निर्माण


मुग्लिन-मलेखु सडकको भित्ता काटिँदै, दैनिक पाँच घण्टा गाडी रोकिने

मुग्लिन-मलेखु सडकको भित्ता काटिँदै, दैनिक पाँच घण्टा गाडी रोकिने

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १४:२८, काठमाडौँ

पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन-मलेखु सडकको तीन ठाउँको भित्ता काट्ने तयारी गरिएको छ। 

सडक स्तरोन्नतिका लागि यही मंसिर २४ देखि आगामी पुस १ गतेसम्म दिउँसो दैनिक पाँच घण्टा सवारीसाधन रोकेर काम गरिने भएको छ। नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर, धादिङको खतौडी र डाहाकीमा भित्ता काट्ने काम गर्न लागिएको हो।

उनका अनुसार, काठमाडौँतर्फबाट आउने सवारीसाधन रोकिएपछि सडकमा चाप घट्नेछ। मुग्लिनतर्फबाट जाने सवारीसाधनलाई रोक्ने योजना नभए पनि नागढुङ्गा-मलेखु सडक बन्द हुने भएकाले सवारीसाधनको चाप कम हुनेछ। यही अवसरलाई उपयोग गर्दै आंशिक सवारी साधन रोकेर भित्ता काट्ने तयारी गरिएको अधिकारीले बताइन्। 

तीन वटै ठाउँमा ४० मिटर हाराहारी लम्बाइ र ८० मिटर हाराहारी अग्लो पहाडको भित्ता काट्नुपर्नेछ। तीनै क्षेत्रमा सात मिटर चौडाइ सडक छ। यसलाई दुई मिटर विस्तार गर्ने योजना रहेको छ। 

आयोजनाका इन्जिनियर विजय दरैका अनुसार सडक बन्द नगरी भित्ता काट्न सक्ने अवस्था छैन। यही समयलाई उपयोग गर्न लागिएको उनले जानकारी दिए। यो सडकखण्डको धादिङको विशालटार क्षेत्रमा आइतबारदेखि कालोपत्रे सुरु गरिएको छ।

यो सडकका पुलसम्म पहुँच सडकको काम सुरु गरिएको छ। चार पुलको पहुँच सडकको काम गर्न लागिएको हो। पुल र अन्य भागमा बेरिएर राख्ने काम थालिएको तथा ड्रेनको काम पनि सुरु गरिएको छ। 

यो खण्डको ३८.८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ। थप पाँच किलोमिटर सडक कालोपत्रेका लागि अन्तिम तयारी गरिएको छ। सोही ठाउँमा कालोपत्रे गर्न थालिएको हो।

दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ। यस खण्डमा २.२ किलोमिटर ६ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ। त्यस्तै, ७.२ किमी सडक चार लेनको हुनेछ। 

चार लेनको सडक रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै उनले उकालो-ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए। इन्जिनियर दरैका अनुसार ‘क्लाइम्बिङ’ मार्ग २ं३ किमीको हुने छ भने बाँकी सडक दुई लेनको हुनेछ।

२०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो चरणअन्तर्गत पर्दछ। आगामी पुस १५ मा यसको म्याद सकिँदै छ। म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताए। डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उनको भनाइ छ।

शर्मा-जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छन्।

यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ। सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad