन्दै बालकृष्ण पौड्यालले एउटा केक टेबलमा राखेर मुमबत्ती र झिरझिरे बत्ती सल्काएर मलाई जन्मदिनको शुभकामना दिनुभयो। अनि, सबैबाट शुभेच्छासहितको तालीको गडगडाहटबीच मैलै केक काटेँ र सबैले खाएर सुत्न गयौँ।
९ जनाकै एबीसीको पदयात्रा पहिलो हुनाले सबैमा एकप्रकारको उत्सुकता, कौतुहलताका साथै कसैलाई लेक लाग्ने, उच्च पहाडी भूभागमा लगातारको उकाली-ओरालीमा घुँडा वा खुट्टा दु:खेर हिँड्न नसक्ने अवस्था हुने वा खराब मौसम भइदिनाले अलपत्र परिने हो कि भन्ने जस्ता जोखिमको त्रास सबैको मनमा मडारिरहेको थिए। टोलीमा सबैभन्दा जेष्ठ नागरिक म र त्यसपछि मेरी श्रीमती दुर्गा थिइन्।
भोलिल्ट अर्थात् २६ अक्टोबर बिहान निर्धारित यात्रा कार्यक्रम पोखराबाट गाडीमा नाङ्गेठाँटीसम्म जाने र त्यहाँबाट ३/४ घण्टाको पदयात्रा गरी म्याग्दीको घोरेपानी पुगेर बस्ने थियो।
योजनाअनुसार मिनीबस चढियो। वनठाँटी भन्ने स्थानमा पुगेर दिउँसोको खाना खायौँ। त्यहाँभन्दा माथि बस जान नसक्ने कुरा चालकले बताए। संयोगले त्यहाँ एउटा जिप भेटियो। हाम्रा पथप्रदर्शक ललित कार्कीले लौ यो खाली रहेछ, यसैमा जाउँ भन्नुभयो। त्यो जिप घोरेपानीसम्म जाने रहेछ। तर, एउटा समस्या चाहिँ देखियो। हाम्रो टोलीका सबै जना त्यहाँ नअट्ने देखियो। पछाडिका सिट पनि अलि अप्ठ्यारा थिए।

अनि समस्याको समाधान पनि निस्कियो। ६ जना जिपमा बस्यौँ, ३ जना भाइले हामी हिँड्दै जान्छौँ २/३ घण्टा त रहेछ, अभ्यास पनि हुन्छ भने। उनीहरू हिँडेरै पुग्ने भए। जिपमा बस्नेहरू करिब एक घण्टामा घोरेपानीको जिप पार्कमा पुग्यौँ र १५/२० मिनेटको उकालो चढेर पूर्वनिर्धारित होटलमा पुग्यौँ।
२,८८० मिटरको उचाइमा पर्ने यस स्थानमा साँझ वातावरण चिसो थियो। खाना र बसोबासको व्यवस्था राम्रो थियो। कार्यक्रम अनुसार भोलि बिहानै (२७ अक्टोवर) ५ बजे उठेर करिब डेढघण्टाको उकालो चढी पुन हिल पुगेर त्यहाँबाट अन्नपूर्ण, हिमचुली, माछापुच्छ्रे लगायतका हिम शिखरको दृश्यावलोकन गर्ने कार्यक्रम थियो। उदाउँदो सूर्यका किरणले स्वर्णिम हिमशिखर हेर्ने चाहनालाई पूरा गर्न पनि हामी सबेरै उकालो लाग्नुपर्ने थियो।
पुनहिल ३,२१० मिटरको उचाइमा रहेछ। साँच्चै यस ठाउँबाट असाध्यै मनोरम दृष्य हेर्यौँ र त्यही बाटो फर्केर होटल आयौँ।
बिहानको नास्ता खाएपछि मूल गन्तव्यतिरको यात्रा जारी राख्यौँ। त्यस साँझ टाडापानी पुगेर बस्ने तालिका थियो। सोहीअनुसार निर्धारित गन्तव्यमा पुगियो। यहाँ पनि खानेबस्ने व्यवस्था राम्रो थियो।
पहिलो दिनको हिँडाइ, अलि-अलि थकाइ त लाग्ने नै भयो। हामीले पुन हिलबाट देखेको अन्नपूर्ण र माछापुच्छ्रे हिमालबीचको खोचबाट ठिक पछाडिपट्टि पुग्नुपर्ने गन्तव्य रहेछ।
टाडापानीको उचाई जम्मा २,६३० मिटर रहेछ, पहिलो दिनको ठाउँबाट तल झर्नुपर्दो रहेछ। त्यसपछिको हाम्रो दिनचर्या करिब करिब एकैनासको रह्यो। राति बसेको होटलमा बिहान ब्रेकफास्ट खाने, निर्धारित होटलमा पुगेर दिउँसो लन्च खाने अनि साँझ बास बस्ने होटलमा डिनर खाने र सुत्ने।
सबै ठाउँमा त्यहाँको समितिले निर्धारण गरेको एउटै मेनु हुँदो रहेछ। दरभाउ चाहिँ उचाइ बढ्दै जाँदा वृद्धि हुँदै जाने रहेछ। हाम्रो खानेबस्ने व्यवस्था प्याकेजमै भएकाले तीन प्रहरको खाना र बसोबासको चिन्ता थिएन। जे होस्, ती ठाउँमा त्यो स्तरको सरसफाइ, खानाका परिकार र सफा बेड मेरो अपेक्षाभन्दा बढी लागिरहेको थियो।
टाडापानीबाट अर्को बिहान अर्थात् २८ अक्टोबरमा ७/८ घण्टाको पदयात्रापश्चात छोम्रोङ भन्ने ठाउँमा पुग्यौँ। अपरान्हपश्चात् भने पानी पर्न थाल्यो, मौसमले कुरूप अनुहार देखाइरहेको थियो।

बङ्गालको खाडीबाट अप्रत्यासित रूपमा मोन्था नामको चक्रवात उठेर नेपालभर भारी वर्षा, हिमपात तथा आँधिबेहरी आउने अनुमानसहित मौसम पूर्वानुमान र सरकारी तवरबाट पर्वतारोहण तथा पदयात्रामा रहेकाहरूलाई अघि नबढ्न र आ-आफ्नो ठाउँमा वा अझ सुरक्षित स्थानतिर रहन सार्वजनिक सूचना जारी भइरहेका थिए।
घरपरिवार, बन्धुबान्धव, शुभचिन्तकहरूबाट पनि यस्तो अवस्थामा पदयात्रा अघि नबढाउन र तुरुन्त फर्कन सुझाव आइरहेको थियो।
छोम्रोङ यसअघिका दुई दिन बास बसेका स्थानभन्दा होचो ठाउँ हुनाले हिमपातमा चाहिँ नपरिएला भन्ने लागिरहेको थियो। त्यहाँ हामीले भिजेका लुगा तथा प्रयोग भई यस यात्रामा पुन: प्रयोग नहुने कपडा छुट्याई अलग झोलामा कोच्यौँ र फर्कँदा लैजाने भनी होटलमै छोड्यौँ। यसो गर्दा भारवाहक मित्रहरूलाई पनि केही राहत हुने भयो।
मौसमको चुनौती कायमै थियो। आगामी २/३ दिनको मौसम कस्तो रहला भन्दै मौसम पूर्वानुमानका बुलेटिन र समाचार निरन्तर नियालिरहेका थियौँ। तर, त्यो मोन्था नामको चक्रवात उत्तर भारतीय समुद्रबाट बङ्गालको खाडी हुँदै नेपालको पूर्वी भेगबाट प्रवेश गरी नेपाल अधिराज्यभर भारी, अतिभारी वर्षाका साथै उच्च पहाडी र हिमाली भेगमा हुरी बतासका साथ हिमपात हुन थाल्यो।
