अमेरिकाको न्युयोर्क सहरमा साँझ ढल्दै जाँदा म एक्लै कफी पिउँदै गगन थापाको एउटा छोटो भाषण हेर्दैछु। हजारौँ माइल टाढा भए पनि मातृभूमिको राजनीतिले मनमा कतै न कतै छोइरहेकै हुन्छ। हामी अमेरिकामा जति नै व्यवस्थित र नियम–कानुनसम्मत समाजमा बसेका भए तापनि नेपालप्रतिको भावनात्मक तानाबाना कहिल्यै टुट्दैन। खासगरी जब नेपाली कांग्रेसको कुरा आउँछ।
मजस्ता धेरैलाई कांग्रेसको रुख हाम्रो सामूहिक इतिहास, लोकतान्त्रिक उपलब्धि र राजनीतिक चेतनालाई जोगाइराखेको छहारीजस्तो लाग्छ। तर अहिले त्यो रूख कहाँ उभिएको छ? उस्तै छ कि भित्रैबाट सुक्दै गयो कि? अमेरिकामा बसेका धेरै नेपालीले यही प्रश्न बारम्बार दोहोर्याइरहेछन्।
प्रायः नेपाली समुदायको भेटघाटमा राजनीतिक नेतृत्व र सम्भावनाको बारेमा छलफल चल्दा अन्तिममा एउटै नाम आउँछ- गगन थापा! अनि एउटै कुरा सुनिन्छ, ‘कांग्रेस एकचोटि गगन थापाको नेतृत्वमा गएको हेर्नुपर्छ, तब मात्र परिवर्तन सम्भव छ कि छैन थाहा हुन्छ।’
हामी विदेशमा बस्नेहरूले नेपाललाई टाढाबाट हेर्छौँ। टाढाबाट हेर्दा चिजहरू अझ स्पष्ट देखिन्छन्– कहाँ गल्ती भयो, कसले मौका गुमायो, कसले मौका खोस्यो आदि। आज कांग्रेससँग सबैथोक छ, बलियो पार्टी छ, इतिहास छ, अनुभव छ। तर नेतृत्व भने थोत्रो छ। नेतृत्वले भविष्य हेर्न सकेन भने पार्टी बलियो हुँदाहुँदै पनि जनताको विश्वास जित्न सक्दैन।
अमेरिकामा बस्ने धेरै नेपालीको पीडा एउटै छ– हामीले पठाएको पैसा, रेमिट्यान्सले देश चलिरहेको छ, तर राजनीति भने कहिल्यै फेरिने भएन। अमेरिकामा व्यवस्था र जवाफदेही छ, नेतृत्वले जनताकेन्द्रित प्रणाली बनाउँछ। नेपालमा त्यो किन हुँदैन? उत्तर पनि हामीलाई थाहा छ– पुरानो नेतृत्वले नयाँ पुस्तालाई ठाउँ दिन चाहँदैन। यही कारणले धेरैको नजर गगन थापातर्फ मोडिएको हो।
विदेशमा बसेका नेपालीहरू गगन थापामा एउटा आशा देख्छन्– उनको स्पष्ट अभिव्यक्तिका कारण। उनले उठाउने मुद्दा स्वास्थ्य, शिक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारमा केन्द्रित छन्। हामीले पनि विदेशमा बसेर यिनै विषयहरू दैनिक देखिरहेका हुन्छौँ र आफैँलाई सोध्छौँ- आफ्नै देशमा यो किन सम्भव भएन?