मौसम पूर्वानुमानका खबर र सूचना अध्ययन गर्दागर्दै टोलीका सबै सदस्य एकसेएक मौसमविद् जस्तै भइसकेका थियौँ। यस चक्रवातको मोन्था नाम थाइल्यान्डले राखेको रहेछ। धेरै चक्रवात वा अप्रत्यासित आँधिबेहरी आइरहने क्षेत्र वा मुलुकले हरेक यस्ता आँधीको नामकरण गरेका हुँदा रहेछन्।
थाइल्यान्डले नाम राखेको यस मोन्थाको शाब्दिक अर्थ बास्नायुक्त सुन्दर फूल हुँदो रहेछ। यस्तो मिठासपूर्ण अर्थ भएको आँधीले हाम्रो पूर्वनिर्धारित यात्रामा पक्कै भाँजो हाल्दैन भनेर मेरो भित्री मनले भन्यो। यो मेरो आत्मसन्तुष्टिको कुरा पनि थियो। सहयात्रीहरूलाई भनौँ भने मनगढन्ते कुरा गर्यो भनेर उपहासको पात्र बनाउलान् भन्ने डर थियो। तैपनि हाँसिमजाककै शैलीमा भए पनि भन्न छोडिएन।
झरझर पानी परिरहेकै थियो। प्रतिकूल मौसमका बाबजुद बर्सादी ओढेर २९ अक्टोबर बिहान नास्ता खाइवरी छिम्रोङबाट अघि बढ्यौँ। यो साँझ दोभान पुगेर बस्ने लक्ष्य थियो।
जङ्गलको बाटो, कतै उकालो, कतै ओरालो, चिप्लो त्यस्तै। खोलानाला पनि थिए। जुकाले बेलाबखत हामीबाट राम्रै भोजन फेला पारिरहँदा मेरो मनमा यो हाम्रो साहसिक यात्रा हो कि दुस्साहसपूर्ण बलमिच्याइ हो भन्ने लाग्थ्यो घरी घरी।
मध्य जङ्गलको भीर पाखामा पानी पर्नासाथ बढेर आउने ठाडा खहरे खोलाको जोखिम, एक्कासी भारी हिमपात भएमा अकल्पनीय समस्या र अलपत्र परिने जोखिम त छँदैछ, परिआउँदा सहज उद्धारको व्यवस्था पनि सम्भव नहुने रहेछ। विगतका घटनाले पनि यो कुरालाई पुष्टि गरेकै छन्।
मनमा यस्ता कुरा खेलिरहँदा साहस थपिदिने अर्को कुरा अगाडि नै हुन्थ्यो। त्यो हो–विभिन्न देशका सयौँ पदयात्री मजासँग अगाडि बढिरहेका छन्। उनीहरूलाई पनि ज्यानको माया त होला नि? हामीले भन्दा बढी खर्च गरेका छन्, टाढा-टाढाबाट आएका छन्, हामीभन्दा नेपालको भूगोल, भाषा, संस्कृतिसँग कम परिचित छन् तर पनि यति साहसी छन्, हामी किन यतिविधि डराइहाल्ने भनेर ऊर्जा प्राप्त हुन्थ्यो।
दुर्घटना वा दैवी विपत्ति त जतिसुकै सुगम र सुरक्षित एवं उद्धारयोग्य स्थानमा पनि घट्न सक्छ। विगतमा भयानक वर्षा हुँदा देशकै राजधानीमा रहेका काठमाडौँवासीलाई पनि बाढीले बगाएर लगेकै थियो। फेरि हामी हिमाल चढ्नै हिँडेको त होइन नि, आधार शिविरसम्म मात्र पो जाने त। यस्ता कुरा सम्झेर पनि साहस बढाइयो।
नेपाली विद्यार्थी र शिक्षकसहितको २४ सदस्यीय टोली एबीसी पुग्नुभन्दा एक दिन अगाडि २/३ जना विद्यार्थीलाई लेक लागेर बिरामी परेकोले फर्कँदै गरेको साथै अर्को ५/६ जनाको स्पानिस टोली (जो भारवाहक एवं पथप्रदर्शकको बन्दोबस्तीका साथ गएका थिए) यही प्रतिकूल मौसम र सरकारले जारी गरेको सूचना समेतलाई विचार गरी पदयात्रा रद्द गरेर फर्केको पाउँदा मनमा दुविधा समेत भयो।
मनमनै यति गलफती गर्दागर्दै हामी छोम्रोङबाट निर्धारितस्थान दोभानमा पानी परिरहेकै अवस्थामा पुग्यौँ। यो स्थान अलिक उचाइ (२,६०० मिटर)मा पर्दो रहेछ।
दोभानमा हाम्रा लागि बुक गरिएको सुत्ने कोठा भने नपाइने भयो। कोही बिरामी आएकोले मानवीय आधारमा छोडिदिनुपर्ने भयो। हाम्रा लागि बुक गरिएका भन्दा केही कम सुविधाका कोठामा व्यवस्था मिलाइएको होटल सञ्चालकले जानकरी गराए।
ती कोठा अस्थायी टहरा जस्ता लाग्ने, मूल भवनको पछाडिपट्टि ३/४ जना एउटै कोठामा सुत्नुपर्ने खालका थिए। जे मिल्छ त्यो स्विकार्नुको विकल्प थिएन। बिहानैदेखि पानी परिरहेकोले जाडो छ, रात परेको छ, साँझ पनि वर्षा भइरहेकै छ।
ती भुईँ तलाका टहरामा कतै चिसो लागेर सुत्न नसकिने हो कि पर्याप्त ओढ्ने छन् कि छैनन्, रातभरि हिमपात भयो भने छाना पो खस्ने हो कि? जङ्गलको खोचमा हुनाले कतै पहिरो पो आउने हो कि! मनमा विभिन्न कुरा उब्जेपछि अँध्यारो नहुँदै टहरा पछाडि गएर ठाउँ नियालेँ।
ठाउँ समथर रहेछ, त्यसैले पहिरोको डर भएन। सुत्ने टहराको छाना कस्तो हो भनेर पनि हेर्न भ्याएँ। बाक्लो जस्तापातामा राम्रैसँग पेचकिला कसेको रहेछ। त्यसपछि अलि ढुक्क भयो।
भौतिक सुविधाभन्दा मानवीय दया, माया र व्यवहार महत्त्वपूर्ण हुने भन्दै होटलका सञ्चालकले हामीलाई कन्भिन्स गराएका थिए। उनी त्यहाँका एक समाजसेवी पनि रहेछन्। हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बिरामी त्यहाँ बसेका रहेछन्।
अनपेक्षित कारणले सुविधामा कमी हुन गएकोमा उनले हामीसँग क्षमायाचना गरे र २/२ वटा न्याना अनि सफा सिरक दिए। हामी खाना खाएर न्यानोसँग सुत्न सक्यौँ। कसैलाई कुनै समस्या भएन।
हाम्रो पदयात्राको भूगोलले क्रमश: उचाइ लिँदै थियो। मौसम प्रतिकूल नै थियो। दोभानमा बिहानै उठ्यौँ र आ-आफ्नो इच्छामुताविक उपलब्ध भएसम्मका चिया, कफी, सुप पियौँ। त्यसपछि आ-आफ्ना झोला बोकेर लौरा टेक्दै ३० अक्टोबरको साँझ देउराली भन्ने स्थानमा पुगेर बास बस्ने गरी प्रस्थान गर्यौँ।
दोभानबाट देउराली थप ६०० मिटरको उचाइमा अर्थात् ३,२०० मिटरमा पर्दोरहेछ। बिहान हामी हिँड्ने बेलामा पानी पर्न रोकिएको थियो तर एकछिनपछि फेरि पर्न थाल्यो।