गगन थापा त्यही प्रश्नको उत्तरझैँ लाग्छन्– ‘हो, गर्न सकिन्छ, यदि सही नेतृत्व आयो भने।’
कांग्रेसको युवा पुस्ता सधैँ संगठनभित्र क्रियाशील छ, निरन्तर तयारीमा छ, तर नेतृत्व पंक्ति परिवर्तन नहुँदा उनीहरूको ऊर्जा राजनीतिबाहिरै रोकिएको छ। गगन थापाले त्यो ऊर्जा सक्रिय राजनीतिभित्र फर्काउन सक्छन् जस्तो लाग्छ।
अमेरिकामा मात्र होइन, युरोप, अस्ट्रेलिया, कोरिया, जापान र खाडी मुलुकका नेपाली समुदायको पनि एउटा सामूहिक चाहना सुनिन्छ– कांग्रेसले पुनर्जीवन पाउनका लागि गगन थापाको नेतृत्व आवश्यक छ। किनकि उनी २०४८ को सोच बोकेका नेता होइनन्, २०८१ को सोच बोकेका नेता हुन्। उनले पार्टीभित्रको अल्छीपन र परम्परागत गुटबन्दी विरुद्ध लगातार आवाज उठाइरहेका छन्। उनी जनतासँग कुरा गर्छन्, जनताका भावना र भाषा बुझ्छन् र उनीसँग भविष्यको लागि स्पष्ट मार्गदर्शन छ।
हामी विदेशमा बसेका नेपालीहरू यस्तै राजनीतिको खोजीमा छौँ, जसले हाम्रो देशलाई आधुनिक र प्रतिस्पर्धी बनाओस्। कांग्रेस, जसले देशलाई लोकतन्त्र दियो, बहुदल दियो, संविधान दियो, तर त्यही कांग्रेसले अहिले एउटा मात्र कुरा गुमाएको छ– त्यो हो आत्मविश्वास। जनता भन्छन्, ‘कांग्रेस ठीक हो, तर रूपान्तरण चाहिन्छ।’ त्यो रूपान्तरणको प्रतीक हुन्, गगन थापा।
नेपालीहरू विदेशमा बसेर पनि कांग्रेसका अधिवेशन, प्रमाणीकरण, आन्तरिक विवाद, टिकट बाँडफाँट सबै ध्यानपूर्वक हेर्छन्। कारण सरल छ– नेपाल हाम्रो घर हो र घरको नेतृत्व ‘परिवर्तनशील’ हुनुपर्छ, ‘अस्थिर’ होइन। यदि कांग्रेस आज पनि पुरानै शैलीमा अड्किरह्यो भने त्यसले पार्टीलाई मात्र होइन, राष्ट्रलाई पनि पछाडि पार्नेछ। नेतृत्वमा नयाँ पुस्तालाई अगाडि नल्याउने हो भने फागुन २१ को निर्वाचनपछि कांग्रेस संगठनात्मक रूपले नै खुम्चिन सक्छ। विदेशमा बसेका नेपालीहरूले बारम्बार यही चिन्ता व्यक्त गरिरहेका छन्।
यदि कांग्रेस गगन थापाको नेतृत्वमा पुग्यो भने कस्तो परिवर्तन सम्भव छ? उनी पार्टीको नेतृत्वमा आए भने पार्टीभित्र दक्षताको आधारमा प्रतिस्पर्धाको क्रम बढ्नेछ, नीति निर्माण तथ्यमा आधारित हुनेछन्, भ्रष्टाचार विरुद्धको लडाइँ सशक्त हुनेछ, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको अभियान तीव्र हुनेछ, आर्थिक सुधारमुखी नीति, अन्वेषणमुखी शासनको परिपाटी बन्नेछ। राजनीतिमा युवाहरूको आकर्षण बढ्नेछ। यो कुनै भावुक चाहना होइन, व्यावहारिक अपेक्षा हो।
अमेरिकामा बसेका नेपालीहरूले यस्ता परिवर्तनहरू प्रत्यक्ष अनुभव गरेका छन्। व्यवस्थाले कसरी काम गर्छ, कसरी सुधारिन्छ, हामीले देखेका छौँ। त्यसैले नेपालको राजनीतिमा पनि यस्तै सक्षम नेतृत्वको आवश्यकता महसुस भएको छ। गगन थापा त्यही सम्भावना बोकेका नेता हुन् जस्तो लाग्छ।
अन्तिममा एउटा भावनात्मक कुरा गरौँ। विदेशमा बसेका नेपालीहरूको मनमा भएको एउटा मात्र प्रश्न हो– कांग्रेसले हामीलाई कहिलेसम्म प्रतीक्षा गराउने? के अब पनि पार्टी आउटडेटेड नेताको स्वार्थको बन्धक बनिरहनुपर्ने? कि नयाँ पुस्तालाई विश्वास गर्ने साहस पनि देखाउने हो? हामी जति नै विदेशमा बसौँ, हाम्रो मुटुको एउटा कुनामा सधैँ नेपाल बसिरहन्छ। हामी स्वदेशमा राजनीतिक स्थायित्व, प्रभावकारी नेतृत्व, र भ्रष्टाचारमुक्त सरकार, प्रशासन र समाज चाहन्छौँ। त्यही भएर आज विश्वभरका आप्रवासी नेपालीहरू भनिरहेका छन्– ‘एकपटक कांग्रेस गगन थापाको नेतृत्वमा गएको हेर्न चाहन्छौँ। यो नेपालको नयाँ भविष्यको सुरुवाती विन्दु बन्न सक्छ।’
(सागर बैजु अमेरिकाको न्युयोर्कमा बासोबास गर्छन्)
Shares

प्रतिक्रिया