हुनत: दोभानबाट देउराली दूरीको हिसाबले त्यति टाढा रहेनछ। तर पनि उकालो बाटो, बढ्दो भौगोलिक उचाइ तथा निरन्तरको वर्षाले हामीलाई समय लाग्यो। अन्दाजीभन्दा बढी नै समय लागे पनि गन्तव्यमा पुगेपछि भने अर्कै आनन्द आयो।

लामो पदयात्राका लागि नयाँ भएर पनि होला, हामीमध्ये धेरैले किनेका बर्सादी र ब्याकप्याक वातावरणअनुकूल बन्न सकेनन्। हावापानी नछिर्ने भनेर किनेका ज्याकेटमा कताकताबाट पानी छिर्यो भने ब्याकप्याकको वाटरप्रुफ भनेको कभरले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेन। लगाएका कपडा, जुत्ता-मोजा भिजे।
जुत्ताबाहेक अरू कपडा, मोजा, टोपी, स्वेटर, ज्याकेटलगायत न्याना कपडा पोर्टरहरूका साथ पठाइएको हुनाले साँझ गन्तव्यमा पुग्नासाथ कपडा फेर्ने र तातोपानी, चिया-कफी, लसुनको सुप आदि खाएर ज्यानलाई न्यानो पारियो।
देउराली भन्ने ठाउँ अन्नपूर्ण र माछापुच्छ्रे हिमालका आधार शिविरदेखि सुरु भई हिमालहरूको हिउँ पग्लेर बग्ने मोदिखोलाको किनारमा अवस्थित रहेछ। उचोभागको केही खुलास्थान हुनाले तुलनात्मक रूपमा सुरक्षित लाग्यो। खुला स्थान भएपछि हिमपहिरो वा अन्य पहिरोको त्रास नहुने भइगयो।
रमाइलोसँग खाना खाँदै, गफ गर्दै अझ केही समय तास खेलेर मनोरञ्जन गर्दै देउरालीमा साँझको समय बित्यो। झरझर वर्षा निरन्तर नै थियो। नदीको बहाव बढेको देखिन्थ्यो। हिमशिखरहरूबाट हिउँ पग्लेर बग्ने ठाडा अग्ला झरना अझै तीव्र भइरहेका थिए।
कुनै बेला ती अग्ला पहाडबाट ठूलो आवाज गर्दै हिमपहिरोको गडगडाहट सुन्न सकिने भय छँदैथियो। रोमाञ्चकता र त्रासको दोसाँधमा हाम्रो पदयात्रा यहाँसम्म निर्धारित तालिका बमोजिम नै चलिरहेको थियो। भोलिपल्ट महत्त्वपूर्ण दिन थियो–अन्नपूर्ण आधार शिविर पुग्ने। मानौँ, भोलि सगरमाथाको शिखरमा पुग्दैछौँ जस्तो उत्सुकता, कौतुहलता र व्यग्रता मनमा थियो।
देउरालीमा उक्त साँझदेखि रातभर भयानक हावाहुरीका साथ निरन्तर वर्षा भइरह्यो। उच्च भागमा हिउँ थपिएर बाक्लिएको र आधारशिविरहरूमा २/३ फिट हिउँ जमेको खबर त्यहाँबाट फर्केर आउनेहरूले बताइरहेका थिए।
हामीमध्ये कसैले एक दिन मौसमको अवस्था विचार गरेर मात्र अघि बढ्ने वा नबढ्ने निधो गरौँला भने त कसैले होइन हावाहुरी बन्द भएको छ, पानी मात्रै परेको र हिउँ नपरेको हुँदा पूर्वनिर्धारित गन्तव्य माछापुच्छ्रेको आधार शिविर पुगेर दिउँसोको खाना खाऊँ र त्यसपछिको अवस्थालाई विचार गरी निर्णय लिऔँला भन्ने विचार राखे। अन्त्यमा, दोस्रोमै सबैको सहमति भयो र देउरालीबाट अघि बढ्यौँ।
हाम्रा पथप्रदर्शक ललित कार्की पनि हौसला दिँदै भन्दै थिए, ‘पानी परेको छैन, दूरी पनि त्यति धेरै छैन, सजिलै जान सकिन्छ।’ उनको हौसलाले पनि हामीलाई दोस्रो विकल्पमा जान सहमत गरायो।
‘केही परे यो कार्की छ नि हो!’ भन्ने उनको थेगो भैसकेको थियो।
‘बाटो भने यस पदयात्राकै सबैभन्दा होसियार रहनुपर्ने ठाउँ हो। झरना बगेको ठाउँ र खोचहरूमा कोही पनि अलमल नगरी फटाफट हिँड्नुहोला,’ उनी हामीलाई सतर्क गराइरहेका थिए, ‘हिमपहिरोको डर हुन्छ।’
वर्षा भइरहेकै अवस्थामा हामी देउरालीबाट माछापुच्छ्रेको आधार शिविरसम्म ५/६ घण्टाको यात्रापछि ५०० मिटरको उचाइ थपेर दिउँसोको खाना खान पुग्यौँ। हाम्रो त्यस दिनको निर्धारित गन्तव्य एबीसी आधार शिविर हो जहाँ अरू ४३० मिटरको उचाइ चढेर पुग्नुपर्ने थियो।
जताततै हिउँ सेताम्यै छ, हल्का हुरीसहितको हिउँमिश्रित पानी परिरहेको थियो। गोरेटो पनि हिउँले पुरेको, केही ठाउँमा अलिअलि पग्लेको हिउँ र पानीसहितको लेदोको भल बगिरहेको अवस्था थियो।
यस्तो अवस्थामा माछापुच्छ्रे आधार शिविर (एमबीसी) बाट अन्नपूर्ण आधार शिवर (एबीसी) आजै जाने कि नजाने भन्ने विषयमा हाम्रो टोली फेरि विभाजित भयो।
आज एमबीसीमै बसेर भोलि मौसमको अवस्था विचार गरी एबीसी जाने/नजाने निर्णय लिने भनेर शालिक, मोहन र विजयले निधो गरी त्यहीँ बसे। म र मेरो श्रीमतीलगायत अन्य सबैले एबीसी पुग्ने निधो गर्यौँ।
भारबाहक साथीहरू माथि जाने टोलीको मात्र सामान बोकेर अघि बढे। पथप्रदर्शक मित्र ललित कार्कीसँग हामी ६ जना अघि बढ्यौँ। पदयात्राभरिको यो मार्ग साँच्चिकै कठिन र चुनौतीपूर्ण थियो।
वर्षा भइरहेकै थियो, तापक्रम शून्य वा ऋणात्मक हुनाले अत्यधिक चिसो, हिउँ र हिलामा खुट्टा गाडिएर पाइला सार्न असहज भइरहेको थियो। जुत्ता-मोजा भिजेर खुट्टा रुझ्दा हुँदा पूरै जिउ नै चिसो लागिरहेको थियो। जता जानुपर्ने उतैबाट आइरहेको हावासहितको हिमपानीले मुखमा निरन्तर झापु लगाइरहेको थियो।
४,१०० मिटरभन्दा माथि जानु पर्ने हुँदा उच्च भूभागमा अक्सिजनको कमीले पार्ने अप्ठ्यारोलाई सामना गर्दै अन्तत: ३१ अक्टोबरको साँझ पूर्वनिर्धारित कार्यक्रमबमोजिम हाम्रो टोलीबाट एबीसीमा पहिलो पाइला टेक्ने सदस्य म भएँ। त्यसपछि अरू सदस्य पनि केहीबेरमा आइपुगे।
त्यहाँ पुगेर भिजेका कपडा खोली न्याना कपडा फेरेर तोकिएको कोठामा बस्दा जुन किसिमको अद्भुत आनन्द मिल्यो, मानौँ ठूलै विजय प्राप्त गरियो।

ठूलठूला सिसाका झ्याल भएको कोठाबाट चारैतिर आँखा घुमाएँ– जताततै सेताम्य। ३६० डिग्रीमा अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुली लगायतका हिमशिखरको दृश्य थियो। अन्नपूर्ण आधार शिविर कचौरा आकारमा रहेछ।
होटलका कोठाभित्र बाहेक जताततै हिमपरिवेष्टित थियो। आँखा नझिम्क्याइ दृश्यपान गरिरहन मन भए पनि प्रकृतिको चक्रअनुसार साँझ अनि रात परिहाल्यो।
आजको रात हिमालय पर्वतको काखमा हिमासनमा सुत्ने अपूर्व शुभसाइत जुरेको रहेछ सुखानुभूति भयो। यो क्षणलाई वर्णन गर्नुपर्दा हिमालको काखमा भन्दा पनि स्वर्गकै काखमा बस्न पाएजस्तो अलौकिक अनुभूति भयो।
भोलि बिहान अर्थात् १ नोभेम्बर २०२५ मा त हामी मौसम जे-जस्तो भए पनि त्यहाँबाट फर्कनैपर्ने थियो। रातिको १२ बजेसम्म पानी परिरहेकै थियो। भोलिबाट सुधार हुने मौसम पूर्वानुमानप्रति हामी आशावादी थियौँ।
नभन्दै प्रकृतिले हामी सबैको तीव्र चाहनालाई न्याय गरिन्– बिहान त करिब करिब सम्पूर्ण आकाश खुल्यो, सेतो हिमालको चारैतिर पगरी जस्तो देखियो। बिहान ५ बजे नै उठेर हामीले त्यो अलौकिक दृश्य हेर्न छुटाएनौँ।
सेतो हिमालमा परेका सूर्योदयका किरणले हिमालय पर्वतलाई सुवर्णमय बनाएको थियो। त्यो रमणीय दृश्य हेर्दै ३/४ फिट बाक्लो हिउँमा नचिप्लियोस् भनेर लौराको सहायताले सावधानीपूर्वक हिँड्दै, तस्बिर/भिडिओ क्यामेरामा कैद गर्दै करिब ४ घण्टा रमायौँ।

यही बीचमा हिजो एमबीसीमै बसेका तीन जना साथी पनि आइपुगे। सबैले सँगै ब्रेकफास्ट गर्यौँ र १० बजेतिर एबीसीबाट फिर्तीयात्रा सुरु गर्यौँ।
मौसम सफा थियो। त्यसमाथि उचाइबाट ओरालो झर्न उकालोको तुलनामा सहज हुने नै भयो। त्यस दिन लामै दूरी तय गरी साँझ बम्बु भन्ने ठाउँमा आएर बास बस्यौँ। अर्को दिन बम्बुबाट झिनुडाँडासम्मको यात्रा सकेर त्यहाँबाट जिपमा चढी पोखरा झर्यौँ।
साँच्चै भन्नुपर्दा, बिहान उठेर चिसो पानीले हातमुख मात्र धुँदै हिँड्दै गरेको ८ दिनपछि पोखराको होटलमा पुगेर मनग्गे तातोपानीको धारामा नुहाइयो। यो अर्को खालको आनन्दानुभूति रह्यो।
भोलिपल्ट कोही हवाईजहाजमा त कोही कारमा काठमाडौँ फर्क्यौँ। यसरी काठमाडौँबाट हिँडेको दशौँ दिनमा रमाइलो पदयात्राको अनुभव सँगालेर आ-आफ्नो घर आइपुग्यौँ।
(लेखक झविन्द्र अर्याल नेपाल सरकारका पूर्वराजदूत हुन्)
Shares

प्रतिक्रिया